भदौ २८ गतेदेखि दशैंका लागि नयाँ नोट पाइने, बढीमा २७ हजारसम्म साटिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएकाे नोट व्यवस्थापन विभागले जानकारी दिएको छ । राष्ट्र बैंककाे सटही काउन्टरबाट ५, १०, २० ५० र १० का नयाँ नाेट बढीमा २७ हजार र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रूपैयाँसम्म नयाँ नाेट सटही हुने छ । सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार नयाँ नोट पाउने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटही गर्नका लागि थप जनशक्ति र बीमालगायत खर्च हुने भएपछि आफना ग्राहकलाई मात्र सटही सुविधा दिने गरेका छन् ।
चीनको होङसीले सिमेन्ट उत्पादन गर्न ३७ अर्ब ल्याउने, आयोजना लगानी सम्झौतामा हस्ताक्षर सम्पन्न
काठमाडौं । चीनियाँ लगानीमा नेपालमा ठुलो सिमेन्ट कारखाना स्थापना हुने भएको छ । चीनको होङसी र नेपालको शिभम् सिमेन्टको संयुक्त लगानीमा नेपालमा सिमेन्ट कारखाना स्थापना हुने भएको हो । सिमेन्टमा विदेशी लगानी ल्याउने विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र होङसी शिभम् सिमेन्ट प्रालिका निर्देशक लाई विपेङले आयोजना लगानी सम्झौतापत्र (पीआईए) मा आइतबार हस्ताक्षर गरेका छन् । होङसीले ३६ अर्ब ८५ कराेड रुपैयाँ (३५ करोड ,९१ लाख अमेरिकी डलर) लगानी ल्याउने छ । सिमेन्टमा आएको यो हालसम्मकै सबैभन्दा ठुलो वैदेशिक लगानी हो । होङसीले सिमेन्ट उत्पादनका लागि डलरमा लगानी ल्याउन सरकारबाट स्वीकृति पाइसकेको छ । होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सिमेन्ट उद्योग दर्ता र अन्य स्वीकृतिको काम सकिएको छ । चीनको होङसी र नेपालको शिमभ् सिमेन्टको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको छ । उद्योगबाट सन् २०१८ को सुरुदेखि सिमेन्ट उत्पादन हुनेछ । उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चावस्तुका लागि पाल्पामा खानीका लागि स्वीकृति पाएको छ । उद्योग आफैले कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने भएको छ । होङसीले दैनिक ६ हजार टन र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य राखेको छ । वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योग सञ्चालनका लागि मात्र ८० मेगावाट बिजुली आवश्यक पर्नेछ । उद्योगबाट प्रत्यक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने अनुमान गरिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी सम्झौताबाट नेपालको व्यवसायीक वातावरण बारे सकारात्मक सन्देश सम्प्रेषणभएको बताए । उनले आयोजनाको कार्यान्वयनको क्रममा सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । सो अवसरमा बोर्डका सीईओ अधिकारीले सम्झौताले विदेशी लगानीकर्ताका लागि नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको प्रमाणित भएको बताए । निर्देशक वेईपेङ्ले नेपालमा विदेशी लगानी भित्र्याउन लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पु¥याएको बताए ।
पुनर्बीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेड गम्भिर आर्थिक संकटमा परेको छ । चौधरी ग्रुप मुख्य प्रवद्र्धक रहेको यस कम्पनीमा सोही ग्रुपबाट नै भएको ठूला दावी र भुक्तानीका कारण यो कम्पनी गम्भिर आर्थिक संकटमा परेको हो । साथै कम्पनीको कमजोर व्यवस्थापकीय क्षमता र पुर्नबीमा गर्दा गरिएको त्रुटीहरुले कम्पनी निकै अप्ठेराे परेको समाचर आईतबार देशविकास पत्रिकामा छापिएको छ । पछिल्लो पटक चौधरी ग्रुपले प्रवद्र्धन गरेको हाउजिङ कम्पनी ‘सिटीस्केप’बाट परेको ५३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्ने क्रममा यूनाईटेड इन्स्योरेन्स कम्पनी थला परेको छ । यसअघि चौधरी ग्रुप कै सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स कम्पनीलाई यूनाईटेड इन्स्योरेन्स कम्पनीले करिव ५८ करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेको थियो । सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स विनोद कुमार चौधरीको कम्पनीहरु हुन् भने सिटीस्केप अरुण कुमार चौधरीको कम्पनी हो । प्रवद्र्धक समूहबाटै आएको बीमा दावी र भुक्तानीका कारण ३० करोड चुक्ता पुँजी भएको यो कम्पनी करिव २६ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ । परिणाम यस्तो भएको छ कि आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भनी सञ्चालक समिति गरेको आफ्नै निर्णय आफैले रद्द गर्नु परेको छ । लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतका आधारमा बीमा समितिले यूनाईटेड इन्स्योरेन्स कम्पनीलाई करिव ३४ करोड रुपैयाँ प्रोभिजन गर्न लगाएको छ । ‘यो पुरानो केस हो । बीमा समितिका तत्कालिन अध्यक्ष प्रा.डा फत्तबहादुर केसीको संरक्षणमा यूनाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले समस्या ढाकछोप गरेर राखेका थिए । पोको पारेर लुकाएर राखिएको पुरानो समस्याको पोको अहिले खुल्दै गएको मात्र हो’ स्रोतले भन्यो । उच्च स्रोतका अनुसार २०७२ बैशाखमा गएको भूकम्पले पुर्याएको क्षतिबाफत सिटीस्केपले करिव ५३ करोड रुपैयाँ बीमा दावी गरेको छ । अप्रत्यक्ष रुपमा प्रवद्र्धक समूहसँग जोडिएको दावी आएपछि यूनाईटेड इन्स्योरेन्स कम्पनीले तत्काल २५ करोड रुपैयाँ भुक्तानी गरेको छ । युनाईटेडले बीमितलाई भुक्तानी दिएको तर पुर्नबीमा कम्पनीहरुले भुक्तानी गर्न नमालेकोले कम्पनी धरापमा परेको स्रोतले बतायो । ‘२५ करोड सेयर पुँजी भएको कम्पनीमा एउटै दावीबाट ४० करोड भन्दा बढीको दाहित्व थएिकोले कम्पनी थला परेको छ’ स्रोतले भन्यो । स्रोतका अनुसार ५३ करोडको दावीमा पुर्नबीमा लिडर कम्पनी जेआईसीले १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । तर फलोअर रिइन्स्योरेन्स कम्पनीहरुले दावी भुक्तानी गर्न अस्वीकार गर्दै आएका छन् । सोही कारण कम्पनी माथि करिब ४० करोड रुपैयाँको दाहित्व थपिएको हो । ‘१३ करोड पुर्नबीमाबाट आएको छ । ६ करोड कम्पनीको आफ्नै दाहित्वमा पर्छ, फलोआर रिइन्स्योरेन्स कम्पनीले दिनु पर्ने ३४ करोड रुपैयाँ आएको छैन’ स्रोतले भन्यो–‘बीमा समितिले रिइन्स्योरेन्सबाट आउनु पर्ने तर नआएको रकम प्रोभिजन गर्न निर्देशन दिएको छ ।’ प्रोभिजन गरेर पुनः वार्षिक प्रतिवेदन पेश गर्न बीमा समितिले दिएको निर्देशन यूनाईटेड इन्स्योरेन्स कम्पनीले अवज्ञा गरेको छ । ‘हामीले एक महिना समय दिएका थियौ । प्रोभिजन गरेर नयाँ प्रतिवेदन आएन’ स्रोतले भन्यो–‘समय थप्न माग गर्दै चिठ्ठी दर्ता भएको सुनेको छु ।’ बीमा समितिको निर्देशन अनुसार प्रोभिजन गर्दा कम्पनी करिव २६ करोड नोक्सानमा जाने भएको छ । संचित नोक्सानीमा गएको कम्पनीले हकप्रद सेयर निष्काशन गर्न पनि सक्दैन । सोही कारण आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने र १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको निर्णय रद्द गरिएको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस सेयर र हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धि पुरानो निर्णय रद्द गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालले जानकारी दिएका छन् ।