तरलता अभावको संकेत, निक्षेप रोक्न बाणिज्य बैंकले बढाए ब्याजदर, केही बैंकले कर्जा नै रोके

काठमाडौं । वाणिज्य बैंकहरुले लगानीयोग्य पुँजी कम हुदै गएको भन्दै मुद्धति खातामा रहेको निक्षेप बाहिरिन नदिन ब्याजदर बढाएका छन् । गत वर्ष लगानीयोग्य पुँजीको चरम अभाव हुँदा बैंकहरुले महंगो ब्याजदरमा मुद्धति निक्षेप उठाएका थिए । यसपाली पनि तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्धति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् । ‘तरलता अभावको सम्भावना कायमै छ, गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनुपर्ने बाध्यता भएको हो’ एक बैंकरले भने । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ । ऋण लगानी गर्न रकम नभएपछि गत वर्ष वाणिज्य बैंकले बजारबाट १४ प्रतिशतसम्ममा निक्षेप उठाएका थिए । अधिकाँश बैंकको मुद्धति निक्षेपको रकम फिर्ता हुने समय आएपछि यसलाई रोक्न बैंकले व्यक्तिगत मुद्धतिमा ब्याज दर बढाएको नेपाल राष्ट्र बैंक स्रोतले बतायो । “अहिले बजारमा पर्याप्त तरलता रहेका बेला लगानी गर्ने रकम समस्या देखिन्दैन” स्रोतले भन्यो “गत साल महंगोमा उठाएको व्यक्तिगत मुद्धति निक्षेपलाई रोक्न बैंकले ब्याज दर बढाएका हुन् । बैंकिङ प्रणालीमा अझै ४६ अर्ब रुपैयाँ तरलता छ ।” पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको स्रोतको भनाई छ । अहिले बैंकबीच ब्याज दर बढाउन प्रतिस्पर्धा देखिएको छ । बैंकहरुले पैसा उठाउन व्यक्तिगत मुद्धति निक्षेपमा न्युनतम् १० प्रतिशत ब्याज दिने प्रस्ताव गरेका छन् । मेगा बैंक, सेन्चुरी, माछापुच्छे्र, बैंक अफ काठमाण्डु र सानिमाललगायत अधिकाँश वाणिज्य बैंकले १० प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेका छन् । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि १ वर्षमा ९ प्रतिशत ब्याज दिने मुद्धति निक्षेप योजना बिहीबार सार्वजनिक गरेका छ । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् । लगानी गर्न पुँजी नभएपछि सानिमा बैंकले पनि कर्जा रोक्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले बताए । विकास न्युजसंग कुरा गर्दै उनले केही बैंकमा तरलता भएपनि अधिकाँश बैंकसंग लगानी गर्ने रकम नभएको जानकारी दिए । केही बैंकले कर्जा रोकिसकेको जानकारी पाएको उनले सुनाए । निक्षेप तान्न सानिमाले पनि ब्याज दर बढाएको उनले बताए । “१२ प्रतिशत ब्याजमा निक्षेप उठाउदा कर्जाको ब्याजदर कति हुन्छ ? तपाइ नै अनुमान गर्नुस” उनले भने “त्यसैले सानिमाले घरकर्जा १३ र अन्यलाई १५ प्रतिशत ब्याज लिने भएको छ ।” कर्मचारी संचय कोषलगायत अन्य संस्थागत लगानीकर्ताले पनि ब्याज दर बढाएर १२ प्रतिशत पुर्याएको उनको भनाई छ । पुस मसान्तभित्र अर्बो रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा जाने भएकाले आउदा दिनमा तरलताको अभाव हुने संभावना देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । अहिले नै राज्यको ढुकुटीमा ३ खर्ब रुपैयाँ वचत रहेको बताउदै उनले पुसमा करको रुपमा रकम थप हुदा बजारमा तरताको समस्या आउने संभावना रहेको बताए । तरलताको अवस्था तलमाथि भइरहेकाले बैंकलाई योजना बनाउनका लागि प्रक्षेपण गर्न समस्या परेको उनको भनाई छ । गत वर्ष लिएको व्यक्तिगत मुद्धति निक्षेप रोक्नलाई ब्याजदर बढाउनु परेको उनको भनाई छ । माछापुच्छे्रले अहिले व्यक्तिगत निक्षेप रोक्न वार्षिक १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ । संचय कोषलगायत संस्थागत निक्षेपकर्ताले ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको उनको भनाई छ । कोषका कामु प्रशासक दीपक रौनियारले बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशतमा ब्याज दिएको बताए । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले बिहीबार आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ ।

कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल

काठमाडौं । कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल भएकाे छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयका सचिवले त्यस्तो प्रक्रिया अघि बढाउँदा गलत नजिर बस्ने भनेपछि योजना बिचमै तुहिएको हो । ‘हामीले अदालति झमेलामा फसेको क्षेत्रमा यथास्थितीमै कालोपत्रे गरेर नागरिकलाई राहत दिन चाहेका थियौं, मन्त्रालयमा फाइल पनि पठाएका हौं तर रोकियो’, आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले भने । कुल १२.५ किलोमिटर लम्बाईको कलंकी–नागढुंगा सडक खण्डको २५ प्रतिशत क्षेत्रमा सडक विस्तार विरुद्ध दर्जनौं मुद्धा परेका छन् । अदालतले अन्तरिम आदेश दिएकाले तत्काल काम अगाडी बढाउने अवस्थामा पनि नरहेपछि आयोजनाले यथास्तिथीमै पिच गर्ने योजना बनाएको थियो । ‘२५ प्रतिशत सडकमा अवरोध छ, नागरिकले धरै दुःख पाए, त्यसैले अहिलेकै अवस्थामा चैडाई घटाएरै भएपनि पिच गर्ने सोँच बनाएर फाइल माथी पठाएका थियौं तर सफल भएन ।’, श्रेष्ठले भने । उनले यथास्थितिमा पिच गर्ने सम्बन्धी प्रस्ताव एक महिना अघि भौतिक पुर्वाधर मन्त्रालय पठाएका थिए । तर सचिवले यथास्थितिमै कालोपत्रे गर्दा सडक विस्तारका अन्य क्षेत्रमा पनि नकारात्मक नजिर बस्ने भन्दै फाइल फर्काइदिएको बताए । सचिवस्तरिय निर्णय गराएर कालोपत्रे गर्ने सोँच बनाएको आयोजना अब अदालती मामिला सुल्झिएपछि मात्रै काम अघि बढाउने निष्कर्षमा पुगेको छ । हाल सो सडक खण्डमा साढे ६ किलोमिटर सडकमा वाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । फागुनदेखि जेठको अवधीमा सम्पुर्ण खण्ड कालो पत्रे गरिसक्ने योजना अनुसार काम अघि बढेको उनले बताए । ‘जाडो महिनामा पिच राम्रो हुन्न, जाडो अवधी गरि वाल र फुटपाथको काम सक्छौं अनि फागुनदेखि जेठभित्रमा कालोपत्रै गर्ने काम सम्पन्न गर्छाै’, आयोजनाका प्रमुख दिपक केसीले भने । सो सडक खण्डका अधिकांश ठेक्को म्याद सकिनै लागेको छ तर हालसम्म २५ देखि ३० प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ । अदालतका कारण ठेक्का लम्बिने अवस्था आएपछि ठेकेदार कम्पनीले क्षतिपुर्ति माग्ने अवस्था सृजना हुनेछ ।  

प्रिमियम इन्स्योरेन्स कम्पनीको एफपीओ पुस १६ देखि निष्कासन, प्रतिसेयर ७९९ रुपैयाँ

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) पुस १६ गतेदेखि खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ । एफपीओ निष्कासन छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म तोकिएको छ । कम्पनीको सेयर देशभर ३८ स्थानबाट भर्न पाइने व्यवस्था गरिएको छ ।