फास्ट ट्रयाकको ७ अर्ब ५० करोड रकमान्तर गरिँदै, हावा तालमा धेरै बजेट छुट्याएको आरोप

काठमाडौं । सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक आयोजनाबाट ७ अर्ब ५० करोड रुपैंयाँ रकमान्तर गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले फास्ट ट्रयाकमा विनियोजित १० अर्ब रुपैंयाँमध्ये २ अर्ब ५० करोड मात्रै खर्च हुने देखिएकाले बाँकी बजेट रकमान्तरको तयारी गरेका हुन् । ‘फास्ट ट्रयाकलाई दिइएको १० अर्ब मध्ये २ अर्ब ५० करोड भन्दा बढि खर्च हुन सक्दैन, बाँकी रकम अन्य कुनै आयोजनामा रकमान्तर गर्नु पर्ने अवस्था आएको छ, त्यसको तयारी भैरहेको छ’, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले भने । अर्थ सचिव शान्तराज सुवेदीले पनि फास्ट ट्रयाकको साढे ७ अर्ब खर्च नहुने पक्का भैसकेकाले खर्च गर्न सक्ने आयोजनालाई दिन उपयुक्त हुने बताए ।‘जसले जे कुरा गरेपनि फास्ट ट्रयाकको साढे ७ अर्ब रुपैंयाँ खर्च हुने सम्भावना छैन, फ्रिज गराएर राख्नु भन्दा अरु आयोजनामा पठाउँदा उपयुक्त हुन्छ’, सुवेदीले व्यवस्थापिका संसदको अर्थ समितिमा भने । उनले फास्ट ट्रयाकमा विनियोजन गरिएको रकम अन्तै रकमान्तर गर्न लागिएको भन्दै रोइकराई गर्नुको अर्थ नरहेको पनि स्पष्ट पारे । निर्माणको मोडालिटी समेत तयार नभएको फास्ट ट्रयाक आयोजनामा हचुवाका भरमा धेरै बजेट विनियोजन गरिएको आरोप पनि लगाए ।‘हामीले भर्खर आयोजना निर्माणको मोडालिटी तयार पारेका छौं, कसरी बनाउने भन्ने समेत निश्चित नभएको आयोजनामा त्यति ठुलो रकम छुट्याउनु नै गलत थियो’, अर्थ सचिव सुवेदीले भने । योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पनि फास्ट ट्रयाकका लागि विनियोजन गरिएको बजेट रकमान्तर हुनुपर्ने बताए । ‘त्यति ठुलो रकम फ्रिज गराउनु हुन्न, राम्रो काम भैरहेका अन्य आयोजनामा सार्नु पर्छ’, श्रेष्ठले भने । चालु आवमा ३११ अर्बको पूँजीगत बजेट विनियोजन गरिएको थियो । अहिले ३०० अर्ब रुपैंयाँ भन्दा बढि रकम बजेट भन्दा बाहिरबाट माग आईरहेको अर्थमन्त्री कृष्ण बहादुर महराले बताउँदै आएका छन् । उनले निजगढ विमानस्थलको बजेट समेत एक रुपैंयाँ पनि खर्च हुने अवस्थामा नरहेको बताउँदै रकमान्तर गर्नुपर्ने बताउँदै आएका छन् । निजगढ विमानस्थलका लागि सरकारले एक अर्ब ५० करोड रुपैंयाँ विनियोजन गरेको थियो ।

काठमाडौंमा रेल बनाउन ५ कम्पनी इच्छुक, दुई रुटमा मेट्रो र तीन रुटमा मोनोरेलको प्रस्ताव

काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो तथा मोनो रेल बनाउन ५ कम्पनी इच्छुक देखिएका छन् । लगानी बोर्डका अनुसार उपत्यकामा मेट्रोे तथा मोनो रेल बनाउँन विभिन्न पाँच वटा कम्पनीको इच्छा देखाएर प्रस्ताव नै पेश गरेका छन् । बोर्डमा परेको प्रस्तावमा मलेसिया, जापान, चीन, कोरिया र एसीयाली विकास बैंक (एडीबी) रहेका छन् । लगानी बोर्डका बोर्डका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार मलेसियन कम्पनीले नेपाली कम्पनीसँगको सहकार्यमा लगानी गर्ने गरी प्रस्ताव दिएको छ । मलेसियाले काठमाडौंको २७ किलोमिटरको रिङरोडमा मोनोरेल बनाउँने प्रस्ताव गरेको हो । बोर्डमा परेको प्रस्तावमा मलेसियाले भन्डै ८५ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । बोर्डमा परेको पाँचवटै कम्पनीको प्रस्तावमा उपत्यकामा मेट्रो तथा मोनो रेल दुबैमा संभावना औल्याइएको छ । चिनियाँ, कोरियन र मलेसियनको प्रस्तावमा भने इन्जिनियर प्रोक्युअरमेन्ट तथा कन्ट्रक्सन (ईपीसी) मोडल अपनाउने पनि उल्लेख छ । उपत्यकाको रिङरोड र रिङरोड बाहिरको दुई रूट गरी तीन वटा रुटमा मोनोरेल र काठमाडौंको भित्रको दुईवटा रुटमा मेट्रोरेल बनाउँने प्रस्ताव आएको बोर्डले जानकारी दिएको छ । ईपीसी मोडलको प्रस्ताव गर्ने देशबाट नै वित्तीय व्यवस्था पनि गरिदिने प्रस्तावसमेत रहेको लगानी बोर्डले जानकारी दिएको छ । काठमाडौंमा मेट्रो तथा मोनो रेलको संम्भाव्यता र लगानीको विषयमा सुझाव दिन सरकारले राष्ट्रिय योजना आयोगका सदस्य हिरेन्द्रमान प्रधानको संयोजकत्वमा एक सुझाव समिति गठनसमेत गरेको छ । समितिले काठमाडौं मेट्रो तथा मोनो रेलमा आएको प्रस्तावको अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिने उल्लेख छ । ईपीसीसहितको तीनवटै कम्पनीको प्रस्ताव, ईपीसीसहित वित्तीय व्यवस्थाको प्रस्ताव र अन्य प्रस्ताव माथि पनि अध्ययन गरेर उपयुक्त मोडल र लगानीको विषयमा सरकारलाई सुझाव दिने कार्यगत सर्त तोकिएको पनि बोर्डको भनाइ छ । यो समितिमा लगानी बोर्ड सदस्य सचिव रहेको छ । काठमाडौंमा मेट्रोरेल बनाउन यस अघि कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले एक अध्ययन प्रतिवेदन सरकारलाई दिएको छ । यो कम्पनीले काठमाडौंको पाँचवटा रूटको मेट्रो रेल निर्माण गर्न सकिने प्रतिवेदन दिएको छ । यो कम्पनीले दिएको अध्ययन प्रतिवेदन अनुसार उपत्यकाको तीन सहज जोड्ने ७८ किलोमिटरको मेट्रो रेल निमार्ण गर्न साढे पाँच पाँच खर्ब ४७ अर्ब लागत लाग्ने विभागले जानकारी दिएको छ । काठमाडौंमा निर्माण गर्न अध्ययन भएको मेट्रो रेल एउटा रुट कलंकीबाट सुरु भएर सातदोबाटो, नारायण गोपाल चोकहुँदै कलंकी नै आइपुग्ने गरी रिङरोड घुम्ने छ । दोस्रो रुट सातदोबाटो–त्रिपुरेश्वर–रत्नपार्कहुँदै नारायणगोपाल चोकसम्मको छ । तेस्रो रुट तीनकुने–माइतिघर–कलंकी हुँदै कीर्तिपुरसम्मकोे छ । यी तीनवटा रुट सडकमाथिको मोनोरेल हुने छ । गोङ्गबु–नारायणहिटी–डिल्लीबजार–माइतीघर–पुल्चोकहुँदै घोविघाट जाने र स्वयम्भू–रत्नपार्क–डिल्लीबजार– चावहिलहुँदै बौद्ध जाने रुट भूमिगतहुँदै जाने मेट्रोको हुने उल्लेख छ । मेट्रोरेल काठमाडौंको आवश्यकता भएकोले यसको बारेमा सरकारले चासो लिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको भनाइ छ । भौतिक मन्त्री रमेश लेखकले यस अघि आगामी १० वर्ष भित्रमा काठमाडौंमा मेट्रो निर्माण गर्ने सरकारी तयारी रहेको जानकारी पनि दिएका थिए ।

शेखर गोल्छाको टिम तयार, एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल, कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि शेखर गोल्छाको प्यानलमा प्रदाधिकारीहरुको टुङ्गो लागेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छा समूहमा एशोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल उम्मेदवार बन्ने भएका छन् । सोही समूहबाट एशोसिएटतर्फका आकांक्षी ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । ‘ज्ञानेन्द्रलालजीले मलाई उपाध्यक्षमा समर्थन गर्नु भएको छ । उहाँलाई कोषध्यक्षको उम्मेदवार बनाउने सहमति भयो’ ढकालले विकासन्युजसँग कुरा गर्दै भने । गोल्छाको समूहमा जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र बस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिने टुङ्गो लागिसकेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत अध्यक्ष बन्ने व्यवस्था विधानमा गरिएकाे छ । थप समाचारहरू दिनेश श्रेष्ठलाई ११ जिल्ला नगर उद्योग वाणिज्य संघकाे समर्थन उद्योग वाणिज्य महासंघको निर्वाचत चैत २९ गते हुने, चुनाव वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रीत हुँदै  महासंघको निर्वाचन किशोर प्रधान र शेखर गोल्छाबीचको प्रतिस्प्रर्धामा केन्द्रीत हुँदै