सेयर लगानीकर्ता घरजग्गामा पसेपछि कारोबारमा सुधार, अब चलायमान हुने अपेक्षा

काठमाडौं । कार्तिक महिनामा घरजग्गाको कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको छ । २०८१ कार्तिक महिनामा घरजग्गासम्बन्धी ९७ हजार १ सय ९६ वटा कारोबार भएका छन् । जसमध्ये ३३ हजार ५ सय ११ वटा लिखत पारित भएको छ । गत वर्षको कार्तिक महिनामा घरजग्गासम्बन्धी ७७ हजार १८५ वटा कारोबार हुँदा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत वर्षको सोही अवधिको भन्दा यस वर्षको कार्तिक महिनामा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ । कार्तिक महिनामा देशभर ३३ हजार ४२२ वटा कित्ता कित्ताकाट भएर ७३ हजार ६८ वटा कित्ता कायम गरिएको छ । गत वर्ष ३० हजार ३८७ वटा कित्ता कित्ताकाट गरेर ७० हजार ११६ वटा कित्तामा विभाजित गरिएको थियो । यसरी घरजग्गाको कित्ताकाट र कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार घरजग्गाको कारोबारबाट २०८० कार्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत वर्षको कार्तिक महिनाको तुलनामा २४.९६ प्रतिशत बढी हो । गत वर्षको कार्तिक महिनामा घरजग्गाको कारोबारबाट २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । सेयर बजारका लगानीकर्ता घरजग्गा कारोबारतर्फ सोझिएपछि घरजग्गाको कारोबार वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । सेयर बजारमा करेक्सन आएपछि त्यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले घरजग्गामा लगानी गर्न थालेपछि कारोबार वृद्धि भएको नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले बताए । उनले भने, ‘पछिल्लो समय सेयर बजार घट्न थालेको थियो । लागनीकर्ताले सेयरको रकमले घरजग्गामा लगानी गर्न थालेपछि घरजग्गाको कारोबार वृद्धि भएको हो ।’ महासचिव घिमिरेका अनुसार पछिल्लो १५ दिन अर्थात तिहारपछि घरजग्गाको कारोबार वृद्धि भएको हो । तिहारपछि देशभर नै कारोबार वृद्धि भएको उनको भनाइ छ । आगामी दिनमा घरजग्गाको कारोबार निरन्तर बढ्दै जाने उनको दाबी छ । घरजग्गाको कारोबारलाई अझै प्रभावकारी बनाउन सरकारले पनि यस क्षेत्रलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्र बैंकले यस क्षेत्रमा केही खुकुलो नीति लिएको खण्डमा कारोबार पनि बढ्ने र त्यसबाट सरकारलाई प्राप्त हुने राजस्व पनि बढ्ने उनको बुझाइ छ । सरकारलाई राजस्व चाहिने तर राजस्व वृद्धि गर्न यस क्षेत्रमा गर्नुपर्ने सुधारात्मक कामहरूमा ध्यान नदिएको गुनासो महासचिव घिमिरेको छ । नेपाल राष्ट्र बैंकले मासिक किस्तामा वैध आम्दानीको ७० प्रतिशतवाला व्यवस्थालाई सच्याउनु पर्ने उनले बताए  । यसैगरी, घरजग्गा खरिद गर्ने जनताले बैंकलाई तिर्ने मासिक किस्ता वैध आम्दानीको ७० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको बताउँदै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए । यस्तै, अढाई करोड रुपैयाँसम्मको घर किन्न सरकारले सहुलियत गरिदिएको भएपनि त्यो प्रभावकारी नभएको उनको भनाइ छ । सरकारले एकातिर भन्ने अनि अर्कोतिर व्यवस्थाले कस्ने नीति ल्याएकाले प्रभावकारी हुन नसकेको महासचिव घिमिरेले बताए  । उनले हिसाब गर्दै भने, ‘मानौं अढाई करोडको घर किन्दा एक करोड आफै लगानी गरेर बाँकी डेढ करोड बैंकबाट लगानी कर्जा लिइयो ।डेढ करोडको किस्ता मासिक रूपमा कम्तिमा पनि ३ लाख बढी तिर्नु पर्छ । ३ लाख किस्ता तिर्न मासिक ४ लाख ५० हजारभन्दा बढी वैध आम्दानी हुनु पर्छ ।’ सरकारको यस नीतिअनुसार एउटा सचिवले घरजग्गा किन्न नसक्ने अवस्था छ । सचिवको वैध तलब ७० हजार रुपैयाँको हाराहारी छ । उसले एक करोडको कर्जा लिएको खण्डमा २ लाख रुपैयाँको हाराहारीमा मासिक किस्ता भुक्तानी गर्नुपर्छ । त्यसको लागि उसको वैध तलब ३ लाख हुनु पर्दछ । राष्ट्र बैंकले यस व्यवस्थालाई मात्र सच्याए पनि घरजग्गाको कारोबार ह्वात्तै बढ्ने महासचिव घिमिरेको दाबी छ । यस्तै, महासंघले घरजग्गा व्यवसाय सुधारका लागि सरकारले सुधार्नुपर्ने  विषयहरू समेटेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो । महासंघले अफ्ना विभिन्न ६ मागसहितको पत्र गभर्नरलाई बुझाएको हो । यस्ता छन् माग (१) अनुमति प्राप्त रियल स्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने । (२) कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत गर्नुपर्ने । (३) रियल इस्टेट व्यवसाय गर्ने कम्पनीहरुलाई प्रदान गरिने कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्नुपर्ने । (४) रियल स्टेट कर्जाको पुनर्तालिकीकरण / पुनर्संरचना गर्नुपर्ने । (५) अर्थतन्त्र चलायमान नभएको वर्तमान परिप्रेक्ष्यमा कर्जाको प्रिमियम घटाउनुपर्ने । (६) रियल इस्टेट कर्जालाई वर्किङ क्यापिटल गाइडलाइन लागू नगर्नका लागि स्पष्ट निर्देशन दिनुपर्ने ।

करोडौंको निजी विमान र तीन दर्जन लक्जरी कार भएका धनाढ्य राष्ट्रपति, विदेशमा पनि लगानी

काठमाडौं । के तपाईंले बोला अहमद टिनुबुको नाम सुन्नु भएको छ ? उनी नाइजेरियाका राष्ट्रपति हुन् । उनको सम्पत्ति सुनेर धेरै मानिस आश्चर्यमा पर्छन् । सन् १९९१ देखि राजनीतिक करिअर सुरु गरेका टिनुबु विश्वकै धनी राजनीतिज्ञमध्ये एक हुन् । उनी २०२३ मा नाइजेरियाको १६औं राष्ट्रपति बनेका थिए । राजनीतिबाहेक टिनुबु व्यापारको दुनियाँमा पनि ठूलो नाम हो । उनीसँग निजी विमान, हवेली र ३० भन्दा बढी लक्जरी कार छन् । यति मात्र होइन, उनको बेलायत र अमेरिकालगायत विभिन्न देशमा पनि सम्पत्ति छ । हाल उनी ७२ वर्षका भए । करोडौंको निजी विमान टिनुबुसँग निजी विमान छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसको मूल्य २१.७ बिलियन नाइजेरियन नायरा (करिब ११८ करोड रुपैयाँ) रहेको छ । टिनुबुले आफ्नो निजी विमान देशभर लामो यात्रा र अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गर्दछन् । ३० भन्दा बढी लक्जरी कार शौखिनको मामिलामा टिनुबु विश्वका अन्य धनाढ्यभन्दा कम छैनन् । उनीसँग ३० भन्दा बढी लक्जरी कार छन् । यी कारहरूमा जीप प्राडो र ल्यान्ड रोभरजस्ता विश्वका महँगा कार समावेश छन् । यसबाहेक उनको कार कलेक्शनमा बीएमडब्ल्यू, फर्ड, लेक्सस, मर्सिडिज बेन्ज र पोर्च पनि पर्छन् । विदेशमा पनि सम्पत्ति टिनुबुको नाइजेरियामा मात्र नभई विदेशमा पनि पर्याप्त सम्पत्ति छ । यसमा धेरै हवेली र सपिङ सेन्टर छन् । बेलायत र अमेरिकामा समेत उनका हवेली छन् । नाइजेरियाको राजधानी अबुजामा रहेको हवेलीको मूल्य ६५० मिलियन नाइजेरियन नाइरा (लगभग ५.२८ करोड रुपैयाँ) बताइएको छ । उनी यही महलमा बस्छन् । यसबाहेक नाइजेरियामा उनको अन्य धेरै सम्पत्ति छ, जसको कुल मूल्य करोडौं रुपैयाँ छ । नेटवर्थ कति ? टिनुबु अपार सम्पत्तिका मालिक हुन् । फोर्ब्सको रिपोर्टअनुसार उनको कुल सम्पत्ति करिब ११५ अर्ब नाइजेरियाली नायरा (लगभग ९३७.६ करोड रुपैयाँ) छ । उनको मुख्य आम्दानीको स्रोत उनले राष्ट्रपतिको रूपमा पाउने तलब र व्यापारबाट हुने आम्दानी हो । सञ्चार माध्यमका अनुसार राष्ट्रपतिको रूपमा उनको वार्षिक तलब ५० करोड नाइजेरियन नाइरा (लगभग ४० लाख रुपैयाँ) रहेको छ । टिनुबुले आफ्नो सबै सम्पत्ति भाडामा दिएका छन् । यसबाट उनले हरेक वर्ष करिब ३३० करोड नाइजेरियन नाइरा (लगभग १९.२ करोड रुपैयाँ) कमाउँछन् । टिनुबुको सम्पत्तिलाई लिएर बेलाबेलामा विवाद पनि हुने गर्दछ । उनीमाथि राजनीति र उच्च पदको दुरुपयोग गरी धेरै सम्पत्ति जम्मा गरेका आरोप लाग्ने गर्दछ । (एजेन्सीको सहयोगमा)

६ होटलको व्यापार चिरफार : पर्यटक बढे पनि किन घट्यो आम्दानी ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा होटल कम्पनीहरूको नाफा घटेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको खुद नाफा १३ प्रतिशत घटेर १२ करोड ७७ लाख रुपैयाँ मात्रै आर्जन गरेका हुन् । जबकि गत वर्षको असोजमा ६ वटा होटलको नाफा १४ करोड ६८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा पर्यटकीय व्यावसायिक गतिविधि तथा क्रियाकलापहरूमा वृद्धि भएको दाबी गरिए पनि नाफामा भने संकुचन आएको देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार तीन महिनामा हवाईमार्गबाट मात्रै ३ लाख ५८ हजार १७ विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने पर्यटकहरूमध्ये भारतीय पर्यटक पहिलो स्थानमा रहेका छन् भने चिनियाँ पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । चन्द्रागिरी हिल्सले तीन महिनामा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले १९.४५ प्रतिशत बढी नाफा आर्जन गरेको हो । बाढी पहिरोका कारण भ्रमणमा आउने पर्यटकहरूको संख्यामा करिब दुई सातासम्म उल्लेख्य कमी आएको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीका अधिकांश बुकिङ्गहरू समेत रद्द भएका थिए । तर पनि कम्पनीले नाफा बढाउन सफल भएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९९ प्रतिशत घटेर १९ करोड ५८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २० करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी ५.६९ प्रतिशत घटेर १६ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको अन्य आम्दानी ८७.६६ प्रतिशत घटेर ७ लाख ५४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६१ लाख ९ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । असोजसम्म कम्पनीको कुल खर्च ४.०६ प्रतिशत घटेर ७ करोड ५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपेयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ३३ लाख रुपैयाँबाट घटेर ४ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने ४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २७ पैसा बढेर १.६६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.०६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५६.६५ गुणा रहेको छ । कम्पनीका अनुसार स्थलमार्गबाट भारतीय र बंगलादेशका पर्यटकहरूको उल्लेख्य मात्रामा आवागमन भएको छ । पर्यटकको आवागमनले कम्पनीका सेवाको उपभोगमा समेत वृद्धि भएको बताइएको छ । सोल्टी होटलले तीन महिनामा १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १८.३४ प्रतिशत नाफा बढेको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा अनावश्यक तथा तत्कालका लागि आवश्यक नभएका व्यावसायिक खर्चहरूमा कटौती गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइनेछ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.६९ प्रतिशत बढेर ५१ करोड ४३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल खर्च २९.२३ प्रतिशत बढेर ३६ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड १ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा सञ्चित नाफा १ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २४.९७ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४१४.९५ गुणा रहेको छ । समीक्षा अवधिमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक एयरलाइन्सहरूका अन्तर्राष्ट्रिय हवाई उडानका गतिविधिहरू नियमित रूपमा सञ्चालनमा रहेकाले होटेलमा पर्यटक आगमनको अवस्था सन्तोषजनक रहेको कम्पनीको भनाइ छ । तारागाउँ रिजेन्सी होटल्सले तीन महिनामा ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ३.५२ प्रतिशत बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८.५० प्रतिशत बढेर २७ करोड ५२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड २२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ५४ लाख रुपैयाँ र कुल आम्दानी १४.७० प्रतिशत बढेर ३० करोड ६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९ड लाख रुपैयाँ अन्य आम्दानी र २६ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन खर्च १६ करोड २० लाख रुपैयाँ र प्रशासनिक खर्च ५ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ अन्य खर्च र ६ करोड ३९ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको थियो । १ अर्ब ९६ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९६ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.३३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.१९ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६७.८१ गुणा रहेको छ । होटलका अनुसार नेपालको सुधारोन्मुख राजनीतिक तथा पर्यटकीय आगमनका साथै पर्यटक क्षेत्रमा पनि तारे होटलहरूको संख्यामा भएको वृद्धिले व्यावसायिक प्रतिस्पर्धा सिर्जना छ । हालको अवस्थामा यस होटलले व्यावसायिक प्रतिस्पर्धामा आफूलाई सबल राखेको र आगामी समयमा पनि कडा व्यावसायिक प्रतिस्पर्धालाई सामना गर्न थप आवश्यक पूर्वाधारहरूको निर्माणमा होटल सक्रियतापूर्वक लागेको कम्पनीको भनाइ छ । साथै, त्रिभुवन विमानस्थल १० घण्टाका लागि बन्द हुँदा त्यसको प्रभाव होटलमा पर्ने सक्ने बताइएको छ । ओरियण्टल होटलले तीन महिनामा ३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ९७.४८ प्रतिशत घटेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २१ करोड ७ लाख रुपैयाँ, अन्य आम्दानी ५८ लाख रुपैयाँ र कुल आम्दानी २१ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड १४ लाख रुपैयाँ सञ्चालन आम्दानी, १ करोड ४१ लाख रुपैयाँ अन्य आम्दानी र २२ करोड ५६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कर्मचारी खर्च ८ करोड २१ लाख रुपैयाँ, प्रशासन तथा सामान्य खर्च ४ करोड ७० लाख रुपैयाँ, वित्तीय खर्च ८५ लाख २० हजार रुपैयाँ र कुल खर्च २० करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ कर्मचारी खर्च, ३ करोड ९९ लाख रुपैयाँ प्रशासन तथा सामान्य खर्च, १ करोड २४ लाख रुपैयाँ वित्तीय खर्च र १९ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको थियो । १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ रहेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २४३.५९ रुपैयाँ छ । नयाँ होटलहरू सञ्चालनमा आएका र पुराना होटलहरूले रिनोभेसन गर्दै लगेका छन् । तर, यस होटलले सोहीअनुसार रिनोभेसन नगरेको हुँदा कोठा आम्दानीमा ह्रास आएको कम्पनीको भनाइ छ । साथै यस अवधिमा विवाह, ब्रतबन्धनजस्ता लगन र साइत कम भएका र कर्मचारी तथा अन्य खर्चहरूमा वृद्धि भएका कारण कम्पनीको आम्दानीमा ह्रास आएको कम्पनीको भनाइ छ । सिटी होटलले तीन महिनामा ५ करोड ६२ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पानीले ७ करोड ७७ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । यस अवधिमा होटलको सञ्चालन आम्दानी ४.८५ प्रतिशत घटेर ११ करोड २ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा होटलले ११ करोड ५९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । होटलको कुल आम्दानी १.०४ प्रतिशत घटेर १३ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको वित्तीय खर्च १५.२७ प्रतिशत घटेर ७ करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड १ लाख रुपैयाँ वित्तीय खर्च गरेको थियो । होटलको कुल खर्च ७.०६ प्रतिशत बढेर ९ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो । १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्ममा होटलको प्रतिसेयर आम्दानी ३.३६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९०.४९ रुपैयाँ रहेको छ । कालिञ्चोक दर्शनले असोजसम्म ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा बेहोरेको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेर ४४ लाख ६५ हजार रुपैयाँ, सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेर २० लाख २० हजार रुपैयाँ गरेको छ भने सञ्चालन नाफा ५७ लाख २१ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ४५ लाख ६१ हजार रुपैयाँ, सञ्चालन आम्दानी ४१ लाख १० हजार रुपैयाँ थियो भने सञ्चालन नाफा ६८ लाख १ हजार रुपैयाँ ऋणातमक थियो । यस अवधिमा कम्पनीको वित्तीय खर्च ५२.०८ प्रतिशत घटेर २८ लाख २८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५९ लाख २ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो । ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.४४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९९.३२ रुपैयाँ रहेको छ ।