सन् २०२४ मा टोयोटाको १ करोड ८ लाख गाडी बिक्री
काठमाडौं । टोयोटा मोटरले सन् २०२४ मा १ करोड ८ लाख गाडी बिक्री गरेको छ । कम्पनीले बिहीबार घोषणा गर्दै लगातार पाँचौं वर्ष विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता बनेको जानकारी गराएको छ । जापानी अटोमोबाइल कम्पनी टोयोटाको विश्वव्यापी बिक्रीमा ३.७ प्रतिशत गिरावट आएको छ । यसमा साना गाडी निर्माता डाइहात्सु र ट्रक निर्माता हिनो मोटर्सको बिक्री पनि समावेश छ । टोयोटाको बिक्री घट्नुको मुख्य कारण जापानमा भएको ठूलो गिरावट हो ।डाइहात्सुमा प्रमाणीकरण परीक्षण प्रक्रियासम्बन्धी विवादका कारण कम्पनीलाई ठूलो असर परेको थियो । जापानमा दोहोरो अंकको गिरावटका कारण विश्वव्यापी बिक्रीमा असर परेको छ। जापानबाहेक अन्य अन्तर्राष्ट्रिय बजारमा टोयोटाको बिक्री राम्रो देखिएको छ । फक्सवागन दोस्रो स्थानमा जर्मन अटोमोबाइल कम्पनी फक्सवागन समूहले यस वर्ष दोस्रो स्थान हासिल गर्यो । २०२४ मा यसको बिक्री २.३ प्रतिशतले घटेर ९० लाख गाडीमा सीमित भयो । कम्पनीले चीनमा बढ्दो प्रतिस्पर्धा र लागत कटौतीको चुनौती सामना गरिरहेको छ । हाइब्रिड गाडीको माग बढ्यो, इलेक्ट्रिक गाडीको बिक्री कम टोयोटाको हाइब्रिड गाडीहरू कुल बिक्रीको ४०.८ प्रतिशतले बिक्री भएको छ, जुन हालसम्मकै उच्च हो । ब्याट्री–इलेक्ट्रिक गाडीको बिक्री भने जम्मा १.४ प्रतिशतमात्र रह्यो । चीनमा भने मूल्य प्रतिस्पर्धाका कारण टोयोटाको बिक्री ६.९ प्रतिशतले घटेको छ । टोयोटाले हाइब्रिड गाडीहरूमा राम्रो सफलता हात पार्दा पनि जापान र चीनमा मूल्य प्रतिस्पर्धाका कारण केही कठिनाइहरू सामना गर्नु परेको छ । तर, करोड ८ लाख गाडी बिक्री गर्दै टोयोटाले फेरि पनि विश्वको नम्बर १ अटोमोबाइल निर्माता बन्ने स्थान सुरक्षित गरेको छ । सान्दर्भिक सामग्री : २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने चीनमा हरेक वर्ष १ करोड २८ लाख ईभी बिक्री निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने
विपत र व्यापारिक चार्टरमा सेनाका हेलिकोप्टर : ८ लाख बढी भाडा, ४७ वर्ष अघिदेखिको बक्यौता बाँकी
काठमाडौं । कुनै पनि आपतविपद् पर्दा होस् या रमाइलोको लागि घुम्न जानका लागि नै किन नहोस् प्रायः प्रयोग हुने भनेको हेलिकोप्टर हो । अझ बढी विपदमा प्रयोग हुने भनेको नेपाली सेनाको हेलिकोप्टर हो । नेपाली सेनासँग अहिले ८ वटा हेलिकोप्टर छन् । जसको भाडादर प्रतिघण्टाको फरकफरक छ । जसमा सबैभन्दा बढी भाडा एम.आई.१७ हेलिकोप्टरको पर्छ । यो हेलिकोप्टरको प्रतिघण्टा शुल्क ८ लाख ५७ हजार २ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । ‘एम.आइ.१७’ बलियो, भरपर्दो तथा बहुउद्देश्यीय हेलिकोप्टर हो । यो हेलिकोप्टर नेपाल, भारत, चीन, अमेरिका, अफ्रिका लगायतका देशमा प्रयोग बढी हुन्छ । यो हेलिकप्टरको मर्मत सम्भारका लागि सेनाले प्रतिघण्टा २ लाख ५९ हजार ९ सय २४ छुट्याउने गरेको छ भने प्रतिघण्टा उडानका लागि ९ हजार ४५ सय रुपैयाँको हवाई इन्धन लाग्ने गर्छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो ए.एल.एच. । पहाडी भेगमा उद्धार तथा सैनिक आपूर्तिका लागि यो हेलिकोप्टरको प्रयोग गरिन्छ । योे हेलिकोप्टरको प्रतिघण्टा भाडादर ३ लाख ७० हजार २ सय ९२ रुपैयाँ निर्धारण गरिएको छ । जसको प्रतिघण्टाको मर्मतसम्भार खर्चमा १ लाख ४१ हजार ६६ रुपैयाँ खर्च छुट्याइन्छ भने प्रतिउडान ५० हजार ४ सय रुपैयाँ इन्धन खर्च लाग्छ । यस्तै, अगष्टा हेलिकोप्टरको प्रतिघण्टा ४ लाख ३८ हजार ४ सय ५४ रुपैयाँ भाडा लाग्छ । यो हेलिकोप्टरको मर्मत सम्भारमा १ लाख ५१ हजार ४७ रुपैयाँ खर्च लाग्छ भने इन्धनमा प्रतिघण्टा ६३ हजार खर्च हुन्छ । नागरिक उड्यन प्राधिकरणलाई हेलिकोप्टरले प्रति उडान १ हजार १ सय रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था । यी सबै खर्च काट्दा यो हेलिकोप्टरको पनि ४ लाख ३८ हजार बढी भाडा पर्न जान्छ । ईक्युरेलको प्रतिघण्टा उडान भाडा २ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ निर्धारण गरिएको छ । यो हेलिकोप्टरको प्रतिडान मर्मत सम्भार गर्न ७४ हजार ८ सय ७० खर्च लाग्छ भने प्रति उडानमा २० हजार ७ सय ९० हवाइ इन्धन लाग्ने गर्छ । बेल हेलिकोप्टरको प्रतिघण्टा उडान शुल्क २ लाख २९ हजार ५ सय २७ निर्धारण गरिएको छ । जसको प्रतिउडान मर्मत सम्भारका लागि ७० हजार ९ सय ५० रुपैयाँ लाग्छ भने प्रतिघण्टाको उडानमा २१ हजार ५ सय ४६ इन्धन खर्च लाग्छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- स्काईट्रक जसको प्रतिघण्टा शुल्क ३ लाख ४६ हजार ५ सय १ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । प्रतिघण्टा उडान गरेबापत् यस हेलिकोप्टरको मर्मत सम्भारका लागि ६० हजार ४ सय ७५ रुपैयाँ लाग्छ भने प्रतिघण्टा उडानमा ६० हजार ४ सय ८० बराबरको इन्धन खर्च लाग्छ । यस्तै, ट्रेनर जहाजको प्रतिघण्टा ९८ हजार ६ सय १८ रुपैयाँ भाडा लाग्छ । जसको प्रतिउडान मर्मतका लागि २ हजार ३ सय २३ रुपैयाँ खर्च लाग्छ भने १० हजार ७ सय १० रुपैयाँको इन्धन लाग्ने गरेको छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- कासा २३५ । जसको प्रतिघण्टा उडान शुल्क ७ लाख ३४ हजार ४३ निर्धारण गरिएको छ । यो हेलिकोप्टरका लागि प्रतिघण्टा उडान गरेपछि मर्मतमा ९४ हजार ९ सय २३ रुपैयाँ लाग्छ भने ७५ हजार ६ सय रुपैयाँको इन्धन लाग्छ । नेपाली सेनाका हवाइ सेवा प्रमुख आशिष नरसिंह राणाका अनुसार देशमा कुनै प्राकृतिक विपत् तथा कुनै समस्या तथा मनोरञ्जनका लागि पनि मानिसले सेनाको हेलिकोप्टर चार्टर गर्दै आएका छन् नेपाली सैनिक विमान चार्टर विकास समितिले चार्टर गरेबापतकाे आयव्ययको हिसाब राख्दै आएको छ । समितिको गत आवको मौज्दातसमेत यो वर्ष ६७ करोड १९ लाख ३१ हजार आम्दानी रहेकोमा २९ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च भई ३८ करोड १५ लाख ८५ हजार रुपैयाँ मौज्दात रहेको बताइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ७ व्यक्ति, संस्था एवम् निकायबाट चार्टर भाडा ४९ लाख ६१ हजार रुपैयाँ र २०३४/३५ देखि २०७८/७९ सम्मको बक्यौता ७ करोड १७ लाख ३ हजार समेत गरी ७ करोड ६६ लाख ६४ हजार असुल हुन बाँकी रहेको देखिन्छ । बक्यौता रकम जरिवाना समेत गरी असुल गर्न महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ ।
६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो
काठमाडौं । ६ महिनामा वाणिज्य बैंकहरूले साढे २ खर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् । बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा बढाएर ४८ खर्ब १५ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । गत असारसम्म बैंकहरूले ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । प्रतिशतका आधारमा ६ महिनामा बैंकहरूले ५.३५ प्रतिशत कर्जा वृद्धि भएको देखिन्छ । समीक्षा अवधिमा विभिन्न १६ बैंकको कर्जा लगानी बढेको छ भने ४ बैंकको घटेको देखिन्छ । यस अवधिमा एभरेष्ट बैंकले सबैभन्दा धेरै कर्जा वृद्धि गरेको छ । यस बैंकले १६.५२ प्रतिशत अर्थात् ३० अर्ब ८१ करोड रुपैयाँ बढाएर २ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । जबकि गत असारसम्म बैंकको कर्जा १ खर्ब ८६ अर्ब ५० करोड रुपैयाँ थियो । पुस मसान्तसम्म एनएमबी बैंकले १२.१५ प्रतिशत अर्थात् २४ अर्ब ८७ करोड रुपैयाँ २ खर्ब २९ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असारसम्म यस बैंकको कर्जा २ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकले १०.१६ प्रतिशत अर्थात् ३९ अर्ब ७३ करोड रुपैयाँ बढाएर ४ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकहरूमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकमा ग्लोबल आइएमई पहिलो स्थानमा छ । गत असारसम्म बैंकले ३ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । प्राइम बैंकले ९.१६ प्रतिशत अर्थात् १७ अर्ब ७७ करोड रुपैयाँ बढाएर २ खर्ब ११ अर्ब ७० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८.६१ प्रतिशत अर्थात् २२ अर्ब ५६ करोड रुपैयाँ बढाएर २ खर्ब ८४ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८.०७ प्रतिशत अर्थात् २६ अर्ब ५६ करोड रुपैयाँ बढाएर ३ खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ७.५० प्रतिशत अर्थात् १९ अर्ब ४१ करोड रुपैयाँ बढाएर २ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै, नेपाल बैंकले ७.१७ प्रतिशत अर्थात् १४ अर्ब ९३ करोड रुपैयाँ बढाएर २ खर्ब २२ अर्ब ८७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ६.३७ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड रुपैयाा बढाएर १ खर्ब ३९ अर्ब ५० करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६.२८ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड रुपैयाँ बढाएर २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ, सिटिजन्स बैंकले ५.७८ प्रतिशत अर्थात् ९ अर्ब ११ करोड रुपैयाँ बढाएर १ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । नबिल बैंकले ५.३४ प्रतिशत अर्थात् २० अर्ब ७६ करोड रुपैयाँ बढाएर ४ खर्ब ९ अर्ब ११ करोड रुपैयाँ, सानिमा बैंकले ५.२७ प्रतिशत अर्थात् ८ अर्ब ७४ करोड बढाएर १ खर्ब ७४ अर्ब ५२ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले ४.९१ प्रतिशत अर्थात् ६ अर्ब ५३ करोड रुपैयाँ बढाएर १ खर्ब ३९ अर्ब रुपैयाँ, कुमारी बैंकले ४.०५ प्रतिशत अर्थात् ११ अर्ब ८९ करोड रुपैयाँ बढाएर ३ खर्ब ५ अर्ब ३० करोड रुपैयाँ, हिमालयन बैंकले ०.१० प्रतिशत अर्थात् २६ करोड रुपैयाँ बढाएर २ खर्ब ४७ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी हुन् । समीक्षा अवधिमा एनआईसी एसिया बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कृषि विकास बैंकको कर्जा लगानी भने घटेको छ । एनआईसी एसिया बैंकको ८.४८ प्रतिशत अर्थात् २४ अर्ब २० करोड रुपैयाँ घटेर २ खर्ब ६१ अर्ब १३ करोड रुपैयाँमा सिमित भएको छ । जबकी गत असारसम्म यस बैंकले २ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, प्रभु बैंकको १.९९ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड रुपैयाँ घटेर २ खर्ब ३१ अर्ब २० करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.४७ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ घटेर ८८ अर्ब ३४ करोड रुपैयाँ र कृषि विकास बैंकको १५ करोड रुपैयाँ घटेर २ खर्ब ६ अर्ब ९४ करोड रुपैयाँमा कर्जा सीमित भएको देखिन्छ ।