त्रिशुली ३ बी आयोजनामा लगानी जुट्यो, नविल बैंकको अगुवाइमा ६ अर्ब ऋण लगानी हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको साझेदारीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाले लगानी जुटाएको छ । नविल बैंकको अगुवाईमा नेपाल बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटड र नागरिक लगानी कोषले सहवित्तीयकरण अन्तर्गत ६ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् । बैंक र प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटडेबीच ऋण लगानी गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको प्रवन्ध सञ्चालक मोहन गौतमले बताए । उनले ऋण सम्झौताको तयारी भइरहेको जानकारी दिए । दशैअघि नै त्रिशुली र विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । पीपीए भएपछि बैंकले लगानी गर्न सहमत जनाएका हुन् । लगानी जुट्ने भएपछि आयोजना बन्ने निश्चित भएको छ । विस्तृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । योजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको गौतमले जानकारी दिए । ‘अहिले आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटको काम गरिरहेका छौं’,उनले भने ‘पुसबाट काम सुरु गरी ३ वर्ष भित्रमा सक्ने लक्ष्य राखेका छौं ।’ विद्युत प्राधिकरणसंग भएको पीपीएअनुसार आयोजनाबाट सुख्खायाममा अर्थात मंसिर १६ देखि जेठ १५सम्म १३ करोड ४८ लाख ८० लाख गिगावाट र वर्षायाममा अर्थात जेष्ठ १६ देखि मंसिर १५ सम्म १५ करोड ७७ लाख १० हजार युनिट बिजुली विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमश: ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना एक्सिडेन्टल फलो (क्यु) ७० मा डिजाइन गरिएकाले वर्षको ७ महिना आयोजना पुर्ण क्षमतामा सञ्चालन हुनेछ । आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि एको क्यास्केड आयोजना हो ।  

नेपाली काँग्रेसले वृद्ध भत्ता मासिक १० हजार बनाउने, एमालेले उमेर हद घटाउने

काठमाडौं । नेपाली काँग्रेसले वृद्ध भत्ता मासिक प्रतिव्यक्ति १० हजार पुर्याउने भएको छ । काँग्रेसका प्रवत्ता समेत रहेका गगन थापाले बीबीसीको साझा सबालमा बोल्दै भनेका छन्–नेपाली काँग्रेसले आगामी निर्वाचतको तयार गर्दै गरेको घोषणा पत्रमा वृद्धि भत्ता मासिक प्रति व्यक्ति १० हजार पुर्याउने निर्णय गरिसकेको बताए । ‘ मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले बनाउने घोषणा पत्रको मस्यौदामा लेखिसकेको छ, त्यो हट्दैन, घोषणापत्र सँगै त्यो सार्वजनिक हुन्छ’ उनले भने । सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका नेतृ विन्दा पाण्डेले एमालेको घोषणापत्रमा वृद्धवृद्धाको भत्ताको लागि उमेर कम गर्ने तयारी भएको बताइन् । “वृद्ध भत्ता दिने काम गलत थियो, तर अहिले त्यसैका भरमा एमालेले भोट बढाईरहेको छ, त्यसैले अब काँग्रेसले वृद्ध भत्ता र वेरोजगार भत्ता १० हजार पुर्याउने सोँच बनाएको हो,” युवा नेता थापाले भने । “जनता विदेशी लगानी ल्याउछौ, उद्योग खोल्छौ र ठूलो संख्यामा रोजगारी दिन्छौ भन्दा विश्वास गर्दनन्” उनले भने “वृद्धभत्ता बढाउछौ र वेरोजगार भत्ता दिन्छौ भन्दा जनता दङ परेर भोट हाल्छौ भन्ने हामीले किन १० हजार भत्ता नदिने ? । उनले भने “आउने योजनामा हामी १० वृद्ध र वेरोजगारलाई १० हजार रुपैयाँ भत्ता दिने योजना ल्याउदै छौ । यस्तो प्रतिस्पर्धा गलत भएको बताउदै दार्चुलामा गएको बेला पनि यस्तै भएको भन्दै उनले वृद्ध भत्ता ५, हजार पुर्याउछौ ताली १० हजार पुर्याउछौ भन्दा ताली बज्ने गरेको बताए । एउटा ठूलो उद्योगले दिने रोजगारी भनेको ३ हजार भएको बताउदै नेता थापाले वर्षका ४ लाख नयाँ वेरोजगारलाई रोजगारी दिन खर्बो रुपैयाँ लगानी आवश्यक पर्ने बताए । “वृद्ध भत्ता बढाउछु, वेरोगारीलाई भत्ता दिन्छु, शैक्षिक प्रमाणपत्र राखेर ऋण दिन्छु भन्द जनताले भोट दिन्छन भने हामीले किन नदिने ?” उनले भने “हामीले पनि यसपाली ल्याउदै छौ ।” कम्यूनिष्टहरुले ६० वर्षमाथि उमेर पुगेका वृद्ध वृद्धालाई गोलि हानी मार्छन भनेर नेपाली काँग्रेसले २०४८ साल र २०५१ सालको निर्वाचनमा प्रचार गरेको थियो । पछि नेकपा एमालेले सत्तामा पुगेपछि नेपालमा पहिलो पटक वृद्धि भत्ता वितरणको नीति लिएको थियो । तत्कालिन एमाले सरकारले २०५१ सालमा वृद्धवृद्धालाई मासिक एक सय भत्ता दिन सुरु गरेको थियो । हाल वृद्ध वृद्धाहरुले मासिक २ हजार भत्ता पाउँदै आएका छन् । यतिबेला वृद्ध भत्तालाई राजनीतिक दलहरुले भोट बढाउने अस्त्रका रुपमा उपयोग गर्दै आएका छन् ।

केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्चस्तरिय चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गको निर्माण सम्बन्धी छलफल गर्न उच्चस्तरिय चिनियाँ टोली नेपाल आउने भएको छ । चीन सरकारले नेपालसँग भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्र्ग निर्माणका लागि छलफल गर्न यसै साता आफ्नो उच्चस्तरिय प्रतिनिधी मण्डल नेपाल पठाउन लागेको हो । यो पनि पढौं-अघि बढ्यो केरुङ-काठमाडौं रेल, रसुवागढी यात्रा एक घण्टामै प्रतिनिधी मण्डलमा चिनियाँले आफु रेल निर्माणबारे छलफल गर्न नोभेम्बर पहिलो साता नेपाल आउने भएकाले आवश्यक सुरक्षा लगायतको प्रबन्ध मिलाउन दुतावास मार्फत पत्र पठाएको हो । ‘दुई सरकारबिच भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरिय चिनियाँ प्रतिनिधी मण्डल एक साता भित्रै नेपाल आउने भनेर खबर आएको छ, हामी आवश्यक तयारी गरेर बसेका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । गत साउन ३१ गते नेपाल भ्रमणमा आएका चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा तत्कालिन अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी हस्ताक्षर गरेका थिए । २०७२ साल चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । उपाध्यायका अनुसार चिनियाँ प्रतिनिधी मण्डलसँग केरुङ–काठमाडौं रेलमार्ग रेलमार्ग निर्माण सम्बन्धी ठोस सम्झौतामा हस्ताक्षर गरेर अध्ययन आरम्भ गर्ने सम्भावना रहेको छ । ‘चीन सरकारले प्राबिधिक सहितको टोली आउने खबर पाएका छौं, हामी पनि तयारीका साथ प्रस्तुत हुन्छौं, सम्भाव्यता अध्ययन अघि बढाउनका लागि सम्झौता हुन सक्छ’, उपाध्यायले भने ।