६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णयबाट पछि हट्दै जनता बैंक
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णयबाट पछि हट्ने सम्भावना बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्ति गर्ने सम्बन्धि निर्णयसँगै जनता बैंकका प्रवद्र्धकहरु हकप्रद सेयर निश्काशन सम्बन्धी निर्णय फिर्ता लिने कसरतमा लागेका छन् । जनता बैंकले फागुन १ गते साधारणसभा गरी ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको थियो । उक्त साधारणसभा लगत्तै जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिशनमा जाने सहमति भएको छ । उक्त सहमतिलाई दुबै बैंकले खुलस्त रुपमा सार्वजनिक गर्न चाहेका छैनन् । एउटा मर्जर तथा एक्विजिशनको प्रक्रिया पूरा नगरी अर्को मर्जर वा एक्विजिशन प्रक्रियामा जान नपाइने राष्ट्र बैंकको नीतिका कारण जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिशन सहमति सार्वजनिक नगरिएको हो । जनता र त्रिबेणी विकास बैंकबीच एक्विजिशन प्रक्रिया टुंगिन बाँकी रहेकोले सिद्धार्थसँगको सहमतिलाई ‘गोप्य जस्तो’ राखिएको छ । यद्यपि दुई बैंकबीचको सहमति सम्बन्धित नियामक निकायहरुमा पत्राचार गरेर जानकारी गराएको छ । सोही अनुसार नेपाल स्टक एक्स्चेञ्जमा फागुन १९ गतेदेखि सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार बन्द भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिपछि जनता बैंकको लागि चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने थप हकप्रद सेयर निष्काशन गर्नु पर्ने छैन । ‘जनताले त्रिवेणी विकास बैंक प्राप्ति गरेपछि ४ अर्ब ७२ करोड चुक्ता पुँजी हुन्छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिपछि चुक्ता पुँजी ७ अर्ब ८ करोड हुन्छ । तीन वटा संस्थाले चालु आर्थिक वर्षमा गरेको नाफा एक अर्ब पुग्छ । त्यसलाई अर्को वर्ष बोनस सेयर कन्भर्ट गर्दा चुक्ता पुँजी ८ अर्ब पुग्छ’ जनता बैंक सम्बद्ध स्रोतले भन्यो–‘चुक्ता पुँजी ८ अर्ब बनाउने उदेश्यले हकप्रद सेयर निश्काशन गर्ने भनिएको हो । पुँजी पुग्छ भने हकप्रद सेयर निश्काशन सम्बन्धि निर्णय अर्को साधारणसभाबाट फिर्ता गर्न सकिन्छ ।’ पुँजी मात्र बढाएर नहुने, व्यापार र नाफा पनि बढ्नु पर्छ भन्ने लाईनमा प्रवद्र्धकहरुबीच छलफल चलिरहेको उनले बताए । जनता बैंकले ६० प्रतिशत हकप्रद सेयर निश्काशन सम्बन्धि निर्णय फिर्ता लिएमा ‘वेल रेगुलेटेड र ट्रान्सपरेन्ट’ भनिने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति विश्वास गुम्ने छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले भने यसअघि गरिएको निर्णयअनुसार ६० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि मात्र जनता बैंकमा गाभिने बताएको छ । ‘हामी ६० प्रतिशत हकप्रद सेयर पनि निश्काशन गर्छौ र स्वाप रेसियो १०० भन्दा कम हुने छैन’ सिद्धार्थ बैंक स्रोतले भन्यो ।
वीर अस्पताल २५०० बेडकाे बनाउने काम भइरहेकाे छ- प्रा.डा.भुपेन्द्रकुमार बस्नेत
नेतृत्वको क्षमताले संस्थाको सेवा र गतिशिलतामा धेरै फरक पार्छ । प्रा.डा.भुपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा निर्देशक कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि विरामीको चाप करिब ३० प्रतिशतले वृद्धि भएको देखिन्छ । भोजपुरको दिङलामा जन्मिएको बस्नेतले मोरङको स्कूलबाट विद्यालयतहको शिक्षा हासिल गर्नुभएको हो । आइएस्सी त्रिचन्द्र क्याम्पसबाट, एमबिबिएस बंगलादेशबाट, एमडी शिक्षण अस्पताल महाराजगञ्जबाट र डीएम न्याम्सबाट गर्नु भएको बस्नेतले अधिकांश समय वीर अस्पतालमा नै बिताउनु भएको छ । ‘यो अस्पतालमा एउटा डाक्टरले बोक्नुपर्ने सबै खाले जिम्मेवारी पूरा गर्दै निर्देशकको जिम्मेवारीसम्म आइपुगेको हुँ । अस्पताल भित्रको समस्या के छ ? समाधान कसरी गर्नुपर्छ ? मलाई थाहा छ’ निर्देशक बस्नेतले विकासन्युजसँगको कुराकानीमा भने–‘वीर अस्पतालमा धेरै सुधार हुँदैछ, स्वास्थ्य मन्त्रीदेखि अस्पतालका कर्मचारी सबैबाट सहयोग पनि मिलेको छ ।’ प्रा.डा.भुपेन्द्रकुमार बस्नेत, निर्देशक–वीर अस्पताल पछिल्लाे समय वीर अस्पतालमा बिरामीको चाप कस्तो छ ? बिरामीको चाप गत वर्ष भन्दा बढेको देखिन्छ । हरेक महिना पाँच देखि ७ हजारका दरले बढेको देखिन्छ । २०७२ साल कात्तिकमा १४ हजार ७ विरामीको उपचार भएको थियो भने २०७३ साल कात्तिकमा २३ हजारको उपचार भयो । गत वर्षको मंसिरमा १८ हजार २ सयले उपचार गरेका थिए भने यसपाली २५ हजार ७ सय पुगेको छ । गत वर्षको पुसमा १९ हजारको उपचार भएको थियो यसपाली २५ हजार ७ सय पुगेको छ । यो ओपिडीमा उपचार गरिएका बिरामीको संख्या/इमर्जेन्सीमा पनि विरामीको संख्या निकै बढेको छ । बिरामीको संख्या बढ्नुको कारण के के हुन् ? त्यसका धेरै कारण छन् । बिरामी हुनेकै संख्या बढेकाले पनि हुन सक्छ । जब बिरामी हुनेहरु कै संख्यामा वृद्धि हुन्छ तब अस्पताल आउनेको संख्या पनि वृद्धि हुन्छ नै । अर्काे कारण भनेको हाम्रो सेवामा विश्वास बढेर पनि हो । बिरामीले आफूलाई चित्त बुझ्ने ठाउँमा नै उपचार गराउने हो । बिरामीको विश्वास बढाउने गरि के के काम भएको छ यस अस्पतालमा ? हामीले केहि सेवा पनि विस्तार गरेका छौं । अर्काे भनेको हामीले दिएको गुणस्तरिय सेवाबारे प्रचार प्रसार बढेकाले पनि हो । मुख्य कुरा भनेको अहिले बिरामीले लाइन बस्नु पर्दैन । टोकन सिस्टम ल्याएका छौं । टोकन लिएर आरामले कुर्सीमा बस्ने अनि आफ्नो पालो आएपछि उपचार सेवा लिन पाइन्छ । त्यसकारण पनि वीर अस्पतालमा बिरामीको आकर्षण अझै बढेको छ । त्यस बाहेक बिशेषज्ञदेखि अति विशेषज्ञ सेवा हामीले उपलब्ध गराईरहेका छौं । युरोलोजीमा ओपिडीको संख्या र अपरेशनको संख्या बढाएका छौं । ढेड महिना अघिदेखि २४ सै घण्टा डायलायसिस सेवा दिएका छौं । त्यस बाहेक ओपीडी, डाक्टर, कर्मचारी सबैलाई अपडेट गरिएको छ । सरसफाईमा बिशेष ध्यान दिएका छौं । फूल र हरियाली बढाएका छौं । इमर्जेन्सीलाई पनि थप व्यवस्थित गराएका छौं । हामीले केहि नयाँ विज्ञहरुलाई पनि थपेका छौं । फोक्सोको छुट्टै विभाग खडा गरेर सेवा आरम्भ गरेका छौं । रेडियोलोजीमा पनि त्यस्तै नयाँ काम आरम्भ भएको छ । त्यसैले बिरामीको संख्या बढेको हुनसक्छ । कुपन सिस्टम आएको भएपनि टिकट लिन लामो समय कुर्नु पर्ने गुनासो छन् नि ? हामीले चार वटा काउण्टरलाई बढाएर ५ वटा बनायौं । जेष्ठ नागरिकलाई छुट्टै काउन्टर चलाएका छौं । वीर अस्पताल रिफर गरिएका बिरामीलाई सिधै टिकट दिएर इमर्जेन्सीमा लिने गरेका छौं । अब ६ वटा काउण्टर संख्या बढाउँदैछौं । ३० प्रतिशत बिरामीको संख्या वृद्धि हुँदा सेवा दिन कतिको असहज भैरहेको छ ? वीर अस्पतालको क्षमता चाँही कति हो ? भक्तपुरको दुवाकोटमा ५२० रोपनी जमिन वीर अस्पतालले प्राप्त गरिसकेको छ । तर वीर अस्पताल त्यहाँ सर्ने भन्ने चाँही होइन । वीर अस्पतालको सेवा विस्तार हुने हो । सरकारी अस्पतालले आएका सबै बिरामीलाई उपचार गर्नुपर्ने व्यवस्था छ । हाम्रो ओपिडीको समयभित्र जति जनाले टिकट काट्नु हुन्छ, उहाँहरु सबैलाई सेवा दिनु हाम्रो कर्तव्य हो । तर यहि अनुपातमा संख्या वृद्धि भयो भने पूर्वाधार बढाउने वा संख्या तोक्नेबारे सोच्नुपर्ने हुनसक्छ । काठमाडौंमा प्रदूषण बढेर बिरामीको संख्या बढेको हो वा अस्पतालको सेवा सुध्रिएर हो ? हामीले बिशिष्ट सेवा दिने भएकोले नै बिरामीको संख्या बढेको हो । काठमाडौंमा प्रदूषण बढेपछि पक्कै पनि बिरामीको संख्या त वृद्धि हुन्छ नै तर त्यसकै कारण वीर अस्पताल आउने बिरामीको संख्या बढेको भन्ने चाँही होइन । प्रदूषणले पनि केहि संख्या भनेको बढाएको हुन सक्छ । अस्पतालको क्षमता भन्दा बिरामीको संख्या धेरै भएको हो ? हामी अहिले दुई तीन वटा समस्याबाट गुज्रिरहेका छौं । पहिलो भनेको पूर्वाधार कमी नै हो । हामीले टिकट काट्ने ठाउँलाई तन्काएर ठूलो बनाउने अवस्था छैन तर काउण्टरको संख्या वृद्धि नगरि नहुने अवस्था पनि छ । बिरामी कुरुवाको ठाउँ पनि बढाउन सकिएको छैन । दोस्रो ठूलो समस्या भनेको जनशक्तिको कमी हो । बिरामीको संख्या बढे जसरी जनशक्ति वृद्धि गर्न सकिएको छैन । वीर अस्पताललाई विस्तार गरेर भक्तपुर लैजाने भन्ने कुरा कहाँ पुग्यो ? भक्तपुरको दुवाकोटमा ५२० रोपनी जमिन वीर अस्पतालले प्राप्त गरिसकेको छ । तर वीर अस्पताल त्यहाँ सर्ने भन्ने चाँही होइन । वीर अस्पतालको सेवा विस्तार हुने हो । यहाँ नर्सिङ क्याम्पस, क्वार्टर र एउटा अस्पताल त्यहाँ बनाउने हो । अहिले वीर अस्पताल भएको क्षेत्रमा पनि पूर्वाधार विस्तारको काम भईराखेको छ, होइन ? यहाँको जमिनमा पनि अर्काे भवन बनाएर अस्पतालको क्षमता बढाउने काम भईराखेको छ । नर्सिङ क्याम्पस र होस्टल भएको भवन भत्काउने काम भैरहेको छ । अर्काे महिनाबाट निर्माण पनि आरम्भ हुन्छ । त्यो भवन बनिसकेपछि भने हामीलाई केहि राहत हुन्छ । यहाँ सात तलाको भवनमा ७५० बेडको अस्पताल बन्दैछ । मुल भवनको पछाडि एक सय बेडको अस्पताल बनाउन जाइकासँग सम्झौता नै भैसकेको छ । भक्तपुरमा एक हजार बेडको अस्पतालसहित न्याम्सको अफिस, नर्सिङ क्याम्पस र क्वार्टरहरु बनाउने हो । यी सबै काम भैसक्दा वीर अस्पताल, ट्रमा सेन्टर र अहिलको नर्सिङ क्याम्पसको ठाउँ गरी जम्मा १५०० बेड क्षमताको अस्पताल सञ्चालन हुन्छ । भक्तपुरमा १००० बेडको अस्पताल हुन्छ । अहिले वीरसँग ४६० र ट्रमा सेन्टरसँग २ सय बेडको हो । दुबै मिलाएर ६६० बेडको अस्पताल अहिले सञ्चालनमा छ । प्रक्रियामा रहेको सबै पूर्वाधार निर्माण सम्पन्न हुँदा वीर अस्पताल २५०० बेड क्षमताको हस्पताल बन्नेछ । यस अस्पतालका प्रस्तावित भौतिक पूर्वाधार कहिले बनिसक्ला ? भत्काउँदै गरिएको नर्सिङ क्याम्पस र होस्टलको भवन भएको ठाउँमा बन्ने अस्पतालका लागि बजेट विनियोजन भैसकेको छ । नक्सा पास गराउने प्रक्रिया अघि बढेको छ । चाँडै निर्माण आरम्भ हुन्छ । मुल भवनको पछाडि जाइकाले बनाउने भवनको सम्झौता सम्पन्न भैसकेको छ । तीन बर्षमा बनाइसक्ने भन्ने छ । दुवाकोटको भने मन्त्रालय आफैैले हेरिरहेको छ । विभिन्न निकायसँग छलफल भैरहेको छ । हामीले यहाँ बनाउने भनेको लागत ३ अर्बको प्रोजेक्ट हो । जाइकाले बनाउने भवनको कति लाग्छ, त्यो उसैले जान्दछ । यो भवन बनाउने, त्यसभित्र आवश्यक पर्ने सबै उपकरणहरु उसैले नै बनाईदिने हो । यी सबै परियोजना सम्पन्न हुँदा वीरको क्षमता कति हुन्छ ? यो वीर अस्पताल मात्रै होइन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि हो । यहाँ उपचार मात्रै होइन, डिएस, एमडीदेखि एमएससम्मको अध्ययन गराइन्छ । यो देशकै ठूलो ट्रेनिङ सेन्टर पनि हो । यो एउटा विश्व विद्यालय नै हो मेडिकल साइन्सका लागि । यसले मात्रै एमडी, एमएस र डिएम लगायतका डाक्टर ९ सयको हाराहारीमा उत्पादन गरिसकेको छ । हरेक वर्ष १२५ जना दक्ष डाक्टर उत्पादन गरिरहेको छ । यसले सेवा विस्तार सधैं गरिरहेको हुन्छ । अहिले नै पनि न्याम्सको मातहतमा अञ्चल अस्पतालमा अध्ययन सुरु गराउने भन्नु भएको छ । वीरमा कति जनशक्ति छन् ? हामीसँग फरक फरक क्षमता र विभागका मान्छे छन् । यहाँ १२०० कर्मचारी छन् बिभिन्न क्षेत्रमा संलग्न । भिआइपी र भिभिआइपी कक्षको सञ्चालनको अवस्था कस्तो छ ? एउटा भिआइपी र एउटा भिभिआइपी कक्ष छन् । तीनको प्रयोग राम्रोसँग भैरहेको छैन । भिआइपीमा त वर्षमा पाँच सात जनाले उपचार गराइरहनु भएको छ तर भिभिआइपी कक्षमा उपचार गर्न पूर्व रानी ऐश्वर्यपछि कोही पनि आउनु भएको छैन । ऐश्वर्यको अपरेशन गरेपछि अरु कसैको त्यहाँ उपचार भएको रेकर्ड छैन । भिआइपीमा भने पछिल्लो पटक पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको उपचार गरिएको थियो । हामीले सम्माननियहरुका लागि भिभिआइपी र बहालवाला मन्त्रीका लागि भिआइपी कक्ष भन्ने गरेका थियौं तर अहिले माननियहरुलाई पनि भिआइपी कक्ष उपलब्ध गराउँछौं । तर यी कक्षहरुको खासै उपयोग गरिएको छैन । हामीले यी दुबै कक्षलाई सफा राख्ने गरेका छौं । यो फाइभस्टरको कोठा जस्तै राम्रोसँग राखेका छौं भिभिआइपी कक्षलाई । हामी सेवा दिन बसेका हौं । हामी कहाँ सेवा लिन आउनेहरुलाई सेवा दिन्छौं तर भिआइपी र भिभिआइपी नआउने कुरामा हामीले केहि भन्न सक्दैनौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले यहिँ आएर दाँतको उपचार गराउनु भएको थियो, वर्तमान राष्ट्रपति पनि केहि महिना अघि उपचारका लागि यहि आउनु भएको थियो । वर्तमान प्रधानमन्त्रीले पनि केहि समय अघि यहिँ आएर उपचार गराएर फर्किनुभएको थियो । नेताहरुले उपचारका लागि विदेश किन गएका होलान ? नेपालमा गुणस्तरिय स्वास्थ्य सेवा नपाएर वा विश्वास नभएर ? भिआइपीहरुलाई उपचारसँगै आराम पनि दिनुपर्ने हुन्छ । हामी कहाँ नेता बिरामी भयो भने अस्पताल भरी मान्छे आउँछन् । बिरामीले भेट्न हुन्न भन्दा भन्दै पनि भिडभाड गर्छन् । जसका कारण राम्रोसँग आराम पाउनुहुन्न । माधव नेपाल यहाँ आउनु हुँदा पनि डाक्टर भेट्न हुन्न भन्दा पनि धेरैलाई रोक्न सकिएन् । यस्तै कारणले नेताहरु उपचारका लागि विदेशिएका हुन भन्ने मलाई लाग्छ । मेडिकल साइन्स भनेको धेरै विकास भैसकेको छ । हामीसँगै सबै प्रविधि नहुन सक्छ । शतप्रतिशत नयाँ प्रबिधि हामीसँग छैन । कतिपय रोगको उपचार बिशिष्ट ढंगले गर्नु पर्छ । भारतमै पनि सबै रोगको उपचार सम्भव हुन्न । त्यसकारण पनि हाम्रा नेताहरु विदेशिएका हुन भन्ने मलाई लाग्छ । निजी क्षेत्रका ठूला व्यवसायी पनि उपचारका लागि विदेशिन्छन् किन होला ? पैसा हुनेहरु विदेशी उपचार गर्न जाने कुरा स्वभाविक हो । गाउँका मान्छे जिल्ला आउँछन्, जिल्लाका मान्छे अञ्चल अस्पताल जान्छन् अनि अञ्चलका मान्छे केन्द्रमा जान्छन् उपचार गराउन । राजधानीमा बस्ने ठूला व्यवसायीहरु उपचारका लागि विदेश जान्छन् । त्यो स्वभाविक प्रक्रिया पनि हो । मानिसहरु चाँडो सेवा खोज्छन् तर हामी त गरिबहरुलाई उपचार गर्ने सरकारी अस्पताल हौं । हामीले गरिबहरुलाई निःशुल्क उपचार गराएर पनि पठाएका छौं । उनीहरुका लागि वीर अस्पताल भगवान नै सावित पनि भएको छ । वीर अस्पतालका कर्मचारीले बिरामीलाई निजी क्लिनिक र अस्पताल रिफर गर्छन् भन्ने आरोप पनि छ, कुरा के हो ? त्यस्तो अहिले छैन । कुनै समयमा त्यस्तो पनि थियो होला । तर अहिले म आफैं अनुगमन गरिरहेको छु । कुनै टेष्ट बाहिर गर्नु पर्यो भने विभागिय प्रमुखले तोक लगाउनु पर्छ । बाहिर हल्ला चले जस्तो यहाँ छैन । म दुई वर्षका लागि नेतृत्वमा आएको हुँ । जनताले सर्वसुलभ ढंगले उपचार पाउने अस्पतालका रुपमा स्थापित गराउछु भन्ने योजना छ । काम गर्दा कत्तिको कठिनाईहरु आउने रहेछन् ? हामीले अस्पतालमा रंग लगाउने भन्ने योजना बनायौं तर बजेटमा राखिएको रहेनछ । कतिपय अवस्थामा मन्त्रालयको निर्णय कुर्नुपर्ने अनि कतिपय अवस्थामा न्याम्सको निर्णय कुर्नुपर्ने अवस्था हुन्छ । अहिले स्वास्थ्य मन्त्रीले नियमित बजेट भन्दा ४० करोड बढी रकम दिनुभएको छ । यसले पनि काम गर्न सहजता भएको छ । निर्देशकको कार्यकक्ष बनाउनका लागि १० लाखको बजेट लाग्ने रहेछ । तर १० लाख खर्च गरेर यो कोठा बनाउने कि बिरामीको सेवामा १० लाखको उपकरण खरिद गर्ने भन्ने कुराबारे सोच्नुपर्ने रहेछ । तर पनि आगामी दिनमा सुधार हुन्छ । वीर अस्पतालको कुल खर्चको कति प्रतिशत आफ्नै आम्दानीले धानेको छ ? हामीसँग करिब १२०० कर्मचारी छन् । तीमध्ये ६ सय लोकसेवा आयोगका परीक्षा पास गरेका सरकारी कोटामा आएका हुन् । उनीहरुको तलब सरकारले दिन्छ । बाँकी ६ सयका तलब भत्ता हामीले आफ्नै आम्दानीबाट व्यहोर्दै आएका छौं । हामीले ५० प्रतिशत खर्च आफैं धान्दै आएका छौं ।
आगामी बजेट यहि सरकारले ल्याउने, जनताकाे पक्षमा बजेट बनाउन सचिवहरूलार्इ अर्थमन्त्रीकाे निर्देशन
काठमाडाैं । अागामी अार्थिक वर्षकाे सरकारी बजेट वर्तमान सरकारले नै ल्याउने भएकाे छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक २०७४/७५ को बजेट वर्तमान सरकारले ल्याउने बताउँदै सङ्घीय संरचनालाई सम्बोधन गरेर वजेट बनाउन मन्त्रालयहरूलार्इ निर्देशन दिएका छन् । आगामी आवको बजेट विनियोजनाका विषयमा आज अर्थ मन्त्रालयमा भएको विभिन्न मन्त्रालयका सचिवसँगको बैठकलाई सम्बोधन गर्दै उनले मुलुक सङ्घीयता कार्यान्वनको चरणमा रहेकाले बजेट पनि सोही अनुसार तयार गरिने बताएका हुन् । अर्थ मन्त्री महराले भने, “निर्वाचनको मिति घोषणा भइसकेको छ, स्थानीय निकाय पनि सरकारले तोकेको छ, यो अवस्थामा आगामी आर्थिक वर्षको बजेट स्थानीय निकायसँग जोडएर आउँछ, यो सङ्घीता कार्यान्वयनका लागि पहिलो चरण हुनेछ ।” आगामी आर्थिक वर्षको बजेटमा नयाँपन दिने उल्लेख गर्दै उनले विगतमा जस्तो मनोगत रुपमा कार्यान्वन नै नहुने बजेट बनाउने भन्दा पनि वास्तविकतामा आधारित बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले भने,“विगतमा पुँजीगत खर्च भएन, त्यसले आर्थिक क्रियाकलापलाई अगाडि बढाउन सकेन, नयाँ योजनाका लागि बाटो खुलेन, अब त्यस्तो बजेट ल्याउन हुन्न ।” उनले स्थानीय स्रोत साधन परिचालन नभएसम्म समाजबाद उन्मुख कार्यक्रम हुन नसक्ने भन्दै आगामी दिनमा जनताले अनुभूति हुने गरी कार्यक्रम बनाउने बताए । आगामी आर्थिक वर्षमा संविधानले तोकेअनुसार बजेट जारी भएपछि योजना बनाउने कार्य अन्त्य हुने उल्लेख गर्दै अर्थ मन्त्री महराले भने, “आगामी आवदेखि जेट १५ पछि योजना आयोग र अर्थ मन्त्रालय धाउन बन्द गर्नुहोस् ।” उनले निर्वाचन हुँदैन भन्ने कुनै आशंका नगर्न पनि सचिवलाई सुझाव दिए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले परम्परागत रुपमा ल्याइने कार्यक्रमको ढाँचामा परिवर्तन गर्न निर्देशन दिँदै सहकार्य गरेर आवश्यकतालाई ध्यान दिएर योजना अगाडि बढाउनपर्नेमा जोड दिए । हचुवाका भरमा योजना र बजेट बनाउने भन्दा पनि कार्यान्वनको आधार तय गर्नुपर्नेमा जोड दिँदै उनले अब बन्ने योजनाले स्थानीय तहलाई ध्यान दिनुपर्छ बताए । कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदीले बजेटको कार्यान्वनमा ध्यान दिनुपर्ने बताए । राष्ट्रिय योजना आयोगले रु ११ खर्बको बजेट सीमामा रहेर आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थ मन्त्रालयलाई सुझाएको छ ।