कहिले आउँछ मौद्रिक नीतिको समीक्षा ?
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना सकिएसँगै नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जुटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि आन्तरिक तयारी भइरहेको राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । उनका अनुसार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा कहिले सार्वजनिक गर्ने भनेर ठ्याक्कै मिति नै तय भएको छैन । तर, आन्तरिक रूपमा राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा भने तयारी गरिरहेको छ । ‘मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाको तयारीमा जुटेका छौँ, ठ्याक्कै कहिले सार्वजनिक गर्ने भनेर मिति नै तय भएको छैन । तर, आन्तरिक रूपमा त्रैमासिक समीक्षाको तयारी भने भइरहेकाे छ,’ उनले भने । चालु आवको तीन महिनाको तथ्याङ्क संकलनको कार्य भइरहेको उनले बताए । तीन महिनासम्मको तथ्याङ्क सार्वजनिक भएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा पनि छिट्टै सार्वजनिक हुने उनको भनाइ छ । ‘असोजसम्मको तथ्याङ्क आयो, तीन महिनासम्मको तथ्याङ्क तथ्याङ्क आइसकेको छैन, अहिले बैंकहरूको तथ्याङ्क मात्रै सार्वजनिक भइसकेको छ, अन्य क्षेत्रको तथ्याङ्क आउन बाँकी छ, आयो भने समीक्षाको कार्य तीव्र अगाडि बढ्छ,’ उनले भने । गत वर्ष नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा भने ढिला गरी सार्वजनिक गरेको थियो । गत वर्ष मंसिर २२ गते सार्वजनिक गरेको प्रथम त्रैमासिक समीक्षा लचिलो ल्याएको थियो । यसपटक पनि बाह्य क्षेत्र सुधार भएको र आन्तरिक क्षेत्र सुधारात्मक रहेकाले लचिलो मौद्रिक नीतिको समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ । निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर घटेर एकल अंकमा झरेकाले ऋण विस्तारका लागि राष्ट्र बैंकले सहज नीति ल्याउन सक्ने आँकल बैंकरहरूले गरेका छन् । आर्थिक गतिविधि चलायमान गर्न कर्जाको मागलाई बढाउने गरी समीक्षा आउनुपर्ने बैंकरहरूको भनाइ छ ।
बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त
काठमाडौं । बिटकोइनले आइतबार उच्चस्तरमा नयाँ रेकर्ड राखेको छ । डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक ८० हजार डलर भन्दा बढीको मूल्य यात्रा शुरू गरेको छ। बिटकोइनले बुधबार ७५ हजार डलर पुगेर मार्चमा हासिल गरेको ७३ हजार ७९७.९८ डलरको पूर्व सर्वकालीन उच्च रेकर्ड तोडेको हो । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले गत मङ्गलबारको अमेरिकी राष्ट्रपति चुनाव जितेपछि बिटकोइनको मूल्य बढ्दै गएको छ । बिटकोइन बढ्दै जाँदा लगानीकर्ताहरू संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको कीर्तिमानलाई अझै बढी वृद्धि गर्न तयार देखिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । डेरिबिट डेरिभेटिभ्स एक्सचेन्जले बिटकोइनकाे मूल्य ९० हजारभन्दा माथि पुग्ने अनुमान गरेकाे छ । डेरीबिट डेरिभेटिभ्स एक्सचेन्ज क्रिप्टो प्लेटफर्ममध्ये एक हो, जसले भविष्यको व्यापार देखाउँछ । के ३३ का अनुसन्धाता भेटल लुन्डेले हालको वृद्धि उल्लेखनीय रूपमा उच्च विचलन भएकाे बताएका छन् । उनका अनुसार वृद्धिले पछिल्लो समयको बुलिश फ्लोहरूलाई जोड दिएको छ । राष्ट्रपति पदमा निर्वाचित ट्रम्पले चुनावी अभियानका क्रममा अमेरिकालाई ‘प्लानेटको क्रिप्टो राजधानी बनाउने प्रतीज्ञा गरेका थिए । क्रिप्टो समुदायलाई दिएका उनका विभिन्न प्रतीज्ञाहरूमा अमेरिकी सरकारले सम्पत्ति जफत गरी संकलन गरेको १६ बिलियन डलरभन्दा बढी बिटकोइनको राष्ट्रिय क्रिप्टो भण्डार सुरु गर्ने र ब्याजदर घटाउने विषय पनि समावेश थियो । अमेरिकाको मौद्रिक नीतिको निर्देशन दिने फेडरल रिजर्भले मापदण्ड दर निर्धारण गर्दछ । यसले ह्वाइट हाउसबाट स्वतन्त्र रूपमा काम गर्दछ । फेडरल रिजर्भले लगातार दोस्रो पटक ब्याज दर घटाउने निर्णय गरेकाे थियाे । चुनावी परिणाम र फेडको सर्वसम्मत निर्णयको पृष्ठभूमिमा ब्याजदर पुनः घटाउन क्रिप्टो बजार व्यापक रूपमा उकालो लागेकाे हाे । इथरले बिटकोइनको वृद्धिलाई ओझेलमा पार्दै सात दिनमा ३० प्रतिशतले बढेकाे थियाे र सोलानाको मार्केट क्याप आइतबार १०० बिलियन डलर माथि पुग्यो । बिटकाेइनको मार्केट क्याप अहिले ८० बिलियनभन्दा माथि पुगेको छ । पछिल्लो तीन व्यापारिक दिनमा मात्रै स्पट फण्डले संयुक्त रूपमा २.३ बिलियन थपेका छन् । ट्रम्पले एसईसीका अध्यक्ष ग्यारी गेन्सलरलाई हटाउने वाचा गरेका छन्, जसले सुरक्षासम्बन्धी उल्लंघनमा नियामकसँग लडिरहेको काेइनबेसजस्ता कम्पनीहरूको लागि सम्भावित रूपमा राम्रो संकेत दिन्छ । (एजेन्सीको सहयोगमा)
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिन माग
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान सुरु गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रूपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै उद्योगी व्यवसायीहरू उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा अर्बौंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरूलाई थोरै भएपनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरूले राज्यले नीतिगत रूपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरूको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । उनीहरूले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । जजिरा, थाई र एयर एशियाले विमानस्थलबाट उडान नै सुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताए । उनले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको बताउँदै काठमाडौंमाको विमानस्थल विस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गरे । यस्तै, उनले पर्यटक आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताए । पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल विस्तार गर्न व्यवसायीहरुले माग गरेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्दा नयाँ अवसरहरू सिर्जना हुने उनकाे भनाइ छ । उनले भैरहवा, बुटवल क्षेत्रका होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएपनि विमानस्थल सञ्चालनमा आउन नसक्दा अर्बाैंको लगानी डुब्ने अवस्थामा रहेको बताए । भैरहवाबाट दीर्घकालीन अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक रहेको बताए । भैरहवा अन्तर्राष्ट्रिय उडानले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुने जानकारी दिए । यस्तै, उनले बुटवल र पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा रहेको बताए । कृषि उत्पादन बिक्री लगायत धेरै क्षेत्रमा राम्रो हुने भन्दै निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको बताए । सरकारले सहुलियत, सुविधा र पूर्वाधारहरु तयार बनाउन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन प्रवर्द्दनमा ठूलो योगदान गर्ने उनले उल्लेख गरे । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने माग उनले राखे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई, एयर एशिया र जजिरा तीन वायुसेवा कम्पनीहरु उडान सुरु गरेका छन् । उद्योगी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गरे । थाई एयर एशियाले उडान सुरु गरेको भन्दै गौतमबुद्धको जन्मभूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राखे । यस्तै, उनले थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट सुरु गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौंबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवाबाट गर्नुपर्नेमा जोड दिए । बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्ने बताए ।