इन्धन उपलब्ध गराइदिन जलविद्युत् आयोजनाको माग

काठमाडौँ, २० मंसिर । निर्माणका क्रममा रहेका ४२ जलविद्युत् आयोजनाले तत्काल इन्धन उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । दैनिक ८० हजार लि बढी इन्धन उपलब्ध गराउने हो भने निर्माणमा जान सकिने बताउँदै उनीहरूले अत्यावश्यकीय सेवा अन्तर्गत राखेर भए पनि निर्णय गरिदिन सरकारसँग माग गरेका हुन् । सरकारी तथा निजी क्षेत्रले हाल साना तथा ठूला गरी ४२  आयोजना निर्माण गरिरहेका छन् । त्यसमा सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको माथिल्लो ताकाकोसी जलविद्युत् आयोजना पनि इन्धन अभावका कारण प्रभावित भएको छ । सरकारले सो आयोजनालाई इन्धन उपलब्ध गराउने निर्णय गरिसकेको छ । पहिलो चरणमा सो आयोजनाले ६ हजार लिटर इन्धन पाएको छ । सो आयोजनालाई आगामी २०७३ चैतसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशनसमेत दिएर इन्धन उपलब्ध गराइएको छ । निर्माणाधीन आयोजनाले बिनाअवरोध काम गर्न पाए आगामी दुई वर्षभित्र एक हजार मेगावाट विद्युत् उत्पादन हुन सक्ने प्रक्षेपण गरिएको छ । सरकारले एक वर्षभित्र विद्युत्भार कटौती गर्ने योजना अगाडि सारिरहेका बेला निर्माणाधीन आयोजनाले इन्धन पाए ५० प्रतिशतभन्दा बढी सफलता प्राप्त गर्न सकिने प्रवद्र्धकको विश्वास छ । आव २०७२/०७३ भित्र निर्माण सम्पन्न हुने आयोजनाले १२ हजार लिटर र आव २०७३/७४ भित्र सम्पन्न हुने आयोजनाले दैनिक ४८ हजार लिटर इन्धन माग गरेका छन् । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले केही आयोजनाले इन्धन प्राप्त गरिसकेको र अन्य आयोजनालाई पनि मिलाएर इन्धन दिइने बताए । ऊर्जामन्त्री रायमाझीले माथिल्लो तामाकोसी, कुलेखानी तेस्रो र चमेलियालाई इन्धन उपलब्ध गराउने निर्णय भइसकेको उल्लेख गरे । ती आयोजनालाई नेपाल आयल निगमको थानकोट डिपोबाट इन्धन उपलब्ध गराइनेछ । भूकम्पले प्रभाव नपारेको भए २०७३  साउनसम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने थियो । मन्त्रालयका अनुसार निर्माणमा रहेका साञ्जेन मासिक ३० हजार लिटर, रसुवागढी ५० हजार लिटर, मध्यभोटेकोसी ३० हजार लिटर, त्रिशूली ३ ‘ए’ ८४ हजार लिटर र कुलेखानी तेस्रोले १५ हजार लिटर इन्धन माग गरेका छन् । माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार निर्माण सहज हुन मासिक करिब ५० हजार लिटर इन्धन आवश्यक पर्छ । निर्माणमा रहेका आयोजना सम्पन्न गर्न सरकारसँग परिणाम नै तोकेर इन्धन माग गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्ट बताउछन् । दसैँ, तिहार, छठ जस्ता चाडबाड सकिई निर्माणको समय सुरु भएकाले इन्धनको माग बढी हुने उनको भनाइ छ । तीन सय मेगावाट विद्युत् थप इन्धन उपलब्ध भएको खण्डमा यसै वर्षभित्र निजी क्षेत्रले कुल १ सय १४ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सानिमा माइ हाइड्रो पावरका प्रबन्ध निर्देशक सुवर्णदास श्रेष्ठको कथन छ ।  यस्तै नेपाल विद्युत् प्राधिकरणको चमेलिया (३२ मेगावाट), कुलेखानी तेस्रो (१४ मेगावाट) निर्माण पनि यसै वर्षभित्र सम्पन्न हुनेछ । यस्तै तराई–मधेसको आन्दोलन साम्य भएका खण्डमा ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन निर्माण सम्पन्न भए भारतबाट थप ९० मेगावाट विद्युत् आयात हुन सक्छ । विश्व बैंकको सहयोगमा कुलेखानी जलविद्युत् आयोजनाको खाली रहेको जग्गा तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको जग्गामा ५० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरिनेछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधीन जलविद्युत् आयोजनालाई इन्धन अभाव हुन नदिन निगमलाई निर्देशन दिएको र केही आयोजनाले पाइ नै सकेको अवस्थामा अन्य आयोजनाले पनि पाउने ऊर्जा मन्त्रालयको विश्वास छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले खानेपानी, अस्पताल, खाद्य सामग्रीको सवारी साधन र शववाहनलाई जसरी नै जलविद्युत् आयोजनालाई पनि इन्धन उपलब्ध गराइने उल्लेख गरे । रमेश लम्साल /रासस

‘हात्ती’ जस्तै बने सौराहाका हात्ती

चितवन, १८ मंसिर । तत्कालिन नेकपा माओवादीले जनयुद्धको नाममा सुरु गरेको ससस्त्र विद्रोहको बेलामा राजतन्त्रलाई ‘सेतो हात्ती’को उपमा दिने गरिन्थ्यो । नेपालको सन्दर्भमा राजतन्त्र सेतो हात्ती भएको र राजा पाल्न नसकिने अवस्था भएको भन्दै तत्कालिन माओवादीका कार्यकर्ता गाउगाउमा गएर ‘सेतो हात्ती’ फाल्नु पर्ने बताउथे । नेपाली समाजमा अर्काे उपमा पनि चलेको छ । ‘श्रीमती पाल्नु, हात्ती पाल्नुभन्दा मंहगो’ हुन्छ भन्ने । श्रीमती पिडितहरुले चलाएको उपमा हुन सक्छ यो । यसको तात्पर्य हो, नेपालको सन्दर्भमा हात्ती पाल्न सहज भने छैन । तर चितवनका ब्यवसायीले यी सवै उपमा र मान्यता चिर्दै हात्ती पालेर दैनिक राम्रै गुजारा चलाइ रहेका थिए । पर्यटक घुमाएर आम्दानी गर्ने उद्देश्यले सौराहामा पालिएका हात्ती यतिबेला साच्चिकै ‘हात्ती पलाइ’ भएका छन् । पछिल्लो राजनीतिक अवस्था र असहज परिस्थितिको कारण पर्यटक आवागमन कम हुदा सौराहाका हात्तीहरु काम नपाएर फुर्सदिला बन्दै गएका छन् । र, हात्ती पालिरहेका ‘साहूहरु’लाई अहिले हात्ती पाल्दाको वास्तविक पिडाबोध भएको छ । अन्य वस्तुभाउ पाल्नुभन्दा हात्ती पाल्नु आफैमा खर्चिलो छ । सौराहामा पर्यटक बोक्नकै लागि ६२ वटा निजी हात्ती पालिएका छन् । नयाँ हात्ती किन्न अहिले एउटैको करिब ८० लाख रुपैयाँ पर्छ ।  सौराहाका एउटै होटलले एकदेखि तीन वटासम्म हात्ती पाल्दै आएका छन् । एउटा हात्तीलाई पाल्न मासिक एक लाख रुपैयाँको हाराहारी खर्च हुने गरेको व्यवसायीको भनाइ छ । राईनो लजका सञ्चालक विष्णुप्रसाद अर्याल एउटा हात्तीलाई दैनिक एक किलो सख्खर, पाँच पाथी धान, एक किलो चना, तीन क्विन्टल घाँस र १५ किलो पराल खुवाउनुपर्ने बताउछन् । हात्ती सञ्चालन गर्न र पाल्न दुई जना माउते चाहिन्छन् । जसका लागि प्रतिमाउते मासिक १० हजार रुपैयाँ तलब र खाजा खाना गरेर झण्डै  ३० हजार रुपैयाँ खर्च हुन्छ । अहिले हात्तीले मासिक मुस्किलले ३० हजार रुपैयाँ मात्रै आम्दानी गर्ने गरेको व्यवसायीको भनाइ छ । यी सबै खुवाएर पाल्दै गरेका हात्तीले मुस्किलले तीन दिनमा एक पटक मात्रै काम पाउने गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराई बताउछन् । गतवर्ष यतिबेला सौराहामा हात्ती नै चढ्नका लागि पर्यटकले तीन दिनसम्म कुर्ने गरेको ब्यवसायीहरुको भनाइ छ । ‘यसवर्ष तीन दिनमा एउटा हात्तीको पर्यटक बोक्ने पालो आउँछ, गत वर्ष एकै दिनमा हात्तीले बिहान र बेलुका गरेर चार पटक पर्यटक घुमाउने गर्दथे,’ भट्टराई भन्छन् । सौराहा घुम्न आउने पर्यटकलाई बाघमारा, कुमरोज र चित्रसेन सामुदायिक वन एवम् मृगकुञ्ज मध्यवर्ती वनमा घुमाउने गरिन्छ । हात्तीले कम्तीमा दुई घण्टा पर्यटकलाई घुमाउँछन् । महँगो मूल्यमा खरिद गरेका हात्ती र खर्चिलो पालन एकातर्फ हुनु, अर्काेतर्फ भूकम्पयता काम नपाउनुले व्यवसाय कष्टकर बनेको व्यवसायीको भनाइ छ । क्षेत्रीय होटल सङ्घका द्वितीय उपाध्यक्षसमेत रहेका भट्टराईले  यतिबेला सौराहामा २० प्रतिशतको हाराहारीमा मात्रै पर्यटक आएको बताए । ठूलो संख्यामा आउने चिनियाँ पर्यटक यतिबेला खासै आएका छैनन् भने स्वदेशका स्कूल कलेजका विद्यार्थी पनि इन्धनको अभावले आएको पाइँदैन । हात्ती पाल्न यत्तिको कठिन कहिल्यै नभएको व्यवसायी बताउँछन् । एउटा हात्तीमा चार जना चढाएर जङ्गल घुमाइन्छ । हात्ती पाल्न कठिन हुँदै गर्दा होटल व्यवसायीले सरकारी तवरबाट घाँस काट्ने व्यवस्था मिलाइदिनसमेत आग्रह गरेका छन् । उनीहरूले पुरानो पदमपुर क्षेत्रमा राम्रो घाँस पाइने हुँदा काट्ने व्यवस्था गरिदिए हात्ती पाल्न सहज हुने माग गर्दै आएका छन् । ‘यो संकटमा मध्यवर्ती र पुरानो पदमपुर क्षेत्रमा घाँस काट्ने अनुमति दिए हात्ती पाल्न सहज हुन्थ्यो,’ राईनो लजका सञ्चालक अर्यालले भने । बैंकको महंगो ब्यादमा खरिद गरिएका हात्तीको आम्दानी कम हुन थालेपछि ऋण कसरी तिर्ने चिन्ता पनि व्यवसायीमा छ ।

कुखुरा र गाईभैँसीले एक बर्षमा खाए साढे सात अर्बको २८ करोड किलो मकै

काठमाडौं, १८ मंसिर । नेपालमा बर्षेनी साढे सात अर्ब भन्दा बढि मुल्य बराबरको मकै आयात हुने गरेको छ । कृषि प्रधान देश भनिएपनि स्वदेशी उत्पादनले माग नथेगेपछि यति ठुलो मात्रामा मकै आयात भैरहेको हो । तर यसरी आयात हुनेमध्ये सबै जसो मकै कुखुरा तथा गाई भैसीको दानाका रुपमा उपयोग हुँदै आएको छ । नेपालमा प्रति बर्ष औषत २१ लाख ४५ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ । कृषि विभागका महानिर्देशक डा. युवकध्वज जीसीका अनुसार यसरी उत्पादित मकैमध्ये ३५ प्रतिशतको हाराहारीमा मात्रै खाद्यान्नका रुपमा उपयोग हुने गरेको छ । बाँकी ६५ प्रतिशत मकै कखुरा तथा गाईवस्तुको दानाका लागि प्रयोग हुन्छ । विदेशबाट आयात गरिएको सबै मकै कुखुरा तथा गाई बस्तुको दानाकै रुपमा उपयोग हुने उनले बताए । गत आर्थिक बर्षमा नेपालले मकैको बिउ र दाना गरि ७ अर्ब ६८ करोड मुल्य बराबरको मकै आयात गरेको थियो । सो मध्ये २४ करोड ६८ लाख मुल्यको १४ लाख किलोग्राम मकैको बिउ आयात भएको थियो । त्यस्तै, ७ अर्ब ४३ करोड मुल्यको २९ करोड किलोग्राम मकै आयात भएको निकासी तथा व्यापार प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । हाल नेपालमा ८८ लाख २४ हजार हेक्टर जमिनमा मकै खेति हुने गरेको छ । पहाडी क्षेत्रलाई मकै वालीका लागि उर्वर मानिएपछि पछिल्लो समय तराई क्षेत्रमा पनि हिउँदे मकै लगाउने क्रम सुरु भएको छ । सरकारले दुई बर्षभित्र धानमा नेपाललाई आत्मनिर्भर बनाउने रणनीति सार्वजनिक गरेको भएपनि मकैमा कहिले आत्म निर्भर हुने भन्नेबारे कुनै कार्यक्रम अघि सारेको छैन् । मकैको आयात खाद्यान्नका रुपमा भन्दा पनि पशुका लागि दानका रुपमा भैरहेकाले पनि सरकारी योजनाले यसलाई नछोएको कृषि विकासका महानिर्देशक डा. जिसीको तर्क छ ।‘मकै खाद्यान्नका रुपमा नभएर दानाका रुपमा भित्रिएको हो, हाम्रै उत्पादनको ३५ प्रतिशत मात्रै खाद्यान्नका रुपमा उपयोग भैरहेको छ, आयात गरिएको सबै मकै दाना बनाउने हो ।’ जिसीले भने । उनले नेपालमा मकैको व्यवसायीकीकरण गर्नु पर्नेमा पनि जोड दिए । मकैजन्य परिकारहरुको विकास र विस्तार गरेर नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने उनको भनाई छ । नेपालमा सात अर्ब ३४ करोड मुल्य बराबरको मकै त भारतबाट मात्रै आयात भएको छ । भारतबाहेक चीन, बंगलादेश, ताईवान, सिंगापुर, थाईल्याण्ड र अर्जेन्टीनाबाट नेपालले मकै आयत गर्दै आएको छ ।