मौद्रिक नीतिको ढाचा परिवर्तन गर्दै राष्ट्र बैंक, बिहिवार सरोकारवालासँग छलफल

काठमाडौं,  १ पुस । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको ढाचा परिवर्तन गर्ने भएको छ । करिब १० बर्ष पुरानो ढाचामै नीति आइरहेकोले अर्थतन्त्रको बदलिदो परिवेश सापेक्ष गर्न नीतिको ढाचा परिवर्तन गर्न लागिएको हो । नीतिमा के कस्तो सुधार र परिवर्तन आवश्यक छ भनेर राष्ट्र बैंकले बिहिवार सरोकारवालासँग अन्तरक्रिया पनि गर्दै छ । सो अन्तरक्रियामा मौद्रिक अर्थशास्त्री, बैंकर्स, उद्योगी ब्यवसायी लगायत सरोकारवालालाई बोलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले २०६१ / ६२ मा पछिल्लो पटक मौद्रिक नीतिको ढाचा परिवर्तन गरेको थियो । त्यसयता सोही ढाचामा मौद्रिक नीति आइरहेको छ । सरोकारवालावाट आएको राय सुझावको आधारमा आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा समावेश गर्ने तयारी राष्ट्र बैंकको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको बार्षिक कार्यक्रममै मौद्रिक नीतिको ढाचा परिवर्तनको बारेमा सरोकारवालासँग छलफल गरेर निर्णयमा पुग्ने कार्यक्रम राखेको थियो ।

एजुकेशन कन्सल्टेन्सीका सञ्चालकहरुको सम्पत्ति छानविन शुरु

काठमाडौं, २९ मंसिर । सम्पति शुद्धीकरण अनुसन्धान  विभागले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने काम गर्दै आएका कन्सल्टेन्सी सञ्चालकहरुको सम्पति विवरण छानविन थालेको छ । कन्सल्टेन्सी सञ्चालकहरुको आम्दानी तथा रहनसहनमा अस्वभाविक परिवर्तन आएको देखिएपछि विभागले सम्पति छानविन प्रक्रिया अघि बढाएको हो । विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुका लागि परामर्श दाताको काम गर्दै आएका कन्सल्टेन्सी सञ्चाकहरुले मेनपावर कम्पनीकै शैलीमा काम गर्दै अकुत सम्पति कमाएको भन्दै विभागले छानविन सुरु गरेको श्रोतले बतायो । श्रोतका अनुसार विभागले  नेपाल शैक्षिक परामर्श संघ(इक्यान)लाई पत्र लेखेर संघमा आवद्ध कन्सल्टेन्सीहरुको विवरण मागेको छ । हाल नेपालमा साना ठुला गरि दुई हजार भन्दा बढी कन्सल्टेन्सीहरु सञ्चालनमा रहेका छन् । तीमध्ये ठुलो मात्रामा विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीहरु इक्यानमा आवद्ध रहेका छन् । सम्पति शुद्धीकरण अनुसन्धान  विभागले कन्सल्टेन्सीहरुको विवरण माग गरेको बारे प्रश्न गर्दा इक्यान अध्यक्ष राजेन्द्र बरालले आफुलाई औपचारिक जानकारी नभएको बताए । ‘औपचारिक पत्र हातमा परेको छैन’, बरालले भने । उता, सम्पति सुद्धिकरण विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने–‘धेरैलाई पत्र पठाईएको छ, अनुसन्धान भैरहेका बिषयहरुमा बोल्न मिल्दैन ।’ श्रोतका अनुसार विभागले अनुसन्धान अधिकृत नै तोकेर अत्यन्तै गोप्य ढंगले कन्सल्टेन्सीहरुको सम्पति विवरणको सुक्ष्म अध्ययन गरिरहेको छ ।

नेपाल बैंकले ३७ करोडमा जग्गा बेच्यो, पुर्नबीमा कम्पनीले किन्यो

bikashnews.com काठमाडौं, २९ मंसिर । नेपाल बैंकले करिव ३७ करोड रुपैयाँमा मिनभवनको जग्गा बिक्री गरेको छ । उक्त जग्गा नेपाल पुर्नबीमा कम्पनीले खरिद गरेको छ । पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीका अनुसार नेपाल बैंकको स्वामित्वमा रहेको मिनभवनस्थित ४ रोपनी १० आना जग्गा पुर्नबीमा कम्पनीले किन्ने सहमति भएको छ । उक्त जग्गा ३६ करोड ६२ लाख रुपैयाँमा किनबेच गर्ने सम्झौता दुई कम्पनीबीच भईसकेको छ । जग्गा नामसारी प्रक्रियामा रहेको भण्डारीले बताए । नेपाल बैंकले राष्ट्र बैंकले तोकेको नियमअनुसार पुँजी कोष प्रयाप्त बनाउन अचल सम्पत्ति तथा सेयर बिक्री कार्यलाई प्राथमिकता दिएको छ । पुर्नबीमा कम्पनीको कार्यलय निर्माण गर्ने प्रयोजनको लागि उक्त जग्गा खरिद गरिएको उनले बताए । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पुर्नबीमा कम्पनीले व्यापार विस्तार गर्न सकेको छैन तर अचल सम्पत्तिमा ठूलो लगानी गरेको छ । व्यवस्थापनको आधुनिक सिद्धान्तले अचल सम्पत्तिमा ठूलो लगानी गर्नुलाई राम्रो मानिदैन । कम्पनीले मिनभवनको उक्त जग्गामा कमर्सियल कम्पलेक्स बनाउने र कार्यालय पनि त्यही राख्ने योजना बनाएको छ । पुर्नबीमा कम्पनीमा अर्बौ रुपैयाँ लगानी योग्य पुुँजी छ । बैंकमा निक्षेपको व्याजदर कम भएकोले यस कम्पनीका लागि पुँजी परिचालन नै जटिल काम भएको छ ।