त्रिपुरेश्वरदेखि माइतीघरसम्म चार लेनको फ्लाई ओभर

काठमाडौं । त्रिपुरेश्वर देखि माइतीघर मण्डलासम्म निर्माण हुने चार लेनको फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र जापानी सहयोग नियोग(जाइका)ले संयुक्त रुपमा अध्ययन गरिरहेको १ दशमलब ४ किलोमिरट लामो सो फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । त्रिपुरेश्वरबाट सुरु भएर फ्लाई ओभर दशरथ रंगाशालाको छेउ हुँदै आर्मी हेडक्वार्टर र थापाथली क्याम्पसबाट माइतीघर पुग्नेछ । माइतीघरबाट सडक विभागमा पुगेर फ्लाई ओभर टुंगिनेछ । एक दशमलब ४ किलोमिटर लामो सो फ्लाई ओभर निर्माणका क्रममा ४९ वटा भवनहरु अधिग्रहण गर्नुपर्नेछ । ती भवनहरु केहि आंशिक र केहि पुर्णरुपमा अधिग्रहण गर्नुपर्ने विकास आयुक्त तिवारीले बताए । त्यसरी अधिग्रहण गर्दा जनताले क्षतिपुर्ति प्राप्त गर्नेछन् । ‘जाइका र प्राधिकरणले मिलेर गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ, यो फ्लाई ओभर अमेरिका र युरोपकै जस्तो आधुनिक र सुबिधा सम्पन्न हुनेछ’, तिवारीले भने । यस्तो फ्लाई ओभरको अनुमानित लागत ९ अर्ब हुन सक्ने प्रक्षेपण गरिएको छ ।

कतारमाथी अरबको प्रतिबन्ध र चार लाख नेपालीको भविष्य

काठमाडौं । खाडी मुलुक कतारमाथी साउदी अरब, युएई, बहराइन, यमन र इजिप्ट र लिबियाले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै नयाँ तरंग सृजना भएको छ । अब खाडी मुलुकमा संकट आउने, इन्धनको बजारमा समस्या आउने, कतारको अर्थतन्त्र ओरालो लाग्ने, विश्व कतारको पक्ष र विपक्षमा उभिने लगायतका अड्कलबाजी सुरु भएका छन् । नेपाल र भारतका लागि कतारमाथीको प्रतिबन्ध महंगो पर्ने निश्चित भैसकेको छ । एउटै फोरममा बसेर सहकार्य गर्दै आएका खाडी मुलुकहरु किन एक्कासी कतार विरुद्ध खनिए ? प्रश्न गम्भिर छ । कतारले आइएसलाई सघाएको तथा खाडी क्षेत्रमा अशान्ति मच्चाउन भूमिका खेलेको आरोप लागेको छ । त्यसो त कतार इरानको नजिकको मित्र शक्ति पनि हो जसको खाडी मुलुकसँग कटु सम्बन्ध रहँदै आएको छ । इरानसँग अमेरिकाको सम्बन्ध राम्रो नहुनु, कतार र इरान मित्र पक्ष हुनु, कतारले अमेरिकाको हातबाट सन २०२२ को विश्व कप फुटबल खोसेर लिनु जस्ता कारणले कतारलाई घेरा बन्दीमा पारिएको बुझ्न गाह्रो छैन् । साउदी अरब, यमन, इजिप्ट, बहराइन, युएई र लिबियाले आफ्नो देशमा रहका कतारी कुटनितिक नियोग बन्द गर्न र देश छाड्न कर्मचारीलाई आदेश दिएका छन् । त्यस्तै, कतारी नागरिकलाई २ हप्ताभित्र देश छाड्न भनिसकेका छन् । ती देशहरुले आफ्ना नागरिकलाई पनि कतार नजान निर्देशन दिएका छन् । कतारलाई एक्ल्याउने प्रयाससँगै कतारले जिसिसि(गल्फ कन्ट्री काउन्सिल)को भविष्य माथी नै प्रश्न उठाएको छ । कतारका अर्थ मन्त्रीले जिसिसिको भबिष्यमाथी नै प्रश्न चिन्ह उठाउँदै वार्ता र छलफलद्धारा समस्याको समाधान आवश्यक रहेको बताएका छन् । वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार हाल कतारमा चार लाख नेपाली कामदार रहेका छन् । आर्थिक बर्ष २०७०/७१ पछि श्रम स्विकृति लिएर कतार जाने नेपालीहरुको संख्या ३ लाख २ हजार ८ सय ५४ जना रहेको छ । त्यस अघि नै कतार पुगेर बसेका र अनधिकृत रुपमा कतार पुगेकाहरुको संख्या जेड्दा करिब ४ लाख नेपाली कतारमा रहेको उनले बताए । उनले कतार संकटलाई हाइ अलर्टमा हेरिएको तर पनि तत्कालका लागि श्रम स्विकृति भने नरोकिएको पनि जानकारी दिए । परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले समन्वय गरेर कतारको अवस्थाबारे अध्ययन गरिरहेको पनि उनले बताए ।

सिम्रिकले उडाउन नसकेपछि अग्नि एयरका ३ वटा जहाज लिलामीमा, सञ्चालनको प्रयास गर्ने नमस्ते एयरको सम्पत्ति पनि तानियो

काठमाडौं । पाँच वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको अग्नि एयरको तीन वटा जहाज लिलामीमा विक्री हुने भएको छ । अग्नि एयरले तत्कालिन ग्राण्ड (मर्जर पछि हालको प्रभु)बैंकको ऋण चुक्ता गर्न नसकेपछि भएको आर्थिक संकटकको कारणले बन्द भएको यो वायुसेवा लिलामीमा जाने भएको छ । अग्नि एयरकाे फाइल तस्बिर उक्त ग्राण्डले अग्निसँग भएको पाँचवटै जहाज लिलामी गरेर आफ्नो तत्कालिन समयमा ६५ करोड ऋण अशुल गर्ने प्रयास गरेको थियो । उक्त प्रयास अन्तिम समयमा विफल भएको थियो । त्यसपछि २०७० सालको असोजमा अग्निका जहाज सिम्रिक एयरलाइन्सले संचालन गर्ने सम्झौता तत्कालिन ग्राण्ड बैंकसँग गर्यो । अहिले यो बैंक प्रभुसँग मर्ज भएर विलय भैसकेको छ भने अग्निको ऋण पनि प्रभू बैंकसँगै रहेको छ । प्रभू बैैंले आफ्नो ऋण अशुल गर्न अग्निका २९ सिट क्षमताका ३ वटा जेट स्टीम नामक जहाज र यसका पाटपूर्जासमेत लिलामिमा राखेको छ । बाँकी १९ सिट क्षमतको डोर्नियर नामक दुई वटा भने सिम्रिक एयरले आवश्यक मर्मत गरेर उडाइरहेको छ । अग्नि एयरले लिएको ऋण पटकपटकको सार्वजनिक सूचना जारी गरेर चुक्ता गर्न आग्रह गर्दा अटेर गरेकै कारणले प्रभु बैंकले यसका जहाज लिलाम बढाबढबाट विक्री गरेर आफ्नो ऋण अशुल गर्ने भएको छ । अग्नि एयरका तत्कालिन संचालक सुधिर बस्नेत घरजग्गा व्यवासायमा डुवेका कारण उनको नाफामै उडान भइरहेको जहाजलाई पनि संचालन गर्न सकेनन् । वस्नेतले एयरलाइन्सबाट आएको रकम पनि अन्यत्रै लगानी गरेका कारण जहाज उठ्नै नसक्ने गरी थला परेको हो । नमस्ते एयरकाे फाइल तस्बिर अग्नि संचालन गर्न चाहने नमस्ते एयरको सम्पतीसमेत लिलामीमा प्रभु बैंकले २०६९ सालमा अग्नि एयरका जहाज संचालन गर्छु भनेर तयारी थालेको नमस्ते नेपालील एयरको पनि सम्पती लिलामीमा राखेको छ । नमस्ते एयरका संचालक राजु खत्री (केसी)ले अग्नि एयर संचालन गर्ने जहाजको लिवर्टीसमेत परिवर्तन गरेर नमस्ते एयर बनाइसकेको थिए । उनले जहाज संचालन गर्न ३० करोड लगानी पनि गरिसकेको अवस्थामा अग्निका सबै जहाज सिम्रिकले संचालन गर्ने भएपनि केसी जहाज संचालनबाट पछाडि हटेका थिए । जहाज संचालन गर्न बैंकबाट लिएको ऋण तिर्न नसकेपछि केसी र उनको श्रीमती रेखा बस्नेत (खत्री)को नाममा रहेको नमस्ते एयरको सम्पूर्ण सम्पतीसमेत लिलामिमा गएको छ । नमस्ते एयरको नाममा रहेको झापा र मोरङको सबै जग्गा पनि बैंकले लिलामीमा राखेको छ । सिम्रिकले २ वटा मात्रै जहाज बनाएर उडायो सिम्रिक एयरलाइन्सले २०७० असोजमा अग्निका सबै जहाज संचालन गर्ने भनेर जहाजको व्यस्थापन सम्हालेको नमस्ते एयरबाट फिर्ता लिएको थियो । सिम्रिकले ऋणदाता बैंकबाटै जहाज लिएको थियो । सिम्रिकले अग्निका पाँचवटै जहाज संचालन गर्ने गरी लिएको भएपनि यसले २ वटा मात्रै आवश्यक मर्मत गरेर संचालन गर्यो । बाँकी तीन वटा भने अहिलेसम्म पनि विमानस्थलमै थन्किरहेको छ । सोही जहाजलाई बैंकले लिलामी गरेर आफ्नो ऋण अशुल गर्ने प्रक्रिया अगाडि बढाएको हो । २०६९ सालमै नमस्ते एयरले अग्निले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ऋण सकार्न तयार भएर जहाज संचलन गर्न सुरु गरिसकेको थियो । नमस्तेले अग्निका जहाजमा ३० करोड लगानी गरिसकेपछि यसलाई पुनः रामेश्व थापा नेतृत्वको सिम्रिक एयरले लिएको थियो । त्यतिबेला अग्निले ६५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तिय संस्थालाई तिर्नुपर्ने थियो । स्रोतका अनुसार हाल अग्निको प्रभु बैंकमा ३० करोड र नमस्ते एयरको २३ करोड ऋण रहेको छ । यही ऋण अशुल गर्न पनि बैंकले जहाज लिलामिमा राखेको हो ।