राष्ट्र बैंकमा ३० बर्षे कार्यकाल हटाइँदै, यी हुन लाभग्राही आधा दर्जन हाई प्रोफाइल
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको सेवा अवधीमा रहेको ३० बर्षे कार्यकाल हटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । राष्ट्र बैंक सञ्चालक समितिले गत असार १८ गते सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा कर्मचारी सेवा नियमावली परिमार्जन एंव संसोधन सुझाव समिति गठन गरेको थियो । ३० बर्षे सेवा अवधी हटेमा आधा दर्जन हाइ प्रोफाइल सहित ३ सय कर्मचारीको जागिरे अवधी १२ बर्षसम्म बढ्नेछ । ५८ बर्षे सेवा अवधीको व्यवस्था लागु भएमा जागिरे अवधी बढ्ने हाइप्रोफाइलहरुमा केहि कार्यकारी निर्देशक र केहि सहायक निर्देशकहरु रहेका छन् । कार्यकारी निर्देशक रमेश पोखरेल, निमित्त कार्यकारी निर्देशक डा. गोपाल भट्ट, एजेन्द्र लुईटेल, बासुदेव अधिकारीले लाभ पाउनेछन् । उनीहरुको जागिरे अवधी ८ बर्षसम्म वृद्धि हुनेछ । त्यस्तै, निर्देशक तथा सहायक प्रवक्ता राजेन्द्र पण्डित, केशब थापा, मुकुन्द महत, निमित्त निर्देशक बलराम पौडेल, रमण नेपाल लगायतको जागिरे अवधी पनि थपिनेछ । यीनीहरुको जागिर न्युनतम ३ बर्षदेखि ८ बर्षसम्म थपिने राष्ट्र बैंक श्रोतले बतायो । राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रेग्मीको नेतृत्वमा गठन भएको समितिको सिफारिसका आधारमा सञ्चालक समितिले ३० बर्षे सेवा अवधी खारेज गरेर ५८ बर्षे उमेर हद सुरु गर्न लागेको हो । राष्ट्र बैंकले वित्तिय क्षेत्र सुधार कार्यक्रम लागु गरेपछि २०६२ सालदेखि ३० बर्षे सेवा अवधी कार्यान्वयनमा आएको थियो । ‘कर्मचारीको सेवा बिनियमावली परिमार्जन एंव संसोधन सुझाव समितिले दिएको रिपोर्ट अनुसारको रिपोर्ट सञ्चालक समितिमा पुगेको छ, तर सञ्चालक समितिले पारित गरिसकेको छैन’, राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सञ्चालक समितिका कम्पनी सचिव राजेन्द्र पण्डितले विकासन्युजसँग भने । पण्डितसहितको एउटा टोलीले शुक्रबारै अर्थ मन्त्रालय पुगेर सञ्चालक समिति सदस्य समेत रहेका अर्थ सचिव शान्तराज सुवेदीलाई ३० बर्षे सेवा अवधी हटाउने निर्णयमा मनाउने प्रयास गरेर फर्केको थियो । श्रोतका अनुसार गभर्नर, दुई जना डेपुटी गभर्नर, अर्थ सचिव शान्तराज सुवेदी र श्रीराम पौडेलले ३० बर्षे सेवा अवधी हटाउन सहमति जनाईसकेका छन् । ३० बर्षे सेवा अवधी संसोधन नभएमा २६ जना, आगामी जेठमा ७० जना, मंसिरमा ४० जना कर्मचारीले अनिवार्य अवकास पाउने थिए ।
पशुपति मुरारकाको सिमेन्ट उद्योगले तातो हावाबाट ४ मेगावाट विद्युत् उत्पादन गर्दै
काठमाडौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर ४ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका पशुपति मुरारकाले कुरा गर्दै भने, “नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।” चार मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप ८० करोड रूपैयाँ लगानी गरिने मुरारकाले जानकारी दिए। सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट सामान ल्याउने प्रक्रिया शुरु गरिएको र आगामी सात महिनाभित्र विद्युत् उत्पादन शुरु हुने उनले बताए। नेपालको हकमा खेर गएको तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गर्न लागिएको नै पहिलोपटक हो भन्दै उनले निर्माणाधीन अन्य सिमेन्ट उद्योगलाई समेत यसबाट थप प्रेरणा प्राप्त हुने बताए । विद्युत् उत्पादनमा प्रयोग हुने सामान खरिदका लागि एलसी खोलिएको जानकारी दिँदै मुरारकाले आफ्नो उद्योगलाई चाहिने विद्युत्मध्ये केही आफैँ उत्पादन गर्ने रणनीतिमा आफू लागेको बताए । अहिले उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको र वातावरण समेत प्रदूषित भइरहेको छ । विद्युत् उत्पादन गर्ने प्रणाली जडान भएपछि वातावरणीयरुपमा कुनै समस्या नआउने उनकाे दावी छ । चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प (स्टिम) प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको मुरारकाले बताए । चीनमा वाष्प प्रविधिबाट ठूलो मात्रामा बिजुली उत्पादन गरिएको छ । उद्योगबाट निस्किएको तातो हावाले ‘स्टिम इन्जिन’ चलाउने र त्यसरी घुमेको इन्जिनले विद्युत् उत्पादन गर्ने प्रणालीलाई ‘वेस्ट हिट रिकभरी युनिट’ नाम दिइएको छ । नेपालमा हालसम्म यस्तो प्रविधिबाट विद्युत् उत्पादन गरिएको छैन । दोलखाको चर्नावती र पर्वतको मोदी हाइड्रो पावरमा लगानी गर्नुभएका मुरारकाले भने, “यस्तो पाइलटिङ सफल भयो भने नेपालका अधिकांश सिमेन्ट उद्योगमा सहजैरुपमा विद्युत् उत्पादन हुने र त्यसले व्यावसायिक रुप लिनेछ ।” उद्योगले हाल नेपाल विद्युत् प्राधिकरणबाट १० मेगावाट बिजुली खपत गर्दै आएको छ । उद्योगको क्षमता विस्तार गरेर दैनिक ३ हजार ५०० मेट्रिक टन उत्पादन पु¥याउने लक्ष्य राखिएकाले थप १० मेगावाट विद्युत् आवश्यक पर्ने उनकाे भनाइ छ । उक्त प्रणालीको जडानपछि उद्योगले १६ मेगावाट मात्रै विद्युत् खपत गर्नेछ । नेपालमा जगदम्बा, मारुती, शिवम्जस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वको उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिन्छ । सरकारले थर्मल ऊर्जा प्रणालीबाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गरेको भए पनि खेर गएको हावाबाट विद्युत् उत्पादन गर्ने प्रणाली पहिलोपटक शुरु हुन लागेको हो । पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको घरिवल सिमेन्ट उद्योगले २० मेगावाट विद्युत् सोही प्रणालीबाट उत्पादन गरिरहेको छ । पाकिस्तानकै लक्की सिमेन्ट उद्योगमा समेत १० मेगावाट विद्युत् उत्पादन गरिएको छ । भारतको तेलङ्गनाको सागर सिमेन्ट उद्योगले छ मेगावाट विद्युत् उत्पादन गर्ने अन्तिम तयारी गरेको छ । फिलिपिन्सको सिमेक्स सिमेन्ट उद्योगमा समेत चिनियाँ प्रविधि जडान गरी ४.५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको छ भने इन्डोनेसियाका सिमेन्ट उद्योगमा वेस्ट हिट रिकभरी युनिट जडान गरी ३० मेगावाट विद्युत् उत्पादन गर्ने प्रणाली जडान गरिएको छ । पाकिस्तानको राष्ट्रिय विद्युत् नियमन प्राधिकरणले वेस्ट हिट रिकभरी युनिट स्थापना गर्न र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । सिमेन्ट उद्योगले फाल्ने हानिकारक कार्बन डाइअक्साइड नियन्त्रण गर्न र वातावरणको संरक्षण गर्न समेत यस्तो प्रणाली संसारभर फैलने क्रममा रहेको ग्लोबल सिमेन्टले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । रासस
यूनाईटेड इन्स्योरेन्समा ३६ करोड घोप्लाबाजी प्रकरण : ३ दिनभित्र स्पष्टीकरण पेस गर्न बीमा समितिको निर्देशन
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिको निर्देशनको अवज्ञा गरेको छ । निर्देशन पालना नगरेपछि बीमा समितिले सो कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बीमा समितिले भदौ २२ गते पत्र लेख्दै स्पष्टीकरण माग गरेको हो । ‘समितिले ३ दिन भित्र लिखित जवाफ पेश गर्ने निर्देशन दिएको छ’ सम्बद्ध स्रोतले भन्यो । बीमा समितिबाट प्राप्त पत्र विहीबार नै कम्पनीमा दर्ता भएकोे यूनाइटेड इन्स्योरेन्स कम्पनी सम्बद्ध स्रोतले पुष्टि गरेको छ । कम्पनीले आईतबार भित्र स्पष्टीकरण दिनुपर्ने भएको छ । यसअघि बीमा समितिले आर्थिक वर्ष २०७२/७३को वासलातसहितको वार्षिक प्रतिवेदन अस्वीकृत गर्दै लेखापरीक्षकले जनाएको कैफियत अनुसार प्रोभिजन बढाएर संशोधित वार्षिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । साउन १६ गते पत्र लेख्दै समितिले भदौ १५ गतेभित्र संशोधित आर्थिक प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो । समितिको निर्देशन पालना नगरी यूनाईटेड इन्स्योरेन्स कम्पनीले नियामक निकायलाई अटेर गरेको ठहर गर्दै बीमा समितिले भदौं २२ गते प्रष्टीकरण सोधेको हो । चौधरी ग्रप अन्तरगतको ‘सिटी स्केप’को ५३ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी विवादमा यूनाइटेड इन्स्योरेन्स कम्पनीभित्र करिब करिव ३६ करोड रुपैयाँ घोप्लाबाजी भएको छ । बीमा समितिले प्रष्टीकरण माग्दै दोस्रो निर्देशन दिएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल र निर्वाण चौधरीबीच पटक पटक छलफल भएको छ । कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठले यस विषयमा आफू केही नबोल्ने बताए । १ अर्ब २३ करोड रुपैयाँ भ्यालुको बीमा भएको सिटी स्केपको अपार्टमेन्टमा २०७२ सालको भूकम्पले क्षति पुर्याउपछि कम्पनीले ५३ करोड ५८ लाख रुपैयाँ बीमा दावी गरेको छ । ‘नेपाली भ्यालुएटर राजन थापा र एउटा भारतीय कम्पनीले गरेको भ्यालुएशनको आधारमा ५३ करोड ५८ लाख रुपैयाँ बीमा दावी गरिएको छ । त्यसमा १ प्रतिशत सेवा शुल्क थप गरिएको छ’ स्रोतले भन्यो । उक्त दावी आएपछि युनाईटेड इन्स्योरेन्स कम्पनीले तत्काल २५ करोड रुपैयाँ सिटीस्केपलाई भुक्तानी गरेको छ । यो कम्पनी अरुणकुमार चौधरीको हो । युनाईडेड इन्स्योरेन्सको मुख्य लगानीकर्ता समेत रहेको चौधरी ग्रुप नै हो । ‘लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले औल्याएको वित्तीय विवरण अनुसार पुर्नबीमा कम्पनीबाट ५१ करोड ८० आउनु पर्ने देखिन्छ । तर पुर्नबीमाबाट करिव १४ करोड रुपैयाँ मात्र आएको छ । सोही आधारमा पुर्नबीमाबाट आउनु पर्ने भनिएको तर नआएको रकम (करिव ३६ करोड रुपैयाँ) प्रोभिजन गर्न बीमा समितिले भनेको छ’ स्रोतले भन्यो । सपोर्ट डकुमेन्ट नभएको पुर्नबीमा कम्पनीले थप भुक्तानी दिन अस्वीकार गरेको छ । ‘डकुमेन्ट हेर्दा पुरै भवनको बीमा गरिएको देखिएन, फ्लोरवाईज बीमा गरिएको रहेछ । पुर्नबीमा गर्दा कम्पनीको तर्फबाट गम्भिर त्रुटी भएको देखिएको छ । यसरी गरिएको बीमा ‘बीमाको सिद्धान्त र अन्तराष्ट्रिय अभ्याससँग मेल खाँदैन’ स्रोतले भन्यो । पुर्नबीमाबाट थप भुक्तानी हुने सम्भावना नरहेकोले बीमा समितिले प्रोभिजन गर्न कम्पनीलाई निर्देशन दिएको स्रोतको भनाई छ । सम्बन्धित समाचारहरू पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स