आन्तरिक वायुसेवाको उडान काठमाडौंमा, पार्किङ पोखरा र विराटनगरमा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप घटाउन नयाँ विकल्पको खोजी गरेको छ । प्राधिकरणले आगामी पर्यटकीय सिजनदेखि काठमाडौं विमानस्थलको हवाई चाप घटाउन बाहिरका विमास्थनमा जहाज पार्किङ गनुपर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंलाई आधार बनाएर उडान गरिरहेका आन्तरिक उडानका अग्रणी वायुसेवा यती, बुद्ध, तारा, सिम्रिक, सीतासहितको वायुसेवालाई दिनभर काठमाडौंबाटै उडान अनुमति दिने र राती पार्किङ गर्न भने विरानगर र पोखरासहितका बाहिरका विमानस्थलमा पठाउने भएको छ । तत्कालका लागि जहाज पार्किङ गर्ने ह्याङ्गर विराटनगरमा भएको, रात्री उडानको सुविधा पनि उक्त विमानस्थलबाट रहेको र काठमाडौंबाट अधिकांश वायुसेवाको उडान प्राथमिकता पनि यो विमानस्थलमा पर्ने गरेको छ । जुन विमानस्थलमा धेरै उडान हुन्छ अब त्यहि आधार बनाएर उडान गर्ने व्यवस्था आगामी पर्यटकीय सिजनबाट हुने भएको छ । काठमाडौंबाट पोखरा र विराटनगर जाने होइन अब उताबाट चाहिँ काठमाडौं आउनुपर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने आवश्यकता देखिएको विमानस्थल स्रोतको दाबी छ । यती, बुद्ध, तारा र सिम्रिकको काठमाडौ आधार भएकोले अरु थोरै उडान भएका वायुसेवालाई मात्रै बाहिर जाउँ भन्न सकिएन, अब सबैलाई उडान तालिका अनुसार र जहाज संख्या अनुसार बाहिर पठाएर काठमाडौंको चाप घटाइने भएको पनि प्राधिकरण स्रोतको दाबी छ । हाल काठमाडौं विमानस्थलमा आन्तरिक वायुसेवाका लागि जम्मा २७ वटा पार्किङ स्थल रहेको छ । ३ वटा जहाज विग्रिए वा लामो समय राख्नुपर्दा रनवेबाट पश्चिमको रिमोट पार्किङ क्षेत्र रहेको छ । कुन बायुसेवाका कति जहाज वायुसेवा कम्पनी जहाज संख्या बुद्ध एयर ९ वटा तारा एयर ७ वटा यति एयरलाईन्स ६ वटा गोमा एयर ६ वटा नेपाल वायुसेवा ७ वटा सिम्रिक एयरलाईन्स ४ वटा श्री एयरलाइन्स ३ वटा सीता एयर २ वटा सौर्य एयर २ वटा मकालु १ वटा काष्टमण्डप १ वटा अहिले अत्यावश्यक पार्किङ आन्तरिकको लागि ४० वटा आवश्यक छ । तर मुस्किलले ३० वटा सम्म मात्रै प्रयोग गर्न सकिने अवस्थामा हुने पनि विमानस्थलका प्रवक्ता प्रमनाथ ठाकुरले बताए । उनका अनुसार आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको चार ५ वटा जहाज सधै पार्किङमै थन्किएको हुन्छ । अन्य वायुसेवाको पनि जहाज विग्रिने र आवश्यक मर्मतको लागि पार्किङ स्थल प्रयोग भइरहने भएकोले पनि व्यवस्थापन मिलाउनै समस्या भएको विमानस्थल कार्यालयको भनाइ छ । हाल आन्तरिक वायुसेवाको उडानमा एक दर्जक कम्पनीबीच तीब्र प्रतिस्पर्धा चल्न थालेको छ । वायुसेवा कम्पनीबीच एकपछि अर्कोले जहाज थप गर्ने र सेवा संचालनको दायरा बढाउने गरि भएको प्रतिस्पर्धाले पनि विमास्थल सेवा सुविधा पुर्याउँनै हम्मे परिरहेको छ । काठमाडौं विमानस्थलाई आधार बनाएर मात्रै भएको यस्तो प्रतिस्पर्धाले दुर्गम क्षेत्रका नागरिकको यातायात समस्या भने ज्यूँकात्यूँ छ । हाल नेपालका विभिन्न १० वटा आन्तरिक वायसेवासँगले करिब चार दर्जन जहाज संचालन गरिरहेका छन् । यी जहाजमार्फत काठमाडौं विमानस्थलबाट मात्रै दैनिक साढे तीन सय वटासम्म उडान हुने गरेको छ । यो जहाज सख्या नियमित उडानका वायुसेवाको मात्रै हो । पर्यटकीय सिजनमा सबैभन्दा बढी उडान तथा अवतरण हुने गरेकोले काठमाडौं बाहिरबाट सेवा दिन र पुर्याउँन नयाँ व्यवस्था हुन लागेको हो । अहिले नै दैनिक ११० वटा उडान र सोही नै संख्यामा अवतरण हुने गरेको छ । पर्यटकीय सिजनमा भने दैनिक रुपमा साढे ३ सय देखि ४ सय वटा सम्म आन्तरिक वायुसेवाको उडान तथा अवतरण हुने गरेको छ । यस्तो समयमा पार्किङ गर्न समस्या हुने गरेकोले अकासमै जहाज होल्ड गर्नुपर्ने समस्या बढेको छ ।
बीमाको शुल्क २५ प्रतिशत घट्याे, बीमितलाई लाभ तर निर्जीबन बीमा कम्पनीको नाफा घट्ने
काठमाडौं । बीमा समितिले निर्जीबन बीमा व्यवसाय तर्फको हुलदंगा हड्ताल, द्वेशपूर्ण कार्य, आतङ्ककारी तथा विध्वंसात्मक कार्य शिर्षकको बीमाशुल्क २० देखि २५ प्रतिशतले दर घटाउने निर्णय गरेको छ । बीमा समितिले बुधबार तोकेको नयाँ बीमा शुल्क दर आगामी साउन १ गतदेखि लागू हुने समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले बताए । देशमा हिंसात्मक तथा ध्वंसात्मक कार्यमा कमी आएको र बीमा दावीमा ३५ देखि ४० प्रतिशत सम्म कमी आएकोले बीमा शुल्कलाई समय सापेक्ष बनाइएको कार्कीले बताए । शुल्क घटाउँदा निर्जीवन बीमा कम्पनीहरुको नाफामा केही असर गरे पनि बीमितको हितलाई ध्यानमा राखेर शुल्क घटाउनु परेको उनले बताए । नयाँ दर अनुसार भवन बीमातर्फ निजी आवास (आवासीय फ्लाट एवं एपार्टमेण्ट समेत), होटल, बोर्डिङ्ग हाउस, हस्पिटल, पूजा गर्ने स्थल, पुस्तकालय, कला मन्दिर, होस्टल, म्युजियम, नर्सिंग होम, बैंक, क्लब, मेस हाउस, भोलिन्टर हेडक्वाटर, इन्स्टिच्यूट, मेला वा सभाकक्ष (थिएटर एवं सिनेमा प्रदर्शन गर्ने अनुमति प्राप्त) र कार्यालय (सरसामान भण्डार गर्नका लागि कुनै पनि अंश प्रयोग नभएको), एयरपोर्ट टर्मिनल, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय भवनको बीमा शुल्क बीमांक रकमको प्रतिहजार बीमांकमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ । यस्तै वेयर हाउस तथा गोदाम बीमा तर्फको भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदाम बीमामा बीमांक रकमको प्रतिहजार बीमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ । अन्य स्थानमा रहेको बन्द वेयर हाउस वा गोदामको बीमामा बीमांक रकमको प्रतिहजार बीमांकमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको समितिले जानकारी दिएको छ । समितिका अनुसार भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको खुल्ला वेयर हाउस वा गोदाम बीमातर्फको बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ५२ पैसाबाट घटाएर ४० पैसा कायम गरिएको छ । अन्य स्थानमा रहेको खुल्ला वेयर हाउस वा गोदा बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ८० पैसाबाट घटाएर अब ६० पैसा कायम गरिएको छ । कलकारखाना बीमा तर्फको कल कारखाना÷म्यानुफ्याक्चरिङ्ग जोखिम तथा सोको परिसर भित्र रहेको भवन तथा सरसामान बीमामा बिमांक रकमको प्रतिहाजर बिमांकमा ५० पैसाबाट ४० पैसा कायम गरिएको छ । यस्तै पसल स्टोर (थोक वा खुद्रा) शो रुम र बजार बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा १ रुपैयाँ ४ पैसाबाट ८० पैसा कामय गरिएको छ । मनोरंजन स्थलतर्फको बीमामा चलचित्र भवन, प्रदर्शनी मण्डप, मेला वा मनोरञ्जन गर्ने पार्क, सर्कस बीमा शुल्क दर बिमांक रकमको प्रतिहजार बिमांकमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको छ । यस्तै संचार स्थल तर्फको बीमामा रेडियो÷टेलिभिजन स्टेशन वा प्रशारण स्थल र दूरसंचार बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा तोकिएको छ । बिद्युत स्टेशन सम्बन्धीको सार्वजनिक बिद्युत शक्ति स्टेशन, बिद्युत प्रसारण तथा बितरण प्रणाली बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ । रित्तो वा निर्माणको क्रममा रहेको भवन बीमाको प्रतिहजार बिमांकमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ । अग्नी बीमा अन्तर्गत हाल कायम रहेको द्धेशपूर्ण कार्यको बीमाशुल्क दर बीमाङ्कको १० पैसा प्रतिहजार कायम रहेकोमा सो दरलाई घटाएर बीमाङ्कको ५ पैसा कायम गरिएको छ । ब्यक्तिगत दुर्घटना बीमालेख अन्तर्गत हाल १० लाख रुपैयाँसम्मको बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको १० पैसा प्रतिहजार र १० लाख रुपैयाँभन्दा बढी बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको २५ पैसा प्रतिहजार कायम भएकोमा उक्त दरलाई २० लाख रुपैयाँसम्मको बीमाङ्कमा १० पैसा प्रतिहजार र २० लाख रुपैयाँभन्दा बढीकोे बीमाङ्कमा २५ पैसा प्रतिहजार कायम गरिएको छ । गार्हस्थ बीमालेख अन्तर्गत हुलदंगा र हडताल तथा द्घेशपूर्ण कार्य र बिध्वंसात्मक/आतंककारी कार्यको जोखिमको संयुक्त बीमाशुल्क दर बीमाङ्कको २० पैसा प्रतिहजार कायम गरिएको छ । त्यसैगरी तेस्रो पक्ष बीमा रद्द गर्न नपाइने व्यवस्था गरिएको छ । तेस्रो पक्ष बीमामा डुब्लिकेशन र रद्द गर्ने समस्या देखिएकोले ती समस्या नियन्त्रण गर्ने उदेश्यले नयाँ कदमहरु चालिएको समितिले जनाएको छ ।
काठमाडौंमा चार वटा नयाँ शहर बनाउन एक खर्ब ३० अर्ब सरकारी लगानी(फोटोसहित)
काठमाडौं । उपत्यकाका चार क्षेत्रमा निर्माण गर्न लागिएका चार वटा नयाँ शहरमा एक खर्ब ३० अर्ब सरकारी लगानी आवश्यक पर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियर भागवत भक्त खोखालीका अनुसार एक लाख रोपनी जमिनमा निर्माण हुने शहरमा सरकारले एक खर्बको लगानी गर्नेछ भने अन्य १०/१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने शहरमा प्रति शहर १० अर्बका दरले सरकारी लगानी हुनेछ । ती शहरमा सरकारले एक रुपैंयाँ लगानी गर्दा नागरिकले १० रुपैंयाँ लगानी गर्ने पनि उनले बताए । ‘सरकारले पुर्वाधार विकासमा लगानी गर्छ, नागरिकको लगानी जमिनमा हुने हो, नागरिकले सरकारको भन्दा १० गुणा बढि लगानी गर्नेछन्’, इञ्जिनियर खोखालीले भने । नयाँ शहरमा कुल जमिनको ३५ प्रतिशत सडकमै लाग्नेछ । ती शहरमा मुल सडक ५० मिटर र सहायक सडकहरु क्रमशः २२, ११, ८ र ६ मिटरका हुनेछन् । अहिले ८ आना भन्दा साना जमिनका प्लट बेचबिखनमा रोक लगाइएको छ । त्यस बाहेक नयाँ भवन निर्माणमा पनि रोक लगाईको छ । सडक निर्माण तथा विस्तार, ढलको निर्माण तथा विस्तारमा पनि रोक लगाइएको खोखालीले बताए । ‘घर निर्माण, खानेपानीको पाइप विस्तार, सडक निर्माण, ढल लगायतका सबै काममा रोक लगाएका छौं’, खोखालीले भने । भूकम्प पीडितलाई घर निर्माणमा भने रोक नलगाउनेबारे छलफल भैरहेको उनले बताए । तर अन्यत्र जमिन नभएका भूकम्प पीडितले मात्रै त्यहाँ घर बनाउन पाउनेछन् । त्यस्तै, भूमि सुधार मन्त्रालयले १० बर्षपछि मोहियानी छुट्याउने प्रक्रिया अघि बढाएकाले मोहियानी हक अन्तर्गत जग्गा काँटछाट फुकुवा गर्ने तयारी भैरहेकोछ । यी हुन प्रस्तावित नयाँ शहर काठमाडौं ईशानः प्राधिकरले उपत्यकामा निर्माण हुने पहिलो नयाँ शहरको नाम ईशान काठमाडौं राखेको छ । शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । काठमाडौं आग्नेयः उपत्यमा निर्माण हुने दोश्रो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ । यसको नाम काठमाडौं आग्नेय अर्थात पुर्व दक्षिण राखिएको छ । यो शहर भक्तपुर क्षेत्रमा मात्रै पर्छ । पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । तेश्रो शहरस् काठमाडौं नैऋत्य काठमाडौं उपत्यकाको दक्षिण पश्चि क्षेत्रमा फैलिने यो शहर पनि १० हजार रोपनी क्षेत्रफलको हुनेछ । यसले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्यः काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनारनै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । चौथोः काठमाडौं उत्तर यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्वतिर तर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । नयाँ शहरमा भूकम्प प्रतिरोधी भवन, फराकिला सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । यी शहरहरुलाई आइटीसँग जोडेर स्मार्ट सिटी बनाउन पनि सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए ।