एक महिना भित्रै यसरी सुरु हुँदैछ बाहिरी चक्रपथको निर्माण(फोटो फिचरसहित)

काठमाडौं, २४ मंसिर । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको काम आगामी एक महिना भित्रै सुरु हुने भएको छ । कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथ सडक आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर सडकको काम थाल्न लागेको हो । ‘एक महिना भित्र चोभार–सुंगल खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु हुन्छ, त्यसका लागि सो खण्डको डिपिआर स्विकृत गराउन मन्त्रालयमा पठाईसकेका छौं, १५ दिनभित्रै स्विकृत हुने जवाफ आएको छ’, नव नियुक्त बाहिरी चक्रपथ आयोजनाका प्रमुख दिपक श्रेष्ठले विकासन्युजसँग भने । श्रेष्ठले मंसिर १० गते आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने १२ गते जग्गा अधिकग्रहण गर्ने निर्णय गराएका थिए । उनले दुई बर्ष भित्रै सो खण्डको काम सक्ने र अन्य क्षेत्रका लागि खण्ड खण्डमा बिभाजन गरेर एकै पटक थाल्ने जानकारी दिए । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको आयोजनाले जग्गा एकिकरणको काम गर्नेछ भने सडक बिभागले सडक निर्माणको काम गर्नेछ । आयोजनाले चालु आर्थिक बर्षका लागि एक करोड बजेट पाएको छ । ‘एक करोड बजेट बिनियोजन भएको छ, त्यसले काम सुरु गछौं, अर्थमन्त्रालयले २५ करोडसम्म दिन सक्छौं भनेको छ’, आयोजना प्रमुख श्रेष्ठले भने । उता, सडक विभागले पनि सोही आयोजनाका लागि ४ करोड बजेट पाएको छ । विभागका उप महानिर्देशक दयाकान्त झाले जग्गा अधिग्रहणको काम सुरु हुने वित्तिकै आफुहरुले सडक निर्माण थाल्ने बताए । बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । आयोजनाले एक महिना भित्रै चोभारदेखि सतुंगल क्षेत्रमा जग्गाको कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाउन लागेको हो । सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । ‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार सतुंगल क्षेत्रले कुल आयोजनाको २६ दशमलब ४९ प्रतिशत हिस्सा ओगट्छ, भूकम्पले कम क्षति गरेको भुभागका रुपमा यो क्षेत्रबाट काम थाल्न लागिएको हो’, आयोजनाका शाखा अधिकृत ध्रुव प्रसाद सापकोटाले विकासन्युजसँग भने । बाहिरी चक्रपथ आयोजनाको निर्माण आरम्भ भएको १० बर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । त्यसका लागि एक लाख रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ । बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०/२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् । ‘एक परिवारले ७ दशमलब ८ प्रतिशत जमिन सडकका लागि योगदान गर्नुपर्छ, बाँकी जमिन जग्गा एकिकरणको रोडम्याप अनुसार फिर्ता हुन्छ, कुनै पनि नागरिकको उठिबास लाग्दैन’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । चार लेनको सडकमा फुटपाथ, साइकल लेन र ठुला सवारीका लागि छुट्टै लेनको समेत व्यवस्था गरिएको हुनेछ । यसरी निर्माण हुने बाहिरी चक्रपथ आयोजनाले उपत्यकाको कुल जमिनको १० प्रतिशतलाई व्यवस्थित शहरीकरणमा रुपान्तरण गर्ने आयोजनाका शाखा अधिकृत सापकोटाले जानकारी दिए । यो सडकमा चार वटा फ्लाईओभर समेत निर्माण गरिनेछ । जसमा अरनिको राजमार्ग, त्रिभुवन राजपथ, फास्ट ट्रयाक, पासाङल्यामु सडकमा फ्लाईओभर निर्माण हुनेछ ।

असर्फी बनाएर बेचिन्छ प्रहरीले बरामद गरेको अबैध सुन, सर्बसाधारणाकाे विश्वास यसैमा

काठमाडौं, २४ मंसिर । समय समयमा नेपाल प्रहरीले सुन बरामद गर्यो भनेर समाचारहरु आउने गरेका छन् तर ती बरामद भएका सुन कहाँ राखिन्छ र त्यो सुनको उपयोग कसरी गरिन्छ भन्ने विषय धेरैलाई जानकारी नहोला । राजस्व अनुसन्धान विभाग मार्फत नेपाल प्रहरीले समय समयमा बरामद गरेको सुन नेपाल राष्ट्र बैंकको मुद्रण विभाग अन्तर्गतको टक्सार महाशाखामा जम्मा हुने गरेको छ । सो सुन राष्ट्र बैंकले असर्फी बनाएर बेच्ने गरेको छ । हाल राष्ट्र बैंकसँग प्रहरीले बरामद गरेको सुन ६ क्वीन्टल (६ सय किलो) रहेको छ । शुक्रबारको मुल्यमा गणना गर्ने हो भने सो सुन २ अर्व ७२ करोड ६३ लाख रुपैयाँ बराबरको हुन आउछ । शुक्रबार प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको छ । पछिल्लो तीन वर्षमा प्रहरीले २८३ किलो अर्थात् एक अर्व २० करोड मुल्य बराबरको सुन बरामद गरेको छ । ती सबै सुन टक्सार महाशाखामा राखिएको छ । बरामद सुन महाशाखाले ६०० डिग्री तापक्रममा उमालेर पगाल्छ र इट्टा आकारको बनाएर राख्ने गरेको छ । जसबाट बर्षेनी सुनका असर्फीहरु बनाएर टक्सार महाशाखाबाट सर्वसाधरणलाई बिक्री गरिन्छ । चालु आर्थिक वर्षमा मात्र महाशाखाले ७ हजार सुनका असर्फी छापेको छ । सो असर्फी दश ग्रामका ३ हजार र ५ ग्रामका चार हजार वटा छापेको छ । ती असर्फी सर्वसाधरणले बढीमा चारवटा सम्म किन्न पाउनेछन् । दश ग्रामको मुल्यमा ५०० रुपैयाँ जोडेर प्रति असर्फीको मुल्य तोकिएको हुन्छ । जुन अन्तराष्ट्रिय स्तरको सुनको भाउमा नै किनबेच हुने गरेको छ । यहाँबाट बिक्री भएका सुनका असर्फी असली सुन (२४ क्यारेट) नै हुने भएकोले सर्वसाधरण असर्फी किन्नको लागि टक्सारमा आउने गरेका् राष्ट्र बैंक अन्तरगतकाे टंक्सर कार्यालयले जनाएकाे छ । चालु आर्थिक वर्षदेखि भने असर्फी छपाइ बढाउने विषयमा राष्टबैंकले छलफल गरिरहेको छ।

क्लिन फिड कार्यान्वयनमा कानुनी समस्या, ५ अर्बको विज्ञापन बजार अनिश्चित समय गुम्दै

काठमाडौं, २४ मंसिर । विदेशी टेलिभिजन च्यानलमा विज्ञापन रहित प्रसारण सेवा(क्लिन फिड) कार्यान्वयनमा कानुनी समस्या देखिएको छ । नयाँ कानुन निर्माण नगरि क्लिन फिड कार्यान्वयन गर्न नसकिने देखिएसँगै ५ अर्बको विज्ञापन बजार अझै अनिश्चत समय गुम्ने भएको हो । नेपालको आन्तरिक विज्ञापन बजारलाई बढाउन तथा सम्भावित सांस्कृति अतिक्रमणलाई रोक्न भन्दै केपी ओली नेतृत्वको अघिल्लो सरकारले २०७३ साउन ७ गते गरेको क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो । ओली सरकारले आगामी आर्थिक बर्ष अर्थात २०७४ साउन १ गतेदेखि क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो । ‘हामीले जुन कानुनमा टेकेर केलब प्रसारकहरुलाई विदेशी च्यानल प्रसारण गर्ने अनुमति दिएका छौं, त्यसले क्लिन फिडका बारेमा केहि भनेको छैन, अब कार्यान्वयन गर्ने हो भने कानुन संसोधन गर्नु पर्छ’, सूचना तथा सञ्चार मन्त्रालयका सह सचिव रामचन्द्र ढकालले विकासन्युजसँग भने । उनले क्लिन फिड कार्यान्वयनका लागि नयाँ फिड निर्माण गर्नु पर्ने र त्यसका लागि नेपालले आग्रह गरेर विदेशी च्यानलहरुलाई अनुरोध समेत गर्नुपर्ने अवस्था रहेको पनि बताए । क्लिन फिड कार्यान्वयनमा ल्याउन सकिए नेपाली विज्ञापन क्षेत्रका लागि ठुलो बजार प्राप्त हुने बताउँदै उनले भने–‘१० बर्षको प्रयासपछि क्लिन फिड कार्यान्वयन गर्ने नीति त बन्यो तर त्यसको पुर्वाधार बनाउन अझै केहि समय लाग्छ, यो नीतिको कार्यान्वयन अत्यन्तै आवश्यक छ, मन्त्रालयले काम गरिरहेको पनि छ ।’विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले भने वर्तमान सरकारले क्लिन फिड कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाए । वर्तमान सरकारको अनिच्छाले पाँच अर्बको विज्ञापन व्यवसाय फेरी पनि गुम्ने अवस्था सृजना भएको उनको आरोप छ । ‘क्लिन फिड कार्यान्वयनका लागि कर्मचारीतन्त्र तयार देखिएको छ तर वर्तमान सरकारले चासो दिएन’, विज्ञापन संघका अध्यक्ष श्रेष्ठले विकासन्युजसँग गुनासो पोखे । हाल नेपालको बार्षिक विज्ञापन बजार ५ अर्ब रुपैंयाँ रहेको छ । क्लिन फिड कार्यान्वयनमा आउँदा पहिलो बर्ष नै पाँच अर्बको विज्ञापन नेपाली व्यवसायीका हातमा पर्छ । यसले राज्यलाई समेत ठुलो मात्रामा राजश्वको जोहो गरिदिन्छ । त्यति मात्रै होइन भारतीय तथा पश्चिमा संस्कृतिको खुल्लम खुल्ला अतिक्रमण समेत रोक्नेछ । त्यसका अवला हजारौं नेपालीले रोजगारी पाउनेछन् । नेपाली विज्ञापन व्यवसायमा नयाँ नयाँ आविष्कार सुरु हुनेछ । नेपाली कलाकारले समेत राम्रो कामको अवसर प्राप्त गर्नेछन् । के हो क्लिन फिड ? क्लिन फिड भनेको विज्ञापन रहित विदेशी च्यानलहरुको प्रसारण हो । यसले नेपाली सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा नेपाली कलाकार तथा नेपाली भाषाको हुनुपर्ने मान्यता राख्छ । सोनी, स्टार प्लस, कलर्स लगायतका मनोरञ्जन केन्द्रित भारतीय टेलिभिजनहरुले आफ्ना मनोरञ्जनका उत्पादन बाहेक विज्ञापन बजाउन पाउने छैनन् । उनीहरुले विज्ञापन बजाउने समयमा नेपालले आफ्नै देशका उत्पादन तथा सामग्रीहरुको विज्ञापन बजाउनेछ ।