तरकारी किन्न बजार जाने झन्झट सकियो, अब १ क्लिकले भान्छामै आइपुग्छ अर्गानिक तरकारी
काठमाडौं । तपाईंलाई तरकारी किन्न बाहिर जान समय छैन, वा अल्छि लाग्छ भने चिन्ता नलिनुस् । तपाईंको एक क्लिकमा घर बसी बसी ताजा र अर्गानिक तरकारी भान्छामा आइपुग्छ । तपाईंले अनलाइनबाटै आफुलाई चाहिएको तरकारी अर्डर गर्नसक्नुहुन्छ । आजभोलीको व्यस्त जीवनशैलीमा समयको बचत गर्न चाहने र अर्गानिक खानपीन रुचाउनेका लागि यो सुविधा उपयोगी छ । विभिन्न जिल्लाका अर्गानिक कृषि फार्मसँगको सहकार्यमा ग्रिनग्रोथले अनलाइनमार्फत तरकारी बेचिरहेको छ । तरकारी मात्र होइन यसले जुम्लाको रातो चामल, मुस्ताङको स्याउ, इलामको चिया अनि सिन्धुलीका ताजा अर्गानिक जुनार समेत अनलाइनबाट अर्डर लिएर ग्राहकलाई होम डेलीभरीसहितको सुविधा दिइरहेको छ । ग्रिनग्रोथले अर्गानिक तरकारी र फलफुल मात्र बिक्री गर्दे आएको छ । यसरी आयो यस्तो सोच आफ्नो व्यापारलाई इन्टरनेट तथा गुगल म्यापमा कसरी राख्न सकिन्छ भनी तालिम दिने क्रममा व्यवसायी सौरभ ढकाल जुम्लामा पुगेका थिए । प्रविधि र सञ्चारलाई जोडेर जीवनलाई कसरी सहज बनाउन सकिन्छ भनेर प्रशिक्षण दिइरहेका ढकाललाई त्यहाँका स्थानीयले व्यवहारमा कसरी उतार्न सकिन्छ ? भन्ने प्रश्न गरेका थिए । ’सहभागीबाट यस्तो प्रश्न आएपछि सैद्धन्तिक ज्ञान दिइरहेका हाम्रा लागि सच्चिकै च्यालेन्ज थियो,’उनी भन्छन् । स्थानीयले तालिममा त्यहाँ उत्पादित चामलको बजार खोजिदिनुपर्यो भनेका थिए । जुम्लाका किसानले बजार नपाएका बेला नयाँ मोडेलबाट व्यवसाय गर्ने उनले सोचाइ बनाएका थिए । यसैक्रममा काठमाडौंमा ल्याइएका चामलका बोरालाई उनीहरुले पहिलोपटक आफ्नो फेसबुक तथा ट्विटरमा फोटो खिचेर प्रचार गरेका थिए । अनलाइनमा राखेको फोटाको माध्यमले चामल बिक्री भएपछि उनलाई अनलाइन व्यापारको गर्ने सोचाइ आएको उनी बताउछन् । सन् २०१५ मा योजना बनाएका उनीहरुले यसलाई गतवर्षदेखि संस्थागतरुपले सञ्चालनमा ल्याएका हुन् । कति छन् दैनिक ग्राहक ? अहिले ग्रीनग्रोथका ३५० जना ग्राहक छन् । सातामा करिब डेढ लाख रुपैयाँ बराबरको अर्गानिक तरकारी, फलफुलको कारोबार भइरहेको ढकालले जानकारी दिए । साता २० देखि ३० जनाको हाराहारीमा उपभोक्ताले ग्रिनग्रोथमा तरकारी लिन अर्डर गर्ने गर्छन् । अहिले ग्रीन ग्रोथले काठमाडौ उपत्यकामा ४ सय ग्राहकलाई तरकारी र फलपुल अनलाइनबाटै आपूर्ति गरिरहेको छ । १ हजार रुपैयाँ भन्दा कम मूल्य बराबरको सामानको डेलिभरीका लागि ५० रुपैयाँ तिर्नुपर्छ । सो भन्दा बढीको डेलिभरी निःशुल्क गरिएको छ । ग्रिनग्रोथका सिन्धुपाल्चोक, रसुवा जुम्ला इलाम गरी ९ वटा पार्टनर फार्म छन् । उनले भने, ‘हामीले हरियो तरकारी काभ्रेको पातले गाँउ अर्गा्निक फार्मबाट ल्याउँछौं ।’ यसरी गर्नुपर्छ अर्डर ग्राहकले वेबसाइटमा गएर आफ्नो रोजाइ अनुसारका सामान खरिद गर्न सक्छन् । अनलाइन फारममा नाम, ठेगाना, फोन नम्बर, इमेल र डेलिभरीका लागि चाहिने दिन सहित भरेर पठाउनुपर्छ । ग्रिनग्रोथले सोमबार, बुधबार र शनिबार मात्र सामानको डेलिभरी गर्छ । ताजा तरकारी डेलिभरी गर्नुपर्ने भएकाले हप्तामा तीनदिनमात्र डेलिभरी सुविधा राखेको ढकालले बताए । उनले भने, ’हामीले सामान डेलिभरी गर्नुपूर्व नियमित ग्राहकलाई फोन गरेर अर्डर लिन्छौं । तपाईंले आइतबार अर्डर गर्नुभयो भने सोमबार डेलिभरी हुन्छ तर सोमबार अर्डर गरेमा बुधबार मात्र तरकारी आइपुग्छ ।’ तरकारीको मूल्य यहाँको तरकारीको मूल्य कालीमाटीको बजार भन्दा महँगो छ तर त्यहाँको तरकारी जस्तै रसायन नभएको ढकाल दाबी गर्छन् । उनले भने, ’हाम्रो अर्गानिक तरकारीलाई बजारको रसायनयुक्त तरकारीलाई दाज्न मिल्दैन । तर बजारका अरु अर्गा्निक तरकारी भन्दा ग्रिनग्रोथको तरकारी सस्तो छ । हाम्रोमा बिचौलिया र संचालन खर्च कम छ ।’ उनले २० प्रतिशत मात्र नाफा लिने गरेको जानकारी दिए । जुम्लाबाट स्याउ आपूर्ति गर्दा काठमाडौसम्म ल्याउदा किसानले नै भाउ तोक्ने गरेको बताउदै उनले त्यसमा २० प्रतिशत थपेर बिक्रीवितरण गरिरहेको जानकारी दिए । पैसा कसरी तिर्ने ग्रिनग्रोथमा तरकारी अर्डर गर्ने बित्तिकै पैसा तिर्नुपर्दैन । नियमित ग्राहकलाई महिनावारीरुपमा बिल तिर्ने व्यवस्था मिलाइएको छ । कसरी हुन्छ डेलिभरी हामीले उपभोक्ताले अनलाइनबाट पठाएको अर्डरको सूचीलाई टिपेर फार्ममा पठाउछौं । फार्म धनीले तरकारीको सूची हेरी तरकारी टिपेर काठमाडौं पठाउँछन् । त्यसलाई डालोमा हालेर ग्राहकमाझ पुर्याउने गरेको ढकालले बताए । ग्रीन ग्रोथको टिममा ६ जना छन् । ’तरकारी बाहेक स्टकमा राख्न मिल्ने सामानलाई एकमुष्ट लिएर आउछौं र अर्डर अनुसार तत्काल बिक्री गर्न सक्छौं,’ उनले भने । ग्रीन ग्रोथले आपूर्ति गर्ने तरकारी ’अर्गानिक’ नै छन् ? ग्रिन ग्रोथले तरकारी सप्लाई गर्ने फार्मलाई अर्गा्निक सर्टिफिकेसन नेपाल (ओसिएन)ले अर्गा्निक भएको प्रमाणित गरेको छ । यसरी अर्गानिक प्रमाणपत्र प्राप्त गर्ने ग्रिनग्रोथ नेपालकै पहिलो कम्पनी भएको ढकालको दाबी छ । ग्रिनग्रोथले शत प्रतिशत रसायन रहित तरकारी उत्पादनलाई प्राथमिकतामा राखेको उनले बताए । ग्रीन ग्रोथको भावी योजना ग्रिन ग्रोथले आफ्नो सेवालाई विस्तार गरी उपत्यकाका तीनवटै जिल्लामा आउटलेट खोल्ने योजना बनाएको ढकालले जानकारी दिए । त्यस्तै नयाँ एप निर्माण गरेर एपबाटै लग इन गरेर अर्डर गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । उनले भने, ’माग अनुसार सेवालाई विस्तार गर्दै लैजाने रणनिती छ ।’
६ जिल्लाका भूकम्प पीडितले काठमाडौंमा घर बनाउन पाउने, सात जिल्लाले नपाउने
काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका पीडितहरुले सरकारी अनुदानबाटै काठमाडौंमा घर बनाउन पाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको असोज २४ गतेको बैठकले सरकारी अनुदानबाट छिमेकी जिल्लामा घर बनाउन पाउने सुबिधा दिएको हो । यो सुबिधा अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये ७ जिल्लाका पीडितहरुले काठमाडौंमा घर बनाउन पाउनेछन् । सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, भक्तपुर र ललितपुरका भूकम्प पीडितले काठमाडौंमा घर बनाउन पाउनेछन् । गोरखा, रसुवा, सिन्धुली, दोलखा, काभ्रे, रामेछाप र ओखलढुंगाका भूकम्प पीडितले भने काठमाडौंमा घर बनाउन पाउने छैनन् । ‘सिमाना जोडिएको छिमेकी जिल्लामा सरकारी अनुदान लिएर घर बनाउन पाउने व्यवस्था गरेका हौं, बसाईसराईको संख्या धेरै बढ्ने देखिएपछि छिमेकी जिल्लामा मात्रै घर बनाउन पाउने निर्णय गराएका हौं’, पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । पुरानो घर भएको जिल्ला र नयाँ घर बनाउने जिल्ला बिचको समन्वयका आधारमा सरकारी अनुदान प्रयोग गरेर घर निर्माण प्रक्रिया अघि बढाउन सकिनेछ । ‘कुन बैंकबाट रकम लिने हो र कुन प्राबिधिकले घरको प्राबिधिक जाँच गर्ने हो भन्ने एकिन गर्नुपर्छ, यो दुई जिल्लाबिचको समन्वयले निर्धारण गर्छ’, प्राधिकरणका प्रवक्ता भुषालले भने । उनले बसाई सराईको अत्याधिक चाप हुने देखिएपछि छिमेकी जिल्लामा मात्रै घर सार्न पाउने व्यवस्था गरिएको स्पष्ट पारे । हालसम्म ६ लाख ४० हजार ८ सय ९ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ भने ६ लाख १ १५ हजार ४ सय ४७ परिवारले पहिलो किस्ता वापतको रकम लिएका छन् । दोश्रो किस्ता लिने भुकम्प पीडितको संख्या ८० हजार ४ सय ४१ पुगेको छ भने ८ हजार ५ सय ६२ परिवारले तेश्रो किस्ताको रकम पनि लिईसकका छन् । हाल १ लाख ४० हजार २ सय ४२ घर निर्माण भैरहेका छन भने ५७ हजार ७८ घर निर्माण सम्पन्न भैसकेका छन् ।
नेपाल बायु सेवा निगममा १०६ जनालाई जागिर खुल्यो
काठमाडौं । नेपाल बायुसेवा निगमले १०६ जनाका लागि जागिर खुलाएको छ । निगमले आइतबार सार्वजनिक सूचना निकालेर बिभिन्न पदमा १०६ जनाका लागि दरखास्त आव्हान गरेको हो । निगमले असोज २९ गतेदेखि २१ दिनभित्र कार्यालय समयमै निगम केन्द्रिय कार्यालमा आवेदन दिन सकिने जनाएको छ । महिला, खुल्ला, दलित, जनजाति, पिछडिएको क्षेत्र, अपांग लगायतको समावेशी कोटामा जहाज मर्मतदेखि प्रशासन अधिकृतसम्मका लागि दरखास्त आव्हान गरेको हो । प्लस टु र सिटिइभीटीबाट प्राबिधिक बिषय अध्ययन गरेकाहरुले आवेदन दिन सक्नेछन् । लोक सेवा आयोगको सहभागीतामा लिखित परिक्षा लिइनेछ । चौथो र पाँचौं तहमा आवेदन दिनेले ५ सय रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ भने छैठौं र सातौँ तहमा आवेदन दिने ७ सय रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ । एक भन्दा बढि समुहमा आवेदन दिँदा चौथो र पाँचौं समुहकाले थप २५० र छैँठौं र सातौँ समुहकाले ३५० रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ ।