१० कम्पनीको १ अर्ब २२ करोडको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता

काठमाडौं । आर्थिक वर्ष ०७४/०७५ सुरु भएयता धितोपत्र बोर्डमा १० कम्पनीको बोनस सेयर दर्ता भएको छ ।हालसम्म १ अर्ब २२ करोड ३३ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ३३ हजार ४३० कित्ता बोनस सेयर दर्ता भएकोे बोर्डले जानकारी दिएको छ । बोर्डमा दर्ता भएका कम्पनीमा सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंकको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको छ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ४० लाख रुपैयाँ बराबरको ४४ लाख र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार कित्ता बोनस सेयर बोर्डमा दर्ता भएको छ । यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ करोड १२ लाख ९ हजार ९ सय र मिसन डेभलपमेन्ट बैंकको ४ करोड २८ लाख ८३ हजार ५ सय रुपैयाँको बोनस सेयर दर्ता भएका छन् । यी मध्ये अधिकाँशको बोनस सेयर नेपाल स्टक एक्चेन्ज लिमिटेडमा कारोबारका लागि सुचिकृत भएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन गत आवको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । अन्य कम्पनीको बोनस सेयर दर्ता हुने क्रममा रहेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रका गरी १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता गरेको छ । बिहिबार बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य वृद्धिको निर्णय फिर्ता गरेको निगमका प्रवक्ता बिरेन्द्र गोइतले विकासन्युजलाई जानकारी दिए ।’ बिहान १० बजेबाटै मूल्य वृद्धिको निर्णय फिर्ता भएर पुरानै मूल्य काम गर्ने निर्णय निगम सञ्चालक समितिले गरेको छ’, निगमका प्रवक्ता गोइतले भने ।   बुधबार साँझ मात्रै निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मूल्य बढाउने निर्णयबाट निगम पछि हटेको हो । निगमले बुधबार पेट्रोलमा प्रतिलिटर २ रुपैया मूल्य बढाएको थियो ।  डिजेलमा एक रुपैयाँ ५० पैसा बढाएर प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुर्याएको थियो । त्यस्तै, खाना पकाउने ग्यासको भाउ २५ रुपैंयाँ बढाएर प्रतिसिलिन्डर १ हजार ३५० रुपैयाँ पुर्याएको थियो । निर्वाचनका मुखमा मूल्य वृद्धि जस्तो अलोकप्रिय निर्णय गर्न नहुने भन्दै प्रधानमन्त्री  देउवाले निगम सञ्चालक समितिलाई तत्काल मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि नै बिहिबार बिहान बसेको निगम सञ्चालक समितिले मूल्य वृद्धिको निर्णय फिर्ता गरेको हो ।  

आयल निगमले इन्धनको भाउ बढायो, ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनको भाउ बढाएको छ । निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ बढाएको हो । समायोजन गरिएको नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १ सय रुपैयाँ पुगेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैया मूल्य बढाएको छ । खाना पकाउने ग्यासको भाउ पनि बढको छ । ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १ हजार ३५० रुपैयाँ पुगेको छ । ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ । डिजेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेलमा एक रुपैयाँ ५० पैसा बढेको छ ।मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुने  निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । इन्यिन आयल कर्पोरेसन लिमिटेड (आइओसी)ले पठाएको नयाँ मूल्यअनुसार भाउ वृद्धि भएको गोइतले  बताए । आइओसीले अंग्रेजी महिनाअनुसार एक र १६ तारिकमा नयाँ मूल्य सूची पठाउँछ । नयाँ मूल्य राती १२ बजेदेखि लागु हुने छ । नयाँ मूल्यअनुसार पेट्रोलमा लिटरमा ५.५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको गोइतले जानकारी दिए ।