नेपालले पायो डबल बी माइनस कन्ट्री रेटिङ, सरकारकाे घाटा जीडीपीको ४ प्रतिशतमा झर्ने
काठमाडौं । नेपालले डबल बी माइनस कन्ट्री रेटिङ पाएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपाललाई डबल बी माइनस कन्ट्री रेटिङ दिएको हो । सरकारले पहिलोपटक कन्ट्री रेटिङ गराएको हो । फिचले देशको आर्थिक अवस्थालाई सकारात्मक रूपमा मूल्यांकन गर्दै राजनीतिक स्थिरता भए आर्थिक सुधार हुने जनाएको छ । कम ऋण, कमजोर संरचनात्मक पक्ष जलविद्युत क्षेत्रको समर्थित द्रुत वृद्धिको सम्भावनाले देशको बलियो आर्थिक विकास सुनिश्चित गरेको छ । प्रतिव्यक्ति आय र शासनका मापदण्डहरू ‘बीबी’ मेडियनभन्दा निकै तल छन्, तर २००६ मा सशस्त्र द्वन्द्व अन्त्य र राजनीतिक परिवर्तनपछि ती सुधार हुँदै गएका छन् । स्थिर ऋण फिचले १५ जुलाई २०२४ मा समाप्त हुने आर्थिक वर्षमा संघीय (केन्द्रीय) सरकारको ऋण जीडीपीको ४४ प्रतिशतभन्दा बढी पुग्यो, जुन ‘बीबी’ मापनको ५५ प्रतिशतभन्दा तल छ । नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा आर्थिक स्थिरता र विकास योजनाहरू अपनाउँदै आगामी वर्षहरूमा यस स्तरमा ऋणलाई स्थिर राख्ने अपेक्षा गरिएको छ । गैर-वित्तीय दायित्वहरू सीमित छन्, यद्यपि निगरानी र अनुगमन पूर्ण रूपमा भएकाे छैन । बलियो ऋण पहुँच आर्थिक वर्ष २०८१ मा संघीय सरकारको ब्याज भुक्तानी राजस्वको करिब ८ प्रतिशतसम्म पुग्यो, जुन ‘बीबी’ मापनको भन्दा अलि तल छ । करिब ४० प्रतिशत सरकारको ऋण बाह्य छ । राजस्व झट्का गत वर्षमा आयात र त्यससम्बन्धी करहरूमा तीव्र गिरावटले राजस्वमा असर पारेको थियो । यसले अर्थव्यवस्थालाई कमजोर बनायो, यद्यपि कोभिडपछिको पर्यटन पुनरुत्थान र रेमिट्यान्सले केही राहत दिएको थियो । राजनीतिक अस्थिरता २०१४ देखि अहिलेसम्म नेपालले आठ पटक सरकार परिवर्तन गरेको छ । यसले दीर्घकालीन नीति निर्माणमा बाधा पुर्याए पनि आर्थिक व्यवस्थापनमा व्यापक सहमति देखिन्छ । राजनीतिक स्थिरता भए आर्थिक सुधार हुने देखिन्छ । बैंकिङ र विदेशी मुद्रा सञ्चिति बैंकिङ क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको छ । निजी क्षेत्रमा ऋण कुल ग्राहस्थ उत्पादनको ८६ प्रतिशत पुगेको छ भने बैंकमा निक्षेप रकम १०६ प्रतिशतसम्म पुगेको छ । यसैगरी विदेशी मुद्रा सञ्चिति १३ अर्ब अमेरिकी डलर पुगेको छ ।
२६ लघुवित्तले शाखा खोल्न नपाउने, खराब कर्जा १० प्रतिशत बढी
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको तीन महिनामा खराब कर्जा (एनपीएल) ७ प्रतिशत बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ६.९१ प्रतिशत बढेर औसत ६.८१ प्रतिशत बिन्दुमा पुगेको हो । गत आवको तीन महिनामा लघुवित्तहरूको औसत खराब कर्जा ६.३७ प्रतिशत थियो । समीक्षा अवधिमा २९ वटा लघुवित्त संस्थाहरूको खराब कर्जा बढेको देखिन्छ भने २१ वटा लघुवित्तले खराब कर्जा घटाएका छन् । यसअवधिमा साना किसान लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै बढेको छ । गत असोजसम्म लघुवित्तको २०३.७० प्रतिशत बढेर २.४६ प्रतिशत बिन्दुमा पुगेको हो । जबकि गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ०.८१ प्रतिशत बिन्दुमात्रै थियो । समीक्षा अवधिमा नेरुडे मिर्मिरे लघुवित्तको १९२.३९ प्रतिशत बढेर १६.१४ प्रतिशत बिन्दु, इन्फिनीटी लघुवित्तको १३२.५८ प्रतिशत बढेर ११.३५ प्रतिशत बिन्दु, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १३२.४६ प्रतिशत बढेर ४.४४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । गत असोजसम्म डिप्रोक्स लघुवित्तको ७५.२९ प्रतिशत बढेर ९.०१ प्रतिशत बिन्दु, आरएसडीसी लघुवित्तको ७२.४८ प्रतिशत बढेर २.५७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६९.१६ प्रतिशत बढेर १४.४३ प्रतिशत बिन्दु, एनआईसी एशिया लघुवित्तको ६६.४८ प्रतिशत बढेर १८.६८ प्रतिशत बिन्दु, नाडेप लघुवित्तको ६०.२१ प्रतिशत बढेर १०.५१ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । यसअवधिमा उन्नति सहकार्य लघुवित्तको ५४.१६ प्रतिशत बढेर ७.०३ प्रतिशत बिन्दु, जीवन विकास लघुवित्तको ५०.६१ प्रतिशत बढेर ४.९१ प्रतिशत बिन्दु, युनिक नेपाल लघुवित्तको ४५.९३ प्रतिशत बढेर १५.७९ प्रतिशत बिन्दु, मातृभूमि लघुवित्तको ४५ प्रतिशत बढेर १२.४ प्रतिशत बिन्दु, विन नेपाल लघुवित्तको २७.६४ प्रतिशत बढेर ४.९४ प्रतिशत बिन्दु, हिमालयन लघुवित्तको २७.३९ प्रतिशत बढेर ३.७२ प्रतिशत बिन्दु खराब कर्जा रहेको छ । छिमेक लघुवित्तको २६.७५ प्रतिशत बढेर २.८९ प्रतिशत बिन्दु, विजय लघुवित्तको २१.१३ प्रतिशत बढेर ९.५७ प्रतिशत बिन्दु, अभियान लघुवित्तको २१.०७ प्रतिशत बढेर ८.३३ प्रतिशत बिन्दु, फरवार्ड लघुवित्तको १८.०८ प्रतिशत बढेर ७.३८ प्रतिशत बिन्दु, महुली लघुवित्तको १६.१० प्रतिशत बढेर ४.८३ प्रतिशत बिन्दु, लक्ष्मी लघुवित्तको १५.२३ प्रतिशत बढेर ७.९४ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ । मिथिला लघुवित्तको १०.४४ प्रतिशत बढेर ५.१८ प्रतिशत बिन्दु््, धौलागिरी लघुवित्तको ७ प्रतिशत बढेर ५.३४ प्रतिशत बिन्दु, सूर्योदय वोमी लघुवित्तको ६.४१ प्रतिशत बढेर ६.३ प्रतिशत बिन्दु, सम्पदा लघुवित्तको ६.१४ प्रतिशत बढेर ४.८४ प्रतिशत बिन्दु, स्वाभिमान लघुवित्तको ५.८३ प्रतिशत बढेर ४.१७ प्रतिशत बिन्दु, स्वरोजगार लघुवित्तको ५.०२ प्रतिशत बढेर ५.४३ प्रतिशत बिन्दु, नेशनल माइकोफाइनान्स लघुवित्तको २.१५ प्रतिशत बढेर ४.२६ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ । २१ लघुवित्तले घटाए खराब कर्जा समीक्षा अवधिमा २१ वटा लघुवित्तले भने खराब कर्जा घटाएका छन्, जसमध्ये आशा लघुवित्तको ०.४ प्रतिशत घटेर ४.९४ प्रतिशत बिन्दु, सपोर्ट लघुवित्तको १.७९ प्रतिशत घटेर १.६४ प्रतिशत बिन्दु, समाज लघुवित्तको ७.०५ प्रतिशत घटेर ४.४८ प्रतिशत बिन्दु, कालिका लघुवित्तको ८.४२ प्रतिशत घटेर ४.२४ प्रतिशत बिन्दु, ग्लोबल आइएमई लघुवित्तको ८.६१ प्रतिशत घटेर ४.३५ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ । असोजसम्म जनउत्थान सामुदायिक लघुवित्तको १०.३८ प्रतिशत घटेर ८.६३ प्रतिशत बिन्दु, नेष्डो समृद्ध लघुवित्तको १०.६१ प्रतिशत घटेर १३.३ प्रतिशत बिन्दु, स्वाबलम्बन लघुवित्तको ११.६० प्रतिशत घटेर १०.९७ प्रतिशत बिन्दु, एनएमबि लघुवित्तको १२.३७ प्रतिशत घटेर ६.३७ प्रतिशत बिन्दु, निर्धन उत्थान लघुवित्तको १७.७३ प्रतिशत घटेर १०.१६ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ । समीक्षा अवधिमा मेरो माइक्रोफाइनान्स लघुवित्तको १८.३४ प्रतिशत घटेर ९.३९ प्रतिशत बिन्दु, गुराँस लघुवित्तको २५.९९ प्रतिशत घटेर ३.१६ प्रतिशत बिन्दु, सिवाईसी नेपाल लघुवित्तको २९.६६ प्रतिशत घटेर ४.६ प्रतिशत बिन्दु, मानुषी लघुवित्तको ३०.१० प्रतिशत घटेर ५.१३ प्रतिशत बिन्दु, समता घरेलु लघुवित्तको ३६.६५ प्रतिशत घटेर ४.५८ प्रतिशत बिन्दु, महिला लघुवित्तको ४२.०७ प्रतिशत घटेर २.८५ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । सामुदायिक लघुवित्तको ४३.५७ प्रतिशत घटेर ६.४१ प्रतिशत बिन्दु, श्रृजनशील लघुवित्तको ४४.४१ प्रतिशत घटेर ७.४७ प्रतिशत बिन्दु, ग्रामीण विकास लघुवित्तको ५८.४३ प्रतिशत घटेर ४.७८ प्रतिशत बिन्दु, आरम्भ चौतारी लघुवित्तको ६१.०२ प्रतिशत घटेर २.१४ प्रतिशत बिन्दु र उपकार लघुवित्तको ७४.१२ प्रतिशत घटेर १.२५ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । समीक्षा अवधिमा २६ वटा लघुवित्त संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी रहेको छ, जसमध्ये एनआईसी एशिया लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, आत्मनिर्भर लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, मातृभूमि लघुवित्त, इन्फिनीटी लघुवित्त, स्वाबलम्बन लघुवित्त, नाडेप लघुवित्त, निर्धन उत्थान लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा माथि रहेको छ । राष्ट्र बैंकका अनुसार ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंक तथा संस्थालाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्न सक्ने कानुनी व्यवस्था छ । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही अगाडि बढाएर लाभांश वितरणदेखि नयाँ शाखा कार्यालय खोल्न नपाउने प्रावधान छ । तर, लघुवित्त संस्थाको हकमा खराब कर्जा ५ प्रतिशतभन्दा बढी भएपनि लाभांश वितरणमा भने रोक लगाउने व्यवस्था छैन ।
ठडिँदैछ देशको पहिलो ‘फ्लाई ओभर’, गाडी गुड्ने दिन नजिकिँदै
काठमाडौं । रिङरोडको व्यस्त सडक । सयौं सवारी साधनमा हजारौं मानिसहरूको आवातजावत । तिनै हजारौं मानिसको एक नजर परिहाल्छ ‘ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर’ मा । अधिकांशको मनमा जिज्ञासा पलाउँछ होला, ‘यो फ्लाई ओभरमा फिलिली… गाडी चलाउन कहिले पाइन्छ होला ? नेपालमा नयाँ र पहिलो फ्लाई ओभर भएकोले पनि ती यात्रुहरूको मनमा त्यो जिज्ञासा, प्रश्न र कौतुहलता उब्जिनु पनि स्वाभाविक हो । तिनै हजारौं मानिसहरूको त्यो कौतुहलताको जवाफ खोज्न हामी बुधबार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर स्थलमा पुग्यौं । सवारीसाधनको व्यस्त आवागमनको बीचमा काम गर्न व्यस्त थिए पाँच दर्जन मानिसहरूको संख्या । दैनिक २२ घण्टाभन्दा बढी समय काम भइरहेको सो स्थलमा १ डोजर, २ स्काईभेटर, ३ ट्रिपर, ९ रोलर र ३ वटा क्रेन निर्माणस्थलमा परिचालन गरिएको थियो । ६५ जना काममा व्यस्त थिए । हामीले निर्माण स्थलमा खटिएका सव–इञ्जिनियर कृष्णगोपाल श्रेष्ठलाई प्रश्न गरौं, ‘फ्लाई ओभरको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? उनले जवाफमा भने, ‘हालसम्म ‘फ्लाई ओभर’ को ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब केही दिनमै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’ अहिले ‘फ्लाई ओभर’ को कोटेश्वरतर्फ माटो भर्ने काम भइरहेको छ । दुई वर्षदेखि निर्माणाधीन ‘फ्लाई ओभर’को काम २०८१ भित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को ‘फ्लाई ओभर’ २०८१ सम्म सम्पन्न गर्ने समयसीमाका साथ अगाडि बढिरहेको छ । २०७८ साल फागुन महिनाको १२ गतेबाट सुरु भएको ग्वार्को ‘फ्लाई ओभर’ को काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर, तोकिएको समयमा काम सम्पन्न हुन सकेन । सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्र, चाकुपाट, ललितपुरले हालसम्म ‘फ्लाई ओभर’ को ९८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दियो । प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर प्रभातकुमार झाका अनुसार दसैं-तिहार र बेमौसमी वर्षाका कारण काम केही ढिलाजस्तो भए पनि अहिले कामलाई तीव्र रूपमा अगाडि बढाइएको छ । निर्माण कम्पनी आशीष-समानान्तर-रेलिगेर जेभी काठमाडौंले २०७८ फागुन १२ गते ‘फ्लाई ओभर’ निर्माणको ठेक्का पाएको थियो । सम्झौतामा काम सम्पन्न गर्न सक्ने अवधि दुई वर्षको थियो । जसमा काम पुरा हुन नसकेपछि म्याद थप गरेको थियो । सम्झौता अनुसार पुस ११ गते सम्ममा सम्पन्न गर्नुपर्ने भए पनि समयावधिभित्रै सम्पन्न हुन कठिन नै देखिन्छ । चक्रपथ सडकखण्डमा ट्राफिक जाम नियन्त्रण र व्यवस्थापन सहज बनाउन सरकारले ग्वार्कोमा ‘फ्लाई ओभर’ को उद्देश्यसहित चक्रपथको ग्वार्को, एकान्तकुना र सातदोबाटो चोकमा ‘फ्लाई ओभर’ बनाउने योजना अघि बढाइएको थियो । त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्को चोकको ‘फ्लाई ओभर’ निर्माण सुरु गरिएको थियो । नेपालको सडक सञ्जालअन्तर्गत बन्न लागेको यो पहिलो ‘फ्लाई ओभर’ पुल हो । जहाँ सरकारको ठूलो लगानीसमेत छ । कुल १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा ठेक्का लागेको ग्वार्को ‘फ्लाई ओभर’ को अहिलेसम्म वित्तीय प्रगति ४५.५४ प्रतिशत पुगेको छ । भौतिक प्रगति चार साता मात्रै बाँकी रहँदा हालसम्म ८० प्रतिशत प्रगति भएको देखिएको छ । जसमा पुल निर्माणको काम सम्पन्न भए पनि पुलको रेलिङ, पेभमेन्ट, रंगरोगलगायतको काम बाँकी छ । त्यसैगरी एप्रोज रोडलगायतको काम पनि बाँकी छ । समानान्तर जेभीले भने निर्माण कार्य केही दिनभित्रै सकिने जानकारी दिएको छ । ‘अब कोटेश्वरतिरको सकिने प्रक्रियामा छ,’ आशीष–समानन्तर-रेलिगेर जेभीका सव इन्जिनिर कृष्णगोपाल श्रेष्ठले भने, ‘काम छिट्टै सकिने प्रक्रियामा छ ।’ कस्तो बन्दैछ ‘फ्लाई ओभर’ ? ‘फ्लाई ओभर’ को कुल लम्बाइ ४ सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारीतर्फबाट २८० मिटर लामो र्याम र सातोदोबाटो तर्फबाट १७५ मिटर लम्बाइको र्याम बनाइने छ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । ‘फ्लाई ओभर’ को उचाइ ६ मिटरको हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाई ओभर’ को उचाइ ६ मिटर राखिएको हो । ‘फ्लाई ओभर’ ३० मिटर स्पानको चार लेनको पुलसहितको हुनेछ । कहिले गुड्छन् त गाडी ? निर्माणाधीन यो ‘फ्लाई ओभर’ हालसम्म कोटेश्वरतर्फ ३२० मिटरमध्ये २५६ मिटर जडान सम्पन्न भएको छ भने सातादोबाटोतर्फ १८० मिटर मध्ये १२० मिटर जडान सम्पन्न भएको छ । एप्रोच सडकको ५ सय मिटर काम अझै बाँकी छ भने यसबाहेक कालोपत्र हुन बाँकी छ । ग्वार्को फ्लाई ओभरअन्तर्गत ३० मिटर स्पानसहित ४ लेनको पुल निर्माण हुँदैछ भने यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बन्ने छ । यसमा बालकुमारी र सातदोबाटोबाट र्याम बनाइएको छ। जसअन्तर्गत पुल निर्माणको कार्य ९८ प्रतिशत सकिएको कम्पनीले जनाएको छ । त्यस्तै, पहुँच सडकलगायत अन्य निर्माण कार्यसमेत अन्तिम चरणमा रहेको बताइएको छ । यो प्रोजेक्ट सम्पन्न भएपछि ७० प्रतिशत भन्दामाथि ट्राफिक नियन्त्रणमा टेवा पुग्ने दाबी गरिएको छ । नेपालमा नयाँ प्रयोग भएको भन्दै यस्ता पूर्वाधार निर्माणले आगामी दिनमा थप कामका लागि सहयोग पुग्ने झाले जानकारी दिए । यो ‘फ्लाई ओभर’ सम्पन्न भएपछि मंगलबजारबाट ग्वार्को, लुभु–लामाटार इमाडोल जाने र ग्वार्को इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी पुलमुनिबाट चल्नेछन् । ‘फ्लाई ओभर’ बाट चक्रपथतर्फ जाने सवारीसाधन चल्नेछन् । जसका कारण धेरै हदसम्म जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ । यस्तै, केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘फ्लाई ओभर’ को स्थलगत निरीक्षण गर्दै समयमा काम सक्न निर्देशन दिएका थिए । म्याद सकिनै लागे पनि निर्माणको काम भने अझै सुस्त देखिएको छ । ट्राफिक व्यवस्थापन ‘फ्लाई ओभर’ निर्माण अवधिभर उक्त चोकमा ट्राफिक व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक डाइभर्सनको व्यवस्था गरेको छ । निर्माण अवधिभर कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, माहलवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाँग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट चलाउने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई भने ग्वार्को चोकभन्दा ६ सय मिटरअगाडि र पछाडि सर्भिस लेनबाट सञ्चालन भइरहेको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने सवारीसाधनलाई सर्भिस लेनमा र साना चारपाँग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।