फस्टायो गरिबसँग जोडिएको व्यापार, माइक्रोफाइनान्सको बोनस ८० प्रतिशतसम्म

काठमाडौं, २१ मंसिर । गरिबहरुको उत्थानको लागि खोलिएको लघुवित्त विकास बैंकहरुले गरिबलाई नै लगानी गरी कमाएको रकमबाट लगानीकर्ताहरुलाई ८० प्रतिशत सम्म लाभांश बाँडेका छन् । उनीहरुले गत आर्थिक वर्षको नाफाबाट ८० प्रतिशतसम्म लाभांश दिएका हुन् । नेपाल राष्ट्र बैंकबाट ४२ वटा माइक्रोफाइनान्सहरुले स्वीकृति लिएकोमा हालसम्म १४ वटा माइक्रोफाइनान्सले लाभांशको घोषणा गरिसकेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी नागवेली लघुवित्त विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई ६० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै स्वाबलम्बन लघुवित्त विकास बैंकले ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश गरी ५३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । निर्धन उत्थान विकास बैंकले २० प्रतिशत सेयर र ११.५७ प्रतिशत नगद गरी ३१.७५ प्रतिशत लाभांश घोषणा गरेको , भने एनएमबी माइक्रोफाइनान्सले २५ बोनस, १.३१ प्रतिशत नगद गरी २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरी सकेको छ । मेरो माइक्रोफाइनान्सले १० नगद १० प्रतिशत बोनस सेयर गरी २० प्रतिशत, फस्ट माइक्रोफाइनान्स वित्तिय संस्थाले १५ बोनस सेयर र ०.७९ नगद गरी जम्मा १५.७९ प्रतिशत, विजय लघुवित्त विकास बैंकले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत, किसान माइक्रोफाइनान्सले ६१ प्रतिशत बोनस र ३.२१ नगद गरी ६४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै रिलायवल माइक्रो फाइनान्सले २० प्रतिशत नगद लाभांश मात्र दिने भएको छ ,भने वोमी माइक्रो फाइनान्स वित्तिय संस्थाले २० प्रतिशत सेयर र १.११ प्रतिशत नगदगरी २१.११ प्रतिशत लाभांसको घोषणा गरेको छ । आइएलएफ्सीओ माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस र २.३६ प्रतिशत नगद गरी ५२.३६ प्रतिशत लाभांश दिने भएको छ । छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश गरी ५२.७ प्रतिशत लाभांश घोषणा गरेको भने रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांस दिने घोषणा गरेको छ । यसरी गरिवसँग जोडिएर व्यापार गर्ने माइक्रोफाइनान्सहरुले आगामी दिनमा भने यत्ति धेरै मात्रामा लाभांश दिन सक्ने छैनन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत माइक्रोफाइनान्सहरुको स्प्रेडदर ७ प्रतिशत तोकेको छ भने बैंकहरुले पनि दुई प्रतिशत प्रत्यक्ष रुपमा विपन्न वर्गमा लगानी गर्नुपर्ने छ । यसअघि क वर्गका बाणिज्य बैंकहरुबाट सस्तो व्याजदरमा विपन्न वर्ग कर्जा लिइ २४ प्रतिशत सम्म व्याज लिने गरेका थिए । जसबाट उनीहरुले राम्रो नाफा कमाइरहेका थिए ।

मेलम्चीमा भेटिएको पहेँलो धातु सुन होइन-खानी तथा भूगर्भ विभाग

काठमाडौं, २१ मंसिर । मेलम्चीको मुहानमा भेटिएको सुन जस्तै पहेँलो धातु सुन नभएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले गरेको ल्याब परिक्षणले सो धातु सुन नभएको पुष्टि भएको हो ।‘मेलम्चीको मुहानमा भेटिएको पहेँलो धातु सुन र तामा दुबै होइन’, विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेले विकासन्युजसँग भने । उनले सुन जस्तै देखिने पहेँलो धातु फ्लेकोप्राइट हुन सक्ने पनि बताए । ‘अन्तिम ल्याब रिपोर्र्ट आएको छैन तर त्यो अग्रख जस्तो देखिने फ्लेकोप्राइट नामको धातु हुन सक्ने देखिएको छ’, निमित्त महानिर्देशक घिमिरेले भने । गत बिहिबार मेलम्चीको मुहान नजिकै सुन जस्तै पहेँलो धातु फेला परेको थियो । सो धातु सुन हुन सक्ने भन्दै तत्काल कडा सुरक्षा निगरानीमा राखेर नमुना परिक्षणका लागि खानी विभागमा पठाइएको थियो । यद्यपी स्थानियले भने सो धातु सुन नै भएको दावी गरिरहेका छन् ।पहेँलो धातु भेटिए लगत्तै मुहानमा मेलम्चीको काम समेत रोकिएको थियो ।

फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन, तयार भए १० परियोजना

काठमाडौं, २० मंसिर । नेपालमा वैदेशिक लगानी भित्र्याउन भन्दै आगामी फागुन १९ र २० गते काठमाडौंमा लगानी प्रवद्र्धन सम्मेलन आयोजना हुँदैछ । उद्योग मन्त्रालय र लगानी बोर्डको समन्वयमा आयोजना हुने लगानी सम्मेलनका लागि भन्दै यतिबेला बिभिन्न १० वटा परियोजना तयार भएका छन् । त्यसमा नेपालले लगानीको अत्याधिक सम्भावना भएका क्षेत्र भनेर छुट्याएको उर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, उत्पादन मुलक क्षेत्र, कृषि, खानी, यातायात, बैंक तथा वित्तिय क्षेत्र र सूचना तथा प्रबिधी लगायतका परियोजना तयार भएका हुन् । ‘हामी नेपालमा वैदेशिक लगानी भित्र्याउने उदेश्यसहित आयोजना गर्न लागिएको लगानी प्रवद्र्धन सम्मेलनमा १० वटा परियोजना पेश गर्दैछौं, त्यसमा लगानी गर्नका लागि आव्हान गरिनेछ’, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने । उनले त्यस्ता परियोजना समेटिएको विस्तृत प्रस्ताव उद्योग मन्त्रालयमा पठाइसकिएको समेत जानकारी दिए । यसरी तयार भएका सामाग्रीहरुलाई सम्मेलनका क्रमा आमन्त्रित विदेशी लगानी कर्ता समक्ष पेश गरिनेछ । त्यसमा लगानी योग्य आयोजनाका विशेषता, सम्भावित प्रतिफल, कानुनी व्यवस्था, नेपालले उपलब्ध गराउने सुबिधा लगायतको विस्तृत जानकारी समावेश गरिनेछ ।‘हामी तत्काल लगानी गर्न सकिने केहि प्रोजेक्ट तयार पारेर पेश गर्दैछौं, त्यससँगै एकद्धार प्रणालीबाट काम गरिदिने व्यवस्थाको ग्यारेण्टी समेत गर्ने प्रयास गर्नछौं’, अधिकारीले भने । ३५० विदेशी लगानी कर्ता आउने सम्मेलनमा ३५० जना भन्दा बढि विदेशी लगानी कर्ता आउने दावी गरिएको छ । त्यसका साथै विश्वका उत्कृष्ठ अर्थशास्त्रीहरु र प्रतिष्ठित केहि उद्योगपतिलाई समेत निम्त्याउने तयारी भैरहेको उद्योग मन्त्री नविन्द्रराज जोशीलाई उदृत गर्दै प्रेस संयोजक प्रदिप चापागाईँले बताए । सम्मेलन अघि नै सबै ऐन ल्याउने तयारी मन्त्रालयले लगानी प्रवद्र्धन सम्मेलन अघि नै लगानीसँग सम्बन्धित सम्पुर्ण ऐन ल्याउने तयारी गरेको छ । हाल सेज ऐन र औद्योगीक व्यवसाय प्रवद्र्धन ऐनको संसोधन विधेयक संसदबाट पारित भैसकेका छन् । त्यस्तै, कम्पनी ऐनको संसोधन बिधेयक संसदमा टेबल गरेर समितिमा पठाएको छ भने वैदेशिक लगानी तथा प्रबिधी हस्तान्तरण ऐनको मस्यौदा तयार भैसकेको छ । त्यसैगरि वौद्धिक सम्पति सम्बन्धि ऐनको पनि मस्यौदा तयार भैसकेको छ । यी सबै ऐन ल्याएर वैदेशिक लगानी कर्तालाई नेपाल लगानीका लागि उपयुक्त गन्तव्यका रुपमा स्थापित भैसकेको सन्देश दिन चाहेको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।