अन्तर्राष्ट्रिय विमानस्थल आसपासका ठूला घर भत्काइँदै, बन्दै गरेका घरको तला थप्न रोक

काठमाडौँ, ९ पुस । हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकका ठूला घरहरु भत्काईने भएको छ । भत्काउन लागिएका सबै घरमध्ये केही नक्साबिनाका तथा केही नक्सा विपरीत निर्माण गरिएको पाइएको कामपाले बताएको छ । व्यवस्थापनमा समस्या उत्पन्न भएकै कारण आगामी हप्तादेखि विमानस्थल छेउका ३५ वडाका छ वटा घरको एकदेखि पाँच मिटरसम्म भत्काउने तयारी रहेको काठमाडौँ महानगरपालिका (कामपा)का कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले जानकारी दिए । त्यस्तै, विमानस्थल नजिक बन्दै गरेका चार वटा घरको तला थप्ने काममा रोक लगाइएको छ । कामपा बोर्डका इन्जिनियर वीरबहादुर कार्कीको संयोजकत्वको एक टोली र विमानस्थल ३५ वडा कार्यालयका प्राविधिक समितिले स्थलगत निरीक्षणमा उक्त प्रतिवेदन तयार गरी निर्णय गरेको हो । रासस

सिंहदरबारमा जलविद्युतलाई निषेध, चार महिना भित्रै सौर्य उर्जाबाट सञ्चालन हुने

काठमाडौं, ९ पुस । अबको चार महिना भित्रै मुलुकको शासन/प्रशासनको केन्द्रबिन्दुका रुपमा रहेको सिंहदरबार परिसर जलविद्युत मुक्त हुने भएको छ । सरकारले चार महिना भित्रै सिंहदरबार परिसरलाई सौर्य उर्जाबाट सञ्चालन गरेर जलविद्युत विस्थापित गर्न लागेको हो । चीन सरकारको सहयोगमा सरकारले सिंहदरबार परिसरमा एक दशमलब पाँच मेगावाटको सोलार प्यानल खडा गर्न लागेको छ । ‘चार महिना भित्रै सिंहदबार परिसर पुर्णरुपमा सोलारबाट चल्छ, केहिदिन भित्रै टेण्डर आव्हान गरिँदैछ ।’, उद्योग मन्त्री सोम प्रसाद पाण्डेले भने । मन्त्री पाण्डेका अनुसार सरकारले सिंहदरबार परिसरका रुपमा सिंहदरबार र बबरमहल क्षेत्रका सरकारी कार्यालयहरुलाई समेटेको छ । एक बर्ष भित्रै लोड सेडिङ अन्त्य गर्ने सरकारी योजना अनुसार सिंहदरबारलाई सौर्य उर्जाबाट सञ्चालन गर्न लागिएको हो । सोलार प्यानल जडान गरेपछि हाल सिंहदरबारमा प्रयोग भैरहेको डेडिकेटिड फिडर हटाईने छ । सिंहदरबार परिसरमा एकदेखि ढेड मेगावाट विद्युत खपत हुने गरेको छ । त्यसका लागि चीन सरकारले अनुदान उपलब्ध गराउने मन्त्री पाण्डेले बताए । एक मेगावाट सौर्य उर्जा उत्पादनका लागि १२ करोडको हाराहारीमा लगानी आवश्यक पर्ने बताईन्छ ।

डेपुटी गभर्नरमा नाम सिफारिस भएन, काँग्रेस निकट ४ र एमाले निकट ४ अग्रप्रतिस्पर्धामा

काठमाडौं, ८ पुस । आजदेखि खाली हुन लागेको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको लागि गभर्नरले नाम सिफारिस गर्न ढिलाइ भएको छ । अर्थमन्त्री र गभर्नरविच ‘राम्रोसँग छलफल भइनसकेको कारण’ नाम सिफारिसमा ढिलाइ भएको हो । नेपाल राष्ट्र बैंक ऐन अनुसार एक जना डेपुटी गभर्नरको लागि गभर्नरले २ जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्ने र सो सिफारिसको प्रश्ताव अर्थमन्त्रीले मन्त्रिपरिषद बैठकमा पेश गरेर सरकारले नियुक्त गर्नुपर्ने हुन्छ । अहिले २ जना डेपुटी गभर्नरको पद खाली भएकोले ४ जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरको लागि गभर्नरले नाम सिफारिस गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेसले नियुक्त गरेका गभर्नर डा. चिरन्जीबी नेपालले एक जना डेपुटी गभर्नर आफूले चाहेको ब्यक्ति बनाउन पाउनु पर्ने अडान लिएका र अर्थमन्त्रीले दुबै जना आफ्नो पार्टी निकटलाई मात्रै बनाउन चाहेका कारण नाम सिफारिसमा ढिलाई भएको हो । गभर्नरले नाम सिफारिस गरेको खण्डमा आजै बस्ने मन्त्रिपरिषद बैठकले डेपुटी गभर्नर नियुक्तको निर्णय गर्नसक्ने सम्भावना छ । गभर्नर डा. नेपालले २ डेपुटीमध्ये एक जना नेपाली काँग्रेस निकटलाई बनाउन चाहेका छन् । तर अर्थमन्त्री विष्णु पौडेलले दुबै जना एमाले निकटलाई डेपुटी गभर्नर बनाउन चाहेका छन् । यही कारण नाम सिफारिसमा ढिलाइ भएको हो । विहिवार विहानसम्म गभर्नरले कसैको पनि नाम सिफारिस नगरेको उनी निकट स्रोतले जानकारी दिएको छ । तर सिफारिस गरिने नाममा सहमति हुन सकेको अवस्थामा तत्काल सिफारिस हुन सक्ने छ । अर्थमन्    त्री निकट स्रोत भने गभर्नरले चाहेको वा नेपाली काँग्रेस निकट एक जना डेपुटी गभर्नर बन्न सक्ने बताउछ । ‘अहिले गभर्नरसँग सोझो टक्कर लिएर हिड्ने अवस्था छैन, गभर्नरले यो ब्यक्ति नभै मैले कामै गर्न सक्दिन भनेर अडान लिए भने त्यस्तो ब्यक्तिको बारेमा सहमति हुन सक्ने संकेत अर्थमन्त्रीले दिइसक्नु भएको छ,’ अर्थमन्त्री पौडेल निकट स्रोतले भन्यो । एकजना डेपुटी गभर्नर काँग्रेस निकटको कार्यकारी निर्देशकलाई बनाइने र अर्काे एक जना एमाले निकटकोलाई बनाउने अवस्था आएमा एउटा पदको लागि २ जना काँग्रेस निकट र अर्काे पदको लागि २ जनै एमाले निकटका कार्यकारी निर्देशकको नाम सिफारिस हुने छ । गभर्नरले एउटा पदको लागि यो यो र अर्काे पदको लागि यो यो भनेर २ २ जनाको नाम किटान गरेर सिफारिस गर्नुपर्ने हुन्छ । डेपुटी गभर्नरमा सिफारिस हुनेमा काँग्रेस निकट भनेर चिनिएका कार्यकारी निर्देशकहरु त्रिलोचन पंगेनी, शिवनाथ पाण्डे, नारायण पौडेल र डा. विनोद आत्रेयमध्ये २ जनाको नाम सिफारिस हुन सक्ने स्रोतको दाबी छ । यस्तै एमाले निकटवाट भिष्म ढुंगाना, चिन्तामणी शिवाकोटी, लक्ष्मी प्रपन्न निरौला र जनक अधिकारीमध्येवाट नाम सिफारिस हुन सक्ने बताइएको छ ।