पेट्रोलको लाईनमा बस्दै हुनुहुन्छ ! यी हुन आज पेट्रोल बाँढ्ने ६० पम्पहरु !

काठमाडौंं, १९ कात्तिक । नेपाल आयल निगमले आजबाट तीन दिनसम्म निजी सवारी साधनलाई पेट्रोल वितरण गर्दै छ । निगमले तीन दिनमा नौ लाख लिटर पेट्रोल निजी सवारी साधनलाई वितरण गर्ने तयारी सहित तालिका समेत सार्वजनिक गरिसकेको छ । त्यसको सुरुवात आजबाटै हुँदैछ । निगमले मोटरसाईकललाई पाँच र कारलाई १० लिटर पेट्रोल उपलब्ध गराउने बताएको छ । निगमले तयार पारेको तालिका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका ६० वटा पम्पहरुबाट निजी सवारी साधनलाई पेट्रोल वितरण गरिनेछ । लाईनमा रहेका सवारी साधनलाई पम्प व्यवस्थापनले कुपन उपलब्ध गराउने छ । कुपन पाउने सवारीले पेट्रोल पाउनेछन भने अन्यले पाउने छैनन् । आफुले पाएको पेट्रोलको मात्राका आधारमा पम्पहरुले कुपनल वितरण गर्नेछन । आज एकदेखि ३० लटसम्मका मोटरसाईककल तथा एकदेखि ५ लटसम्मका निजी कारलाई पेट्रोल वितरण गरिनेछ ।

साबुन, स्याम्पु र टुथपेष्टदेखि कस्मेटिकका सामान पनि अभाव

काठमाडौं, १८ कात्तिक । ‘स्वस्थ शरिर, स्वस्थ मष्तिष्क’ भन्ने मान्यता नै छ संसारमा । । रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नै नदिनु उपयुक्त हुन्छ । तर भारतीय नाका बन्दीले नेपालीलाई स्वस्थ बनाउने सामग्रीकै अभाव सुरु भएको छ । मधेशमा जारी आन्दोलनका नाममा भारतले सुरु गरेको सिमाको अवरोधले नेपालीलाई स्वस्थ बनाउन प्रयोग हुने सामान तथा कस्मेटिक उपजहरुको चरम अभाव सुरु भैसकेको छ । बज्राचार्य दम्पति आफ्नो कस्मेटिक्स पसलमा समान खोज्दै बजारमा साबुन, स्याम्पु, टुथपेष्टको अभाव सुरु भएको बिक्रेताहरुले बताउन थालेका छन् । बालाजुका किराना व्यवसाय मनोज महजर्नले साबुन, स्याम्पु, टुथपेष्ट तथा बिस्कुट र चाउचाउहरुको समेत अभाव सुरु भएको बताए । भोटाहिटीस्थित पल्पसा कस्मेटिक्सका प्रोप्राईटर रुपकमान बज्राचार्यले थोक बिक्रेताले ५ प्रतिशत मुल्य वृद्धि गरिसकेको बताए । उनको पसलमा पोण्ड्स क्रिम, स्याम्पु लगायतका कस्मेटिक आईटमको अभाव सुरु भैसकेको बताए । भारत बाहेक तेश्रो मुलुकका समान समेत भारतीय नाका हुँदै नेपाल आउने भएकाले ती समानको पनि अभाव रहेको उनले बताए । उनको कस्मेटिक पसलमा ५० प्रतिशत भारतीय उत्पादनका समानहरु रहेका छन् । अहिले ती सबैको अभाव सुरु भैसकेको छ । महावौद्धस्थित स्याममानेश्वर कस्मेटिक्सका सञ्चालक स्यामान मानन्धरका अनुसार अधिकांश भारतीय कस्मेटिक आईटमहरुको अभाव रहेको छ । उनले औषतमा ४० प्रतिशत भारतीय समान बेच्दै आएका छन् । तेश्रो मुलुकका उत्पादन समेत भारतीय नाकाबाटै आउने भएकाले अभाव सुरु भएको उनको भनाई छ । बजारमा महिलाहरुले लगाउने टिका(बिन्दिया)को पनि अभाव सुरु भैसकेको छ । नेपाली महिलाहरुले लगाउने ९० प्रतिशत भन्दा बढि टिका अर्थात बिन्दिया भारतबाटै आउने गरेको छ । कस्तो छ आयातको अवस्था ? गत आर्थिक बर्ष २०७१/७२ मा कुल ६ अर्ब ३६ करोड ३० लाख ८२ हजार बराबरको कस्मेटिक समान, स्याम्पु, टुथपेष्ट लगायतका समान आयात भएका थिए । पछिल्लो दुई महिना भन्दा लामो समयदेखि नयाँ समान आयात नभएकाले अभाव सुरु भएको हो । यी सबै समान भारतकै बाटो हुँदै नेपाल भित्रिने गरेका थिए ।

नेपाल–चीन भन्सार अधिकारीबीच २० बुदे सहमति

काठमाडौं, १८ कात्तिक । नेपाल र चीनका भन्सार अधिकारीविच भन्सार अबरोध र सीमा ब्यापार सहज बनाउनको लागि २० बुदे सहमति हुने भएको छ । मंगलवारदेखि काठमाडौंमा जारी दुई देशविचका अधिकारीले सहमतिको मस्यौदा तयार गरिसकेकोले त्यस्तो मस्यौदालाई अन्तिम रुप दिएर विहिवार बेलुकी हस्ताक्षर हुन लागेको हो । नेपाल र चीनका अधिकारीको २७ औं बैठकले भन्सार अवरोध कम गर्ने र सीमा ब्यापारमा हुने अबरोध कम गर्ने सहमति गरिसकेको भन्सार विभागले जानकारी दिएको छ । सहमतिका बुदामा नेपाली ट्रक तथा कन्टेनरका चालक तथा सहचालकलाई सहज रुपमा नेपाल र चीन प्रवेशको बातावारण मिलाउने विषय उल्लेख गरिएको छ । यसको लागि आ–आफ्नो देशको तर्फवाट वाताबरण मिलाउन दुबै पक्ष सहमत भएका छन् । यसअघि नेपाली ट्रक तथा कन्टेनरका चालकहरुले पनि दुबै देश प्रबेश गर्दा अनिवार्य रुपमा भिषा लगाउनु पर्ने ब्यवस्था थियो । यस्तै नेपालमा आउने चिनिया उत्पादनको लेबलमा नेपाल वा अंग्रेजी भाषामा अनिवार्य रुपमा विवरण उल्लेख गर्न चिनिया पक्ष सहमत भएको छ । चिनिया उत्पादनको लेबलमा नेपाली वा अंग्रेजी भाषामा विवरण लेख्न सकिने भन्सार जाचपासमा सहजता हुने माग नेपाली पक्षले राखेको थियो । ‘नेपालमा आउने बस्तुको लेबलमा नेपाली वा अंग्रेजी भाषामा विवरण खुलाउने हाम्रो मागमा चिनिया पक्षले सहमति जनाएको छ, यसले भन्सार जाचपास छिटो र प्रभावकारी हुने अपेक्षा गरेका छौं,’ भन्सार विभागका एक उच्च अधिकारीले भने । त्यस्तो लेबलमा उत्पादन मिति, परिमाण, म्याद समाप्त हुने मिति, मूल्य तथा सो बस्तुको बनावट जस्ता विवरण समावेश गरिने छ ।