कार्यालय प्रयोजनबाहेक बाणिज्य बैंकका कर्मचारीलाई इन्टरनेटमा बन्देज
काठमाडौं । सूचना प्रविधि (आईटी सेक्युरिटी) सुरक्षाको कारण देखाउँदै बाणिज्य बैंकहरुले कर्मचारीलाई कार्यस्थलमा इन्टरनेट प्रयोगमा रोक लगाएका छन् । ह्याकरले स्वीफट ह्याक गरी एनआईसी एसिया बैंकबाट करोडौ रुपैयाँ चोर्ने प्रयास गरेपछि सुरक्षा जोखिम देखाउदै सबै बैंक व्यवस्थापनले कर्मचारीलाई कार्यालयको काम बाहेक अन्य इन्टरनेट सेवा चलाउन नपाउने व्यवस्था गरेका हुन् । कर्मचारीको कामको प्रकृति हेरेर आवश्यकता अनुसार मात्रै इन्टरनेटमा पंहुच दिइएको छ । केही बैंकले यसअघि नै कर्मचारीलाई इन्टरनेटको पंहुच बाहिर राखेका थिए । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि भने अधिकांश बाणिज्य बैंकहरुले कडाई गरेका हुन् । बैंकका कर्मचारीले फेसबुक, ट्विटर, यूट्युव लगायतका सामाजिक सञ्जाल र इमेल तथा गुगल जस्ता सर्च इञ्जिन प्रयोगमा बन्देज गरिएको छ । सीमित व्यक्तिलाई मात्र इन्टरनेट सुविधा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले स्वीकार गरेका छन् । बैंकले काम सकिएपछि रात्रीकालिन समयमा दैनिक १२ घण्टासम्म स्वीफ्ट प्रणाली बन्द (डाउन) गरिरहेका छन् । स्वीफ्ट ह्याकको संभावना रहेको भन्दै यसको प्रणालीलाई राती डाउन गर्न थालिएको हो । कर्मचारीलाई कार्यलयको काम बाहेक अन्य काम गर्न इन्टरनेट सुविधा बन्द गरिएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परर्शुराम क्षेत्री बताउँछन् । साइबर ह्याक बढ्दै गएकाले सुरक्षाका लागि इन्टरनेट पंहुच हटाइएको उनको भनाई छ । आवश्यकताअनुसार कार्यालयको काम परेमात्र लिंक दिने गरेको क्षेत्रीले जानकारी दिए । ‘साइबर सेक्युरटीको जोखिम बढेपछि इन्टरनेट प्रयोगमा कडाई र निगरानी गरेका हौं’, जनता बैंकका सिइओ क्षेत्रीले भने । माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठले पनि एनआईसी एसियामा ह्याक भएपछि सुरक्षाको कारण कर्मचारीलाई इन्टरनेट पंहुच बन्द गरिएको बताए । सुरक्षाका कारण कर्मचारीलाई कार्यालय प्रयोजन बाहेक अन्य कामका लागि इन्टरनेट चलाउन नसक्ने व्यवस्था गरिएको उनको भनाई छ । मेल पठाएर ह्याकरले प्रणालीलाई ह्याक गरी पैसा चोर्नेलगायत जाेखिम देखिएपछि इन्टरनेट सुविधा नदिएको श्रेष्ठ बताए । आवश्यक व्यक्तिले बैंकको सफटवेयर मात्र सञ्चालन गर्न पाउने छन् । उनले बैंक डिजिटल डाटा सुरक्षा जटिल बन्दै गएकाले पंहुचमा कडार्इ गर्नु परेकाे बताए । धेरै अघिदेखि कर्मचारीलाई इन्टरनेट सेवा बन्द गरिएको स्ट्याण्डर्ड चाटर्ड बैंकका ब्राण्ड तथा संस्थागत मामिला प्रमुख दीवाकर पौडेल बताए । “हामी ग्लोबल प्रणालीअनुसार सञ्चालन हुने भएकाले सोही अनुसार बैंकिङ सुरक्षा प्रणाली रहेको छ” उनले भने “बैंकमा कुनै पनि कर्मचारीले इन्टरनेट प्रयोग गरेर फेसवुक, ट्विटर, गुगल र इमेल खोल्न सक्दैनन् ।” ग्लोबल आइएमई बैंकका सीईओ जनक शर्माले पनि बैंकले सुरक्षा प्रणालीलाई अझ मजबुत बनाएको बताए । विकासन्युजसंग कुरा गर्दै उनले आइटी सुरक्षामा बैकले जोड दिएको बताए । एनआईसी एसियाका सीईओ लक्ष्मण रिसाल आईटीको प्रयोग गर्दा यसको जोखिम, डिजिटल डाटाको सुरक्षाको बारेमा होसियार र चनाखो हुनु पर्ने बताउँछन् । ‘अपरिचित इमेल नखोल्न, आए त्यसलाई डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन कर्मचारीसलाई निर्देशन दिएका छौं’, रिसालले भने । राष्ट्र बैंकले बैंकलाई आईटी सुरक्षाको तालिम दिने आइटी प्रणालीको सुरक्षा कमजोर भएको भन्दै नियामक नेपाल राष्ट्र बैंकले आइटी सुरक्षाको जानकारी गराउने भएको छ । साइबरमाथिको जोखिम बढ्दै गएपछि राष्ट्र बैंकले आइटी विज्ञलाइ ल्याएर सुरक्षाको बारेमा जानकारी गराउन लागेको हो । यसका लागि राष्ट्र बैंकले काम थालेको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । एक महिनाभित्र बैंकका आइटी अधिकारीलाई तालिम दिने उनले जानकारी दिए । राष्ट्र बैंकले आइटीको विषयमा पहिला नै निर्देशिका ल्याइसकेको उनले बताए ।
एनआईसी एशिया बैंकमा झै स्वीफ्ट सर्भर ह्याक जुनसुकै बैंकमा हुनसक्छ-लक्ष्मण रिसाल
लक्ष्मण रिसाल-प्रमुख कार्यकारी अधिकृत, एनआईसी एशिया बैंक लिमिटेड एनआईसी एशियाको स्वीफ्ट सर्भर ह्याक र पैसा चोरी भएको विषयले सञ्चार माध्यममा महत्वपूर्ण स्थान पायो । तर बैंकले औपचारिक रुपमा यो विषयमा कुनै प्रतिक्रिया जनाएन नि, किन ? यो विषयमा हाल अनुसन्धान भईरहेको छ । विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ । अझै एक÷दुई हप्तापछि मात्र वास्तविक रिपोर्ट आउने विज्ञहरुले बताउनु भएको छ । कसरी र कहाँबाट भयो ? भन्ने विषय बस्तुपरक तथ्य विज्ञहरुको अनुसन्धान रिपोर्टमा आएपछि मात्र बैंकले बोल्न उपयुक्त हुन्छ । अनुसन्धान भईरहेको विषयमा बैंकले अहिले नै बोल्न उपयक्त हुन्न भन्ने हाम्रो धारणा हो । तर समयमा नै थाहा पाएर तत्काल एक्सन लियौं । त्यसैले भुक्तानीका अर्डरहरु मध्ये अधिकांशलाई रोक्न वा पैसा फिर्ता गराउन हामी सफल भएका छौं । ह्याकरले कति रकम निकाल्ने प्रयास गरेको रहेछ ? कति रकम चोरी भयो ? त्यसमा ३१ वटा एटेम्ट (प्रयास) भएको देखिन्छ । ९ वटा प्रयासलाई हाम्रो आफ्नै सफ्टवेयरले रोकेको छ । २२ वटा भुक्तानी अर्डर नै भएको देखिन्छ । २२ वटामध्ये १२ वटा अर्डर रोक्न हामी सफल भएका छौं । दुई वटाको भुक्तानी भईसकेको पनि फिर्ता भयो । बाँकी अर्डरबाट भुक्तानी भएको करिव ६ करोड रुपैयाँ छ त्यो रकम पनि फिर्ता गराउने प्रयास जारी छ । ह्याकरले गरेको ३१ वटा प्रयास कहाँबाट भएको देखिन्छ ? बैंकभन्दा बाहिरबाट भएको छ । कुन ठाउँबाट भयो भन्ने विषयमा विज्ञहरुले सुक्ष्म अध्ययन गरिरहनु भएको छ । ३१ वटा भुक्तानी अर्डरबाट कति रकम भुक्तानी चोरी गर्ने खोजिएको रहेछ ? करिव ४६ करोड रुपैयाँको अर्डर भएको रहेछ । यो फिगर हामीले राष्ट्र बैंकलाई दिएका थियौं, राष्ट्र बैंक मार्फत पत्रपत्रिकामा प्रकाशित नै भएको छ । हाम्रो सफटवेयरले ९ वटा अर्डर रोक्दा १२ करोड रुपैयाँ रोकियो । ३४ करोड रुपैयाँ भुक्तानी अर्डर बाहिर गएकोमा करिव २८ करोड रुपैयाँ भुक्तानी रोक्न हामी सफल भयौं । मोटामोटी ६ करोड जति बाँकी छ । केही फिर्ता प्रक्रियामा छ । कति रकम गुम्ने नै भयो ? यति नै भन्न सकिने अवस्था छैन । ६ करोड भुक्तानी भईसकेको देखिएको छ । त्यो रकम पनि फिर्ता गराउने प्रयास हुनेछ । ह्याकरले स्वीफ्ट सर्भर अक्रमण गरेको र पैसा चोरी भईरहेको जानकारी बैंकले कसरी जानकारी पायो ? लक्ष्मी पूजाको दिनको कुरा हो । सार्वजनिक विदा भए पनि बैंकको केही अर्जेन्ट (जरुरी) भुक्तानी गर्नु पर्ने भएकोले साथीहरु बैंकमा आउनु भएको थियो । त्यतिबेला स्वीफ्ट सर्भर चलेन । हेर्दै गर्दा सर्भर क्र्यास गराइएको भेटियो । त्यसपछि स्वीफ्ट सर्भरको सर्पोट लियौं र अर्को सर्भरमा रिस्टोर गर्यौं । रिस्टोर भएपछि हेर्दा शंकास्पद कारोबार देखियो । हामीलाई नै शंकास्पद लागेपछि अनुसन्धान शुरु भएको हो । स्वीफ्ट सर्भर कसरी ह्याक गरियो ? प्रारम्भिक जानकारीहरु के छन् ? यूजर नेम र पासपोर्ट चोरी भएको देखिएको छ । त्यो पनि मालवेयरबाट चोरी भएको देखिन्छ । त्यो भनेको ह्याकरले कुनै इमेल पठाउँछ, त्यो इमेल खोल्ने बित्तिकै यताको सूचनाहरु अटोमेटिक उता जाने हुँदो रहेछ । त्यसमा शंका छ । बास्तविक कुरा त अनुसन्धान रिर्पोटमा आउला । पासपोर्ट चारी हुनुमा बैंकका कर्मचारीको संलग्नता देखिन्छ कि देखिन्न ? यो विषयमा अहिलेसम्म कुनै रिपोर्ट आएको छैन । यो घट्नाबाट बैंकले के सिक्यो ? सिक्ने कुरा धेरै छन् । एनआईसी एशियामा जुन घट्ना भयो त्यो नेपालका र संसारका कुनै पनि बैंकमा हुन सक्ने घट्ना हो । एनआईसी एशियामा भएको एक हप्तापछि ताईवानमा पनि यस्तै घट्ना भयो । सूचना प्रविधि अर्थात आईटीको प्रयोग हामी सबै गर्छौ तर यसको जोखिमबारे, डिजिटल डाटाको सुरक्षाको बारेमा हामी जति होसियार, चनाखो हुनु पर्नेमा त्यति भएका छैनौं । जस्तै हामी अपरिचित इमेल नखोल्न, डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन भनेका थियौं । तै पनि अपरिचित इमेल खोलिने, हेरिने हुँदो रहेछ । इमेल पनि एक दमै जेन्युअन खालका देखिन्छ तर त्यो मालवेयर हुनसक्छ । यसमा हामी थप चनालो हुनुपर्ने देखियो । आईटी सेक्यूरिटीलाई अपग्रेड गर्दै जानु पर्ने देखिन्छ । सिस्टमलाई बलियो बनाउँदै जाने हो । फूल प्रुफ सिस्टम त कही पनि हुँदैन । यस्तो जोखिमकाे बीमा भएको हुन्छ ? नेपालमा यस्तो जोखिमको बीमा उपलब्ध छैन । स्वीफ्ट सर्भर ह्याकपछि बैकिङ क्षेत्र त्रसित र चिन्तित पनि देखियो । यो घट्नापछि सरोकार निकायबाट कस्तो सहयोग तथा प्रतिकिया पाउनु भयो ? खासगरी नेपाल राष्ट्र बैंकबाट ठूलो सहयोग पायौं । विदाको दिन, राती पनि राष्ट्र बैंकको टिमबाट अत्यन्तै राम्रो सहयोग पायौं । भईसकेका अडरहरुको भुक्तानी रोक्न पनि राष्ट्र बैंकको महत्वपूर्ण सहयोग रह्यो । अहिले बैंकका सबै सेवा नियमित भएका छन् वा गडबढी बाँकी नै छ ? सबै सेवा नियमित भएको छ । शुरुमा हामीलाई पनि ठूलो डर थियो । जोखिम पनि ठूलो देखियो । जब जोखिम एउटा साईजमा आयो तब हामी सहज रुपमा बैंक चलाउने अवस्थामा फर्कियौं । बैंकको असोज मसान्तमा रिपोर्ट कस्तो आयो ? गएको त्रैमासमा बैंकको निक्षेप र कर्जाको वृद्धिदर राम्रो छ । निक्षेप १ खर्ब ४ अर्ब र कर्जा लगानी साढे ८८ अर्ब रुपैयाँ भएको छ । पछिल्लो तीन महिनामा निक्षेप १६ अर्ब रुपैयाँ वृद्धि भएको छ । कर्जा करिव १५ अर्ब रुपैयाँ बढेको छ । खुद नाफा पौनै २८ करोड रुपैयाँ भएको छ । नाफा गत आर्थिक वर्षको प्रथम तीन महिनाको तुलनामा करिव १ करोड मात्र बढी देखिन्छ । यसका कारण के हो भने गत आर्थिक वर्षको अन्तिम तीन महिनामा र चालु आर्थिक वर्षमा हामीले धेरै स्थानमा नयाँ शाखाहरु विस्तार गर्यौ । त्यसमा खर्च धेरै भएको छ । नयाँ शाखाहरुले नाफा दिन करिब ६ महिना लाग्ने भएकोले नयाँ शाखा विस्तारले हाम्रो निक्षेप र कर्जा विस्तार उल्लेख्य भएको छ तर नाफामा वृद्धि कम देखिएको छ । एनआईसीको शाखा संख्या १३४ पुगेको छ । यस वर्ष पनि शाखा विस्तार गर्दै छौं । खराब कर्जा अनुपात (एनपीए) पनि घट्दै गएको छ । समग्रमा बैंकले उत्साहपूर्वक प्रगति गरिरहेको छ । एनआईसी एशिया बैंक निकै आक्रामक देखिएको छ, तपाईको रणनीति के हो ? हामी नयाँ तरिकाबाट अघि बढिरहेका छौं । संस्थागत निक्षेप प्रतिको निभरर्ता घटाउने र साना निक्षेपको कम्पोनेन्ट बढाउने रणनीतिमा छौं । त्यस्तै कर्जामा पनि साना तथा मझ्यौला कर्जाको हिस्सा बढाउने र कर्पोरेट कर्जाको हिस्सा घटाउने हाम्रो रणनीति हो । सोही रणनीतिअनुसार शाखा विस्तारलाई जोड दिएको छौं । सन् २०२० सम्म ३०० शाखाहरु खोल्ने भन्ने हाम्रो पाँच वर्षे योजना हो । हामी सोही अनुसार काम गरिरहेका छौं । शाखा विस्तार सँगै ती शाखाहरुको काम मनिटर तथा कन्ट्रोल गर्नको लागि क्षेत्रीय कार्यालयहरु खोलेका छौं । लोकल लेबलको कन्ट्रोल र सपोर्ट रिजनल अफिसले गर्छ । शाखाहरुको साईट भिजिट, अडिट, कन्ट्रोल, सपोर्ट सबै काम क्षेत्रीय कार्यालयबाट हुन्छ । धेरै शाखा भए, सिईओले ती सबै शाखाहरु कसरी हेर्छ भनेर मानिसहरुले प्रश्न गर्छन । छिमेकी देशमा एउटै बैंकको ६/८ हजार शाखाहरु छन् । त्यहाँ कसरी काम भएको छ ? हामीले हेर्नु र सिक्नुपर्छ । आलोचना गरेर मात्र हुँदैन । हामीले सेवा विस्तारसँगै जोखिम न्यूनकरण गर्नको लागि आवश्यक संरचनाहरु बनाएको छौं । त्यसतर्फ हामीले धेरै लगानी गरेको छौं । आन्तरिक लेखा प्रणालीलाई निकै बलियो बनाएका छौं । हरेक शाखा खोलेको ३ महिनामा लेखापरीक्षण हुन्छ । फेरी ६ महिनामा लेखापरिक्षण हुन्छ । दुई पटकको लेखापरिक्षण रिपोर्टका आधारमा ६/६ महिनामा वा हरेक वर्ष लेखापरीक्षण हुन्छ । सीईओको तहबाट मैले ३/४ जनासँग रिपोटिङ लिईरहेको हुन्छु । जो–जोसँग मैले रिपोर्टिङ लिन्छु, ती साथीहरुले ८/९ जनासँग रिपोटिङ लिनुहुन्छ । त्यस्तै ती ८/९ जनाले फेरी १५/१६ जनासँग रिपोट लिनुहुन्छ । त्यो हिसावले संरचना बनाएको छौं । एनआईसी एशियाले पटक पटक रोजगारी खुलाउदै आएको देखिन्छ । अरु बैंकबाट पनि धेरै कर्मचारी यस बैंकमा आएको भन्ने सुनिएको पछि छ, बैंकमा कर्मचारीको टर्नओभर बढी भएकाे हो ? शाखा विस्तार गर्दा नयाँ कर्मचारी चाहिन्छ । एउटा शाखा खोल्दा ५/६ जना कर्मचारी चाहिन्छ । १० वटा शाखा खोल्दा ५० जना चाहियो । त्यसलाई मोनिटरिङ गर्न केन्द्रमा वा क्षेत्रमा ५/६ जना चाहियो । त्यो हिसावले मान्छे चाहिन्छ, अझ धेरै शाखा विस्तार गर्दै छौं, थप मान्छे चाहिन्छ । स्टाफ टर्नओभर त सबै बैंकमा बढी नै छ । दुई/चार वटा पुराना बैंकमा मात्र टर्नओभर कम देखिन्छ । अर्को ख्याल गर्नु पर्ने पक्ष के हो भने १२/१५ प्रतिशत कर्मचारी टर्नअभोर हुनु संस्थाको लागि पनि राम्रो मानिन्छ । त्यसले नयाँ सोच र जाँगर भएका मान्छेलाई कम्पनी भित्र्याउने अवसर दिन्छ । हाम्रो बैंकमा करिव १७०० कर्मचारी छन् । यो संस्थामा वर्षमा १०० जना कर्मचारीले छोडे वा त्यसको सट्टामा बैंकले अरु संस्थाबाट नयाँ सोच र जाँगर भएका कर्मचारी आए भने त्यसले संस्थालाई फाइदा नै पुग्छ । बैंकमा कर्मचारी मात्र अस्थिर छैनन् । बैंकले ग्राहकलाई दिने सेवा पनि धेरै अस्थीर छ । निक्षेप वा कर्जाको ब्याज पनि निकै अस्थिर छ । बैंकहरु अल्पाकालिन सोचमा हिडेको, त्रैमासिक रिपोर्ट कसरी राम्रो बनाउने भन्ने होडमा हिडेकोले यस्तो समस्या आएको हो ? हामीकहाँ प्रक्षेपण,अनुमान र ट्रेन एनलाईसिस गरेर काम गर्ने संस्कृतिको कमी छ । सानो अर्थतन्त्र भएको देशमा धेरै बैंक तथा वित्तीय संस्था छन् र चर्को प्रतिस्पर्धा हुँदा तत्कालिन फाइदा हुने निर्णय हुने गरेका छन् । त्यसको असर कर्मचारीमा पनि परेको छ, ग्राहकको सेवामा पनि परेको छ । जीडीपीको करिव २२ प्रतिशत राजश्व सरकारले संकलन गर्छ । सानो अर्थतन्त्र भएको देशमा जीडीपीको २२ प्रतिशत सरकारी राजश्व संकलन हुनु भनेको अर्थतन्त्रमा सरकारी खर्चको प्रभाव पनि ठूलो हुनु हो । सरकारीले राजश्व संकलन जसरी नियमित रुपमा गरेको देखिन्छ, खर्च त्यसरी नै नियमित भएको छैन । त्यसको असर बैकिङ तरलता र व्याजदरमा प्रत्यक्ष रुपमा परेको देखिन्छ । ऐतिहासिक तथ्याङ्कहरुको आधारमा भविष्यबारे प्रक्षेपण गरिन्छ । तर सरकारी खर्चमा भएको अस्थिरताले र अर्थतन्त्रले लिने फरक ट्रेनले पनि हाम्रो प्रक्षेपणहरु फेल खाईरहेका छन् । एनआईसी एशिया अल्पकालिन सोचमा चलेको छैन, हामी पाँच वर्षे रणनीतिका साथ काम गरिरहेका छौं । पाँच वर्षे रणनीति र योजनाअनुसार काम भएको छन् भन्नु भयो, दीर्घकालिन सोचकोे रिफ्लेक्सन कहाँ देखिएको छ ? दीर्घकालिन सोच, योजना, रणनीतिको रिफ्लेक्सन हाम्रो शाखा विस्तारमा देखिएको छ, बैंकको वासलातमा देखिएको छ, वासलातको कम्पोनेन्टमा देखिएको छ । डिजिटल बैकिङ सेवामा रिप्लेक्सन देखिएको छ । पाँच वर्षे रणनीतिक योजनाका आधारमा हाम्रा वार्षिक कार्यक्रमहरु बनेका छन् । वाह्य कारणका कारण समय सापेक्ष नीति पनि लिनु परेको छ । निक्षेप र कर्जाको ब्याजदर घट्न थालेको हो ? मुद्दती निक्षेप ब्याज घट्न थालेको छ । तर बचत खाताको ब्याज घटेको छैन । बैंकहरुको आधार दर अझै उच्च रहेकोले कर्जाको ब्याज घट्न सकेको छैन । गत वर्ष बैंकहरुले पुस र माघमा उच्च ब्याजदरमा धेरै निक्षेप मुद्दतीमा लिएका छन् । त्यो निक्षेप परिपक्व हुन अझै ३/४ महिना लाग्छ । चैत मसान्तपछि मात्र बैंकहरुको बेसरेट घट्ने र त्यसपछि कर्जाको ब्याजदर घट्ने सम्भावना हुन्छ । केन्द्र र प्रदेश सभाको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचित भईसकेकोले स्थानीय तहमा गएको बजेट समयमा नै खर्च हुने आशा गरिएको छ । निर्वाचनमा राम्रै खर्च भयो र स्थानीय बजेट खर्च भयो भने निक्षेपमा पनि वृद्धि हुन्छ, कर्जा लगानी पनि विस्तार हुन सक्छ । तर राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क उत्साह जनक छैन । आयात बढेको छ । निर्यात वृद्धि हुन सकेको छैन । रेमिट्यान्स आम्दानी पनि घट्न थालेको छ । प्रत्यक्ष विदेशी लगानी तथा दातृ निकायले दिने अनुदानमा पनि उत्साहजनक वृद्धि छैन । शोधानान्तर ऋणात्मक भएको छ । निक्षेप वृद्धिको लागि आवश्यक स्रोतहरु सुक्दै गएका छन् । गत वर्ष निक्षेपमा ब्याजदर वृद्धि हुँदा धेरै बचतकर्ताले लाभ पाए । तर बैंकका ऋणिलाई कर्जाको ब्याजदरले धेरै गाह्रो पनि बनायो । केही बैंकले आफ्ना ऋणिलाई ब्याज ७ बाट बढाएर ८ प्रतिशत बनाए भने केहीले ऋणीको ब्याज ७ बाट बढाएर १४÷१५ बनाए । यस्तो किन भयो ? ७ को ८ मात्र बनाएको भन्ने कुरा नहोला । सबै बैंकहरुको पुँजिगत लागत बढेकै देखिन्छ । ब्याज आम्दानी भन्दा ब्याज खर्च नै सबैको बढेको देखिन्छ । यसको अर्थ बैंकहरुले निक्षेप ब्याजमा बढेको भार सबै ऋणिलाई पासअन गरेका छैनन्, बैंकमा पनि राखेका छन् भन्ने देखिन्छ । समग्रमा बैंकहरुले ऋणिलाई सहुलियत नदिएका होइनन् र ? एनआईसी एशियाले नयाँ ग्राहकलाई होम लोन १०.८ प्रतिशतमा दिइरहेको छ, बेसरेट १०.७ प्रतिशत छ । यसमा बैंकलाई कति फाइदा छ ? बेसरेट भनेको लागतमा करिव ३ प्रतिशत स्प्रेड जोडिएर आएको हुन्छ । अर्थात हामीले अहिले ल्याएको होम स्कीममा करिव ३ प्रतिशत स्प्रेडदर छ । होम लोन भनेको निकै सुरक्षीत कर्जा हो । हामीले रिटेल बैंकिङको हिस्सा बढाउने र कर्जाको जोखिम कम गर्ने रणनीतिमा यो प्रडक्ट तयार गरेका हौं । जहाँ जोखिम कम छ त्यहाँ कम मार्जिनमा काम गर्ने बैंकको नीति पनि हो । नयाँ ग्राहकलाई १०.८ प्रतिशत ब्याजमा कर्जा दिँदा पुराना ग्राहकको व्याजदर कति छ ? अहिले कर्जाको व्याजदर बेसरेटमा लिङ गरिएको छ । बेसरेट घट्दै जाँदा पुराना ग्राहकको पनि ब्याजदर घट्दै जानेछ । जोखिम बढी भएको प्रडक्टमा ब्याज बढी हुन्छ । जुनसुकै बैंकले पनि क्रेडिट कार्डमा बढी ब्याज लिन्छ । बैंकले आगामी दिन सेयरधनीलाई कति सम्म लाभांश दिन सक्छ ? पहिला जस्तो उच्च दरमा लाभांश पाउने सम्भावना त सकियो नै भन्छु म । विगतमा बैंकहरुले दिएको बोनस सेयर र हकप्रद सेयरले सेयरधनीलाई लगानी विस्तारको अवसर दियो । अब त्यो अबसर छैन । बैंकहरुको सेयर मूल्यले पनि त्यो संकेत गरिरहेको छ ।
सामाजिक सेवामा ४५ करोड खर्च गर्ने योजना बनाउँदै बाणिज्य बैंकहरु
काठमाडौं । २८ वटा बाणिज्य बैंकहरु यतिबेला ४५ करोड २५ लाख रुपैंया खर्च गर्ने योजना बनाउन तल्लिन छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ मार्फत नाफाको न्यूनतम एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोष मार्फत खर्च गर्नुपर्ने व्यवस्था ल्याएपछि बैंकहरु योजना निर्माणमा जुटेका हुन्। कुन बैंकले कति खर्च गर्दैछन्? गत आर्थिक बर्षमा २८ वटा बाणिज्य बैंकहरुले ४५ अर्ब २५ करोड नाफा कमाएका थिए । सो नाफाको एक प्रतिशत वापत हुने ४५ करोड २५ लाख रुपैंयाँ संस्थागत सामाजिक दायित्वको क्षेत्रमा खर्च गर्नुपर्नेछ । एकिकृत निर्देशिकामा बैंक तथा वित्तिय संस्थाले आफ्नो कुल मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायीत्व कोष खडा गरि वार्षिक रुपमा खर्च गर्नुपर्ने र सो को विवरण नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । ‘बैंकले यस अघि पनि संस्थागत सामाजिक उत्तरदायित्वका लागि काम गरेका थिए, तर त्यो एक प्रतिशत बराबरको रकम थिएन, अब भने न्यूनतम एक प्रतिशत अनिवार्य भएको छ’, बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाहले भने । राष्ट्र बैंकले सामाजिक परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक सम्वद्र्धन, दुर्गम क्षेत्रमा पुर्वाधार सुधार, पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तिय साक्षरता, ग्राहक संरक्षण लगायतका काममा बिशिष्टकृत संस्थाहरुबाट सार्वजनिक सूचना मार्फत प्रस्ताव माग गरेर काम गर्नुपर्ने उल्लेख छ । प्रत्यक्ष अनुदान खर्चका लागि अति विपन्न वर्गको शिक्षा तथा स्वास्थ्यमा हुने खर्च व्यहोरीदिने गरि हुने प्रत्यक्ष अनुदान वा त्यस्ता काममा क्रियाशिल संघ संस्थाहरुको भौतिक संरचना निर्माणमा उपलब्ध गराउन सकिने व्यवस्था छ । त्यस्तै, दिगो विकास लक्ष्य(२०१६–३०) ले पहिचान गरेका १७ वटा क्षेत्रमा तोकिएको लक्ष्यहरुको प्राप्तिमा सहयोग गर्न सकिनेछ भने बैंक तथा वित्तिय संस्थाले आफ्नो संस्थामा क्रियाशिल कर्मचारीका सन्तानहरुका लागि बाल हेरचार केन्द्र व्यवस्थापन गर्न पनि सक्नेछन् । ‘नाफा कमाउने कम्पनीहरुले सामाजिक उत्तरदायित्वका लागि पनि आफ्नो आम्दानीको न्युनतम एक प्रतिशत खर्च गर्नुपर्छ भनेर अनिवार्य व्यवस्था ल्याएका हौं’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । उनले बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्व कोषमा रकम जम्मा गरेर कार्यान्वयनको योजना बनाईरहेको र खर्चको विवरण आर्थिक बर्षको अन्तिममा बुझाउने स्पष्ट पारे । बैंकर्स संघका अध्यक्ष शाहले बैंकहरुले कर्मचारीहरुको सलंग्नतामा फाउण्डेसनहरु बनाएर धमाधम खर्च गर्ने अभियान चलाईसकेको दावी पनि गरे । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्ने योजना बनाईरहेको बताए । ‘हामीले यस अघि ७०÷७५ लाख रुपैंयाँ सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएका थियौं, अब एक करोड २५ लाख जति पुग्ने अवस्था छ, हामी धमाधम कार्यक्रम बनाईरहेका छौं’, दाहालले भने ।