१२ अर्ब बढी ऋण भएका व्यवसायी खड्कालाई लाग्यो डेढ करोडको मुद्दा

व्यवसायी, जनप्रतिनिधि र कर्मचारीसँग मिलेर अनियमितता गरेको आरोप

काठमाडौं । दाङको गढवा गाउँपालिकामा राप्ती नदीको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन तथा सङ्कलन ठेक्कामा व्यापक अनियमितता र राजस्व नोक्सानी भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको ।

आर्थिक वर्ष २०७६/०७७ को ठेक्का प्रक्रियामा गाउँपालिकाका तत्कालीन जनप्रतिनिधि, कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतोमा १ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सरकारी राजस्व हिनामिना गरिएको अभियोगपत्रमा उल्लेख छ । 

गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा राप्ती नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि. बुटवलसँग भ्याट बाहेक २ करोड ८२ लाख ९७ हजार ६९२ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

अभियोगपत्रका अनुसार ठेकेदार कम्पनीले २०७६ फागुन मसान्तको म्यादभित्र दोस्रो किस्ता बुझाएन । सम्झौता उल्लंघन भएपछि गाउँपालिकाले कार्यादेश रद्द गरी ठेकेदारको बैंक ग्यारेन्टी जफत गर्नुपर्ने कानुनी व्यवस्था थियो । तर, गाउँपालिकाका अधिकारीहरूले कारबाही नगरी ढिलासुस्ती गरेको आरोप अभियोगपत्रमा उल्लेख छ । 

२०७६ चैत ११ गतेदेखि मात्र देशभर कोभिड–१९ को कारण लकडाउन घोषणा गरिएको थियो । तर, लकडाउन र स्थानीय ‘राप्ती बचाउ संघर्ष समिति’ को आन्दोलनलाई बहाना बनाउँदै ठेकेदार कम्पनीले २५ प्रतिशत मात्र उत्खनन् गर्न पाएको भन्दै बैंक ग्यारेन्टी मिनाहाका लागि निवेदन दियो ।

सोही निवेदनका आधारमा २०७७ असार १० गते बसेको गाउँ सभाको बैठकबाट गैरकानुनी रूपमा  १ करोड ४१ लाख ५० हजार बराबरको बैंक ग्यारेन्टी रकम मिनाहा गर्ने निर्णय गर्यो । फागुनमै म्याद नाघिसकेको अवस्थामा बदनियतपूर्वक सरकारी राजस्व घाटा गराउने नियतले उक्त निर्णय गरिएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले उल्लेख गरेकाे छ । 

अख्तियारले यो प्रकरणमा गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लिका प्रबन्ध निर्देशक सहदेव खड्का, सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लिका प्रतिनिधि विकास पुन र सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि.लाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि गर्दै नोक्सानी भएको राजस्व रकम १ करोड ४१ लाख ५० हजार रुपैयाँ असुलउपर गरी हदैसम्मको सजाय र बिगो जफतको मागदाबीसहित अभियाेगपत्र दायर गरेको छ । यस विषयमा खड्कासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

निर्माण व्यवसायी खड्का नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष पनि हुन् । उनी भिमेश्वर ग्रुपका अध्यक्ष पनि हुन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार उनको कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लिले १२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ लिएको छ । तथापि यो सन् २०२५ को तथ्यांक हो । 

यस निर्माण कम्पनीले सन् २०२५ मा ३ अर्ब ८१ करोड १० लाख, सन् २०२४ मा ३ अर्ब २५ करोड २० लाख र सन् २०२३ मा ४ अर्ब ५९ करोड ७० लाख रुपैयाँबराबरको आम्दानी गरेको रेटिङमा उल्लेख छ । 

अभियोगपत्रको पूर्णपाठ

Share News