काठमाडौं । बुधबार बिहानको त्यो समय, आकाशमा घाम लागिरहेको मात्र थिएन, भोटेकोशी र त्रिशूलीको पानीमा अनौठो गर्जन सुनिँदै थियो । हेर्दाहेर्दै त्रिशूलीले आफ्नो धार मात्र फेरेन, आसपासका बस्ती, वर्षौंदेखि उभिएका कङ्क्रिटका संरचना र हजारौं मानिसको लाइफलाइन मानिने सडक सञ्जाललाई समेत एकै झट्कामा ध्वस्त पारिदियो ।
आज रसुवा, नुवाकोट र धादिङका डाँडापाखाहरू मूकदर्शक बनेर आफ्ना शरीरबाट उखेलिएका पुलहरू हेरिरहेका छन् । त्रिशूली करिडोरका ३२ वटा प्रमुख पुलहरू अहिले इतिहास बनेका छन् । कतै पिलर मात्रै बाँकी छ, कतै त पुलको नामनिसान समेत छैन ।
विपत्तिको घाउ कति गहिरो छ भनेर बुझ्न प्रधानमन्त्री बालेन्द्र शाह, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितको टोली गाडीबाट नुवाकोट ओर्लियो । त्रिशूलीको तिरैतिर पुग्दा दृश्यहरू कहालीलाग्दा थिए ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको अवलोकन गरिरहँदा स्थानीयका आँखामा आँसु र अनुहारमा अन्योल प्रष्ट देखिन्थ्यो । सडक विभागको प्रारम्भिक प्रतिवेदनले भन्छ ‘हामीले अर्बौंको भौतिक क्षति मात्र बेहोरेका छैनौं, हामीले राजधानीलाई उत्तरी नाकासँग जोड्ने मेरुदण्ड नै गुमाएका छौं ।’
हाल प्रधानमन्त्री शाह र मन्त्री लम्साल विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ब्रिफिङमा बसेका छन् ।
छलफलमा प्रधानमन्त्री बालेन र लम्सालसहित सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल छन् ।
उनीहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका छन् ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार यो बाढीले सडक पूर्वाधारमा २० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ । तर यो त केवल अंक मात्र हो । ती ३२ पुलहरू बग्दा हजारौं किसानका उत्पादन बजार पुग्न रोकिएका छन्, बिरामीहरू अस्पताल पुग्न वञ्चित भएका छन् ।
सबैभन्दा बढी क्षति नुवाकोटले भोगेको छ । यहाँका १५ वटा पुलहरू बाढीले बगाइदिएको छ । ऐतिहासिक बेत्रावतीका पुराना र नयाँ पुलदेखि त्रिशूली बजार जोड्ने प्रमुख पुलहरू अब सम्झनामा मात्र सीमित छन् । देवीघाटको सस्पेन्सन ब्रिज र मिडहिल हाइवेका पुलहरू बग्दा जिल्लाको आन्तरिक यातायात पूर्ण रूपमा विच्छेद भएको छ ।
यसैगरी, चीनसँगको व्यापारिक नाका जोड्ने रसुवामा १३ वटा पुलहरू बगेका छन् । मितेरी पुलदेखि चिलिमे र मैलुङका पुलहरू बग्दा नेपाल-चीन व्यापार ठप्प भएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमै ठूलो असर पुर्याउने निश्चित छ ।
धादिङमा पनि १० मध्ये ४ पुल पूर्ण रूपमा ध्वस्त भएका छन् । बैरेनी, घाटबेसी र मलेखुका पुलहरू त्रिशूलीको भेलले बगाएपछि पृथ्वी राजमार्गको वैकल्पिक मार्गहरू समेत अवरुद्ध भएका छन् ।
सडक विभागका प्रवक्ता न्यौपानेका अनुसार बाढीले हालसम्म साना-ठुला गरी कुल ३२ वटा पुल पूर्ण रूपमा बगाएको छ । बगाइएका पुलहरूमा आर्क ब्रिज, सस्पेन्सन (झोलुङ्गे) ब्रिज, ट्रस ब्रिज र आरसिसी ब्रिजहरू रहेका छन् ।
त्रिशूली नदी र त्यसका सहायक नदीहरू फलाखु खोला, तादी खोला र कोल्पु खोलामा रहेका पुलहरूमा बढी क्षति पुगेको जानकारी दिए । यो क्षेत्रको यातायात सञ्जाल पूर्ण रूपमा ध्वस्त भएको छ भने यसले राजधानीको उत्तरी नाका र आन्तरिक सम्पर्क समेत विच्छेद भएको उनको भनाइ छ ।
उनले भने, ‘पुलसँगै सडक पूर्वाधारमा पनि गम्भीर असर परेको छ । करिब ४० किलोमिटर राजमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कतिपय दुर्गम स्थानमा अझै पुग्न नसकिएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको र यो संख्या अझै बढ्न सक्छ ।’
४० किलोमिटर सडक पूर्ण रूपमा क्षति
बाढीले पुल मात्र बगाएको छैन, त्रिशूलीको किनारैतिर खनिएको करिब ४० किलोमिटर राजमार्गलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । सडक विभागका अनुसार कतिपय ठाउँमा त सडकको नामनिसान समेत छैन । प्रवक्ता न्यौपाने भन्छन्, ‘हामी तथ्याङ्क सङ्कलन गर्दैछौं, तर दुर्गम ठाउँका थप विवरण आउन बाँकी छ । यो क्षति अझै बढ्न सक्छ ।’
अहिले यी तीन जिल्लाका बासिन्दाहरू काटिएका छन् । राजधानीसँगको उत्तरी सम्पर्क विच्छेद भएको छ । सडक विभागले वैकल्पिक व्यवस्था गर्ने प्रयास त गरिरहेको छ, तर ३२ वटा पुलहरू पुनः निर्माण गर्नु कुनै सानो चुनौती होइन ।
पुलहरू बगेका छन्, सडकहरू भत्किएका छन् । बाढीले छोडेर गएको २० अर्बको भौतिक क्षति र त्यसले निम्त्याएको सामाजिक-आर्थिक खाडल पुर्न वर्षौं लाग्ने देखिन्छ ।
अहिलेलाई सरकारको ध्यान उद्धार, राहत र अस्थायी मार्ग खोल्नेतर्फ मोडिएको छ ।