नागढुंगा सुरुङमार्ग : आन्दोलनले १३ करोडको क्षति, प्रहरीको सुरक्षामा निर्माण सुरु
काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्यमा अवरोध हुन थालेपछि सरकारले प्रहरी परिचालन गरेर ठप्प रहेको कार्यलाई अगाडि बढाएको छ । स्थानीयको आन्दोलनका कारण चैत्र ३ गतेदेखि ठप्प रहेको सुरुङमार्गको निर्माण कार्य आइतबारबाट पुनः सुरु गरिएको आयोजनाले जनाएको हो । आयोजनाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार सुरुङमार्गमा स्थानीयहरूले विभिन्न ८ वटा मागसहित आन्दोलन गर्दै आइरहेका थिए । स्थानीयको आन्दोलनका कारण आयोजनाको काम नै बन्द भएपछि काम सुचारु गराउनका लागि उक्त ठाउँमा ७० देखि ८० जना प्रहरी परिचालन गरिएको आयोजना प्रमुख पन्थीले बताए । उनले भने, ‘स्थानीयले आन्दोलन गरेर आयोजना निर्माण ठप्प गरेको एक महिना भयो । न उहाँहरूले भनेको सुन्ने न उहाँहरू सहमतिमा आउने । आइतबारबाट हामीले प्रहरी परिचालन गरेरै भएपनि निर्माण कार्य अघि बढाएका छौं । अब काम चलिरहन्छ, कुनै पनि अवस्थामा काम रोकिँदैन ।’ प्रमुख पन्थीले करिब एक महिनादेखि निर्माण कार्य ठप्प बनेपछि आयोजनाका योजना तथा कार्यतालिका सबै भताभुंग भएको बताए। उनले करिब एक महिनाको अवधिमा आयोजनाले ठूलो घाटा बेहोर्नुपरेको आक्रोश पोखे । उनले भने, ‘हामीले सुरुङमार्गमा टेस्टिङको काम गर्ने तयारी गरेका थियो । त्यही अनुसार कार्यतालिका बनाई विभिन्न देशका विज्ञ प्राविधिकहरू आउन जहाजको अग्रिम टिकटसमेत काटिसकेका थियौं । यही आन्दोलनका कारण रद्द भयो । अब फेरी कार्यतालिका बनाउनुपर्ने भएको छ ।’ प्रमुख पन्थीले स्थानीयको आन्दोलनका कारण निर्माण कार्य ठप्प हुँदा २६ दिनमा १३ करोड रुपैयाँ बराबरको क्षति भएको बताएको छ। आन्दोलन गर्नु स्वाभाविक भएको तर यसरी निर्माण काम नै अवरुद्ध हुने गरी गरिनु गलत भएको उनी बताउँछन् । उनले यसमा विषयमा सरकारले नै अन्तिम निर्णय गर्ने समेत बताए । उनले भने, ‘यो समस्या विगतदेखिकै हो तर यसमा सरकारले निर्णय गर्छ । स्थानीयहरुका विभिन्न ८ वटा माग छन् । तीमध्ये आधा सम्बोधन भइसकेका छन् भने आधा बाँकी छन् । जायज मागहरु सम्बोधन भएका छन् भने गर्न नसकिने सम्बोधन नै भएका छैनन् । ’ उनका अनुसार खानेपानी, भत्किएका घरहरूलगायत जग्गाको क्षतिपूर्ति भने सम्बोधन भइसकेको छन् । आयोजनाका अनुसार निर्माण कार्य ठप्प भएको भन्दै निर्माणकर्ता कम्पनी जापानको हाजमा एण्डो कर्पोरेशनले दैनिक ५० लाख रुपैयाँको दरले क्षति भएको भन्दै आयोजनासँग २६ दिनको १३ करोड रुपैयाँ क्षतिपूर्ति समेत माग गरेको जनाइएको छ। प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप आयोजनाका आनुसार सरकारले नागढुंगा सुरुङमार्गको निर्माण कार्य आइतबार सुरु गर्न खोज्दा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो । नागढुंगा सुरुङमार्गमा प्रहरी वृत्त थानकोट, प्रहरी वृत्त कीर्तिपुर र उपत्यका प्रहरी कार्यालयबाट गरी जम्मा ८० जना प्रहरी परिचालन गरिएको आयोजनाले बताएको छ । प्रहरीसँग दोहोरो झडप र तोडफोड गर्ने नागढुंगा सुरुङमार्ग वरपरका १८ जना स्थानीय आन्दोलनकारीलाई पक्राउ गरेको आयोजनाका प्रमुख पन्थीले जानकारी दिए । स्थानीयको लामो समयको आन्दोलनका कारण अवरुद्ध भएको निर्माण कार्य सुचारु गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २ साताअघि गृह मन्त्रालयलाई पत्राचार गरेर उक्त ठाउँमा सुरक्षाकर्मी परिचालन गरिदिन आग्रह गरेको थियो । त्यही अनुसार आइतबार गृह मन्त्रालयले प्रहरी पठाएको थियो । स्थानीयहरूले भने आयोजनाले जबर्जस्ती गरेर काम अगाडि बढाएकोमा विरोध जनाएका छन् । आफूहरूका समस्याहरू सरकारले सम्बोधन नगर्दा बाध्य भएर आन्दोलन गर्नुपरिरहेको चन्द्रागिरि नगरपालिका २ का पूर्ववडाध्यक्ष गोपी सुर्खेती बताउँछन् । उनका अनुसार स्थानीयहरूले विभिन्न ८ वटा मागहरु अघि सारेका छन् । खानेपानीको व्यवस्थापन गरी दीर्घकालिन रुपमा सञ्चालन, मर्मत सम्भार तथा निःशुल्क पानी वितरण जिम्मेवारीको ग्यारेन्टी सरकार गरिदिनु पर्ने सुरुङमार्गका कारण चर्केका ९३ वटाको क्षतिपूर्ति तत्कालै उपलब्ध हुने प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने, थप क्षतिग्रस्त भएको ६० वटा घरको अध्ययन र क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई उचित रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, सुरुङमार्ग खन्ने क्रममा पश्चिम धादिङतर्फ पानीको मुहानबाट खेर गएको पानीलाई वैकल्पिक व्यवस्था गरी फेरि प्रभावित क्षेत्रमा ल्याइदिनुपर्नेलगायतका माग राखेर स्थानीयबासीहरु आन्दोलन गरिरहेका हुन् । सुर्खेतीका अनुसार यसअघि आयोजनासँग भएको सम्झौताअनुसार आयोजनाले नै आफ्नै खर्चमा प्रभावित क्षेत्रका बासिन्दाका लागि डिप बोरिङ्ग अर्थात् तत्कालका लागि खानेपानीको व्यवस्था गरिदिएको थियो । उनले जबसम्म आफ्ना मागहरू सरकारले सम्बोधन गर्दैन तबसम्म आन्दोलन जारी रहने चेतावनी दिए । सुर्खेतीले भने ,‘सरकारले मनोमानी ढगंबाट काम अघि बढाएको छ । यसमा हाम्रो विरोध छ । अब हामी शान्तिपूर्ण रूपमा आन्दोलन गर्छाैं । हाम्रो यति सानो समस्यालाई सरकारले समाधान गर्न सकेको छैन ।’ यस्तै, ४ वर्षअघि भत्किएका घरहरूमा हाल दोब्बर क्षति भएको चन्द्रानगरपालिका–२ का कार्यवाहक वडाध्यक्ष लवराम सुवेदीले बताए । उनका अनुसार सो क्षेत्रमा ५ सय घरधुरीमा खानेपानीको समस्या हुँदै आएको छ । वडाध्यक्ष सुवेदीले भने, ‘अब सुरुङमार्गको काम अन्तिम चरणमा रहेको छ । सुरुङमार्गको काम नहुँदासम्म मात्रै आयोजनाले हामीलाई निःशुल्क पानी उपलब्ध गराउने हो । त्यसपछि यसको जिम्मा कसले लिन्छ । ५ सय घरधुरीका लागि मासिक रुपमा खानेपानीको खर्च ३ लाख आउने गरेको छ । एक घरको गाग्रीको पानीको मात्रै २५ रुपैयाँ बिल आउँछ ।’ उनले सुरुङमार्गका कारण सो ठाउँमा भएका पानीका मुहानहरू सबै सुकेका बताए । सो क्षेत्रमा कृषिको पकेट भएका कारण यहाँ कतिपय स्थानीयको अर्बौंको लगानी खेर गइरहेको उनको भनाइ छ । स्थानीयको मागको विषयमा पछिल्लो समयमा मन्त्रिपरिषद्को बैठकमा लगेर सम्बोधन गर्ने सहमति भएपनि हालसम्म मन्त्रिपरिषद् बैठकबाट समेत सम्बोधन नभएको स्थानीयवासी बताउँछन् । यो विषयमा पूर्वभौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँग दुई पटक र रघुवीर महासेठसँग दुई पटक गरी ४ पटक वार्ता भएपनि समस्या समाधान हुन छैन । उक्त सुरुङमार्गमा भाक्युसन टनेल, भुइँ ढलान, एप्रोच सडक र फ्लाइ ओभर सडकको निर्माण, पहिरो नियन्त्रणको लागि वालिङ्ग (ल्याण्ड साइड प्रोटेक्सन) उठाउने काम बाँकी रहेको छ । सरकारले यो सुरुङमार्गको सम्पूर्ण काम आगामी असोज महिनासम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखे पनि विभिन्न आन्दोलन र अवरोधका कारण निर्माण अवधि लम्बिन सक्ने आयोजनाले जनाएको छ ।
डाक्टर, पाइलट र इञ्जिनियरिङ कोटा खारेज माग, विश्वविद्यालय मर्जर जरूरी
काठमाडौं । बैंक तथा बीमा कम्पनीहरु मर्जर तथा एक्विजिसनजस्तै नेपालका विश्वविद्यालयले पनि सोही नीति अवलम्बन गर्नुपर्ने बहस सिर्जना भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले विश्वविद्यालयहरु मर्जरको नीतिलाई अगाडि सार्नुपर्ने सुझाव दिएर बहस सिर्जना गरेको हो । नेपालमा केन्द्रिय विश्वविद्यालयहरूको संख्या १३ वटा पुगी सकेको र ८० प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै केन्द्रित हुने तथा त्रि वि बाहेकका विश्वविद्यालयहरूले जनशक्ति उत्पादनमा उल्लेख्य योगदान गर्न नसकेको हुँदा न्यून विद्यार्थी हुने विश्वविद्यालय एक आपसमा गाभ्ने व्यवस्था गरी उत्पादन दक्षता बढाउने र प्रति एकाइ लागत घटाउनुपर्ने सुझाव आयोगले दिएको हो । आयोगले माध्यमिक तहको शिक्षालाई रोजगारी केन्द्रित बनाउँन माध्यमिक तहको पाठ्यक्रममा अनिवार्य रूपमा एउटा व्यावसायिक विषय राखे व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ । शिक्षा तथा दक्षता विकासका लागि आयोगले नेपालमा शैक्षिक स्थितिको असमान वितरण भएको देखिएको र साक्षरताको खाडल ३१.५४प्रतिशत प्रतिवेदनमा उल्लेख गरेको छ । साक्षरता कम भएका स्थानमा शिक्षाको स्तर पनि कम भएको अनुमान लगाउन सकिन्छ । साक्षरता दर न्यून रहेका जिल्लाहरूमा साक्षरता र शैक्षिक स्तर उकास्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव आयोगको छ । नेपालमा सामुदायिक विद्यालय मध्ये ६० प्रतिशत विद्यालयमा विद्यार्थीको संख्या १०० भन्दा कम छ । एक हजार भन्दा माथि विद्यार्थी हुने सामुदायिक विद्यालयहरूको संख्या मात्र २.५७ प्रतिशत मात्र छ । सामुदायिक विद्यालयहरूमा विद्यार्थी घट्नुको प्रमुख कारण शिक्षाको गुणस्तर घट्नु रहेको आयोगको प्रतिवेदनले देखाएको छ । अतः सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी र नेपाली माध्यमबाट निजी विद्यालय सरह पठन पाठन गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव आयोगको छ । न्यून विद्यार्थी भएका उच्च माध्यमिक तहका स्कूलहरूलाई गाभी, गुणस्तरीय शिक्षाको प्रबन्ध मिलाउन स्थानीय तहको सहकार्यमा छात्रावासको स्थापना गरी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने, सामुदायिक विद्यालयमा गणित, विज्ञान, अंग्रेजी विषयका शिक्षकको अभाव हटाउन र शिक्षाको गुणस्तरमा सुधार गर्न गणित, विज्ञान तथा अंग्रेजी विषयको शिक्षक हुन सो विषयमै बिएड गरेको हुनुपर्ने प्रावधान हटाउनु पर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । अन्य संकायवाट स्नातक उत्तिर्ण गरि शिक्षा सेवामा प्रवेश गर्ने व्यक्तिलाई तीन महिने शैक्षिक विधि (पेडागोजी) को तालिम दिने व्यवस्था मिलाउने, यस्तो तालिमको कार्यक्रम विश्वविद्यालयले सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ । यस्तै, चिकित्सक, पाइलट, इन्जिनियर लगायत क्षेत्रमा कोटा प्रणाली बनाउँदा उत्पादन ऋणात्मक बनेको हुँदा कोटा प्रणाली खारेज गर्नुपर्ने सुझाव पनि आयोगको छ । शिक्षा जनताको मौलिक हक भएको हुँदा दक्षताको आधारमा वा प्रतिस्पर्धाको आधारमा उच्च अंक पाउने विद्यार्थीलाई दिने छात्रवृत्ति कायमै राख्ने, सकेसम्म सरकारी तह वाट सञ्चालित उच्च शिक्षा न्यून शुल्क बनाउने सुझाव आयोगले दिएको छ । विश्वविद्यालय पिच्छे छुट्टा छुट्टै सेवा आयोग हुँदा प्राध्यापनरत शिक्षकको गुणस्तरमा ठूलो भिन्नता आएकोले एक स्वतन्त्र र निष्पक्ष विश्वविद्यालय सेवा आयोगको स्थापना गरी सबै विश्व विद्यालयहरूमा समान गुणस्तरका मानव संसाधनको आपूर्ति गर्ने व्यवस्था मिलाउने, देश भित्रको उच्च शिक्षा अन्तरर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाई श्रम बजारको माग अनुकूलको विद्यार्थी उत्पादन गरी उच्च शिक्षाका लागि बाहिर जाने प्रवृत्तिमा कमि ल्याउने सुझाव पनि प्रतिवेदनमा उल्लेख छ ।
केपी ओलीसँग राधिकाको असन्तुष्टि र अपेक्षाका गोप्य सूची
‘…त्यसपछि मैले श्रीमतीको रूपमा ‘अपेक्षा’ गर्नै छाडिदिएँ,’ प्रधानमन्त्राणी राधिका शाक्यले आत्मकथा पुस्तक करुणामा श्रीमान वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा लेखेकी छिन् । यो विषय मेरो आँखामा मात्र परेन, मनमस्तिष्कमा पनि छिर्यो । त्यसपछि मेरो ध्यान किताब रिपोर्टिङमा गयो । केपी ओली र राधिका शाक्यको सन्तान प्राप्ति किन नभएको रहेछ भन्ने कौतुहलता मेरो मनमा उब्जियो । किताबमा केही त पक्कै उल्लेख होला भनेर उत्सुकतापूर्वक पढेँ । उनीहरूको उमेर, विवाह, प्रजनन वातावरण, दम्पतीको इच्छा, स्वास्थ्य अवस्था जस्ता विषयमा बुझ्ने उत्सुकता पलायो । राधिकाले किताबमा सन्तान पाउने इच्छा रहेको विषयलाई अभिव्यक्त गरेकी छिन् । उनले करुणा पुस्तकमा छोरी हुँदाको भूमिका र अनुभव लेखेकी छिन् । श्रीमती हुँदाको भूमिका र अनुभव पनि लेखेकी छिन् । बुहारी हुँदाको भूमिका र अनुभव पनि लेखेकी छिन् । तर आमाको भूमिका र अनुभव लेखेकी छैनन् । राधिका किन आमा बनिनन् ? उमेर, विवाह, प्रजनन वातावरणबारे पुस्तकमा लेखिएका विषयहरू नै उहाँ उल्लेख गरिएको छ । उमेर २००८ फागुन १० गते केपी ओली जन्मिएका थिए, राधिकाको जन्म २०१६ साल साउन ९ गते भएको हो । २०४४ साल फागुन १० गते उनीहरूको विवाह भएको थियाे । ओलीको जन्मदिनमा नै विवाह भएको देखिन्छ । त्यसैले पनि होला राधिकाले आफ्नाे जन्मदिनलाई महत्त्व नदिने गरेको तर ओलीको जन्मदिनलाई विशेष महत्त्व दिने गरेको पुस्तकमा लेखेकी छिन् । ढिला विवाह भएका कारण राजनीतिज्ञहरू मोहनचन्द्र अधिकारी, शेरधन राई, बलबहादुर केसी, प्रदीप पौडेल लगायतको सन्तान नभएको समाचारहरू बनेका छन् । ढिला विवाहकै कारण कलाकारहरू राजेश हमाल, मिथिला शर्मा, गायक रामेश लगायतको सन्तान भएका छैनन् । तर केपी र राधिकाको विवाह धेरै ढिला भएको होइन । विवाह गर्दा केपी ओली ३६ वर्षका थिए, राधिका शाक्य २८ वर्षकी थिइन् । दुई जनाको उमेरअन्तर ८ वर्षको छ । विवाहको उमेर र दम्पतीको उमेर अन्तरका आधार सन्तान भएन भन्न मिल्दैन । ४५ वर्षको उमेरमा विवाह गरेका शेरबहादुर देउवा र आरजु राणाको एक छोरा छन् । दुई पटक विवाह केपी ओली र राधिका शाक्यबीच दुई पटक विवाह भएको रहेछ । पहिलो विवाह २०४४ साल फागुन १० गते कुपण्डोलस्थित पार्टीका एक कार्यकर्ताको घरमा भएको थियो । जनवादी विवाहमा झलनाथ खनाल, विष्णु रिमाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यसहित १५/२० जनाको उपस्थिति रहेको किताबमा उल्लेख छ । रोचक विषय यो छ कि विवाह भएको दिन राधिका घर गइनन्, उनी माइत नै बसिन् । विवाह भएको एक सातासम्म राधिकाले परिवारसँग नभनेको र एक सातापछि पनि केपी ओलीसँग विवाह गर्दैछु भनेकी रहेछिन् । त्यसपछि घर ठेगाना नभएको केटा, त्यो पनि अन्तरजातीय विवाह गर्न लागेको भन्दै परिवारको मञ्जरी लिन नसकेको विषयमा किताबमा लामो वर्णन गरिएको छ । ओली र शाक्यबीच दोस्रो विवाह २०४४ फागुन २८ गते भएको छ । यो विवाह पारिवारिक रूपमा भएको छ तर यो विवाह बेहुलीका बाले बहिष्कार गरेका छन् । छोरीको विवाहका दिन राधिकाको बुबा ससुराली गइ बसेका छन् । ठूलाबा र आमाले विवाह कर्म गराएका छन् । ओलीको दोस्रो विवाहको जन्तीमा सुशील प्याकुरेल, नारद भारद्वाज, दीपक अमात्य लगायत सहभागी भएका थिए । दोस्रो विवाह भएको दिन राधिका र केपी पाटनकै एक डेरामा बस्छन् । डेरा आफूले खोजेको, कोठामा चाहिने सबै सामान आफूले बन्दोबस्त गरेको उल्लेख गर्दै राधिकाले लेखेकी छिन्- ‘खासमा बिहेपछि उहाँले मलाई होइन, उहाँलाई मैले भित्र्याएको अवस्था थियो ।’ केपी ओली, झलनाथ खनाल ईश्वर पोखरेल, शंकर पोखरेल, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत धेरै नेताहरूले घरबेटीको छोरी भगाएका गसिफ अर्थात् उडन्ते गफ राजनीतिक वृतमा बारम्बार हुन्छ । तर राधिकाले यसबारे खण्डन गरेकी छिन् र लेखेकी छिन् कि ‘म घरबेटीको छोरी पनि होइन, केपी ओलीले मेरो माइतीमा डेरा जमाएका पनि थिएनन् ।’ यसबारे सत्यतथ्य खोज्दा नयाँ लेख बन्छ । डेरालाई ससुरालीमा परिणत गर्ने नेताहरूको वास्तविकता खोतल्ने हो भने अर्को किताब नै तयार हुन्छ । प्रजनन वातावरण सन्तान प्राप्तिका लागि विवाहपछि प्रजनन वातावरण अत्यन्तै महत्त्वपूर्ण हुन्छ । केपी ओली र राधिका दम्पतीले त्यस्तो वातावरण नपाएको करुणा पढ्दा छर्लङ्ग हुन्छ । श्रीमान श्रीमतीबीचको सम्बन्ध र पारिवारिक वातावरण जस्तो हुनुपर्ने हो हामीबीच त्यस्तो हुन नसेकेको राधिकाले किताबमा लेखेकी छिन् । उनले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध र सन्तानबारे एउटै अध्याय वा खण्डमा उल्लेख गरेकी छैनन् । तर फरक फरक अध्यायमा टुक्रा टुक्रा गरेर वास्तविकता लेखेकी छिन् । श्रीमानश्रीमतीबीच रसरङ नै हुन नपाएको समेत उनले लेखेकी छिन् । यतिसम्म लेखिएको छ कि-'विवाहपछिको जीवनलाई ‘तावाबाट झरेको माछो भुङ्ग्रोमा’ भनेजस्तै हुँदै गयो ।’ फरक फरक प्रशङ्गहरूमा विवाहपछिको अवस्थाबारे उनले लेखेकी छिन्- ‘…त्यो सानो कोठामा सोह्र-सत्र जना मान्छेहरू पनि सुन्तुपर्थ्यो । सुत्ने पनि के भन्नु, अटे पो सुत्नु । रात कटाउने मात्र । …डेरा सार्वजनिक स्थल जस्तै थियो । मान्छेहरूको भेटघाटको चाप मैले कल्पना गरेको भन्दा विल्कुलै बढी हुन्थ्यो । …. हाम्रो डेरा राजधानी बाहिरबाट आउने कार्यकर्ताको लागि आश्रयस्थल बनेको थियो ।’ २०५१ सालमा केपी ओली गृहमन्त्री हुँदासम्म एउटा मात्र कोठाको डेरा रहेको किताबमा लेखिएको छ । ‘…श्रीमान्–श्रीमतीका रूपमा ‘सेयरिङ, रेयरिङ र केयरिङ’ भन्ने चिज कहिल्यै अनुभूति गर्न पाइएन । …विहेपछि हामीले गुमाएको केही चिज थियो भने त्यो श्रीमान श्रीमतीबीचको आत्मीय सम्बन्धको पल थियो । …सम्बन्धको मधुरताको लागि पर्याप्त समयको पनि जरुरी थियो । जुन हामीले पाएका थिएनौं ।… विहेपछि हाम्रो आफ्नो व्यक्तिगत समय, निजी स्पेस भएन । …हामीले जीवनको रसरङ अनुभूति गर्न कहिल्यै पाएनौं,’ करणाका थुप्रै पानाहरूका यस्ता पीडा व्यक्त भएका छन् । केपी ओली धेरैजसो घरबाहिर नै बस्ने, घरमा हुँदा पनि साथीहरू लिएर आउने गरेको राधिकाको वृतान्तमा उल्लेख छ । केपी ओलीलाई भेट्न धेरै मान्छे आउने, राती पनि भेटघाट चलिरहने र उनीहरूको लागि राति पनि खाना खुवाउनु पर्ने, भाँडा माझ्नुपर्ने, डेरामा रातभरि कुराकानी चल्दा निदाउन नसक्ने जस्ता दुःखहरू पनि राधिकाले पुस्तकमा लेखेकी छिन् । पारिवारिक टन्टा बेहोनुपर्ला भनेर विवाह नै नगर्ने भनेर बसेकी तर झन् झमेला बेसाउन बाध्य भएको पनि उनले लेखेकी छिन् । बालबालिका मोह राधिका र केपी ओली दुबैलाई बालबालिका असाध्यै मन पर्ने किताबमा उल्लेख छ । बालबालिकासँग खेल्दा र उनीहरूसँग कुराकानी गर्दा दुबै जना आनन्दित हुन्छन् । प्रधानमन्त्री र प्रधानमन्त्राणीको हैसियतमा बालबालिकाप्रतिको प्रेम झल्कने विभिन्न कार्यहरू गरेको वर्णन किताबमा गरिएको छ । कुल ३२४ पृष्ठको पुस्तकमा राधिकाले सन्तानबारे आफ्नो धारणा ठाउँठाउँमा, चुस्सचुस्स, अलिअलि व्यक्त गरेकी छिन् । ‘…कहिलेकाहीँ आफ्नै कोखबाट जन्मिएका सन्तान भएका भए पनि ठिकै हुन्थ्यो होला भन्ने सोच मनमा उब्जन्छ,’ एक सन्दर्भमा लेखेकी छिन्, ‘सन्तानको सन्ताप’बारे अर्को सन्दर्भमा राधिकाले लेखेकी छिन्–‘मेरो आफ्नाे कोखबाट जन्मेका सन्तान छैनन् अर्थात हाम्रा आफ्नै जैविक छोराछोरी छैनन् । सन्तान नै नहोस् भन्ने पनि थिएन ।’ यसबाट राधिकाको सन्तान इच्छा अभिव्यक्त हुन्छ । तर उनले आफ्नाे जागिरको व्यस्तता र केपी ओलीको राजनीतिक व्यस्तताले सन्तानको खोजी नभएको तर्क किताबमा दिएकी छिन् । आफ्नै सन्तान हुनुपर्छ भनेर श्रीमानश्रीमतीबीच कहिल्यै सरसल्लाह नै नगरेको पनि लेखेकी छिन् । वर्तमान अवस्थामा जैविक सन्तान नभए माया गर्ने मानिसको कमी नभएको बारेमा उनले लामो व्याख्या गरेकी छिन् । सन्तान नहुँदाको चिन्ता वा दुःख उनले व्यक्त गरेकी छैनन् । ‘हाम्रो आफ्नै जैविक सन्तान छैनन् । हामीलाई हाम्रो सम्पत्तिको व्यक्तिगत उत्तराधिकारी पनि चाहिएन । व्यक्तिगत सम्पत्तिको उत्तराधिकारी नचाहिएपछि सम्पत्तिको पनि जरुरी भएन,’ ओली–शाक्य दम्पतीको निजी सम्पत्ति जीवनपश्चात केपी ओली ट्रष्टलाई दिएको विषय लेख्दै गर्दा उनले सन्तान र वर्तमान परिवेशबारे यी विषय पनि लेखेकी छिन् । अपेक्षाका सूचीहरू राधिकाको आत्मकथामा अधिकांश वर्णन ‘केपी ओली सर’को तारिफमै केन्द्रीत गरेकी छिन् । तर, श्रीमानको रूपमा अत्यन्तै धेरै गुनासो र असन्तुष्टि व्यक्त गरेकी छिन् । उनी स्पष्ट शब्दमा लेख्छिन्- ‘एउटा श्रीमतीको रूपमा गुनासो गर्ने ठाउँ प्रशस्त छन् । आफ्ना श्रीमानले समय देओस्, जन्मदिनमा उपहार देओस्, विवाह वर्षगाँठ यादगार बनाओस्, तिमीलाई के कुराको खाँचो छ भनोस् । आमश्रीमतीका जस्तै इच्छा मेरा मनमा पनि धेरै अपेक्षाहरू थिए,’ उनी थप लेख्छिन्, ‘श्रीमानसँगको अपेक्षाहरूको सूची बनाएर केही समय त कुरेँ । मेरो पनि त केही रहरहरु थिए ।’ राधिकाका ती अपेक्षाहरू एकै पृष्ठमा वा पाठमा सूचीबद्ध नलेखिएता पनि ठाउँठाउँमा, फरक फरक प्रसंगमा लिखत भएका छन् । श्रीमानसँगको अपेक्षाहरू पुरा नभएको फेहरिस्त लेख्दै जाँदा पुस्तकको ७७ पेजमा राधिकाले लेखेकी छिन्-…त्यसपछि मैले श्रीमतीको रूपमा ‘अपेक्षा’ गर्नै छाडिदिएँ । जुन दिनदेखि मैले अपेक्षाको बोझ बिसाएँ, टाउको हलुका भयो । पुस्तकमा जहाँ केपी ओलीलाई श्रीमान् भनेर लेखेकी छिन् त्यस आसपासमा प्रेमको अपेक्षा गरेकी छिन्, थोरै शंका, धेरै विश्वासको अपेक्षा गरेकी छिन् । दिनभरका गतिविधिबारे श्रीमानश्रीमतीबीच साँझ कुरा गर्न नपाएको, मायाप्रेमबारे कुराकानी हुन नपाएको, घरको काममा जोडीसँगै जोडिन नपाएको विषयहरू किताबमा लेखिएका छन् । सौताले सताएको अनुभूति घरमा टेलिफोन जोड्दा सुरुमा आफू धेरै खुसी भएको तर पछि त्यही फोनले राधिकालाई सौतालै झैं सताएको वृत्तान्त किताबमा छन् । ‘सुरु–सुरुमा त टिनिनिटिनिनी टेलिफोनको आवाज पनि सुमधुर लाग्थ्यो । समयक्रममा टेलिफोन नै सौताजस्तो लाग्न थाल्यो,’ राधिकाले लेखेकी छिन् । श्रीमान् धेरै जसो घरबाहिर नै बस्ने, घरमा हुँदा पनि साथीहरू लिएर आउने, साथीहरू नहुँदा फोनमा घण्टौं कुरा गर्ने विषय पुस्तकका उल्लेख छ । घरको व्यवस्थापन पनि आफैले गर्नुपर्ने, परिवारको खर्च धान्न पनि आफैले आयआर्जन गर्नुपर्ने, त्यसतर्फ श्रीमानले कुनै सहयोग नगर्ने गरेको पीडालाई पनि उनले पुस्तकमा प्रकाश पारेकी छिन् । अनि समालिन्छन् व्यापक असन्तुष्टिका बीच उनी फेरि आफूलाई सम्हाल्छिन् । ‘उहाँले पहिले नै एउटा धागोको धरो पनि किनिदिन सक्दिनँ पनि भनेकै हो । श्रीमानका रूपमा तिम्रा व्यक्तिगत चाहना पुरा गर्न सक्दिनँ भनेकै हो । उहाँले झूटो आशा देखाएर धोका दिएको होइन । अनि म किन दुःखी हुने ?’ ‘सहयात्राको संयोग’ भागको अन्तिम वाक्यमा राधिकाले चित्त बुझाउँदै लेखेकी छिन्- ‘मसँग कुनै गुनासो छैन उहाँसँग र आफैसँग, आफ्नो निर्णयसँग र आफैले रोजेको जिन्दगीको यति, गति र सङ्गतिसँग ।’ टिमुर्केको केटो राधिकाले जीवनभर विवाह नगर्ने साेंचसहित २८ वर्ष हुँदासम्म विवाह गरेकी थिइनन् । घरमा सहरका धनी परिवारबाट विवाहको प्रस्ताव आउँदा पनि आफूले अस्वीकार गरेको तर केपी ओलीले गरेको पहिलो प्रस्ताव नै स्वीकार गरेको उनले पुस्तकमा लेखेकी छिन् । राधिकासँग विवाहको प्रस्ताव केपीले राख्छन् । राधिकाले २/३ पनि जवाफ दिन्छु भन्छिन् । ‘ल हुन्छ भने हुन्छ । हुन्न भने हुन्न । केही बिग्रेको छैन । मेरो साइटबाट ओके भएरै भेट्न आएको’ केपीले तत्काल राधिकालाई च्यापेका पनि छन्, घुर्काएका पनि छन् । त्यतिमात्र होइन, ओलीले शाक्यलाई भनेको छन्-‘मान्छे मै हुँ । सम्पत्तिको नाममा केही पनि छैन, मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ ।’ शाक्यको मनमा चस्स हुन्छ । ‘पहिलो पटक विवाहको प्रस्तावसहित भेट्न आएको केटो कस्तो टिमुर्केको फेला पर्यो,’ मनका कुरा किताबमा लेखेकी छिन् । ‘झुस्स दाह्री, फू.. गर्दा ढल्ला जस्तो ज्यान । ज्यान पनि के भन्नु ह्याङ्गरमा झुण्डाएको कपडा जस्तो । वयस्क युवाको रूपमा उहाँको शरीरमा कुनै आकर्षण थिएन ।’ पहिलो पटक शाक्यले ओलीलाई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भेटेकी थिइन । १४ वर्षको जेलमा बसेर छुटेपछि ओलीको स्वागतमा कलेजले आयोजना गरेको कार्यक्रममा पहिलो भेट भएको शाक्यले उल्लेख गरेकी छिन् । गृहमन्त्री बनेपछि घरज्वाइँ २०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि, केपी ओली-राधिका शाक्यका दम्पतीले मन्त्री निवास छोड्नु पर्ने भयो । पूर्वगृहमन्त्रीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीको लागि पोष्ट पनि आवश्यक भएपछि पाटनको महापालस्थित राधिकाको माइतीको खाली घरमा सरेको उल्लेख छ । ‘अहिलेका कम्युनिष्ट नेताहरू उबेलामा काठमाडौंका नेवारहरूका घरमा बस्ने अनि तिनैका छोरी पट्याउँथे भनेर यदाकदा ट्रोल गरेको सुन्छु । केपी सर डेरावालको रूपमा महापल बस्नु भएको होइन । खासमा हामी बिहे भएको सातआठ वर्षपछि माइतीमा आश्रय लिएका थियौं,’ करुणामा राधिकाले लेखेकी छिन् । ‘मन्त्री निवासबाट फर्किएर माइतघरमा’ अध्यायमा राधिका लेख्छिन्- ‘अब, पहिला जसरी एउटा मात्र कोठामा बस्न गाह्रो हुने भयो । अनि कम्पाउन्ड पार्किङ सुविधासहितको घर भाडामा लिएर पनि हामीले थेग्न सक्ने अवस्था थिएन ।’ उनको यो तर्क पत्याउन सकिँदैन । किनकि राधिकाले राष्ट्र बैंकमा जागिर खाएको १६ वर्ष भइसकेको थियो । त्यतिबेला उनी राष्ट्र बैंकको शाखा अधिकृत थिइन् । तत्कालीन श्री ५ को सरकारका अधिकृतले भन्दा राष्ट्र बैंकका अधिकृतले बढी तलब सुविधा पाउँथे । केपी ओलीले सांसदको हैसियतमा तलब सुविधा पाउँथे । गृहमन्त्री हुँदा हुने अस्वाभाविक कमाइबारे नेपालको राजनीतिमा थुप्रै किस्सा छन् । पूर्वगृहमन्त्रीको हैसियतमा थप सुविधा पाउने नै भए । यस अवस्थामा राधिका डेरा भाडा तिर्ने हैसियत नभएकोले माइतीको खाली घरमा बस्न गएको किताबमा लेखेकी छिन् । विवाहको सात वर्षपछि केपी ओली घरज्वाइँ बसेको विषय पनि राधिकाले लेखेकी छिन् । मन्त्री क्वाटर छोडेपछि ओली करिब २ वर्ष घरज्वाइँ बसेका रहेछन् । त्यसपछि ओली दम्पती ९ महिना डेरामा र ५ वर्ष शेखीमा बसेका रहेछन् । आफ्नै घर बनाएर २०६० मा बालकोट सरेको राधिकाले लेखेकी छिन् । त्यसपछि चाकुपाटमा साहिँली बहिनी जयश्रीसँगको सेयरिङमा ९ महिना भाडा तिरेर फ्लाटमा बसेको र जीवनमा सबैभन्दा बढी भाडा त्यही तिरेको राधिकाले उल्लेख गरेकी छन् । तर भाडा रकम भने खुलाएकी छैनन् । त्यसपछि तत्कालीन पीके क्याम्पसका प्राध्यापक कल्पना अधिकारी उनका श्रीमान बाबुराम अधिकारीले बानेश्वरस्थित आफ्नाे घरको एक फ्लाटमा भाडा नलिई बस्न दिएको, पाँच वर्षसम्म त्यही बसेको र बालकोटमा घर बनाएपछि उनी सरको उल्लेख गरेकी छिन् । अनौठा केपी ‘कुनै पनि लुगा हात परेको दिन त्यही लुगा लगाएरै सुत्नुहुन्छ । उहाँले त्यसो गर्दा मलाई भने गुडियासँग बच्चा खुसी भए जस्तो लाग्छ,’ राधिकाले लेखेकी यो विषय निकै रोचक छ । पछिल्लो समय प्रधानमन्त्रीको हैसियतमा हरेक दिन नयाँ कोटमा सार्वजनिक हुन्छन् । के उनी हरेक दिन नयाँ कोट लगाएर सुत्लान् ? खोजको विषय नै हो । केपी ओलीलाई सानो बच्चालाई जसरी समाल्नु पर्ने राधिकाको लेखाइ छ । ‘कतिबेला सुत्ने, कतिबेला उठ्ने, के खाने, के नखाने, के लगाउने, के नलगाउने, कुनै कुरामा उहाँलाई मतलव हुँदैन’ श्रीमानलाई आफूले सधैं सम्झाइरहने गरेको उनले लेखेकी छ । केपी ओलीमा देश विकासको हुटहुटी मात्र भएको, देश र जनताको विकास बारे मात्र कुरा गर्ने गरेको विषयका वर्णन गर्दै राधिकाले लेखेकी छिन्, ‘उहाँका पालामा विकास, समृद्धि, सङ्कल्प र सपनाका कुराहरू हुन्छन् । लाग्छ, उहाँले फेर्ने प्रत्येक स्वासमा देशभक्तिको अक्सिजन प्रवाहित भएको छ ।’ यसरी लेखिएका पुस्तकबारे राधिकाकी श्रीमान प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी छ- यो सम्पूर्णतः सत्य कथा हो । कल्पनाप्रधान कुनै कथा बुनिएको छैन । कथानक थपिएको छैन ।’ राधिकाले केपी ओली सर्वहाराजस्तो हुनुहुन्छ भनेकी छिन् । तर केपी ओलीले लगाउने घडी, जुत्ता, उनी चड्ने गाडीको मूल्य करोडौं रुपैयाँ रहेको विषयमा धेरै समाचार प्रकाशन भएका छन् । ती समाचार नपढेका, केपी ओलीलाई नदेखेका र राधिका शाक्यको किताब मात्र पढेकाले यस्ता विषय पत्याउने हुन् । करुणा पुस्तकमा केपी ओली १४ वर्ष जेल बसेको कुरा सयौं ठाउँमा लेखिएको छ । श्रीमानलाई केपी सर भनेर अत्यधिक रूपमा सम्बोधन गरिएको छ । केपी ओली राजनीतिमा व्यस्त हुने, भेटघाटमा व्यस्त हुने, राति अबेरसम्म पढ्ने लगायतका विषय हरेक च्याप्टरमा यतिविघ्न घुसाइएको छ कि किताब पढ्दा बारम्बार मस्तिष्कमा ठेस लाग्छ । ढिकीमा कुटेको चामल अल्छी भान्छेले नकेलाई पकाएका भात खाँदा हरेक गाँसमा बियाँ लागेजस्तै । आधुनिक मिलको चामलमा यस्तो बियाँ भेटिँदैन । तीन नेताको आलोचना राधिकाको लेखनमा राजनीतिक पूर्वाग्रह प्रशस्त पाइन्छ । पञ्चायत व्यवस्थाका गल्ती कमजोरी मात्र उल्लेख गर्नु, बहुदल आएपछि सबै विकास राम्रो भयो भन्नु उनीभित्र रहेको एकांकी राजनीतिक सोंच हो । एमालेभित्र केपी ओलीलाई महान् व्यक्तिको रूपमा चित्रण गर्नु, अरू कुनै पनि नेताको तारिफ करुणामा नअट्नु राधिकाको पूर्वाग्रह नै हो । केपी ओलीलाई राजनीतिमा काँध थाप्ने, पटक पटक पार्टी अध्यक्ष बनाउन र पटक पटक प्रधानमन्त्री बनाउने धेरै नेताहरूले धेरै भूमिका खेलेका छन् । तर यसतर्फ राधिकाले कहीँ कतै एक वाक्य पनि लेखेकी छैनन् । तीन जना नेताको बारेमा राधिकाले पुस्तकमा आक्रोश पोखेकी छिन् । सबैभन्दा बढी माधवकुमार नेपालका बारेमा, त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’का बारेमा र पूर्व अर्थमन्त्री डा. रामशरण महतका बारेमा । केपी ओली गृहमन्त्री हुँदा २०५१ सालमा राष्ट्र बैंकको शाखा अधिकृतमा राधिकामा नाम निस्क्यो । त्यो विषय कांग्रेस नेता डा. रामशरण महतले संसदमा उठाए । यसले राधिकालाई चित्त दुःखाएको रहेछ । सोही सन्दर्भ जोडेर राधिकाले पुस्तकमा डा. महतप्रति आक्रोश व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीको रूपमा ओलीको दोस्रो कार्यकालमा असहयोग गरेको भन्दा नेपाल र प्रचण्डमाथि राधिका खनिएकी छिन् । ओलीलाई प्रधानमन्त्री बनाउन पटक-पटक प्रचण्ड, नेपाल र शेरबहादुर देउवाले काँध थापेको दुनियाँलाई थाहा छ तर राधिकालाई थाहा रहेनछ । किताबमा सबै कुरा मौन छन् । बालुवाटारमा बासीभात प्रधानमन्त्री निवासमा बासीभात खाइन्छ भन्ने कुरा पत्याउन गाह्रो हुन्छ । त्यसमाथि प्रधानमन्त्राणी राधिका शाक्यलाई नै बासीभात खानुपर्ने बाध्यता होला भनेर कसले पत्याउने ? तर राधिकाले किताबमा यही सत्य हो भनेर लेखेकी छिन् । उनी लेख्छिन्- ‘प्रधानमन्त्री निवास, बालुवाटार । भान्छामा छिरेँ । केही पकाउनु पला कि भन्ने सोच्दै थिएँ । यसो फ्रिज खोलेँ । बेलुका बाँकी बचेको भात रहेछ । थोरै दाल पनि रहेछ । त्यही तताएँ । अनि खान थालेँ ।’ त्यसपछि उनले फेरी व्याख्या गरेकी छिन्- ‘एक्लै हुँदा खाना बनाउने जाँगर चल्दैन । फ्रिजमा बासी खाना रहेछ भने झनै बहाना सजिलो बनिदिन्छ ।’ किताबमा यस्तै धेरै विषय छन्, जुन पत्याउनै सकिँदैन । मूल्यमा चलखेल वर्तमान सरकारले उद्योगीलाई सिमन्टको बोरामा मूल्य राख्न निर्देशन दिएको छ । तर प्रधानमन्त्राणीको आत्मकथामा मूल्य राखिएको छैन । पुस्तक प्रकाशक पाणिनि बुक्सले सत्ताको बलमा, सरकारी निकायलाई उच्च मूल्यमा प्रधानमन्त्राणीको बुक भिडाउने र पैसा उठाउने नियत राखेको देखिन्छ । बिक्री प्रबन्धक उमेश आचार्यले पुस्तकको अन्तिम पृष्ठमा राखिएको बार कोडमाथि लेखिएका अंकहरू ५९५०० नै किताबको मूल्य भएको बताए । राधिकाको आत्मकथा पढ्न कसैले पनि ५९ हजार ५०० रुपैयाँ तिर्दैन । पुस्तकमा भएको यो गम्भीर त्रुटि हो । किताबबारे मेरो भनाइ करुणाभित्र लेखक र श्रीमान केपी शर्मा ओली (वर्तमान प्रधानमन्त्री)का जीवन कहानीहरू लेखिएका छन् । आत्मकथामा मूलपात्रले प्रचार गर्न चाहेको र प्रसंशा बटुल्न चाहेको विषयवस्तु नै हुन्छन् । आफ्ना कमजोर पक्षहरू, जीवनमा गरिएका गल्ती कमजोरीहरू लुकाइएका हुन्छन् । करुणा पुस्तमको विशेषता पनि यही हो । श्रीमान् केपी ओली एमालेका अध्यक्ष र प्रधानमन्त्री भएका थिएनन् भने राधिकाको पुस्तक प्रकाशित हुँदैन थियो । पुस्तक पढ्दा राधिकासँग कुनै असाधारण क्षमता पनि देखिँदैन, उनका कर्म पनि मामुली छन्, असाधारण छैनन् ।