विद्युतिय सवारीको प्रवद्र्धन योजना अन्योलमा, मन्त्री परिषदमा प्रस्तावै पुगेन
काठमाडौं, २२ मंसिर । भारतीय नाका बन्दीपछि आत्मनिर्भर अर्थतन्त्र बनाउने भन्दै सुरु भएको विद्युतिय सवारी साधनको प्रवद्र्धन योजना अन्योलमा परेको छ । प्रधानमन्त्री केपी ओलीले विद्युतिय सवारी साधनको उपयोगलाई बढावा दिने ठोस योजना ल्याउन तालुकदार निकायलाई पटक पटक निर्देशन दिएका थिए । तर अहिलेसम्म त्यस्तो ठोस योजना कुनै पनि निकायले बुझाएका छैनन् । विज्ञान प्रबिधी तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले विद्युतिय सवारी साधनको भन्सार महशुल १० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था सहितको १४ बुँदे अवधारणा सार्वजनिक गरेका थिए । उनको सो अवधारणा प्रधानमन्त्री ओलीसम्म पुगेको पनि थियो । ओलीले उनलाई सोही अवधारणाबारे विस्तृत छलफल गर्न मंसिर ५ गते बालुवाटारमै बोलाएका पनि थिए । त्यसको केहि दिन पहिले सम्पन्न मन्त्रीपरिषद बैठकमा मन्त्री विश्वेन्द्र पासवानले समेत विद्युतिय सवारी साधनको प्रवद्र्धनबारे आफ्नो धारणा राखेका थिए । अर्काे बैठकमा त्यसबारे ठोस प्रस्ताव ल्याउने प्रतिवद्धता व्यक्त गरेका मन्त्री पासवानले अझैसम्म त्यस्तो प्रस्ताव तयार पारेका छैनन् । मन्त्री पासवान र सचिव पौडेलसहितको जम्बो टोली हाल विदेश भ्रमणमा रहेको छ । यातायात व्यवस्था विभाग तथा भौतिक पुर्वाधार तथा निर्माण मन्त्रालयको समेत संलग्नता आवश्यक पर्ने विद्युतिय सवारी साधनको प्रवद्र्धन सम्बन्धी योजनामा हालसम्म अन्तरमन्त्रालय समन्वय समेत भएको देखिन्न । विद्युतिय सवारी साधनको प्रवद्र्धनका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, विज्ञान प्रबिधी तथा वातावरण मन्त्रालय, उर्जा मन्त्रालय र अर्थ मन्त्रालयका बिचमा समन्वय आवश्यक पर्छ । तर यी मन्त्रालयका बिचमा हालसम्म औपचारिक पत्र आदान प्रदान समेत भएको छैन् । विद्युतिय सवारी साधनको प्रवद्र्धन सम्बन्धी योजना बनाउने मुख्य जिम्मेवारी यातायात मन्त्रालय वा वातावरण मन्त्रालय कस्को हो ? भन्नेबारेमा समेत यी मन्त्रालयहरु अन्यौलमा देखिएका छन् ।
चुक्ता पुँजी आठ अर्ब पुर्याउने स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिवद्धता
काठमाडौं, २२ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने प्रतिवद्धता पत्र राष्ट्र बैंकमा पेश गरेको छ । तर कुन प्रक्रियाबाट पुँजी वृद्धि गर्ने भन्ने खुलाईएको छैन । राष्ट्र बैंकले तोकेको समयमा तोकेअनुसार पुँजी वृद्धि गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल तयार रहेको जानकारी राष्ट्र बैंकलाई दिएको बैंकका प्रबक्ता दिवाकर पौडेलले जानकारी दिए । राष्ट्र बैंकले पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रस्तावमा सहमति जनाएको छ । राष्ट्र बैंकको सहमति पछि स्ट्याण्डर्ड चार्टर्ड बैंक सञ्चालन समितिले गत आर्थिक वर्ष २०७१/७२ को नाफाबाट सेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २१ गते बसेको बोर्ड बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २७ दशमलब ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णयले लाभांशमा बोनस सेयर मात्र दिन सक्ने आशमा बसेका सेयरधनी निराश भएका छन् । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकिएको चुक्ता पुँजी नपुगेसम्म नगद लाभांश रोक्ने निर्देशन दिएको थियो । उक्त निर्देशनसँग मेल नखाने गरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई नगद लाभांश पनि दिने निर्णय गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको उक्त निर्णयमा राष्ट्र बैंकले स्वीकृति दिन्छ त ? राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनी भन्छन्–‘स्ट्याण्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकसँग सम्मन्य गरेर काम गरिरहेको छ । र उसले पुँजीबजारमा प्रत्यक्ष असर पर्ने निर्णयमा धेरै विचार गरेको हुन्छ ।’ चार्टर्ड बैंकका प्रबक्ता पौडेलले व्यापार विस्तार कम भएकोले तत्काल धेरै पुँजीवृद्धि आश्वयक नदेखिएको हुँदा १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको बताए । आगामी वर्ष कसरी पुँजी वृद्धि हुन्छ भन्नेमा बैंकले निर्णय गर्न बाँकी नै रहेको उनले बताए ।
यी हुन ९ लाख लिटर पेट्रोल बाँढ्ने पम्पहरु, २ लाख २० हजार लिटर आजै बाढिँदै
काठमाडौं, २२ मंसिर । नेपाल आयल निगमले मंगलबार मोटर साईकल तथा स्कुटरहरुलाई २ लाख २० हजार लिटर पेट्रोल वितरण गर्दै छ ।निगमले सवारी साधन दर्ताको लट अनुसार चार दिनसम्म मोटर साईकल र स्कुटरलाई लगातार इन्धन वितरण गर्दैछ । आज पेट्रोल बाँढ्ने पम्पहरु प्रति सवारी पाँच लिटरकार दरले निगमले चार दिनमा ९ लाख लिटर पेट्रोल वितरण गर्न लागेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । निगमले मंगलबार लट नम्बर १ देखि २५ सम्मका मोटर साईकल तथा स्कुटरहरुलाई पेट्रोल वितरण गर्दै छ । निगमले मंसिर २४ गते २६ देखि ४० लट, मंसिर २६ गते ४१ देखि ५५ र मंसिर २८ गते ५६ देखि माथी दर्ता भएका मोटर साईकल तथा स्कुटरलाई पेट्रोल दिनेछ । निगमले कार तथा भ्यानहरुलाई भने केहि दिन पछि नयाँ तालिका मार्फत इन्धन दिने जनाएको छ । २४, २६ र २८ गते पेट्रोल बाँढ्ने पम्पहरु यस अघि निगमले कात्तिक १८ गते निजी सवारी साधनलाई इन्धन बाँढेको थियो ।