हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल

काठमाडौं । पाँचथर पावर कम्पनी अन्तर्गतको १४.९ मेगावाटको हेवा खोला ए हाइड्रोपावर प्रोजेक्टले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्ताको लागि सो मात्राको सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागि १० लाख कित्ता गरी जम्मा २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको सेयर निष्कासनको लागि कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र पाँचथर पावर कम्पनीका प्रवन्ध सञ्चालक पुष्पज्योती ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेको हुन् । हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत २०७३/१०/२२ गतेदेखी नै विद्युत उत्पादन शुरु गरी आफ्नो बिक्री शुरु गरिसकेको छ ।

ठूला व्यवसायी किन उद्योग बन्द गरेर सेयर बजारमा लगानी गर्छन ? कसरी हुन्छ सेयरमा फाइदा ?

म पुँजी बजारमा प्रवेश गरेको छ वर्ष भयो । यसअघि ३५ वर्षसम्म गार्मेन्ट व्यवसाय गरेँ । मेरो उद्योगमा ४०० देखि ६०० कामदार हुन्थे । अरु धेरै गार्मेन्ट उद्योग बन्द हुँदा पनि मैले गर्मेन्ट उद्योग चलाईरहेको थिएँ । जब नेकपा माओवादी फुटेर प्रचण्ड पक्षधर र बैद्य पक्षधर माओवादी भए, तब ट्रेड यूनियनमा पनि विभाजन आयो । उनीहरुबीचको द्वन्द्वले उद्योग भित्र कामदारहरु आन्दोलित भए । निर्यातमुलक उद्योग भनेको कस्तो हो भने विदेशी खरिदकर्ताले १५ तारिकमा समान पाउने गरी अडर गरेको छ भने १५ तारिक भित्रै सामान पाउनुपर्छ । १५ गतेभित्र सामान पायो भने डलरमा भुक्तानी गर्छ । १६ तारिक सामान पुग्यो भने भुक्तानी दिन्न भनेर कागज आउँछ । सम्पूर्ण लगानी ढुब्छ । उद्योगभित्र ट्रेड यूनियनबीच द्वन्द्वले लाखौ डलरको सिपमेन्टहरु रद्द भए । उद्योग गम्भिर आर्थिक संकटमा पर्यो । मैले बाध्य भएर उद्योग बन्द गर्ने निर्णय गरेँ । साथीहरुसँग सापटी लिएर सबै कर्मचारीलाई दिनु पर्ने भुक्तानी दिएँ । पछि आफ्नो जग्गा जमिन बेचेर साथीहरुको पैसा फिर्ता दिएँ । उद्योग बन्द हुनुपूर्व म नेपाल उद्योग महासंघको रोजगारदाता परिषद्मा पनि थिएँ । उद्योग र रोजगारदाता सम्बन्धि सरकारले गठन गरेको विभिन्न समितिमा म थिएँ । ठूलो उद्योग चलाएको सफल व्यवसायी, अनुभवी व्यवसायी भएकोले पनि होला, समग्र उद्योग क्षेत्रको विकासमा साझा हितका कुरा प्रष्टसँग गर्ने भएकोले पनि होला, सामूहिक हितमा काम गर्ने फोरमहरुमा मलाई जिम्मेवारी दिइन्थ्यो । उद्योग व्यापारको क्षेत्रमा मेरो छुट्टै पहिचाहन थियो । मैले गार्मेन्ट उद्योग चलाएको ३५ वर्ष भएको थियो । विवाहसँगै मेरी श्रीमतीले पनि उद्योग चलाउन सघाउन थालिन् । उनले पनि २८ वर्ष सोही उद्योगमा काम गरिन् । हामी दुबै जनाल दैनिक १२ देखि १६ घण्टासम्म उद्योगमा काम गथ्र्यौ । जब उद्योग बन्द भयो, हामी खाली भयौ, कामविहिन भयौ । काम गर्न नपाउँदा धेरै छलपटी भयो । त्यतिबेला ठूली छोरी लण्डनमा थिइन् । हामी दुबै जना लण्डन गएर बस्यौ । त्यहाँ पनि मलाई छटपटी भयो । काम छैन, के गर्ने ? नेपालको ठूलो निर्यातकर्ता सबैसँग मेरो राम्रो सम्बन्ध थियो । लण्डनमा नै बसेर नेपाली सामानको व्यापार गर्ने योजना बनाएँ । नेपाल आएर पुराना साथीसँग भने–‘म पनि नेपाल छोड्ने भएँ, लण्डनमा व्यापार गर्न तयारीमा छु ।’ धेरै साथीहरु निरास हुनुभयो । एक जना साथीले सोधे–‘तिमी जन्मेको कहाँ ? हुर्केको कहाँ ? कर्मभूमी कहाँ ?’ मैले भने–‘यही हो, नेपाल ।’ उनले भने–‘तिमी नेपालमा नै जन्मियौ, नेपालमा नै पढ्यौ, नेपालमा नै जिन्दगीभर व्यवसाय गर्यौ । सबै साथी सर्कल यहि छन् । यो उमेरमा, मर्ने बेलामा किन लण्डन जान्छौ ?’ म झसङ्ग भएँ । त्यो साथीलाई धन्यवाद दिए । ‘यो उमेरमा मलाई गलत काम गर्नबाट रोक्यौ, म विदेश जान्न’–मैले भने । म नेपालमै बस्छु र नेपालमा नै मर्छु भन्ने अठौट लिएँ, विदेश नजाने भएँ । तर नेपालमा के गर्ने ? मेरो अगाडि चुनौतिको पहाड थियो । मसँग पुँजी थिएन । भएको कम्पनी बन्द । ठूलो उद्योग चलाईसकेको व्यक्ति, सानो पसल खोल्ने कुरा पनि भएन । फ्याक्ट्री बन्द गर्नुपर्ला भनेर मैले कुनै दिन सोचेको पनि थिइन । श्रीमती ठूली छोरीसँग लण्डनमा नै थिइन् । सानी छोरी र म काठमाडौंमा । काम केही छैन । घरमै बस्यो, खायो, टिभी हेर्यो । मलाई डिप्रेशन भयो । यूरिक एशिड बढेछ । यूरिक एसिड कम गर्न कम्तिमा हिडडूल गर्नुपर्यो भनेर वाकिङ गर्न थाले । स्वास्थ्यलाई पनि फाइदा हुन्छ, समय बिताउन पनि सजिलो हुन्छ, साथीहरुसँग भेटेर गफ गर्दा डिप्रेशन पनि कम हुने । हरेक दिन ताहाचलदेखि मखन, इन्द्रचोकसम्म जान थालेँ । दैनिकी वाकिङमा बित्दै थियो । एक दिन रञ्जना गल्लीमा हिड्दै थिए । साथी सालिकराम अधिकारीलाई त्यहाँ भेटेँ । त्यही २० नम्बरको ब्रोकर छ ‘सिप्ला’ । पवन अग्रवाल, सालिकराम अधिकारी मेरा पुराना साथीले चलाएको ब्रोकर कम्पनी हो त्यो । त्यसदिन अघिसम्म म त्यो कम्पनीमा छिरोको पनि थिइन । केही कम्पनीको साधारण सेयर (आईपीओ) लिएको थिए तर ब्रोकर कम्पनीमा गएर सेयर किनबेच गरेको थिइन । करिव ६ वर्षअघिको कुरा हो म पहिलो पटक ब्रोकर कम्पनीमा छिरेँ । लगानीकर्ताहरु न्याउरो मुख लगाईरहेको देखेँ। त्यतिबेला नेप्से परिसूचक ११७५ अंकबाट घटेर ३२० मा झरेको रहेछ । बैंकहरुले मार्जिन कल गरिरहेको, कति लगानीकर्ता मोवाईलको स्वीच अफ गरेर बसिरहेको, बजार दिन दिनै घटिरहेको, सेयर प्रमाणपत्र भनेको कागजको खोस्टो मात्र रहेछ भन्ने लगानीकर्तालाई परिसकेको रहेछ । जे रेट पायो त्यहि रेटमा बेच्ने मनस्थितिमा लगानीकर्ता रहेछन् । माओवादीको सरकार थियो । ब्रोकर अफिसमा मनिटरको स्कीनमा सेयर बजार मैले हेरेँ । एनएमबी भनेको के हो ? एसबीआई भनेको के हो ? इवीएल भनेको के हो ? मलाई केही थाहा थिएन । मैले केही बुझिन । सेयर किन्ने आँट पनि भएन । वास्तवमा भन्नुपर्दा सेयर किन्नको लागि पैसा पनि थिएन । पछि बुझ्दै गए । मलाई सेयर बजारमा लगानी गर्न मन लाग्यो । ५÷६ सय कर्मचारी राखेर उद्योग चलाएको र ट्रेड यूनियन आन्दोलन कै करण उद्योग बन्द गर्नु परेकोले धेरै कर्मचारी राख्नु पर्ने उद्योग लगाउँदै लगाउँदिन भन्ने मनमा थियो । दोस्रो, सेयर बजारमा जति लगानी गरेपनि आफ्नै अध्ययन, आफ्नै क्षमता, आफ्नै निर्णयको आधारमा काम गर्न सकिने भएकोले मलाई सेयरमा लगानी उपयुक्त लाग्यो । मैले अलिकति बैंकबाट कर्जा लिए । पहिलो पटक सिद्धार्थ बैंकको सेयर किने प्रतिकित्ता २५० रुपैयाँमा । पछि मूल्य घट्र २३० भयो । प्रतिकित्ता २० रुपैयाँ घट्दा मलाई २०० रुपैयाँ मूल्य घटेको जस्तो महसुश भयो । त्यसपछि पुँजी बजारको बारेमा थप अध्ययन गर्न थालेँ । मेरो निष्कर्ष के भयो भने यतिबेला सेयर बजारमा लगानी गर्न उपयुक्त समय हो । मैले आफ्नो घर धितो राखेर बैंकबाट थप कर्जा लिएर लगानी गरेँ । सेयरमा लगानी गर्न थालेको ७ महिना भएको थियो । मेरी श्रीमती लण्डनबाट फर्केर काठमाडौं आइन् । उनी आएकै दिन दुबै जना टिभी हेर्दै थियौं । सेयर बजार धराशाही भएको समाचार टेलिभिजनमा आयो । उनलाई मेरो भतिजले फोनबाट भनेको रहेछ कि मैले सेयर बजारमा लागेको छु । सेयर बजार धरासाही भएको बेलामा किन सेयरमा लगानी गरेको भनेर उनी मसँग रिसाईन् । मलाई भतिज र साथीहरुले पनि गलत समयमा सेयरमा लगानी गरेको भनेर गाली गरेका थिए । त्यतिबेला मैले करिब ३५ लाख रुपैयाँ घाटा खाईसकेको थिए । घर र फ्याक्ट्री वाहेक मेरो सम्पत्ति केही थिएन । फ्याक्ट्र बन्द भयो । घर पनि बन्दकी राखेर कर्जा लिएर लगानी गरेको थिए । ‘हामी अब सडकमा पुग्ने भयौ’ भनेर उनी चिन्तित भईन । मैले भने ‘हेरा गायत्री, गार्मेन्ट फ्याक्टी चलाएर हामीले देशभर आफूलाई चिनाएका थियौं । यो उद्योगमा मैले ३५ वर्ष बिताए । तिमीले पनि २८ वर्षसम्म साथ थियो । तिम्रो मिहेनत र सहयोगप्रति म आभारी छु । आज हामीसँग उद्योग छैन तर हाम्रो इज्जत छ । उद्योग बन्द गर्दा पनि सबै कर्मचारीलाई खुशी बनाएर विदा गर्यो । कसैको कुभलो गरेको छैनौं । मेरो लाइफको पहिलो इन्डिङ गार्मेन्ट उद्योगमा भयो । अब म पुँजी बजारमा लागेँ । २/३ वर्षमा पुँजीबजारबाट मैले आम्दानी पनि गर्ने छु, यहि क्षेत्रमा नाम पनि कमाउने छु । नराम्रो तरिकाबाट होइन, राम्रो तरिकाबाट ।’ पुँजी बजारबारे अध्ययन गर्दै गएँ । लगानी बढाउँदै गएँ । पुँजीबजार बारे अहिले जस्तो प्राविधिक विश्लेषण, सेयर बजारबारे राम्रो विश्लेषण प्रकाशन हुने थिएन । नेप्से किन ११९५ पुग्यो, फेरी किन २९३ मा झर्यो ? स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सेयर मूल्य किन ९ हजार पुग्यो र ९ सय रुपैयाँमा झर्यो ? नविलको सेयर किन ६ हजार ६०० पुग्यो र ६०० रुपैयाँमा भर्यो ? त्यतिबेला सबै नेपालीले हचुवाको भरमा लगानी गरेका रहेछन् । इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको सेयर मूल्य २००० बाट झरेर ५६ रुपैयाँमा पुगेको थियो । धेरै कम्पनीको सेयर १०० रुपैयाँ भन्दा कम भयो । मैले के निष्कर्ष निकाले भने नेप्से ५०० भन्दा तल आउनु भनेको सेयरको मूल्य न्यूनतम भन्दा पनि कम हो । मैले त्यतिबेलाको राम्रो २८ वटा कम्पनीको वित्तीय अवस्थाबारे अध्ययन गरेँ । त्यसमा राम्रा १० कम्पनीहरुमा सेयरमा लगानी थपेँ । सेयरकर्जाको व्याज पनि १४/१५ प्रतिशतबाट झरेर ७/८ प्रतिशतमा आयो । त्यतिबेला मेरो लगानीको बुक भ्यालु ४० लाख भन्दा बढी नाफामा देखिएको थियो । मैले सम्भव भएसम्म बैंकबाट कर्जा लिएर लगानी विस्तार गरेँ । अहिलेसम्म मैले सेयर बेचेको छैन । किनकी आगामी वर्षहरुमा सेयर बजारको विकास धेरै राम्रोसँग हुँदैछ । नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड लगायत नियामक निकायले सुधारका नीतिहरु लिएका छन् । यसको लाभ लगानीकर्ताले नै पाउने हो । क्रमशः

वर्षकै उच्च माग हुने दिन पनि विजुली आपूर्ति नियमित, एक दशकदेखिको लोडसेडिङ अन्त्य

काठमाडौं । वर्षकै सबैभन्दा बढी विजुली माग हुने लक्ष्मी पूजाको दिने १४९९ मेगावाट खपत भएको छ । यस वर्षको लक्ष्मी पूजाको दिन सबैभन्दा बढी विजुलीको माग ६ बजेर ३५ मिनेटमा भएको थियो । उक्त समयमा १४९९ मेगावाट विजुली खपत भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । लक्ष्मी पूजाको दिन अधिक विजुलीको खपत ६ बजेदेखि ६ः३५ बजेसम्म भएको थियो । गत वर्ष लक्ष्मी पूजाको दिन बढीमा १४४४ मेगावटा विजुली खपत भएको थियो । वर्षेनी १०० मेगावाट विजुलीको माग बढ्ने गरेको र यस वर्ष १५५० मेगावाट विजुली माग हुने अनुमान सहित प्राधिकरणले लक्ष्मी पूजाको दिन लोडसेडिङ हुन नदिन विशेष तयारी गरेको थियो । अधिक माग हुने समयमा प्राधिकरणले उद्योगहरु बन्द गर्न र ठूला होटलहरुलाई डिजेल जेनेरेटर चलाउन आग्रह गरेको थियो । ‘उद्योगभित्र पनि बत्ती बालेर पूजा गर्न विजुल िआपूर्ति नियमित गरेका थियौं, पूजाको समयमा उद्योग नचलाउन भनिएको थियौ । राजधानीको ठूला होटललाई जेनेरेटर चलाउन आग्रह गर्यौ । सबैको सहयोग पनि भयो’ अधिकारीले भने–‘गत वर्ष लक्ष्मी पूजाको दिन काठमाडौंमा मात्र लोडसेडिङ भएको थिएन, यस पटक देशभर नै हामी देशभर नै लोडसेडिङ हटाउन सफल भयौं ।’ पूरा क्षमता प्रयोग भएन लक्ष्मी पूजाको दिन भारतबाट ४१५ मेगावाट विजुली आयात गर्ने योजना थियो । तर माग कम भएपछि प्राधिकरणले भारतबाट ३५५ मेगावाट मात्र आयात गरेको अधिकारीले बताए । त्यस्तै कुलेखानी जलविद्युत आयोजनाबाट ९्२ मेगावाट विजुली उत्पादन गर्ने योजना बनाएकोमा ५६ मेगावाट मात्र उत्पादन गरिएको थियो । लक्ष्मी पूजाको दिन लोडसेडिङ हुनु नदिन प्रतिवद्ध प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङसहितमा उच्च व्यवस्थापकहरु राती ११ बजेसम्म फिल्डमा खटिएका थिए । सम्भावित प्राविधिक गडबढीलाई तत्काल समाधान गर्न प्राधिकरणका सबै प्राविधिकहरु आ–आफ्नो क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन गरिएको थियो । एक दशकसम्म दैनिक १२ देखि १८ घण्टासम्म लोडसेडिङको पीडा भोगेका नेपालीहरुको लागि लोडसेडिङ नहुनु भनेको ठूलो समस्याबाट उन्मुक्ति पाउनु हो, अध्यारो हटेर उज्यालो फैलनु हो । तिहारमा लोडसेडिङ नहुनुलाई वर्षभरी नै लोडसेडिङ नहुने संकेतको रुपमा हेरिएको छ । लोडसेडिङ नहुँदा आर्थिक वृद्धिमा समेत उल्लेख्य योगदान मिल्ने छ ।