प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ, कसले बेच्यो सेयर ?

काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी बाहिरिएका छन् । सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बैंकमा सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८४७ कित्ता सेयर थियो । साथै, श्यामबहादुर श्रेष्ठ र स्वेता मास्के श्रेष्ठले पनि बैंकमा आफ्नो सेयर स्वामित्व घटाएका छन् । बैंकमा श्यामबहादुर श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १० लाख ६७ हजार ७६२ कित्ता र स्वेता मास्के श्रेष्ठको ०.६७ प्रतिशत अर्थात् १२ लाख ९६ हजार ५७२ कित्ता सेयर स्वामित्व छ । जबकि अघिल्लो वर्ष श्यामबहादुरको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३७ कित्ता र स्वेता मास्केको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४८८ कित्ता सेयर थियो । साथै, बैंकमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ठूला सेयरधनीको सूचीमा थपिएको छ । रिलायबल नेपालले बैंकको १.०६ प्रतिशत अर्थात् २० लाख ४७ हजार ३३४ कित्ता सेयर खरिद गरेर ठूला सेयरधनीको सूचीमा थपिएको हो । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व उमेश श्रेष्ठको छ । श्रेष्ठको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत अर्थात् ३६ लाख ४५ हजार २६१ कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो वर्ष बैंकमा कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता स्वामित्व थियो । यस्तै, विनोदचन्द्र बरालको १.४४ प्रतिशत अर्थात् २७ लाख ८५ हजार ५०३ कित्ता सेयर लगानी रहेको छ । अघिल्लो वर्ष बैंकमा बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १४९ कित्ता सेयर थियो । यस्तै, बैंकमा कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशील मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५१३ कित्ता सेयर स्वामित्व छ । यस्तै, सुन्दरनारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८५ कित्ता, शैलजा बर्जाचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता सेयर लगानी रहेको छ । नरेन्द्र बज्राचार्य बैंक सञ्चालक समिति सदस्य पनि हुन् । यस्तै, महेशराज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको ०.५६ प्रतिशत अर्थात् १० लाख ८४ हजार ५३७ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, चिरञ्जिवी दवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोषनारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको ३ लाख ४२ हजार ६३९ कित्ता, सञ्चालकहरू उदयमोहन श्रेष्ठको ८ लाख ९४ हजार कित्ता, डा. गजेन्द्र विष्टको १९ हजार १५९ कित्ता, प्रचण्डमान श्रेष्ठको १ हजार ८६४ कित्ता, मनोज पौडेलको १ हजार ८६४ कित्ता सेयर स्वामित्व छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सञ्जीव मानन्धरको ६ लाख १६ हजार ८६६ कित्ता सेयर स्वामित्व रहेको छ ।

ठूलो विपतमा पनि सर्भेयरले काम पाएनन्, स्वतः अपग्रेट हुने व्यवस्था गलत छ : अध्यक्ष ढकाल

काठमाडाैं । भइपरि आउने जोखिम हस्तान्तरणका लागि मानिसहरूले आफ्नो धन सम्पत्तिको बीमा गर्छन् । सम्पत्तिको बीमा गरेर बीमितले जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् । कुनै कारणले त्यो सम्पत्तिमा क्षति भएपछि सर्भेयरको काम सुरु हुन्छ । बीमा कम्पनीले त्यो क्षतिको मूल्याङ्कन गर्न सर्भेयर खटाउँछ र सर्भेयरले क्षतिको मूल्याङ्कन गर्छन् । सर्भेयरको सोही मूल्याङ्कनको रिपोर्टका आधारमा बीमा कम्पनीहरूले बीमितलाई क्षतिपूर्ति अर्थात् दाबी भुक्तानी गर्छन् । नेपालमा हाल १३ सयको हाराहारीमा सर्भेयरहरू रहेका छन् । जो बाढी-पहिरो होस् या भूकम्प नै किन नहोस् ज्यानलाई दाउमा राखेर घटनास्थलमा पुगेर क्षतिको मूल्याङ्कन गर्छन् । विगत तीन दशकदेखि सर्भेयरको काम गर्दै आएका बीमा सर्भेयर्स एसोसिएसनको अध्यक्ष मोहनपुरुष ढकालसँग विकासन्यूजका लागि लक्ष्मण लम्सालले कुराकानी गरेका छन् । सोही कुराकानीको सम्पादित अंश : सर्भेयर बन्ने प्रक्रिया के हो ? सर्भेयरले कसरी काम गर्दछन् ? नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा लिन्छ । सो परीक्षा पास गरेपछि प्राधिकरणले सर्भेयरको लाइसेन्स दिन्छ । त्यो लाइसेन्स पाएपछि सर्भेयरसम्बन्धि काम गर्न सकिन्छ । यसरी लाइसेन्स पाएपछि सर्भेयरले बीमा कम्पनीहरूमा सूचीकृत गर्न जान्छन् । कम्पनीहरूले सर्भेयरको रोस्टममा लिस्ट राख्छन् । कतै केही कारणले धनसम्पत्तिको क्षति भएको अवस्थामा बीमा कम्पनीहरूले सोही लिस्टबाट सर्भयरलाई घटना भएको ठाउँमा खटाउँछन् । कम्पनीले खटाएको ठाउँमा गएर सर्भेयरले काम गर्छन् । सर्भेयरको काम एकदमै सेन्सेटिभ हो । क्षति भएपछि बल्ल सर्भेयरको काम सुरु हुन्छ । क्षति भएपछि बीमितलाई पीडा भएको हुन्छ । मानिसहरू पीडाको समयमा खुलेर बोल्दैनन्, सर्भेयरले क्षतिको मूल्याङ्कन गर्दा पीडित बीमितसँग सबैकुरा सोधपुछ गर्नुपर्ने हुन्छ । अर्थात् उनीहरूसँग भिज्नु पर्ने हुन्छ । त्यो कठिन काम हो । बीमा गर्दाको बखतको कागजात, क्षति भएको सम्पत्ति (बीमा गरिएको सम्पत्ति) सबै कागजात सर्भेयरले हेर्नुपर्ने हुन्छ । यसरी सबै काजगात संकलन गरेर भएको क्षतिको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा बीमितसँग एकदमै नजिक रहेर काम गनुपर्ने हुन्छ । कम्पनीले सर्भेयरलाई खटाएदेखि सर्भेयरले त्यो क्षतिको रिपोट कम्पनीलाई बुझाउँदैमा सर्भेयरको काम सकिँदैन । बीमितले दाबी भुक्तानी पाएपछि मात्र सर्भेयरको काम सकिन्छ । सर्भेयरको वर्गीकरण कसरी गरिएको छ ? वर्गीकरण र अपग्रेटसम्बन्धी कस्तो व्यवस्था छ ? प्राधिकरणले क, ख, ग र घ गरी सर्भेयरलाई ४ वर्गमा छुट्याएको छ । कुनै पनि एक व्यक्ति तथा संस्थाले सर्भेयरको लाइसेन्स लिँदा सुरुमा घ वर्गको लाइसेन्स पाउँछ । हरेक ५ वर्षमा सो सर्भेयरको अपग्रेट हुने कानुनी प्रावधान छ । कसैले यो वर्ष सर्भेयरको घ वर्गको लाइसेन्स लियो भने ५ वर्षपछि उसले कुनै काम नै नगरे पनि अपग्रेड भएर ग वर्गमा उक्लिन्छ । सोही क्रमअनुसार क र ख वर्गमा सर्भेयर अपग्रेड हुन्छ । सर्भेयरले के कति काम गर्‍यो ? कस्तो काम गर्‍यो भनेर केही मूल्याङ्कन नै हुँदैन । ५ वर्ष पुगेपछि स्वतः अपग्रेट हुने व्यवस्था छ । त्यसले गर्दा काम नै नगरेका सर्भेयर पनि अपग्रेट हुने गर्दछन् । यो व्यवस्थालाई प्राधिकरणले पुनरावलोकन गर्नुपर्ने देखिन्छ । यसैगरी, प्राधिकरणले सर्भेयरको वर्गअनुसार काम गर्ने अपर लिमिट (अधिकतम सीमा) रकमका आधारमा तोकिदिएको छ । तर, लोअर लिमिट (न्यूनतम सीमा) भने तोकिदिएको छैन । अर्थात् कुनै घ वर्गको सर्भेयरले ५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । ग वर्गकोले १५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । तर, क वर्गकोले पनि सोही ५ लाख रुपैयाँको पनि सर्भे गर्न पाउँछ । यस व्यवस्थाले ५ लाखको सर्भे कले पनि गर्न पाउँछ, घले पनि गर्न पाउँछ । न्यूनतम सीमा तोकिएको भए क वर्गले ५० लाख रुपैयाँमुनिको नपाउने वा १० लाख मुनिको नपाउने व्यवस्था गरेको ५ लाखसम्मको काम घ वर्गले मात्रै पाउँथ्यो । त्यसैले पनि सीमा तोक्नुपर्छ । नेपालको भौगोलिक अवस्था प्राकृतिक विपतको दृष्टिकोणले जोखिमपूर्ण नै छ । जलवायु परिवर्तनले हिमताल फुटेर हुने क्षति, बर्सेनि आउने बाढी-पहिरो र भूकम्पको दृष्टिले पनि जोखिम नै मानिन्छ । बेला-बेखत हुने यस्ता विपतले अहिले भएको सर्भेयरको संख्याले काम गर्न सकिरहेको छ ? यस विषयमा केही वर्षअघि बीमा प्राधिकरणमा एउटा छलफल पनि भएको थियो । त्यस पटकको छलफलमा बीमा कम्पनीका सीईओहरूले सर्भेयरको संख्या पर्याप्त छैन । सर्भेयर उत्पादन गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सर्भेयर उत्पादन गरेर अहिले १३ सयको हाराहारीमा पुर्‍याइएको छ । तर, प्राधिकरणको व्यवस्थाअनुसार एउटा व्यक्तिगत सर्भेयरले ५ वटा भन्दा बढी र संस्थागत सर्भेयरले १० वटा भन्दा बढी काम लिन नपाउने व्यवस्था छ । अर्थात् उसले ५ वटाबाट एउटा काम सकेपछि ४ वटा बाँकी हुन्छ । फेरि उसले एउटा काम थप्न पाउँछ । कानुनमा यस्तो राम्रो व्यवस्था भएपनि त्यो व्यवहारमा लागू भएको छैन । असोजमा गएको बाढी-पहिरोपछि केही सर्भेयरले ५ वटा पनि काम नपाएर बसेका छन् भने केहीले काम नै नपाएर पनि बसेका छन् । केही सर्भेयरले यति धेरै काम पाएका छन् कि उनीहरूलाई काम गर्न भ्याईनभ्याई छ । उनीहरूले तोकिएको सीमाभन्दा धेरै काम लिएको अवस्था छ । यति ठूलो क्षति हुँदा पनि कसैले काम नै नपाउने अवस्थाको सिर्जना कसरी भयो ? बीमा कम्पनीहरूले व्यक्तिगत सम्बन्धका आधारमा सर्भेयरको छनौट गर्ने गर्दछन् । धेरै सम्बन्ध भएका सर्भेयरले धेरै काम पाउँछन् । सम्बन्ध नभएकाहरूले जतिसुकै ठूलो क्षतिको अवस्थामा पनि काम नै नपाउने अवस्था छ । जबसम्म एउटा सीईओले त्यो सर्भेयरको बारेमा जानकार हुँदैन, तबसम्म उसले त्यो सर्भेयरलाई पब्लिक दायित्व जिम्मा लगाउन सक्दैन । त्यो कुरोलाई नकारात्मक तरिकाले लिनु पनि हुँदैन । विगतदेखि नै यस विषयमा ध्यान दिइएको भए विपतका बेला सबैले काम पाउँथे । सर्भेयरले सर्भे रिपोट समयमा नबुझाउँदा बीमितहरूले समयमा दाबी भुक्तानी पाउन नसकेको अवस्था छ । सर्भेयरले समयमा रिपोर्ट बुझाउन नसक्नुको कारण के हो ? सर्भेयरले सर्भे गर्दा क्षति भएको सम्पत्तिको सबै कागजात अध्ययन गर्नुपर्ने हुन्छ । सर्भेयरलाई यस्तो कागजात जुटाउन समय लाग्छ । यहाँ बीमा कम्पनीले इनीसीएसन लिन आवश्यक छ । क्षति भएको अवस्थामा बीमा कम्पनीका अभिकर्ताले कागजात संकलनमा सहजीकरण गर्दा सर्भेयरलाई काम गर्न केही छिटो हुने गर्थ्यो । केही अवस्थामा सबै कागजाग संकलन गर्न बीमितलाई पनि समय लाग्छ । धेरैजसो अवस्थामा सम्पत्तिको कागजाग सम्पत्तिको मालिकसँग भन्दा पनि उसको अडिटरसँग हुन्छ । त्यो कागजात खोज्नु पर्‍यो । केही कागजात सरकारको निकायबाट माग गर्नुपर्ने हुन्छ । मैले काम गर्दा पनि यस्तो अवस्था भोगेको छु । कागजात जुटाउन बीमित स्वयंलाई ४० दिन लाग्यो । यस्तै विविध कारणले समय लाग्छ । प्राधिकरणले रिपोर्ट बुझाउन १५ दिनको सीमा दिएको छ । यो सीमा पनि व्यावहारिक छैन । यसलाई रिभ्यू गर्न आवश्यक छ । सर्भे रिपोर्ट बनाएर बीमा कम्पनीमा बुझाएपछि सर्भेयरलाई कम्पनीहरूले बीमितसँग मिलेर रकम बढाएर रिपोर्ट बनाएको आरोप पनि लाग्ने गरेको छ, तपाईं यस्तो आरोप कतिको भोग्नु पर्‍यो ? कम्पनीले सर्भेयर व्यक्तिगत सम्बन्धका आधारमा छनौट गर्छन् । कम्पनीले कसैलाई काम दिनुको मतलब कम्पनीले उसलाई विश्वास गरेर हो ।तर, कहीं कतै कम्पनीले क्रस भेरिफिकेसन गर्न सक्छन् । यसमा हाम्रो आपत्ति छैन । केही सीईओहरूले कहिलेकाहीं यसमा केही रिभ्यू गर्ने पर्छ कि भनेर पनि सोध्नुहुन्छ । बीमितको पक्षबाट यस्तो आरोप कतिको आउने गर्छ ? बीमितले यस्तो भन्नु स्वाभाविक पनि मान्न सकिन्छ । किनकि सर्भेयरलाई बीमा कम्पनीले काममा लगाएका हुन्छन् । बीमितको नजरमा सर्भेयर कम्पनीको मान्छे हो । त्यस कारण उनीहरूले यस्तो आरोप लगाउनु स्वाभाविक हो । बीमितलाई सर्भेयरले हामी बीमा कम्पनीको मान्छे होइन भन्ने बुझाउन जरुरी हुन्छ । हामी सर्भेयर भनेको मध्यस्थकर्ता मात्रै हौं । बीमितले यहाँले गरेको काम ठीक छ भनेर खुसी भएको ३० वर्षको करिअरमा एक पटक मात्र भेटें । उहाँको नाम भने बिर्सिएँ । हवाईजहाजहरू दुर्घटना हुँदा नेपालका सर्भेयरले काम गर्न पाउँदैनन् । नेपालका सर्भेयरसँग नागरिक उडड्यन सर्भे गर्ने क्षमता नभएर हो या सम्बन्धित निकायले तपाईंहरूको क्षमतामा नजरअन्दाज गरेको हो ? यहाँ खुट्टा तान्ने प्रवृति व्याप्त छ । पोखरामा प्लेन क्र्यास भएपछि यहाँका सर्भेयरलाई काममा लगाउनका लागि बीमा कम्पनीका सीईओ र प्राधिकरणका कार्यकारी निर्देशकलाई अनुरोध गरेको थिएँ । पोखराका अभिकर्ता साथीहरूलाई तयार रहन पनि भनेको थिएँ । तर, उहाँहरूबाट सहयोग भएन । मैले सार्वजनिक कार्यक्रममा पनि यस विषयको उठान गरेको थिएँ । तर, कम्पनीहरूले हामीले भनेर हुँदैन भन्नु भयो । बाहिरबाट नै सर्भेयर पठाउने अभ्यास छ । बाहिरका पुनर्बीमा कम्पनी, पुनर्बीमा ब्रोकर कम्पनीहरूलाई नेपालको कामको गुणस्तरको बारेमा थाहा छैन, त्यसैले बाहिरबाट नै आएर सर्भे गर्ने काम हुने गरेको छ । नेपालका सर्भेयरलाई पनि एभिएसनको सर्भेको काम गराउन पहल गर्न प्राधिकरणका प्रवक्तासमेत रहेका निर्देशक सुशीलदेव सुवेदीले केही सहजीकरण गर्नु भएको छ । हेरौं, अब केही हुन्छ कि ? सर्भेयरको पारिश्रमिकको विषयमा पनि धेरै चासो हुन्छ, कति पाइन्छ पारिश्रमिक ? हाम्रो दुई किसिमको पारिश्रमिक छ । एउटा मोटर भेइकल पारिश्रमिक । जुन बीमितले माग गरेको इष्टिमेट रकमको आधारमा हामीले पारिश्रमिक पाउँछौं । जस्तो कुनै बीमितले क्षतिको इष्टिमेट ५ लाख रुपैयाँ भनेर माग गरेको अवस्था र ४० लाख रुपैयाँ भनेर बीमितले क्षतिको माग गरेको अवस्थामा त्यसको पारिश्रमिक फरक-फरक हुन्छ । अर्काे, एक्सेप्ट द मोटर । यसमा बीमितले जति माग दाबी गरे पनि सर्भेयरले पेस गर्ने रिपोर्टमा उल्लेख भएको रकमका आधारमा हामीले पारिश्रमिक पाउँछौं । अर्थात्, कुल नोक्सानीका आधारमा हामीले पारिश्रमिक पाउँछौं । ३० किलोमिटर भित्रको काम गर्दा पारिश्रमिक जे हो, त्यही आउँछ । ३० किलोमिटरभन्दा टाढा जानु पर्‍यो भने भत्ताको पनि सुविधा हुन्छ ।

बिटकोइनको मूल्य एक लाख डलरमाथि, अझै बढ्ने विश्लेषण

काठमाडौं । विश्वको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य एक लाख डलर नाघेको छ । बिटकोइन पहिलो पटक यो स्तरमा पुगेको हो । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि यसको मूल्य लगातार बढिरहेको छ । हाल बिटकोइनको मूल्य एक लाख २७७ डलर पुगेको छ । ट्रम्प सरकारले क्रिप्टो-अनुकूल नीतिहरू बनाउने लगानीकर्ताहरूको आशा छ । यही कारणले गर्दा क्रिप्टोकरेन्सीको मूल्य बढिरहेको हो । यो वर्ष बिटक्वाइनको मूल्य शतप्रतिशतले बढेको छ । ट्रम्पको चुनावी विजयपछि चार सातामा यसको मूल्य ४५ प्रतिशतले बढेको छ । योसँगै बिटकोइनको मार्केट क्याप पहिलो पटक २ ट्रिलियन डलर नाघेको छ । अमेरिकी धितोपत्र तथा विनिमय आयोगका अध्यक्ष ग्यारी जेन्सलरको राजीनामापछि क्रिप्टोकरेन्सीका लगानीकर्ताले राहत पाउने अपेक्षा गरिएको छ । धितोपत्र तथा विनिमय आयोगसेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको नेतृत्वका लागि पल एट्किन्सलाई मनोनयन गरेको घोषणा गरेका छन् । एट्किन्ससँग टोकन एलायन्सको सह-अध्यक्षको रूपमा क्रिप्टोकरेन्सी नीतिमा अनुभव छ । बिटकोइनको मूल्य  कति पुग्ला ? ट्रम्पले आफ्नो चुनावी अभियानमा डिजिटल एसेट्सलाई समर्थन गरी अमेरिकालाई क्रिप्टो राजधानीको रूपमा स्थापित गर्ने बताएका थिए । साथै उनले राष्ट्रिय बिटकोइन रिजर्भ सिर्जना गर्ने कुरा पनि गरेका थिए । हङकङमा आधारित एक स्वतन्त्र क्रिप्टोकरेन्सी विश्लेषक जस्टिन डी’एनेथनले बिटकोइनले एक लाख डलर पार गर्नु एउटा कोशेढुङ्गा मात्र नभएको बताए । उनका अनुसार यो वित्त, प्राविधिक र भूराजनीतिमा परिवर्तनको प्रमाण हो । केही समयअघि काल्पनिक भनी खारेज गरिएको आजको यथार्थ हो । यससँगै दुई वर्षअघि एफटीएक्स क्रिप्टो एक्सचेन्ज बन्द हुँदा क्रिप्टोकरेन्सी क्षेत्रले ठूलो संकटको सामना गरेको थियो । कम्पनीका संस्थापक साम बैंकम्यान फ्राइड जेल जानु परेको थियो । डिजिटल सम्पत्ति लगानी फर्म क्यानरी क्यापिटलका संस्थापक स्टीवन म्याकक्लर्गले डिसेम्बर २५ सम्म बिटक्वाइनको मूल्य १ लाख २० हजार डलर पुग्ने बताए ।