एक अर्बको लगानीमा संचालन हुँदै अन्नपूर्ण केवलकार, स्थानीय पनि केवलकार मालिक बन्ने

फाइल फोटो काठमाडौं । पोखराको सेतीवगरदेखि सराङ्कोटसम्म २३ सय मिटरको दूरीमा अन्नपूर्ण केवलकार संचालन हुने भएको छ । केवलकारमा मात्रै एक अर्ब रुपैयाँ लगानी गरिरहेको यो कम्पनीले स्थानीयलाई नै मालिक बनाउने भएको छ । अन्नपूर्ण केवलकारका एक संचालक तीर्थराज त्रिपाठीका अनुसार सेतीवगरदेखि सराङ्कोटसम्म केवलकारको स्पेशमा पर्ने स्थानीयलाई सेयर दिएरै संचालन गरिने भएको छ । यो केवलकारमा जापानी नागरिक ताकासिं मियाहाराको १५ प्रतिशतसहित धेरै पोखरेली नागरिकको लगानी रहेको छ । ‘हामीले मेरो भन्दा पनि हाम्रो केवलकार भनेर संचालन सुरु गर्न लागेका हौ’, त्रिपाठीले भने । उनका अनुसार केवलकार संचालन गर्न करिब एक अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । केवलकार निर्माण सुरु भइसकेकोले आगामी दुई वर्षभित्रमा नै संचालन हुने भएको छ । हाललाई १८ वटा गोन्डुला रहने छ । यो केवलकारमा प्रतिघण्टा ६ सय जनाको क्षमता हुने उल्लेख छ । संचालनमा आएपछि गोन्डुला (केबलकार) थप गरेर प्रतिघण्टा नै एक हजार जनाको क्षमतमा संचालन गर्ने योजना रहेको पनि त्रिपाठीले जानकारी दिए । उनका अनुसार हाल सराङ्कोटबाट अन्नपूर्ण पानारोमा भ्यू हेर्नेदेखि, सूर्योदय, सूर्यास्तको दृश्याववलोकन गर्नेसम्मको लागि निकै उपयुक्त स्थान हो सराङ्कोट । प्याराग्लाइडिङ, जिपफ्लार गर्न र पोखराको आकर्षण दृश्यावलोकन गर्न पनि उपयुक्त भएकोले पनि अब केवलकारमार्फत यसको सुविधा लिन सकिने भएको छ । केवालकार निर्माणको जिम्मा भने मनाकामना केवलकार निर्माण गर्ने चितवन कोई ग्रुपले पाएको छ । यो कम्पनीमार्फत केवलकार निर्माण गर्ने विषयमा आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । मोनो डीएचएल नामक आधुनिक प्रविधिको यो केवलकार जापानी प्रविधिमा निर्माण हुने भएको छ । होटल पनि संचालनमा आउँदै केवलकारसँगै सराङ्कोटमै आधुनिक रेस्टुरेन्ट, मनोरन्जक पार्क तथा होटल पनि संचालनमा आउने भएको छ । अन्नपूर्ण केवलकारसमूहले आधुतिक रेस्टुरेन्ट र मनोरन्जन पार्कसहितको योजना अगाडि बढाएको छ । सो ठाउँमा भएको होटल पूर्वाधारले थप आकर्षण दिने पनि त्रिपाठीको भनाई छ । उनका अनुसार होटल निर्माण धामाधम भइरहेकोले केवलकार भन्दा अगाडि नै १०० कोठाको सुविधासम्पन्न होटल संचालन हुने उल्लेख छ ।  निर्माण सम्पन्नको अन्तिम तयारीमा रहेको होटलमा पनि एक अर्ब रुपैयाँ खर्च भइसकेको उल्लेख छ । ४० वर्षलाई २४ रोपनी वन क्षेत्र भाडामा केवलकार संचालन गर्नकै लागि अन्नपूर्ण केवलकारले २४ रोपनी सरकारी वन क्षेत्र आगामी ४० वर्षको लागि भाडामा लिइसकेको छ । वैदेशिक लगानीको ठूलो उद्योग भएकोल आवश्यक सरकारी प्रकृया पूरा गरेर काम भएको पनि उल्लेख छ । केवलकारले निजी आवधिक जग्गा पर्नेलाई र स्थानिय दुबैलाई सेयर दिने योजना अगाडि सारेको उल्लेख छ । पर्यटक आकर्षणको केन्द्र पोखरा पुगको हरेक स्वादेशी तथा विदेशी पर्यटक सराङ्कोट पुग्ने भएकोले यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य पनि हो । अहिले पनि दैनिक चारपाँचसय जान पोखरा तथा उत्तरी क्षेत्रतर्फको हिमाली दृश्यावलोकनकै लागि सराङ्कोट पुग्ने गरेका छन् । केवलकार संचालनमा आएपनि प्रमुख पर्यटकीय गन्तव्य हुनुका साथै यसको महत्व पनि थप उजागर हुने उल्लेख छ ।

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व, मेनेजर अफ दि एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई

काठमाडौं । नेपाल व्यवस्थापन संघमा नयाँ कार्यसमित चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा डा सुनिल पन्त, डा विनोद आत्रेय, शुशील भट्ट, जेनिशा भट्टराई, डा फत्तबहादुर केसी, सुशील कुमार अर्याल, डा विष्णु खनाल डा राजन थापा, दिलिपराज पौडेल,  डा शतिस कुमार ओझा र  माेहन पन्त निर्वाचित भएका छन् । उनीहरु व्यक्तिगत सदस्यहरुमध्येबाट चुनिएका हुन् । संस्थागत तर्फबाट नेपाल राष्ट्र बैंकका निर्देशक तथा बोर्ड सचिव राजेन्द्र पण्डित, सिदार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ, नागरिक लगानी कोषका प्रबन्ध निर्देशक रामकृष्ण पोखरेल, कर्मचारी सञ्चय कोषका प्रबन्धक धुर्ब भट्टराई र नेपाल टेलिकमका प्रमोद उपाध्यय निर्वाचित भएका छन् । सघको विधानअनुसार निर्वाचित कार्यसमितिले अध्यक्षसहित पदाधिकारी छनौट गर्ने छ । अध्यक्षमा पदका लागि म्यानका निवर्तान प्रथम उपाध्यक्ष सुशील भट्टराई, महासचिव सुशील कुमार अर्याल, फत्तबहादुर केसी लगायतले आकांक्षा राखेका छन् । मेनेजर अफ दिन एयर २०१६ पौडेललाई यसैबीच संघले  ‘मेनेजर अफ दिन एयर २०१६’ को अवार्ड एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेललाई प्रदान गरेको छ । शुक्रबार सम्पन्न संघको साधारणसभाले ‘मेनेजर अफ दि एयर २०१६’ बाट एनएमबीका सिइओ पौडेललाई सम्मान गरेको हो । पौडेले सो बैंकमा विगत १६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत छन् । फाइनान्स तथा मर्चेन्ट बैंकबाट कारोबार शुरु गरेको यो कम्पनीलाई वाणिज्य बैंकसम्म पुर्याउने र बाणिज्य बैंक मध्ये पनि विजनेश, ब्राण्ड, नाफा, सेवा स्तरको हिसावले उच्चस्तरको बैंक बनाउन सफल भएको भन्दै बैंकले यो सम्मान दिएको हो । भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘मेनेजर अफ दि वाच २०१६’ बाट सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । यस्तै संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक सीताराम थपलियालाई ‘मेनेजमेन्ट रिकग्नाइजेसन अवार्ड २०१६’ र भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘मेनेजर अफ दि वाच २०१६’ बाट सम्मान गरेको छ ।

कर्जा नियन्त्रणले सवारी साधनको व्यापार २० प्रतिशतले घट्न सक्ने, अर्थतन्त्र संकूचनतिर जाँदै

काठमाडौं । सवारी साधन खरिदका लागि प्रवाह गरिने कर्जा ‘अटोलोन’ नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिएपछि सवारी साधनको व्यापारमा करिव २० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । सवारी कर्जा नियन्त्रणलाई अर्थतन्त्र संकूचनतिर लैजाने पहिलो कदमको रुपमा हेरिन लागेएको छ । सवारी साधन खरिदको लागि कर्जा प्रवाह नगर्ने राष्ट्र बैंकको नीति हो र बैंकहरुले सोहीअनुसार निर्णय गरेको भए त्यो गलत हुने नेपाल अटोमोवाईल डिलर्स एशोसिएशन (नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् । ‘‘आधिकारीक निर्णय आएको छैन । समाचारमा आए जस्तै अटो लोन नियन्त्रण गरिन लागेको हो भने ‘रोग एउटा, उपचार अर्को’ हुनेछ’’ श्रेष्ठले भने । अटोलोन नियन्त्रण गरिएमा अटोमोवाइल्सको करिब २० प्रतिशतले खस्कने नाडाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल बताउँछन् । ‘९८ प्रतिशत उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सवारी किन्ने गरेका छन्’ दाहाल भन्छन्-‘कर्जा नियन्त्रण हुने हो भने मोटर साईकलदेखि हेवि इक्वीप्टमेन्ट सम्मको आयात खस्कन सक्छ ।’ सवारी साधन किन्दा बैंक तथा वित्तीय संस्थाले तिनै साधनलाई धितोको रुपमा लिएर मूल्यको ८० प्रतिशत कर्जा लगानी गर्छन् । नेपालमा मात्र होइन, विश्वभरनै बैंकहरुले सवारी खरिदको लागि कर्जा प्रवाह गर्छन् । सवारी कर्जालाई बैंकहरुले सुरक्षीत लगानीको रुपमा लिन्छन् । ट्रक टिपर, एक्टाभेटर, डेजर, लोडर जस्ता सामाग्री उत्पादन र विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धीत भएकोले त्यस्ता साधनमा पनि कर्जा नियन्त्रण गरिएमा त्यो ठूलो गल्ती हुने उनले बताए । ‘अटोलोन उठेन भन्ने पनि छैन, बैंकहरुले सीमा भन्दा बढी यस क्षेत्रमा लगानी गरे भन्ने पनि छैन’ दाहाल भन्छन्-‘सरकारले पूँजीगत खर्च गर्न नसक्दा समस्या आएको देखिन्छ । सरकारले पूँजीगत खर्च बढाउने हो भने सबै समस्या हल हुने थियो ।’ आर्थिक संकट आउँदा अमेरिका, चीन, जापान जस्ता विकशित देशका सरकारले खर्च वृद्धिलाई प्राथमिकतामा राखेको उदाहरण दिदै नेपाल सरकार, राष्ट्र बैंकले खर्च नियन्त्रण गर्ने नीति लिए भने आर्थिक वृद्धि संकूचित हुन सक्ने उनले बताए । सरकारको राजश्वमा करिव ३० प्रतिशत अटोमोवाइल्स सेक्टरको योगदान रहेको बताउँदै नाडाका महासचिव कृष्णप्रसाद दुलाल भन्छन-‘अटोलोन नियन्त्रण गरियो यो क्षेत्रको व्यापार मात्र खस्कदैन, सरकारको राजश्व पनि घट्नेछ, बैंक तथा बीमाको नाफा पनि घट्नेछ, आर्थिक वृद्धिलाई नै असर गर्नेछ ।’