उपभोक्ता ठग्ने तीन कम्पनीविरुद्ध अदालतमा मुद्धा दायर, १ लाख रुपैयाँ जरिवाना वा तीन वर्ष कैद सजाय
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सरकारले देशभरमा विभिन्न व्यापारिक फर्महरुमा अनुगमन गर्यो । चाडपर्वकै मौका छोपेर विभिन्न ठुला व्यापारिक फर्मले उपभोक्ता ठगी गरेको पाइयो । आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको आठ महिनाको तथ्याकं अनुसार अनुगमनमा परेका २४९३ वटा व्यापारिक फर्म मध्ये १३ वटालाई कारबाहीको प्रकृया अगाडी बढाइएको छ । मुद्धा दायरमा परेका मध्ये पाँचवटा कम्पनीको नाम खुलेको छ । ललितपुरको तिमिल्सिना किराना तथा खाद्य स्टोर, सेलवेज क्यास एण्ड क्यारी र मेगा आई प्रालीलाई जिल्ला अदालतमा मुद्धा दायर गरिएको आपूर्ति विभागले जनाएको छ । कस्तो कारबाही हुनसक्छ ? विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार ती कम्पनीलाई गत फागुनमा मुद्धा दायर गरिएको हो । उनले भने, ‘सबै कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०५४को दफा १० (क) को कसुर अनुसार दफा, १८ (ग) अनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।’ उपभोक्ता संरक्षण ऐनको दफा १० मा ‘उपभोग्य वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने काम’ शिर्षक अनुसार (क) मा कमसल उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण वा निकासी पठारी गर्न नहुने उल्लख छ । त्यस्तै दफा १८ को ‘सजाय’ शिर्षकको (ग) उक्त किसिमको कसुरका लागि तीन वर्ष कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गराउने उल्लेख छ । ठुला कम्पनिलाई उन्मुक्तीको प्रयास बाकी कम्पनीलाई कारबाहीका लागि प्रकृया अघि बढाइएको भनिएतापनि विभागले नाम खुलाएको छैन । विभागको रिपोर्ट अनुसार ती मध्ये भाटभटेनी सुपरमार्केट र हामा इन्टरनेसललाई कारबाहीका लागि सरकारी वकिलसँग राय परामर्शका लागि पठाइएको बताइएको छ । चाडपर्वका बेला विशेष होहल्लाका साथ ठुला व्यापारिक फर्ममा अनुगमन गर्ने र ती कम्पनीलाई राय परामर्श लिने भन्दै विभिन्न बाहनामा उन्मुक्ती दिने गरिएको एक सरकारी अधिकारीले बताए । गत भदौमा सरकारले भाटभटेनी सुपरस्टोरको चुच्चेपाटी र बालुवाटारमा रहेको खाद्यान्न भण्डारमा सिलबन्दी गरेको थियो । भाटभटेनी समूहअन्तर्गतको खाद्यान्न भण्डारण केन्द्रमा गुणस्तरहीन खाद्यसामग्री भेटिएको भन्दै आपूर्ति मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले भण्डारमा सिलबन्दी गरेको थियो । छ महिना पुग्दासम्म विभागले भाटभटेनीमा कारबाही अगाडी बढाउन सकेको छैन । अनुगमन टोलीले भाटभटेनीले आयात गरी खाद्यान्न प्याकेजिङ गर्ने यो भण्डारमा रहेको च्युरा, बदाम, चनालगायतका सामग्री गुणस्तरहीन रहेको फेला पारेको थियो । ती खाद्यान्नमा उत्पादन मिति नरहेको, उपभोग गर्ने मिति गुज्रिएको तथा पुराना खाद्यान्न फेरि प्याकेजिङ गरेर बेच्न ठीक पारिएको अवस्थामा भेटिएपछि सिलबन्दी गरिएको जनाइएको छ । भाटभटेनीले ३ वर्षअघि प्याक गरेको सामान अहिले बेच्न ठीक पारेको र तिनीहरूको पनि उपभोग्य मिति गुज्रिएको भेटिएको थियो । विभागका महानिर्देशक गोकुल धितालले मुद्धा दायर गर्ने विषयलाई मात्र कारबाहीको संज्ञा दिन नमिल्ने बताए । उनले भने, ‘हामीले अनुगमनमा विभिन्न फार्ममा सुधार गरेपछि सिलबन्दी खोलेका छौं । विभिन्न व्यवासायीले दर्ता प्रकृया अघि बढाएका छन् । यसलाई पनि कारबाहीको रुपमा लिइदिन निवेदन गर्दछु ।’ अदालतबाट दोषी ठहर भएमा भाटभटेनी सञ्चालकमाथि ५ लाख जरिवाना वा १४ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ।
सेयरधनीको खातामा लाभांश जम्मा गर्नुपर्ने धितोपत्र बोर्ड र राष्ट्र बैंकको निर्देशन पूरै अवज्ञा, मर्चेन्ट बैंकर्स गैरजिम्मेवार बन्दा लाखौँ सेयरधनी मर्कामा
काठमाडौं । नेपाल धितोपत्र बोर्डले २०७२ फागुन ६ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत सबै कम्पनीहरुको लाभांश सोझै लगानीकर्ताको खातामा जम्मा गरिदिन र लगानीकर्ताले माग गरेअनुसार सेयर नपरेपछिको रकम उनीहरुको खातामा जम्मा गरिदिन सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धकहरु र सम्पूर्ण सूचिकृत कम्पनीहरुलाई निर्देशन दियो । २०७३ भदौ १ गते नेपाल राष्ट्र बैंकले पनि यस्तै निर्देशन दियो । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा गरिदिन र सार्वजनिक सेयर निस्कासनमा सेयर बाँडफाँड पछि बाँकी रहेको रकम पनि बैंक खातामा नै जम्मा गरिदिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दियो । ‘बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई प्रदान गर्ने नगद लाभांश सेयरधनीको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ –‘सार्वजनिक निष्कासन (आइपिओ र एफपिओ) को क्रममा धितोपत्र बाँडफाँट पश्चात् लगानीकर्ताले माग गरे बमोजिम सेयर प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो रकम फिर्ता गर्दा समेत निजले दरखास्त फाराममा उल्लेख गरेको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ । धितोपत्र बोर्ड र राष्ट्र बैंकले मात्र होइन, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पनि डिम्याट खातासँगै बैंक खाता अद्यावधिक गर्न र लगानीकर्ताले नगद लाभांश आफ्नो बैंक एकाउण्टमै प्राप्त गर्न सबै कम्पनी तथा बिक्री प्रबन्धकलाई निर्देशन दियो । गत पुसमा निर्देशन जारी गर्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेड डिम्याट खातामा रहेको व्यक्तिगत विवरण र बैंक खाताको व्यक्तिगत विवरण भने एउटै हुनुपर्ने नीति बनायो । बजारको खेलाडीहरुले नियामक निकायहरुको नीति र निर्देशनको वास्तै गरेनन् । आजै पनि नियामक निकायहरुको निर्देशन अवज्ञा गर्दै नेपाल दूरसञ्चार कम्पनी, यसको निश्काशन तथा बिक्री प्रबन्धक एनएमबी बैंक तथा यस बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले दूरसञ्चार कम्पनीको नगद लाभांश बुझ्न पूर्जी लिएर आफै उपस्थिति हुन उर्दी जारी गरेको छ । २६ हजार सेयरधनी मध्ये १० हजार सेयरधनीले मात्र बैंक खाता नम्बर उपलब्ध गराएकोले सेयरधनीको खातामा नगद लाभांश पठाउन नसकिएको नेपाल टेलिकमकी प्रबक्ता प्रतिभा बैद्यले बताइन् । सेयर प्रमाणपत्र वा डिम्याट पत्र प्रमाणित गरि नगद लाभांश लिन आउनु भनेर नेपाल टेलिकमले जारी गरेको सूचनाले आफ्नो ध्यानाकर्षण भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रवतबहादुर कार्कीले बताए । ‘सूचिकृत कम्पनी मध्ये सबैभन्दा ठूलो संस्थाले अरुका लागि पनि अनुकरणीय काम गर्नु पर्ने हो । तर प्रविधिको प्रयोग गर्ने, सेयरधनीलाई सुविधा दिने तथा नियामक निकायले जारी गरेको नीति निर्देशन पालना गर्ने संस्कार विकास नै नभएकोले पुँजी बजारको विकास हुन सकेको छैन’ अध्यक्ष कार्कीले भने । दूरसञ्चार कम्पनीका सेयरधनीको खातामा नगद लाभांश जम्मा नहुनुमा सेयर रजिष्ट्रार एनएमबी बैंक तथा उसको सहायक कम्पनी एनएमबी क्यापिटलको पनि कमजोरी भएको कार्कीले बताए । नियामक निकायको निर्देशन किन पालना गरिदैन ? सम्बन्धित कम्पनीको उच्च व्यवस्थापकहरु किन सेयरधनीलाई सरल सुविधा दिन चाहादैनन् ? विकासन्युजले यो प्रश्न गर्न खोज्दा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे सम्पर्कमा आउन मानेन् । सोही कम्पनीको रितेश श्रेष्ठले आफू काममा व्यस्त भएको बताए । कम्पनीहरुको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बन्ने, सेयर रजिष्ट्ररको जिम्मेवारी लिने, कम्पनीबाट लिनुपर्ने सबै सेवा सुविधा, कमिशन लिने तर सेयरधनीलाई दिनुपर्ने आधारभूत सेवा पनि नदिने मर्चेन्ट बैंकर्सको भूमिकाले पुँजी बजारको विकासमा अवरोध पुगेको जानकारहरु बताउँछन् । धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था लगायत सबै कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई प्रदान गर्ने नगद लाभांश तथा सार्वजनिक निष्काशनको क्रममा धितोपत्र बाँडफाड पश्चात लगानीकर्ताले माग गरे बमोजिम शेयर प्राप्त गर्न नसकेको खण्डमा त्यस्तो रकम फिर्ता गर्दा समेत लगानीकर्ताले दरखास्त फाराममा उल्लेख गरेको नेपाल क्लियरिङ्ग हाउसको सदस्य भएको बैंक तथा वित्तीय संस्थामा रहेको लगानीकर्ताको आफ्नो खातामा नै जम्मा हुने व्यवस्था गर्न/गराउनका निर्देशन दिएको छ । यो व्यवस्थाले लगानीकर्ताको समय बचत तथा अनावश्यक झन्झटबाट मुक्त हुने भएकोले धितोपत्र बजार प्रति लगानीकर्ताको थप विश्वास बढ्न गई समग्र पुँजीबजारको समयानुकुल विकास तथा सुगमता समेत आउने बोर्डको भनाई थियो । तर बोर्डको निर्देशन पालना भएको छैन । हालै निष्काशन भएको नेपाल लाईफको एफपीओ र फष्ट माइक्रोफाइनान्समा सेयर नपरेपछि आवेदकहरु लामो लाईन बसेर पैसा फिर्ता लिइरहेका छन् ।
‘स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ’ बचतकर्ताको लागि लगानीको राम्रो अवसर, ऋण लिनेलाई कम फाइदा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालकाे थप सार्वजनिक निष्काशन (एफपीओ)को लागि आजदेखि आवेदन खुला भएको छ । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ । यस बैंकमा ५० प्रतिशत शेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रिण्डलेज पिटिआई (अस्ट्रेलिया) र २५ प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड बैंक (बेलायत)को रहेको छ । नेपालीको २५ प्रतिशत सेयर छ । एफपीओ निष्काशनपछि संस्थापक विदेशीको सेयर ७०.२१ प्रतिशत हुनेछ भने नेपाली सर्बसाधारणको सेयर २९.७९ प्रतिशत हुनेछ । एफपीओपछि पनि ७० प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको रहने भएकोले यो बैंक मुलभुत रुपमा सोही ग्रुपले सञ्चालन गर्छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ७४ करोड रुपैयाँ छ भने एफपीओ बाँडफाँडपछि ४ अर्ब ५७ लाख रुपैयाँ हुने छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार आर्थिक वर्ष २०७४ असार मसान्तसम्ममा ८ अर्ब ४ करोड चुक्ता पुँजी पुर्याउने बैंकको योजना छ । त्यसको लागि बैंकले आगामी वर्ष १०० प्रतिशत बोनस सेयर दिने पुँजी वृद्धि योजना छ । त्यसको लागि एफपीओबाट ३ अर्ब ४ करोड रुपैयाँ प्रिमियम आर्जन हुनेछ भने चालु आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा हुने बैंकको प्रक्षेपण छ । प्रिमियम रकम र नाफाबाट बैंकले १०० प्रतिशत बोनस सेयर दिने याेजना बनाएकाे छ । राष्ट्र बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ हुनुपर्ने नीति लिएपछि यस बैंकले पुँजी वृद्धि सम्बन्धि निर्णय ढिलागरी लियो । तर सुस्पष्ट र स्थीर नीति लियो । यो बैंक अलि परम्पराबादी छ र आक्रामक छैन तर दीगो देखिन्छ । ‘अन्तर्राष्ट्रिय बैंक हो, उसको निर्णय प्रक्रिया अलि लामो छ र कम्प्लाइन्स ज्यादै राम्रो छ’ चार्टर्ड एकाउन्टेन्ट अनुप श्रेष्ठले भने । ‘हाल प्रतिकित्ता २ हजार रुपैयाँमा किनबेच भईरहेको सेयर साधारण सेयरधनीले १२९० रुपैयाँमा पाउँछन् । आफ्नो बचतबाट लगानी गर्नेहरुको लागि यो सेयर राम्रो हो’ नेपाल हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल भन्छन्–‘चर्को व्याज तिरेर लगानी गर्नेको लागि भने धेरै फाइदा छैन ।’ उनी भन्छन–यस बैंकको सेयरमा पनि १० गुणा भन्दा बढी आवेदन पर्न सक्छ । बाँडफाँड गर्दा धेरै आवेदन गर्नेले ५/६ प्रतिशत मात्र सेयर पाउने अवस्था आउन सक्छ । ऋण लिएर सेयर आवदेन गर्नेको लागत उच्च हुनेछ ।’ पछिल्ला वर्षहरुमा बैंकको प्रतिसेयर आम्दानी भने घट्दै गएको छ । विगत ५ वर्षमा बैंकको प्रतिसेयर आम्दानी ७२, ६५, ६५, ५८ हुँदै गत आर्थिक वर्षमा ४५ रुपैयाँमा झरेको छ । आगामी तीन वर्षमा प्रतिसेयर आम्दानी क्रमशः ३६, २२ र २७ रुपैयाँ हुने बैंकले प्रक्षेपण गरेको छ । पछिल्लो वर्ष यस बैंकको विजनेश विस्तार उच्चदरको छैन तर पुँजी वृद्धिपछि बैंकले व्यवसाय विस्तार गर्ला भन्ने अपेक्षा गर्न सकिने पौडेल बताउँछन् । निकट भविष्यमा नेपालमा विदेशी लगानी उल्लेख्य रुपमा वृद्धि हुने देखिन्छ । त्यसको लाभ सबैले लिनेछन् र तर सबैभन्दा पहिला र बढी लाभ स्ट्याण्डर्ड चार्टर्ड बैंकले लिने जानकारहरु बताउँछन् । ८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी हुँदा बैंकसँग जगेडा तथा संचित कोषमा करिव पौनै ५ अर्ब रुपैयाँ हुनेछ । पुस मसान्तसम्ममा यो कोषमा करिव ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । जतिबेला बैंकले १३० अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्छ । हाल बैंकको कुल कर्जा लगानी जम्मा ५५ अर्ब रुपैयाँ मात्र छ । ‘स्ट्याण्डर्ड चार्टर्ड बैंकको विजनेश सानो तर क्रिम विजनेश गरिरहेको छ । ठूला संकटको बेलामा पनि यो बैंकको व्यापार र नाफामा ठूलो असर पर्दैन’ एक जना इन्भेष्टर भन्छन्–‘ब्राण्डको लागि पनि यो बैंकको सेयरमा मान्छेले बढी मूल्य तिर्छत ।’ केही वर्षअघि यस बैंकको सेयर प्रतिकित्ता ९ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भएको थियो । यस बैंकको नेपालभित्रको नेटवर्क सानो छ । जम्मा १२ वटा शाखाबाट कारोबार गर्दै आएको छ । तर यस बैंकको अन्तराष्ट्रिय नेटवर्क सबैभन्दा राम्रो छ र नेपालमा भएका अरु बैंकको लिडर बैंक हो यो । ठूला बैदेशिक व्यापारी, विदेशी मुद्राको कारोबारी, नेपालका विकासका साझेदार, आइएनजीओहरुले कारोबार गर्दा यसै बैंकलाई रोज्ने गरेका छन् ।