नेपालको रेल वे सञ्जाल-चीन-यूरोप हुँदै भारतसम्म, बिरगञ्ज-रसुवागढी रेल वे भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्ग
काठमाडौं, २९ मंसिर । यतिबेला नेपालले आन्तरिक रेल वे नेटवर्कको विस्तारलाई महत्व दिएर तराईमा पूर्व–पश्चिम रेल मार्गको निर्माण गरिरहेको छ भने रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज जोड्ने रेल वेको सम्भाव्यता अध्ययन पनि अघि बढाइरहेको छ । झट्ट हेर्दा आन्तरिक रेल वे सञ्जाल विस्तार गर्न लागिएको जस्तो देखिए पनि यो नेटवर्कले नेपाललाई यूरोपसम्म पुर्याउँछ । नेपालले पूर्व काकडभिट्टादेखि पश्चिमको गड्डाचौकीसम्म निर्माण गर्ने ९४५ किलोमिटर लामो रेल मार्ग र रसुवागढी–काठमाडौं रेलमार्ग तथा काठमाडौं हुँदै बिरगञ्ज जोडिने रेल मार्गको परिकल्पनाले सिंगो संसारसँग नेपालको रेल वे सञ्जाल जाेड्ने छ । काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल वेले नेपालाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ । यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् । अर्कातिर नेपालले बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनको प्रारम्भिक सम्भाव्यता अध्ययनको तयारी गरिरहेको छ । यो रेल वे लाइन चीन–युरोप रेल वे लाइन हुँदै साइबेरियन रेल वे नेटवर्कसम्म जोडिन्छ । जसले नेपाललाई चीन, मंगोलिया, रसिया हुँदै युरोपसम्म पुर्याउँछ । यो रेल वे नेटकर्वकलाई आइरन शिल्क रोड अर्थात फलामको शिल्क रोडका रुपमा पनि हेर्ने गरिएको छ । यसरी दुई तिरबाट युरोपसम्म जोडिने रेल सञ्जालले नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रुपमा स्थापित गराउन सक्नेछ । नेपालमा औद्योगीकरण, पर्यटन प्रवद्र्धनका साथै कृषिमा आधुनिकीकरणको सम्भावनालाई पनि बढाउँछ । बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनलाई भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा हर्ने गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय बताउँछन् । ‘बिरगञ्जबाट काठमाडौं हुँदै चीन भएर रसिया पुग्ने रेल लाइनले भारत र रसियालाई जोड्छ जसले नेपालमा लगानीको सम्भावनालाई पनि बढाउँछ’, उपाध्यायले भने । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा विस्तार गर्न लागिएको रेल वे सञ्जालले रणनीतिक महत्व राख्ने बताए । ‘रसुवागढीको रेल चिन, मंगोलिया हुँदै रसियासम्म जान्छ । केरुङबाट चीन युरोप रेल वे सर्भिस हाम्रा लागि उपयुक्त हो’ डा. आचार्यले भने । ९ हजार २ सय ८९ किलोमिटर लामो ट्रान्स एसियन रेल वे लाइनले पनि नेपाललाई विकासको मार्गमा संसारसँगै कुदाउने उप महानिर्देशक उपाध्याय बताउँछन् । पानी जहाजबाट समान ढुवानी गर्दा दुई महिना लाग्ने दुरी रेल मार्गबाट एक हप्तामै पार गर्न सकिने उनले दावी गरे । उनका अनुसार नेपालले निर्माण सुरु गरेको पुर्व पश्चिम रेल वेको क्षमता प्रति घण्टा २०० किलोमिटरको हुनेछ । ‘हामीले सिंगल लेनको रेल वे निर्माण गरिरहेका छौं, त्यसमा प्रति घण्टा २०० किलोमिटर स्पिड कायम हुन्छ, जुन अन्तराष्ट्रिय स्तरकै हो’, उपाध्यायले भने । विभागले हाल बर्दिबास–बुटवल खण्डको २०० किलोमिटरमध्ये बर्दिबास–सिमराको १०८ किलोमिटर क्षेत्रमा २५ किलोमिटरको काम अघि बढाएको छ । सो रेल मार्ग निर्माणका लागि प्रति किलोमिटर औसत लागत ४५ करोड लाग्ने प्रक्षेपण अनुसार काम भैरहेको छ ।
सेलीव्रेटी मन्त्री गगन थापाको सम्पत्ति कत्ति ?
काठमाडौं, २९ मंसिर । सेलिव्रेटी मन्त्रीको उपमा पाएका स्वास्थमन्त्री गगनकुमार थापाको सम्पत्ति कत्ति होला, तपाईले अनुमान गर्न सक्नु हुन्छ ? सवैको केन्द्रविन्दुमा रहेका स्वास्थ मन्त्री गगन कुमार थापाको सम्पत्ति बुधबार सरकारले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा मन्त्री थापाको नाममा विभिन्न कम्पनीमा ६ लाख ८७ हजार कित्ता सेयर रहेको छ भने एभरेष्ट बैंकमा चार हजार मात्र नगद रुपैया रहेको छ । त्यस्तै उनको घरमा पाँच हजार रुपैयाँ मात्र नगद मौज्दात रहेको छ । बाँकी सम्पत्ति भने उनकी पत्नि डा.अन्जना केसी थापासँग रहको देखिन्छ । उनकी श्रीमतिसँग १६ तोला सुन, २०० तोला चादी र केही हिराका गहना रहेको छ । जुन उनकी श्रीमतिले पेवा, दाइजो र स्वआर्जनबाट कमाएकी हुन्, विवरणमा उल्लेख छ । त्यस्तै श्रीमतिको नाममा हिमालयन बैंक र नविल बैंकमा गरी २० लाख १७ हजार नगद रहेको छ । त्यस्तै श्रीमतिको नाममा विभिन्न कम्पनीको एक लाख १३ हजार ९ सय कित्ता सेयर छ जुन मन्त्री थापाले श्रीमतिले स्वआर्जन गरेको दावी गरेका छन् । उनकी छोरी गार्गी ए थापाको नाममा मेगा बैंकमा एक लाख ३१ हजार नगद र विभिन्न कम्पनीको सेयर ७ हजार एक सय कित्ता रहेको थापाले जनाएको छ । त्यस्तै छोरी गार्गीको नाममा थापाले चार लाख बराबरको नेपाल सरकारको बचत पत्रमा लगानी गरेका छन् । मन्त्री थापाले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा उनले अहिले भोगचलन गरेको सम्पत्ति वुवा, आमा, छोरी र पत्नीको नाममा रहेको बताएका छन् । उनको ऋण भने एक रुपैयाँ पनि देखिएको छैन । उनको पिता महेन्द्रकुमार थापाले बुद्धिबहादुर थापालाई पाँच वर्षमा फिर्ता गर्ने गरी १५ लाख रुपैयाँ सापटी लिएका छन् भने एक वर्षमा तिर्नेगरी घरखर्चका लागि पाँच लाख रुपैयाँ सापटी लिएका छन् ।
४६ करोड १७ लाखको साधारण सेयर आउँदै, नेपाल लाइफ र महाकाली विकास बैंकको एफपीओ पनि
काठमाडौं, २९ मंसिर । बजारमा ४६ करोड १७ लाख ९४ हजार ३०० रुपैयाँ बराबरको साधारण सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ११ वटा कम्पनीहरुले साधारण सेयर जारी गर्नका लागि बोर्डमा निवेदन छन् । ती कम्पनीले केही महिना भित्रमा नै ६९ लाख ५० हजार ७४० कित्ता साधारण सेयर जारी गर्नेछन् । आबुखोला जलविद्युत कम्पनीको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर स्थानीय बासिन्दाको लागि आउदै छ भने मैलुङ खोला जलविद्यतु कम्पनीले पनि स्थानीयकै लागि तीन करोड ६८ लाख १४ हजार ३०० रुपैयाँ बराबरको तीन लाख ६८ हजार १४३ कित्ता साधारण सेयर ल्याउँदै छ । त्यस्तै रादी विद्युत कम्पनीको ४ करोड १० लाख बराबरको ४ लाख १० हजार कित्ता साधारण सेयर, युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड २५ लाख बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर र गर्जाङ उपत्यका हाइड्रोपावरको २ करोड बराबरको २ लाख कित्ता साधारण सेयर स्थानीय बासिन्दाको लागि आउदै छ । त्यस्तै, नेपाल लाइफ इन्सुरेन्स र महाकाली विकास बैंकले सर्वसाधरणको लागि एफपीओ जारी गर्दैछन् । उनीहरुले क्रमशः ३० लाख ९६ हजार ४ सय २९ कित्ता र २ करोड ३६ लाख ३६ हजार ७५३ कित्ता सेयर एफपीओ जारी गर्नका लागि बोर्डमा निवेदन दिएका छन् । यी दुई कम्पनीलाई बोर्डले शेयर निस्कासनका लागि स्वीकृति पनि दिइसकेको जानकारी दिएको छ । त्यसैगरी, समता माइक्रोफाइनान्स वित्तिय संस्थाको ९४ लाख ८० हजार रुपैयाँ बराबरको ९४ हजार ८०० कित्ता सेयर, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाको ६ करोड बराबरको ६ लाख कित्ता साधारण सेयर आउदै छ । माहुली सामुदायिक लघुवित्त वित्तिय संस्था र स्वदेशी लघुवित्त वित्तिय संस्थाको पनि क्रमशः एक करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता सेयर र तीन करोड बराबरको ३ लाख कित्ता साधारण सेयर निस्कासन गर्दै छ ।