उत्पादन बढाउन थप पुँजी नभएपछि हिमालयन ब्रुअरी र त्रिशक्ति डिस्टीलरीको ४९ प्रतिशत स्वामित्व बिक्री हुदै
काठमाडौं । उत्पादन विस्तार गर्न थप पुँजी चाहिएको भन्दै सञ्चालकले सञ्चालनमा रहेका दुई मदिरा उद्योगकाे ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेका छन् । निजी क्षेत्रबाट सञ्चालित हिमालय ब्रुअरी लिमिटेड र त्रिशक्ति डिस्टीलरीज प्रालिले आफनो आधा स्वामित्व बिक्री गरेर नयाँ लगानीकर्ता भित्राई दुबै उद्योगको क्षमता बढाउन लागेको हो । दुबै कम्पनीलाई पुनसंरचना गरेर क्षमता विस्तार गर्न ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेको हिमालयन र त्रिशत्तिका अध्यक्ष अरविन जोशीले बताए । हिमालयनले आइसवर्ग, काठमाण्डु र कमाण्डो ब्राण्ड गरी ३ प्रकारको वियर उत्पादन तथा बिक्रीवितरण गर्दे आएको छ । यस्तै त्रिशत्तिले ३० युपीको एक्सिलेन्ट भोड्का, ४० युपीको मार्सल ह्विस्की र जिनलगायत ५० युपीका विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दे आएको छ । त्रिशक्तिले एक्सिलेन्ट भोड्का गत वर्ष बजारमा ल्याइएको हो । गत वर्ष दुई उद्योगले वीयर र ह्विस्कीलगायत अन्य ब्राण्डका १ अर्ब रुपैयाँ बढीको मदिरा कारोबार गरेको जोशीले जानकारी दिए । उनका अनुसार ललितपुरको गोदावरीमा उद्योगको नाममा ६२ रोपनी जग्गा छ । जग्गा र दुबै उद्योगको सम्पत्ति र मदिराको ब्राण्ड मूल्य २ अर्ब रुपैयाँ निर्धारण गरिएको जोशीले जानकारी दिए । वीयर र ह्विस्की दुबैको बजारमा हिस्सा राम्रो रहेको बताउदै उनले भने “हामी अब आक्रमक रुपमा बजारमा उपस्थिति देखाउन चाहान्छौ । त्यसका लागि थप लगानी आवश्यक परेकाले ४९ प्रतिशतसम्म स्वामित्व बेच्न खोजेका हौं ।” जोशीकाअनुसार गत वर्ष कमाण्डो वीयर ६ लाख केस बढी बिक्री भएको थियो । यो वर्ष पनि कम्पनीको वीयर र ह्विस्की र अन्य ब्राण्डका मदिराको बिक्रीवितरण राम्रो भएको उनको दावी छ । थप पुँजी भएपछि कम्पनीले क्षमता विस्तार गरेर उत्पादन बढाउने रणनीति लिएको छ । साझेदारमा चासो देखाउने पार्टीसंग छलफलपछि मात्र कम्पनीको स्वामित्व र लगानीका बारेमा निश्चित हुने जोशी बताउछन् । उद्योगको नाममा रहेको कुल ६२ रोपनी जग्गा मध्ये आधा जग्गा रिसोर्ट सञ्चालनमा प्रयोगमा ल्याउन सकिने उनले जानकारी दिए । रिसोर्ट सञ्चालनलगायत अन्य विभिन्न विषयमा खुला छलफल हुने उनको भनाई छ । हाल कम्पनीमा ६ जना लगानीकर्ता छन् । उनले आद्या जग्गा रिसोर्ट बनाउने तयार समेत भइरहेको जोशीले जानकारी दिए । बन्द भएको दुई उद्योग ७ वर्षअघि २५ करोड रुपैयाँ थप लगानी गरेर सञ्चालनमा ल्याइएको उनले बताए । नयाँ व्यवस्थापनले उद्योगको स्वामत्विको खरिदका अतिरित्त वियर र ह्विस्की उत्पादनका लागि नयाँ उपकरण जडानमा लगानी गरेको थियो । ७ वर्षअघि बन्द अवस्थामा रहेको उद्योग सञ्चालनमा ल्याएर राम्रो बजार हिस्सा बढाउदै लगेको उनको दावी छ । दुबै मदिरा उद्योग राजपरिवारका सदस्यको स्वामित्वमा रहेको थियो । तत्कालिन कुमार मोहनबहादुर शाहीको स्वामित्वमा रहेको थियो । हिमालयन सन् १९८० मा स्थापना भएको हो । एक समयमा आइवर्ग ब्राण्डको वियर बजारमा लोकप्रिय थियो । सन् १९८३ देखि वियर उत्पादन थालेको हिमालयनलले भारतको मोहन मेकन लिमिटेडको साझेदारी र प्राविधिक सुपरिवेक्षणमा वियर उत्पादन हुदै आएको थियो । सन २०१० देखि उद्योगको स्वामित्व जोशी समूहले खरिद गरेको हो । सुरुवातीमा उद्योगले आइसवर्गका अतिरित्त आइवर्ग प्रिमियर गोल्डेन इगल लागर वियर र आइसवर्ग लागर वियर गरी हिमालयले सन् १९८९ सम्म वार्षिक ४० हजार हिक्टोलिटर वियर उत्पादन गरेको थियो । त्यसबेला नेपालमा वियरको माग वार्षिक ८० हजार हिक्टोलिटर थियो । उत्पादन थालेको वर्ष उद्योगले वार्षिक १५ हजार हिक्टोलिटर वियर उत्पादन गरेको थियो । हाल उद्योगले १० वर्षे योजना ल्याई पुनरसंरचना गरेर मदिरा उत्पादन विस्तार गरी बजारमा सशक्त उपस्थिती देखाउने तयारी थालेको छ ।
४२ वटा कम्पनी नेप्सेमा नविकरण भएनन्, २३ वटा कम्पनीको सेयर कारोबार अाजदेखि बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरु मध्ये ४२ वटा कम्पनीको सेयर कारोबार भोलि (कात्तिक १ गते)देखि बन्द हुने भएको छ । त्यसमा १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो भने १ गतेदेखि थप २३ वटा कम्पनीहरुको सेयर कारोबार बन्द हुने भएको छ । धितोपत्र कारोबार नियमावली अनुसार चालु आर्थिक वर्ष २०७४/७५का लागि वार्षिक सूचिकरण नविकरण शुल्क नेप्सेलाई नबुझाएको कारणले उनीहरुको सेयर कारोबार रोकिने भएको हो । धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो । तोकिएको बुझाएर सूचिकरण नविकरण गर्ने म्याद असोज ३१ गते साँझ सकिएको र ४२ वटा कम्पनीहरु नेप्सेमा सूचिकरण नविकरण गर्न नआएको नेप्सेले जनाएको छ । ‘आज साँझसम्म सूचिकरण नविकरण नगर्ने कम्पनीको सेयर कारोबार भोलिदेखि रोक्का गर्न सम्बन्धि विभागलाई निर्देशन दिएका छौं, ती कम्पनीको सेयर कोरोबार सूचिकरण नविकरण नभएसम्म रोकिन्छ’ नेप्सेका उच्च अधिकारीले मंगलबार साँझ भने । नेपाल स्टक एक्सचेञ्जबाट मंगलबार साँझ प्राप्त विवरण अनुसार शुल्क नतिर्नेमा ४२ वटा नयाँ कम्पनी छन् । यस वर्ष बोटलर्स नेपाल बलाजु, बोटलर्स नेपाल तराई, यूनिलिभर नेपाल जस्तो बजारमा राम्रो ख्याती कमाएका कम्पनीहरु पनि नेप्सेलाई नविकरण शुल्क बुझाएका छैनन् । त्यस्तै, दिव्यशोरी हाइड्रोपावर, सेती फाइनान्स, यूनियन फाइनान्स, कुबेर मचेन्ट फाइनान्स, ललितपुर फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, कावेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कर्णली विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, नागबेली लघुवित्त विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेशनल फाइक्रो फाइनान्स वित्तीय संस्था, राप्तीभेरी विकास बैंक, साझा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक, समता फाइक्रो फाइनान्स रहेका छन् । उल्लेखित विकास बैंक, फाइनान्स तथा लघुवित्त मध्ये ५ वटा बैंक तथा वित्तीइ मर्जर तथा एक्विजिशन प्रक्रियामा रहेकाले यसअघि नै सेयर कारोबार रोकिएको छ । १९ वटा कम्पनीहरुले भने अघिल्ला वर्षदेखि नै सूचिकरण नविकरण गरेका छैनन् । उनीहरुको सेयर कारोबार पनि लामो समयदेखि बन्द छ । लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालयन फाइनान्स, अरुण बनस्पती उद्योग, विराट शुज, बुटवाल धागो कारखाना, फ्यूर हिमालयन, गोरखकाली रवर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, ज्योति स्पीनिङ मिल्स, नेपाल विटुमिन तथा व्यारेल उद्योग, भृकुटी कागज उद्योग, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी रहेका छन् । ‘हामीले सबै कम्पनीलाई पत्र लेखेका छौ, फोन र इमेलबाट पटक पटक सम्झाएका छौं, सार्वजनिक सूचना प्रकाशित पनि गरेका छौं’ नेप्सेका ती अधिकारीले भने–‘बोटलर्स नेपालले भूलबस छुट्यो, भोलि नै शुल्क तिरेर नविकरण गर्छौ भनेर फोन गरेको छ । कारोबार शुरु हुनुभन्दा अघि नै शुल्क बुझाए भने बोटलर्सको सेयर कारोबार बन्द नहुन पनि सक्छ ।’
धनत्रयोदशीमा सुनचाँदीको कारोबार ह्वात्तै बढ्यो, एकैदिनमा २१ करोड ७० लाख मूल्य बराबरको धनतेरास बिक्री
काठमाडौं । तिहार नजिकिएसँगै सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । तिहारमा धनत्रयोदशीका दिन द्रव्य (धनतेरास) जोड्ने विश्वास भएकाले सुनचाँदीको माग बढेको हो । लक्ष्मीपुजाको एक साता अगाडीदेखि सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । मंगलबार एकैदिनमा २१ करोड ७० लाख रुपैयाँ बराबरको सुनचाँदीको कारोबार भएको सुनचाँदी व्यवसायीले जनाएका छन् । मंगलबार करिब ४ करोड ७० लाख मूल्य बराबरको चाँदी र १७ करोड मूल्य बराबरको सुन कारोबार भएको महासंघको अनुमान छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले मंगलबार ४० किलो भन्दा बढी सुन तथा ७०० किलो भन्दा चाँदीको कारोबार भएको जानकारी दिएका छन् । धनत्रयोदशीमा सुन भन्दा पनि चाँदीको कारोबारमा शत प्रतिशतले बृद्धि भएको हो। शाक्यका अनुसार लक्ष्मी पुजाको एक साता अगाडीदेखि चाँदीको कारोबार बढिरहेको छ । सामान्य अवस्थामा चाँदी दैनिक १५० किलो बिक्री हुने गरेको चाँदी आज साढे चार गुणा बढी कारोबार भएको हो । सुन पनि सामान्य अवस्था भन्दा १५ किलो बढी कारोबार भएको शाक्यले जानकारी दिए। उनका अनुसार अरुबेला बढिमा दिनको २० देखि २५ किलोसम्म सुन कारोबार हुन्थ्यो। तिहारमा लक्ष्मीपुजा आउने एक साता अघिदेखि नै सुनचाँदीको कारोबार बढ्दै जाने गरेकोमा यसपाली भने ढिलो कारोबार बढेको उनले बताए । उनले भने, ’यसपाली सुनको कारोबार आइतबारदेखि मात्र बढ्न थालेको हो ।’ हिन्दु धर्मअनुसार लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीमा द्रब्य जोड्नु राम्रो मानिन्छ । धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न धनतेरास (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ । धनत्रयोशीमा सुनचाँदी खरिद गर्ने परम्परा भारतबाट सुरु भएको शाक्यले जानकारी दिए । ’करिब १५ वर्ष अगाडीदेखि नेपालमा भारतीय टिभी च्यानलले धनत्रयोदशीमा सुनचाँदी चढाउनुपर्छ भनेर प्रचारबाजी गर्न थाल्यो । त्यसैको प्रभाव स्वरुपमा नेपालीमा धनतेरास चढाउने प्रचलन सुरु भयो । पौराणिक मान्यता अनुसार पनि लक्ष्मीपुजामा पित्तलको भएपनि भाँडा चढाउँदा फलिफाप हुन्छ भन्ने छ ।’ आज सुन चाँदी पसलहरु विशेष तवरले झकीझकाउ बनाइएको छ । नयाँ सडक क्षेत्रका सबै गहना पसलमा बिहानैदेखि ग्राहकको घुइँचो लागेको थियो । साँझ पर्दै जाँदा किन्नेको भिडभाड अझ बढेको व्यवसायीहरुले बताएका छन् । सुनको मूल्य समेत सस्तियो साताको सुरुवातदेखि सुनको भाउ ओरालो लागिरहेको छ । साताको पहिलो तीन दिनमा सुनको भाउ २ सय रुपैयाँ सस्तिएको छ । आइतबार प्रति तोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ मंगलबार ५६ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।