नाडा अटो शो: कार बिक्रीमा तीब्र प्रतिस्पर्धा, दुई दिनमै एक अर्ब २६ करोड बढीको बुकिङ
काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा विभिन्न ब्राण्डका करिब एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी चार पाङ्ग्रे गाडीको बुकिङ भएको छ । मंगलबारदेखि सुरु भएको शोको दुई दिनमा ११ स्टलबाट २७२ वटा कार, जिप तथा ह्याचब्याक बिक्री भएका हुन् । मेलाका अवसरमा विभिन्न कम्पनीले कारमा बीमा, नगद छुट, निःशुल्क सर्भिसिङ, उपहार जस्ता आकर्षक योजना ल्याएका छन्। विभिन्न कम्पनीबीच ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धा चलिरहेको छ । आकर्षक अफरसँगै मेलामा नयाँ मोडल तथा मनपरेको कार किन्न आउनेको भीड लागेको छ । मेलामा भाग लिने १६ वटा कम्पनीमध्ये लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली, गो अटोमोबाइल्स प्राली, एमएडब्लू प्राली र अरुण कन्टिनेन्टल ट्रेडर्सले भने बुकिङ बारे गोप्य राखेका छन् । साँग्रीला मोटर्स प्रालीले भने बुकिङ नखुलाएको जानकारी दिएको छ । महिन्द्रा नाडा अटो शोमा महिन्द्राको जीप सेग्मेन्टका गाडीहरु बढी बिक्री भएका छन् । मेलामा करिब १५ वटा जिप सेग्मेन्टका गाडीहरु बिक्री भएका छन् । जिपमध्येमा आकर्षणको केन्द्रबिन्दुमा रहेको थार चारवटा बुक भएको म्यानेजर सुरज राजवंशीले जानकारी दिए । महिन्द्राले जिपलाई शोको पहिलो दिन सार्वजनिक गरेको थियो । हालसम्म पाँचवटा डबल क्याब र १५ वटा जिप सेग्मेन्टका गाडी बिक्री गरेको कम्पनीले तीनवटा एक्युभी मोडलको कार बुकिङ दर्ता गरेको छ । कम्पनीले करीब ९ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको बुकिङ गरेको छ । टाटा मोटर्स टाटा मोटर्सको दुई दिनमा ५५ वटा गाडी बुकिङ भएको छ । जसबाट करिब १८ करोड दुई लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुनसक्ने कम्पनीको अनुमान छ । भर्खरै सार्वजनिक भएको टाटा टिगोर २० वटा बुकिङ भएका छन् भने टियागो १५ जनाले बुकिङका लागि दर्ता गराएका छन् । जेस्ट करिब दस वटा र बाकी सुमो र गोल्ड बुक भएको कम्पनीले जानकारी दिएको छ । होन्डा मेलामा होन्डाले करिब तीन करोड नौ लाख रुपैयाँ बराबरको बुकिङ गरेको छ । दुई दिनमा होन्डाका सातवटा गाडी बुकिङ भएका हुन् । बुकिङ हुनेमा होन्डाका बिआरभी, सिटी, अमेज र ज्याज मोडलका कार रहेको कम्पनीले जानकारी दिएको छ । रिनाल्ट मेलामा लञ्च भएको दुई दिन मै रिनाल्टको क्विड मोडलको कार सात जनाले बुकिङ गरेका छन् । रिनाल्टले दुई दिनमा करिब सात करोड २५ लाख रुपैयाँ बराबरको बुकिङ गरेको हो । रिनाल्टको जम्मा २० वटा बुकिङ मध्ये १३ वटा डस्टर रहेको कम्पनीले जानकारी दिएको छ । डाट्सन सुरुवाती दुई दिनमा डाट्सनले तीन करोड ६६ लाख रुपैयाँ बराबरको सवारीसाधन बुकिङ दर्ता गराएको छ । दुई दिनमा भएको १८ वटा गाडी बुकिङ मध्ये १४ वटा रेडी गो १ लिटर , दुईवटा रेडि गो ८०० लिटर र गो दुई वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ । इसुजु मेलामा इसुजुका १२ वटा गाडी बुकिङ भएका छन् । जसबाट करिब सात करोड रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको अनुमान छ । शोमा भी क्रस ११ वटा बुकिङ भएका छन् भने एउटा एस क्याब बुक भएको कम्पनीले जानकारी दिएको छ । भोक्सवागेन भोक्सवागेनले मेलाको दोस्रो दिनसम्ममा २८ वटा गाडी बुकिङ दर्ता गराएको छ। सो अवधिमा करिब २२ करोड ५३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार १४ वटा क्रस पोलो र १४ वटा न्यु टिगुवान बुकिङ भएका छन्। निस्सान पायोनियर ग्रुपको निस्सानका ३० वटा गाडीहरु बुक भएका छन् । जसको मूल्य करिब आठ करोड ३० लाख हुन्छ । कम्पनीका अनुसार अधिकांश ग्राहकले नयाँ मोडलको सनी कार रुचाएका छन् । जम्मा बुकिङ मध्ये २५ प्रतिशत बुकिङ सनीको रहेको छ । बाकी ७५ प्रतिशत माइक्रा एक्टिभले लिएको कम्पनीले दाबी गरेको छ । किया कियाको विद्युतीय कार सोल इभीमा ग्राहकको विशेष आकर्षण पाइएको छ । ५६ लाख रुपैयाँ पर्ने उक्त कारमा डेढ लाख रुपैयाँ छुट दिइएको छ । दुई दिनमा उक्त कारमा २२ जनाले बुकिङ गरेका छन् । कम्पनीले करिब ३३ करोड ६० लाख रुपैयाँ बराबरको गाडी बुकिङ गराएको छ । विद्युतीय कारपछि सबैभन्दा बढी पिकान्टो कार बिक्री भएको कम्पनीको दाबी छ । सुबारु सुबारुले चार १३ लाख रुपैयाँ बराबरको कार बुकिङ गराएको छ । बुकिङ हुने चार गाडी मध्ये एउटा फरेस्टर मोडल र तीन वटा एक्सओभी मोडलका रहेको कम्पनीले जानकारी दिएको छ । स्याङयाङ आइएमएस मोटर्सको स्याङयाङ ब्राण्डका १५ वटा कारहरु बुकिङ भएका छन् । एक्सएलभी मोडका ६ वटा, टिवोलीका तीन वटा, एक्टन स्पोर्जका चार वटा पिकअप र कोर्यान्डोका दुई वटा गाडी बुकिङ भएका छन् । बुकिङ सँगै दुई दिनमा कारोबार ९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको कम्पनीले जानकारी दिएको छ ।
दोस्रो बजारमा सेयर कारोबार गर्न प्यान अनिवार्य, २ अर्ब ८ करोड राजश्व संकलन
काठमाडौं । आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्न लागेको हो । अनिवार्य प्यान नम्बर आगामी आव ०७५/०७६ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ । गत आवमा सेयर कारोबारबाट मात्र २ अर्ब ८ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये पुँजीगत लाभकर १ अर्ब ४५ करोड, अग्रिम कर (टीडीएस) बाट ४६ करोड ६९ लाख र आय कर १६ करोड ३९ लाख रुपैयाँ संकलन भएको बोर्डले जानकारी दिएको छ । बढ्दो पुँजीबजारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट खाकामा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सहजीकरण गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षका नयाँ योजना तथा कार्यक्रम सार्वजनिक गर्दे नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने संकेत गरेको हो । यो वर्षदेखि कमोडिटी डेरिभेटिभ बजारलाई नियमावली बनाई दायरामा ल्याउने, नगरपालिका ऋणपत्र निश्कासन सम्बन्धि नयाँ व्यवस्था, ऋणपत्र, अग्राधिकार सेयर बजार विकासका लागि आवश्यक प्रोत्साहनमुलक नीतिका सम्बन्धमा अध्ययन गर्ने योजना रहेको बोर्डले जनाएको छ । बोर्डले कम्पनी रजिष्टार कार्यालयको सहयोगमा धितोपत्र बजारमा लगानी गर्ने स्थापना भएकालाई नियमनको दायरामा ल्याउने भएको छ । धितोपत्र बजारमा गैरआवासिय नेपालीलाई लगानी खुलाउन आवश्यक कार्यविधि बनाउने योजना बोर्डको छ । गैरआवसिय नेपालीले धितोपत्र बजारमा लगानी गर्न पाउनुपर्ने माग गर्दे आएकोमा अब पुरा हुने देखिएको छ । इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्रीको व्यवस्थालाई कार्यान्वयनमा ल्याइने, दलाल व्यवसायिको कार्यक्षेत्र बढाउन मार्जिन ट्रेडिङ र धितोपत्र व्यापारी सेवा विस्तारका सम्बन्धमा अध्ययन गर्ने बोर्डले जानकारी दिएको छ । यसैगरी बोर्डले सुचिकृत संगठित संस्थाका लागि संस्थागत सुशासन निर्देशिका र सुपरीवेक्षण म्यायूअल बनाइ लागु गर्ने, भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्डको अध्ययन गरी नियम बनाउने तयारी गरेको छ । सामुहिक लगानी कोषअन्तर्गत खुलामुखी योजना प्रवेश गराउने र बोर्डको ५१ प्रतिशतसम्म लगानी हुने गरी धितोपत्र प्रशिक्षण संस्था स्थापना गर्ने जस्ता योजना रहेका छन् ।
माउन्ट कैलाश इनर्जीको २२ लाख ५० हजार कित्ता आईपीओ आउँदै
काठमाडौं । माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजना सम्पन्न गरेर परीक्षण उत्पादन थालेको माउन्ट कैलाशले आउदो २ महिनाभित्र आईपीओ निश्कासन गर्न लागको हो । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १५ गरी कुल २५ प्रतिशत आईपीओ निश्कासन गर्नका लागि आन्तरिक तयारी गरिरहेको कार्यकारी निर्देशक भरत खड्काले बताए । आयोजनाले असोज १ गतेदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थाल्ने र ढिलोमा २ महिनाभित्र आईपीओ निश्कासनका लागि प्रक्रिया अघि बढाईको उनको भनाई छ । कम्पनीले सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । हाल प्रस्ताव गरिएको भन्दा सेयर संख्यामा थपघट हुन सक्ने उनको भनाई छ । शेयर निश्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडसँग सम्झौता गरेको छ । धितोपत्र निश्कासन नियमावलीमा न्युनतम् १० प्रतिशत आईपीओ निश्कासन गरे हुने व्यवस्था भएपनि सर्वसाधारणको सहभागिता बढाउन थप १५ प्रतिशत सेयर निश्कासन गर्न लागेको उनले जानकारी दिए । २ अर्ब ५६ करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको हो । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरे भन्दा १२ करोड रुपैयाँ लागत बढेको कम्पनीले जनाएको छ । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारणलाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो । चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको १ हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ । भूकम्प, नाकाबन्दी र बेसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको हो । थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएकाले म्याग्दीमा भइरहेको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ । हाल चार एमभिए क्षमताको ट्रान्सफर्मर रहेको मिलनचोक सव स्टेशनमा आठ एमभिए क्षमताको ट्रान्सफर्मर जडानको तयारी भइरहेको बताउँदै केन्द्रका प्रमुख सीताराम शाहले थापाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडिएपछि म्याग्दीमा विद्युत् आपूर्ति सहज हुने जानकारी दिए।