केन्द्र र प्रदेशको निर्वाचन मंसिर १० र २१ गते
काठमाडौं । सरकारले केन्द्र र प्रदेशको निर्वाचन २ चरणमा गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बिहान बसेको बैठकले मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघिको मन्त्रिपरिषद बैंठकले एकैचरणमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने निर्णय गरेको थियो । हिमाली तथा दुर्गम पहाडी जिल्लामा १० र सुगम जिल्लामा २१ गते हुने छ । निर्वाचन आयोगबाट एकैचरणमा गर्दा समस्या आउने भनेपछि सरकारले निर्वाचन २ चरणमा गर्न निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतले जानकारी दिए ।प्रदेश प्रमुख र राजधानी राजनीतिक सहमतिका आधारमा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी िदए । यस्तैराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन गर्ने, विद्युत प्रसारणलाइन निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट १५ अर्ब ४० करोड रुपैयाँ ऋणलाई स्वीकार गरेको छ । बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गरेको छ । यस्तै केही सचिवको सरुवा गरेको मन्त्री वस्नेतले जानकारी दिए ।
तामाकोसीमा पानी मिसाउन रोल्वालिङ डाइभर्सनका लागि रोप वे निर्माण हुदै
काठमाडौं । माथिल्लो तामाकोसीबाट थप बिजुली उत्पादन गर्न अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ खोलामा डाइभर्सन निर्माण गर्ने भएको छ । रोल्वालिङ खोलाको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप बिजुली उत्पादन गर्न कम्पनीले काम अघि बढाएको छ । रोल्वालिङमा डाइभर्सन निर्माणका लागि निर्माण उपकरण ठुवानी गर्न अपरतामाकोसीले रोप वे बनाउने भएको छ । सडक मार्ग भन्दा रोप वे बढी प्रभावकारी भएको भन्दै दोलखाको छेतछेतदेखि रिकुसम्म २.४ किलोमिटर लामो रोप वे निर्माण गर्न लागेको हो । केवलकार निर्माणका लागि कम्पनीले पुर्वयोग्यताको छनौटको प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रस्ताव आब्हान गर्दा मापदण्ड धेरै कडा भएपछि यसलाई सच्याएर पुनः प्रस्ताव आब्हान गरेको छ । आउदो असोज ३ गते प्रस्ताव पेश गर्ने मिति तोकेको छ । डाइभर्सनका लागि निर्माण समाग्री तथा उपकरण लैजान रोप वे निर्माण गर्न लागेको प्रवद्र्धक अपर तामाकोसीका प्रवक्ता गणेश न्यौपानेले बताए । डाइभर्सन निर्माणका बेला निर्माण सामाग्री र उपकरण ढुवानीका लागि रोप वे का रुपमा सञ्चालन हुने र पछि केवल कारमा रुपान्तरण हुने उनले जानकारी दिए । डाइभर्सन बनेपछि सुख्खायाममा रोल्वालिङको पानी थप गरेर थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन बढाउने योजना छ । रोल्वालिङको पानी थप भएपछि तामाकोसीबाट सुख्खायाममा १२० मेगावाटसम्म बिजुली उत्पादन गर्ने छ । रोल्वालिङ डाइभर्सनमा २२ मेगावाटको अर्को आयोजना सम्पन्न भएपछि थप १५ करोड ७० लाख युनिट बिजुली थप हुने छ । माथिल्लो तामाकोसी आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट र रोल्वालिङमा नयाँ आयोजना विकास गरी थप १५ करोड ७० लाख गरी माथिल्लो तामाकोसीबाट वार्षिक बिजुली उत्पादन २ अर्ब ६२ करोड युनिट नाघने छ । माथिल्लो तामाकोसीले वर्षादको ३ महिना पुरै विद्युत् उत्पादन गरेपनि माघ र फागुनमा घटेर ९० मात्र सिमित हुने छ । रोल्वालिङको पानी मिसाएपछि आयोजनाबाट सुख्खायाममा १ सय २० मेगवाटसम्म विद्युत् उत्पादन हुने छ । माथिल्लो तामाकोसीको काम साढे ९० प्रतिशत सकिएको छ । अब साढे ८ प्रतिशत सक्न बाँकी छ । रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सनको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेश्नलले आयोजनो विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी बुझाइसकेको छ । आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भीक अध्ययनले देखाएको छ ।
नाडा अटो शोको पहिलो दिनमै १० वटा नयाँ गाडी सार्वजनिक, के के छन् फिचर्स ?
काठमाडौं । नेपाली बजारमा विभिन्न कम्पनीका नयाँ गाडी भित्रिएका छन्। मंगलबार सुरु भएको नाडा अटो शो २०१७ को पहिलो दिनमै १० वटा नयाँ सवारीसाधन ‘लञ्च’ गरिएको हो । शोको पहिलो दिनमा भौतिक पूर्वाधार मन्त्री वीर बहादुर बलायरले गरेका ती दसवटा सवारी साधनको उद्घाटन गरेका हुन् । भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको अवसर पार्दै धमाधम नयाँ गाडी भित्रिएका हुन्। १ डाट्सनको रेडी गो १.० लिटर नाडा अटो शोमा डाट्सनको नयाँ कार रेडी गो १.० लिटर सार्वजिनक भएको छ । यो कारलाई पायोनियर मोटो कर्प प्रालीले नेपाली बजारमा ल्याएको हो । डाट्सनले रेडी गो दुई वटा मोडलमा लञ्च गरेको हो – रेडि गो टि ‘ओ’ र रेडि गो ‘एस’ । रेडि गो १.० को सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने रेडी गो १.० को मूल्य २० लाख २५ हजार रुपैयाँ रहेको छ । नाडा शो अवधीभर दुवै गाडीमा ७५ हजार रुपैयाँ छुट दिइएको छ । ०.९९ लिटरको डिसप्लेसमेन्ट रहेको रेडी गो कारमा ह्विलबेस २३४८ एमएम रहेको छ । यसको न्युनतम ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ । यो सिल्भर, ग्रे, रुबी, लाइम र ह्वाइट कलरमा उपलब्ध रहेको छ । २ रिनाल्ट क्विड शोमा रिनाल्टको क्विड लञ्च गरिएको छ । एड्भान्स अटोमोबाइल्स प्रालीले यसलाई सार्वजनिक गरेको हो । एससिई ईञ्जिनबाट सञ्चालिन यो कारले यात्रुलाई प्रत्येक ड्राइभमा मनोरञ्जन प्रदान गर्ने कम्पनीको दाबी छ । यसको बुट स्पेस ३०० लिटर क्षमताको छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएमको छ । ३ हुण्डाईको एलिट आइ २० र एक्ससेन्ट एफएल नाडा अटो शोमा हुण्डाईका दुईवटा नयाँ गाडी लञ्च भएका छन् – एलिड आइ २० र एक्ससेन्ट एफएल । हुण्डाईको आधरिकारिक बिक्रेता लक्ष्मी ग्रुपले दुई नयाँ मोडलका गाडी सार्वजनिक गरेका हुन् । एलिट आइ २० आइ २०को स्पोर्ज भेरियन्टको कारको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ भने आस्टाको ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ । २८५ लिटर क्षमताको बुट स्पेस भएको एलिट आइ २० मा ४५ लिटरको फ्युल ट्यांक क्षमता छ । यसको औसत तौल १५२० केजी रहेको छ । यसको टर्निङ रेडियस ५.२ मिटर छ भने १७० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । एक्सेन्ट एफएल एक्सेन्ट एफएल दुई वटा भेरियन्टमा उपलब्ध छन् – एस र एसएक्स । एस भेरियन्टको कारको मूल्य ३० लाख ९६ हजार रुपैयाँ छ भने एसएक्स भेरियन्टको ३३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । २४२५ एमएम को ह्विलबेस रहेको एक्सेन्टमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसको फ्युल क्षमता ४३ लिटरको छ भने बुट स्पेस ४०७ लिटर रहेको छ । यसको डिस्पेस्मेन्ट ११९७ सिसि रहेको छ । ४ फोर्डको मुस्ताङ फोर्डको नयाँ उत्पादन मुस्ताङ सार्वजनिक भएको छ । गो अटो मोबाइल्स प्रालीले यसलाई नाडा अटो शोमा सार्वजनिक गरेको हो । हाल यसको बिक्री भने सुरु नगरिएको कम्पनीले जानकारी दिएको छ । ५ स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी एमएडब्लु इन्टरप्राइजेज प्रालीले नेपाली बजारमा स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी सार्वजनिक गरेको छ । स्टायल एटी मोडलको १९८६ सिसि डिस्प्लेसमेन्टको यो कारको मुल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ । २८४१ एमएमको ह्विलबेस रहेको यो कारको ग्राउण्ड क्लियरेन्स १४९ एमएम रहेको छ । कारको कुल तौल २०६० केजी रहेको छ । यसको बुट स्पेस ६३५ लिटरको छ भने पाँच वटा सिटिङ क्यापासिटि छ । ६ महिन्द्राको थार अग्नी इकोरपोरेटेड प्रालीले महिन्द्राको थार लञ्च गरेको छ । महिन्द्रको सिआरडीइ फोरडब्लुडि एसटिडीको मूल्य ३७ लाख ८५ हजार रुपैयाँ रहेको छ । यसको डिस्प्लेसमेन्ट २४८९ सिसि क्षमताको छ भने फ्युल ट्यांक क्षमता ६० लिटर छ । २४३० एमएमको ह्विलबेस रहेको थारको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसमा एयर कन्डिसनरका साथै हिटरको पनि सुविधा छ । यो गाडी रातो रेज, फियरी ब्ल्याक, मिस्ट सिल्भर, डायमण्ड ह्वाइट र रक्की बिजमा उपलब्ध छन् । ७ नयाँ प्युगोट ५०८ सांग्रिला मोटर्स प्रालीले प्युगोट ५०८ एल्युर ४ डोर सेडान कार सार्वजनिक गरेको छ । यसको मूल्य ९५ लाख रुपैयाँ रहेको छ । २४० एनएम टर्क क्षमताको यो कारको डिस्प्लेसमेन्ट १५९८ सिसि रहेको छ । यसको फ्युल ट्यांक क्षमता ७२ लिटर रहेको छ । यसको कुल तौल २०४५ केजी रहेको छ । यो कारको ह्विलबेस २८१७ एमएम रहेको छ । ८ सुजुकीको इग्निस बहुप्रतिक्षित कार‘जापानी कम्प्याक्ट एसयूभी’ इग्निस नेपाली बजारमा ल्याएको छ । अरुण इन्टरनेशनल ट्रेडर्सले यो कार मंगलबार नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको हो । ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले रहेको यो कारले स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममा आधारित रहेको छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्धगरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पुर्याउँछ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०:४० रियर स्प्लिट सम्म बुटस्पेस बढाउन सकिन्छ । कारमा रहेको हाई आई प्वाइन्टका कारण सहर, हाइवे लगायत स्थानमा समेत आवश्यकता अनुसार कार चलाउन र नियन्त्रण गर्ने सहजता प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ईग्निसलाई दुई भिन्न ईञ्जिनअप्सनका साथमा उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । ९ सुजुकीको एक्सेस स्कुटर भीजी अटोमोबाइल प्रालीले सुजुकीको नयाँ स्कुटर एक्सेस डिस्क सार्वजनिक गरेको छ । १२५ सिसि डिसप्लेसमेन्ट रहेको यो स्कुटरको मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ । १० सानयाङको फिडल थर्ड श्रेष्ठ कम्पनी प्रालीले सानयाङको नयाँ स्कुटर फिडल थर्ड सार्वजनिक गरेको छ । नाडा अटो शोमा लञ्च भएको यो स्कुटरको मूल्य दुई लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले अटो शोदेखि दसैंसम्मका लागि यो स्कुटरमा दस हजार रुपैयाँको छुट दिएको छ । १२५ सिसिको डिस्प्लेस्मेन्ट रहेको यो स्कुटरमा ६.५ लिटरको फ्युल क्षमता छ । १३२० एमएमको ह्विलबेस रहेको यो स्कुटरको अधिकतम टर्क क्षमता १० एनएम रहेको कम्पनीले जानकारी दिएको छ ।