सार्वजनिक कार्यक्रममै युवराजको उद्घोष : अहिले सहकारीमा बचत थप्ने बेला होइन

काठमाडौं । सरकारले अध्यादेशमार्फत् बचतमा सीमा तोकेको भन्दै विरोध भइरहेको बेला पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भने सहकारीमा बचत राख्ने विषयमै बहस सिर्जना गरेका छन् । उनले अहिले सहकारी संस्थामा बचत राख्ने वा नराख्ने विषयमै बहस केन्द्रित गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिरहेका खतिवडाले अहिले सहकारीको थप बचत राख्नेभन्दा पनि बचत जोगाउने विषयमा केन्द्रित हुनुपर्ने राय दिएका हुन् । सोमबार नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा बोल्दै उनले सहकारी अभियानकर्मीले बचतको सीमाको विषयमा विरोध गर्दै आइरहेको बताउँदै अहिले भएकै बचत नै जोगाउन सुझाव दिएका हुन् । ‘अहिले सहकारीमा भएको बचत जोगाउने बेला हो, थप्ने होइन । जोगाउने बेलामा यति करोड जम्मा गर्न पाइँदैन भनेर कराउनुको अर्थ रहँदैन,’ उनले भने, ‘सहकारी संस्थाहरूप्रतिको विश्वास बढाउन आवश्यक छ, पहिला स्वनियमन बलियो बनाउन आवश्यक छ ।’ खतिवडाले सहकारी अध्यादेशको कार्यान्वयनको विकल्प नरहेको धारणा राखे । ‘सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो किभन्ने अर्थमा नबुझ्नु होला, पुँजी, बचत तथा ऋणका सीमाहरू पनि हट्दै जान्छन्,’ उनले थपे, ‘अहिले नै सीमा राख्नु हुँदैन भनेर बोल्न आवश्यक छैन ।’ उनले सहकारी अध्यादेश संशोधनको माग नगर्न समेतसुझाव दिए । ‘अहिले नै अध्यादेश संशोधन गर्ने कुरा नगरौं । जब सहकारी ऐनको संशोधनको कुरा आउँछ, त्यो बेला बचत संकलन प्राथमिक पुँजीको आधारबाट तय गर्ने, ऋणको पनि त्यसै गर्ने र आफ्नो बचतकर्तालाई फिर्ता दिन सक्ने क्षमताको आधारबाट व्यवस्था गर्न सकिन्छ,’ उनले भने । खतिवडाले कृषि सहकारीका कृषि उद्यमहरूलाई उद्योगमा परिवर्तन गर्नका लागि उद्योग मन्त्रालयले कसरी सहजीकरण गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । कृषि उत्पादनले बजार नपाउने समस्या अन्त्य गर्न प्रधानमन्त्री कार्यालयले काम गरिरहेको उनको भनाइ छ । खतिवडाको यो भनाइले सहकारी क्षेत्रलाई नै थप प्रभाव पर्ने अभियानकर्मीहरु बताउँछन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा काम गरिरहेका खतिवडाले सहकारीमा थप बचत नराख्न सुझाव दिँदा सहकारी क्षेत्रमा थप वित्तीय जोखिम पर्न सक्ने सम्भावना रहन्छ । यसले वित्तिय स्थायित्वमा असर पर्नुका साथै सहकारीमा आम बचतकर्ताको विश्वास थप घट्न सक्ने सम्भावना रहन्छ । सरकारी महत्त्वपूर्ण पदमा रहेको व्यक्तिले समेत बचतकर्तालाई थप डर सिर्जना गर्ने धारणा राख्दा यसले सामाजिक र आर्थिक अस्थिरता निम्त्याउन सक्छ भने संकटमा रहेका सहकारी थप संकटमा परेर त्यसको नकारात्मक असर समग्र वित्तीय प्रणालीमा पर्न सक्छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले अहिले नै अध्यादेश सच्याउन आवश्यक नरहेको र माग पनि नगर्न सुझाव दिइरहेको बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निरावरणमन्त्री बलराम अधिकारीले भने सहकारी अध्यादेश सच्याउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । अधिकारीले पछिल्लो समय सहकारी अभियानकर्मीबाट अध्यादेशमा उल्लेख भएका केही व्यवस्थाहरुको विरोध भएको बताउँदै त्यसलाई सच्याएर जाने दाबी गरे । उनले सहकारी अध्यादेशमा गरेका व्यवस्थालाई लिएर अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका हन् । ‘सबै काम एकैपटक हुँदैन, स्वाभाविक रूपमा अध्यादेशमा केही विषय छुटेका छन्, ती विषयलाई राख्नुपर्नेछ, राखिएका तर आवश्यक नभएका विषयलाई हटाउन पनि सकिन्छ,’ उनले भने, ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

अपांगमैत्री आकाशे पुल निर्माणमा अघि बढ्दै ललितपुर महानगर, कहाँ-कहाँ बन्दैछन् ?

काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरबासीलगायत ललितपुरका विभिन्न वडाहरू हुँदै यात्रा गर्नेहरूलाई छिटो र सहजतालाई मध्यनजर गरी मोटरेबल पुल निर्माण कार्यक्रमलाई प्राथामिकताका साथ अघि बढाइरहेको छ । महानगरले आफ्नै बजेटमा र केही वडाहरूसँग सहकार्य गरेर साना तथा ठूला मोटरेबल र आकाशे पुल निर्माण आयोजनालाई अगाडि बढाउँदै आएको हो । महानगरले आगामी १० वर्षसम्मलाई पुग्नेगरी पुल निर्माण कार्यलाई अगाडि बढाएको जनाएको छ । महानगरका अनुसार यही चालु आर्थिक वर्षमा दुई मोटरेबल पुल सञ्चालनमा आइसकेको छ । ललितपुर वडा नम्बर २२ बुंगमतीदेखि वडा नम्बर २७ सुनाकोठीलाई जोड्ने आरसीसी पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको हो । यो पुल निर्माणको जिम्मा जय बुद्ध निर्माण सेवा प्रालिले पाएको थियो । निर्माण कम्पनीले ५ करोड ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्ती र वडा नं २५ भैंसीपाटी जोड्ने पुल पनि निर्माण सम्पन्न भइसकेको छ । यस ठाउँको पुल निर्माण श्री तामाङ मरिन कन्सट्रक्सन प्रालिले पाएको थियो । उक्त कम्पनीले २ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको हो । निर्माणाधीन अवस्थामा रहेका पुल महानगरपालिकाले महानगरकै दक्षिणतर्फको भेगलाई रिङरोडसँग सजिलै जोड्ने उद्देश्यका साथ मोटरेबल पुल निर्माण आयोजनालाई अघि सारेको जनाएको छ । अहिले पनि हरिसिद्धिबाट धापाखेल जानु पर्‍यो भने सातदोबाटो आएर फर्किनुपर्छ । त्यसरी घुमेर यात्रा गर्नुभन्दा सिधै यात्रा गर्नका लागि महानगरले हरिसिद्धिको इट्टा टायलबाट कान्तिपुर इन्जिनियरिङ कलेज हुँदै वडा न २३, २४ जोडिनेगरी पुल बनाउने योजना बनाएको महानगरका पूर्वाधार विभागका प्रमुख एवं आयोजना व्यवस्थापक (सीडीई) प्रदिप पौडेलले बताए । यसका लागि महानगरपालिकाले टेन्डर आह्वान गरिसकेको छ । टेन्डर यही पुस २१ गते खुल्दैछ । ललितपुर वडा नं. १४ स्थित नख्खुखोलामा आरसीसी पुल बन्दैछ । यहाँ निर्माण हुन लागेको पुलले वडा नं १४ र २५ लाई जोड्ने छ । साविकका गाविसहरूलाई चक्रपथसँग जोड्नका लागि पुल निर्माण हुन लागेको सीडीई पौडेलले बताए । यो निर्माणले वडा १३, २४, १८,२६ २७ का बासिन्दालाई सहज हुने महानगरले जनाएको छ । यो पुल निर्माणको लागि नियाग्रा कन्स्ट्रक्सनले ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीले महानगरसँग चार करोड दुई लाख ६८ हजार ७२८ रुपैयाँमा सम्झौता गरेको छ । सम्झौता २०८० भदौमा भएको थियो । हाल त्यहाँ निर्माणको काम पनि सुरु भइसकेको छ । यो पुल आगमी २०८१ फागुन २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता छ । सम्झौता अवधिमै काम सक्नेगरी द्रूत रूपमा काम भइरहेको निर्माण पक्षले जनाएको छ । सीडीई पौडेलका अनुसार धापाखेलबाट सुनाकोठी जोड्ने कल्भर्ट निर्माणाधीन अवस्थामा छ । यो पुल निर्माणको लागि विश्वज्योति विल्डर्सले ठेक्का पाएको छ । महागनरपालिकासँग पुल निर्माणको लागि विश्वज्योति विल्डर्सले असार १८ गते सम्झौता गरेको थियो । यो पुल २०८२ असार १७ गते सम्पन्न गरिसक्नुपर्ने छ । बीचमा असोजमा आएको बाढी र स्थानीयको अवरोधको कारण काम रोकिएपनि हाल निर्माण कार्य सञ्चालन भइरहेको निर्माण पक्षले जनाएको छ । कहाँ-कहाँ बन्दैछन् अपांगमैत्री आकाशे पुल ? ललितपुर महानगरले अपांगता भएका नागरिकलाई मध्यनजर गरी अपांगतामैत्री आकाशे पुल निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेकाे छ । महानगरले शारीरिक रूपमा अशक्त, बालबालिका र जेष्ठ नागरिक सबैलाई सहज होस् भन्ने हिसाबले अपांगतामैत्री पुल निर्माणलाई प्राथमिकतामा राखेको छ । काठमाडौंका सडकहरूमा आकाशे पुल प्रशस्तै भएपनि अपांगमैत्री पुल नबनको अवस्थामा महानगरले नयाँ अभ्यासको थालनी गरेको जनाइएको छ । सीडीई पौडेल लिफ्टसहितको आकाशे पुल नेपालमा पहिलो पटक बन्न लागेको बताउँछन् । पौडेलका अनुसार हाल ललितपुरको कुसुन्तीमा त्यस खालको आकाशे पुल निर्माण भइरहेको छ । उनका अनुसार पुल निर्माणको कार्य लगभग ७५ प्रतिशत सम्पन्न भइसकेको छ । ‘अब पुल निर्माणको २५ प्रतिशतमात्रै काम बाँकी छ । अब केही ट्रष्ट राख्ने काम बाँकी छ । त्यसमा लिप्टसहितको राख्नेछौं,’ उनले भने । उक्त स्थानको पुल निर्माणको लागि लामा प्रगति-मनि बुद्ध जेभीले चार करोड ६८ लाखमा सम्झौता गरेको छ । अर्को साइकलसहितको आकाशे पुल धोबीघाटमा निर्माण गर्ने महानगरको योजना छ । रिङरोडमा यस्तो खालको पुल बनाउँदा सडक विभागसँग अनुमति लिनुपर्ने भएका कारण त्यसको सहमतिको लागि सडक विभागलाई पत्र पठाइसकेको पनि सीडीई पौडेलले बताए। उनका अनुसार पाटन अस्पताल अगाडि पनि लिफ्टसहितको अपांगमैत्री आकाशे पुल बनाउने महानगरको योजना रहेको छ । त्यसका लागि विभिन्न सरोकारवालासँग छलफल पनि सम्पन्न भइसकेको छ । महानगरले उक्त ठाउँमा पुल निर्माणको लागि सञ्चय कोष, मानसिक अस्पताल र पाटन अस्पातल र सडक विभाग चार वटा निकायसँग छलफल गरिसकेको पौडेलले जानकारी दिए । ती निकायहरूसँगको छलफल सकारत्मक भएको पौडेलले सुनाए । पौडेलका अनुसार पब्लिकलाई समस्या नहुनेगरी पुल निर्माण भइरहेको छ । महानगरले व्यस्त सडकमाभन्दा मान्छेको चहलपहल कम भएको क्षेत्रमा पुल निर्माणलाई प्राथाामिकतामा राखेको छ । सीडीई पौडेलले भने,  ‘हातीवनमा पुल बनाउने सन्दर्भमा हामीले सडक विभागसँग पनि अनुमति मागेका थियौं, विभागले आफै बनाउँछु भनेपछि त्यहाँ महानगरले पुल निर्माणलाई अगाडि बढाएको छैन । त्यसबाहेक हामीले पुल बनाउँदा अति आवश्यक र मान्छेको चहलपहल अलि कम भएको ठाउँलाई बढी प्राथमिकतामा राखेका छौं ।’

डेढ अर्ब कमाउने कसमस सिमेन्टको व्यापार २६ करोडमा झर्‍यो, अरू उद्योग पनि हायलकायल

काठमाडौं । सिमेन्ट उद्योगहरू लामो समयदेखि समस्यामा रहेको गुनासो गर्दै आएका छन् । विगतमा राम्रो व्यापार गरेर आम्दानी पनि सन्तोषजनक रूपमा गर्दै आएका सिमेन्ट उद्योगहरू पछिल्लो समय खर्च पनि उठाउन नसक्ने अवस्थामा पुगेका हुन् । अहिले अधिकांश सिमेन्ट उद्योगहरू घाटामा सञ्चालन भइरहेका छन् । धनुषामा कारखाना रहेको कसमस सिमेन्टले चालु आर्थिक वर्षको पाँच महिनामा २६ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । विगतमा राम्रो आम्दानी गर्दै आएको कसमस सिमेन्टको व्यापारले पनि अहिले समग्र सिमेन्ट उद्योग समस्यामा रहेको बुझ्न सकिन्छ । यसअघि विकासन्यूजले तयार पारेको ‘६० अर्बको सिमेन्ट व्यापार ३० अर्बमा झर्‍यो’ शीर्षकको समाचारमा पनि सिमेन्ट उद्योगको व्यापार घटेको उल्लेख थियो । अहिले कसमस सिमेन्टको व्यापारले पनि त्यसलाई थप प्रमाणित गरेको छ । पाँच वर्षको अवधिमा कसमस सिमेन्ट उद्योगको सञ्चालन आम्दानी ८३ प्रतिशतले घटेको छ ।  यसअघि अर्थात् २०२३ मा उद्योगले ८४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ३० लाख, सन् २०२१ मा १ अर्ब ३८ करोड र सन् २०२० मा १ अर्ब २९ करोड ५० लाख र सन् १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । १ लाख ६५ हजार मेट्रिक टन क्लिन्कर र ४ लाख २९ हजार मेट्रिक टन ग्रान्डिङ उत्पादन गर्ने क्षमता भएको यो सिमेन्ट उद्योगको सात जना सेयरधनी छन् । यस उद्योगको अध्यक्ष प्रदीपजंग पाण्डे हुन् भने सञ्चालकका रूपमा ध्रुव थापा, हर्षमान श्रेष्ठ र प्रवलजङ पाण्डेले काम गरिरहेका छन् । यस उद्योगले ताज सिमेन्ट र कसमस ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । यो उद्योगले डेढ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । कसमस सिमेन्टमा आन्तरिक विवाद तथा क्लिन्करको विषयले पनि ठूला व्यापार गुमाउनु परेको बुझिएको छ । अधिकांश सिमेन्ट उद्योगलाई अहिले सकस परिरहेको बेला कसमसलाई पनि त्यो समस्या देखिएको हो । कसमसले पछिल्लो समय सरकारको न्यून पुँजीगत खर्च र आर्थिक मन्दीसँगै बढ्दो प्रतिस्पर्धाले सिमेन्ट बिक्री घट्दा व्यापार पनि कम भएको बताएको छ । यस उद्योगले बजारमा आफ्नो प्रभावकारी विस्तार गर्न नसक्दा पनि व्यापार घटेको बुझिएको छ । कम्पनीलाई तरलता व्यवस्थानमा ठूलो चुनौती देखिन सक्ने रेटिङ एजेन्सी इक्रा नेपालको विश्लेषण छ । नेपालमा अहिले करिब साढे पाँच दर्जन उद्योगहरू सञ्चालनमा रहेका छन् । ती उद्योगलाई अहिले बैंकको ब्याज तिर्न पनि सकस परेको बुझिएको छ ।