मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी, मूल्यसूची सार्वजनिक गर्नुपर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिए । गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए । तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनकाे भनाइ छ । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको उनले बताए । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको उनकाे भनाइ छ । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको उनले जानकारी दिए । ‘मैले टिकेटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ’, उनले भने । मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको बताए । उनका अनुसार भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म पुर्याउने योजनामा मन्त्रालय रहेको छ । उनले पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताए । आफूले निजी क्षेत्रहरुसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको जानकारी दिए । ‘त्रिभूवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु संघीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम गरिरहेको छु । हामीले बनाएका तीन वटै एयरपोर्टमा आगामी दिनमा गतिविधि बढ्नेछ । तीन एयरपोर्टको दबाब, आवश्यकताले निजगढ विमानस्थलको अन्तर्राष्ट्रिय स्तरकै निकै ठूलो एयरपोर्ट बन्ने परिकल्पना छ । हामी त्यो बनाउने दिशामा पनि सकारात्मक प्रेरणा मिल्नेछ’, उनले भने । उनले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको जानकारी दिए ।
बाढीको क्षति दिँदा ४ बीमा कम्पनी घाटामा, ८६ प्रतिशत घट्यो निर्जीवन बीमाको नाफा
काठमाडौं । तीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ८६ प्रतिशत अर्थात् १ अर्ब २ करोड ४९ लाख रुपैयाँ घटेको हो । गत वर्षको असोजमा १ अर्ब १९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका बीमा कम्पनीले यसपटक भने १६ करोड ६५ लाख रुपैयाँमा झरेको हो । समीक्षा अवधिमा देशले प्राकृतिक विपत्ति बाढी पहिरोको सामना गर्नु परेको थियो । जसको प्रत्यक्ष असर कम्पनीहरूको नाफामा परेको बताइएको छ । बाढी पहिरोको कारण वीमतिहरुलाई दाबी भुक्तानी गर्दा कम्पनीको नाफामा असर परेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू बताउँछन् । समीक्षा अवधिमा आधा दर्जन निर्जीवन बीमा कम्पनीको मात्रै नाफा बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै नाफा सानिमा जिआईसी इन्स्योरेन्सको बढेको छ । सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ५०.५९ प्रतिशत बढेर ५ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २३.७२ प्रतिशतले बढेर ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै, आइजिआई प्रुडेन्सियलको नाफा १९.५० प्रतिशत बढेर ६ करोड १० लाख रुपैयाँ गरेको हो । गत वर्षको असोजमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको थियो । गत असोजसम्म राष्ट्रिय बीमा कम्पनीको १३.७३ प्रतिशत बढेर १५ करोड ७६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १०.५४ प्रतिशत बढेर ५ करोड ६० लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको २.५० प्रतिशत बढेर ११ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा राष्ट्रि बीमाले १३ करोड ७६ लाख रुपैयाँ, प्रभुले ५ करोड ६ लाख रुपैयाँ र शिखरले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा विभिन्न ४ कम्पनीको नाफा घटेको छ भने ४ कम्पनीले नोक्सानी बेहोरेका छन् । एनएलजी इन्स्योरेन्सको नाफा ४.९६ प्रतिशत घटेर ४ करोड ८९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १९.९६ प्रतिशत घटेर ७ करोड ४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५४.३० प्रतिशत घटेर ६ करोड ४० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको ९२.८८ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, दि. ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले खुद नोक्सानी बेहोरेका छन् । ओरिएण्टल इन्स्योरेन्सले २४ करोड ५१ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, गत वर्षको असोजमा २१ करोड ६० लाख रुपैयाँ नाफा गरेको नेशनल इन्स्योरेन्सले १८ करोड ३ लाख घाटामा बेहोरेको छ । समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ८ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । यूनाइटेड अजोड इन्स्योरेन्स १ करोड ८१ लाख रुपैयाँ घाटामा छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो ।
सबैभन्दा धेरै कर तिर्ने कम्पनी बन्यो एनटीसी, शाह बने उत्कृष्ट करदाता
काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मान गरिएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको छ । गत आर्थिक वर्षमा ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । ऊर्जामुलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित भएका हुन् । विसं. २०७५ साउनदेखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरेको छ । वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राईजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेवापत वरुण बेभरेजलाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरु पनि सम्मानित भएका छन् ।