एनआईसी एशिया बैंक ऋणपत्रमा लगानी गर्दा हुने पाँच फाइदा
कावठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्दै छ । प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिईसकेको छ । ३ अर्ब रुपैयाँको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरेको छ । उक्त ऋणपत्र पुस १३ देखि १७ गतेसम्म आवेदन गर्न सकिन्छ । ऋणपत्रको पाँच फाइदाहरु ऋणपत्रको सबैभन्दा आकर्षक पक्ष भनेको उच्चतम व्याजदर हो । बैंकले ऋणपत्रको व्याज वार्षिक ९ प्रतिशत तोकेको छ र व्याज अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिने जनाएको छ । ‘९ प्रतिशत व्याजदर लगानीकर्ताको लागि धेरै राम्रो अवसर हो’ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रबक्ता रोशनकुमार न्यौपाने भन्छन–‘हामीले विगत १० वर्षसम्म बैंकहरुले मुद्दति बचतमा दिने व्याजदरको अध्ययन गरेको थियौं । १० वर्षमा मुद्दति खाताको औसत व्याज ७ दशमलव २५ प्रतिशत रहेछ, हामीले त्यो भन्दा बढी व्याज दिएका छौ ।’ बैंकको व्याजदर घट्ने वा बढ्ने हुन्छ भने ऋणपत्रको व्याजदर ७ वर्षसम्म स्थीर रहने छ । लामो अवधिका लागि स्थीर व्याजदार यस ऋण पत्रको दोस्रो फाइदा हो । नेपालको वित्तीय बजारमा मुद्रास्फिति दर भन्दा बैंकले दिने व्याजदर प्रयाः कम हुन्छ । हाल मुद्रास्फित ७.५ प्रतिशतको हाराहारीमा छ । मुद्रास्फिति दरभन्दा भन्दा ऋणपत्रको व्याजदर बढी भएको लगानीकर्तालाई हुने देखिएको छ । मुद्रास्फिति दर भन्दा उच्च दरको प्रतिफल पाउनु लगानीकर्ताको लागि चौथो फाइदा हो । ऋणपत्रको पाँचौं फाइदा भनेको यो ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा पनि सूचिकृत हुन्छ । सूचिकृत हुँदाको फाइदाबारे न्यौपाने भन्छन्–‘मुद्दति खातामा राखेको पैसा बीचमा चलाउनु पाइदैन । तर यो ऋणपत्र नेप्सेमा सूचिकृत हुने हुँदा नगदको आवश्यकता पर्दा ऋणपत्र बिक्री गर्न सकिन्छ । आम्दानीको पनि निश्चित भएको र आवश्यक पर्दा बिक्री गर्न पनि सकिने भएकोले लगानीकर्ताको लागि दोहोरो लाभ छ ।’ दीर्घकालिन सोचका साथ लगानी गर्ने व्यक्तिगत वा संस्थागत दुबै प्रकारका लगानीकर्ताको लागि राम्रो वित्तीय उपकरण भएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल बताउँछन् । ‘बैंकको व्याज कहिले १२ प्रतिशत पुग्छ, कहिले ५ प्रतिशतमा झर्छ’ उनले भने–लगानीे पोर्टफोलियो मिलाउन र संस्थाको आम्दानीमा सन्तुलन कायम गर्न यस्तो ऋणपत्र बजारको लागि आवश्यक भएको हुन्छ ।’ दीर्घकालिन लगानीको लागि पुँजी भएको जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाहरुका लागि यो ऋणपत्र लगानीको लागि राम्रो अवसरको भएको र यी संस्थाहरुले लगानीको लागि चासो देखाईरहेको प्रवक्ता न्यौपानेले बताए ।
नयाँ बीमा कम्पनीले लाइसेन्स नपाउने, मर्जर र प्राप्ति उच्च प्राथमिकतामा
काठमाडौं । बीमा समितिले अब नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स नदिने भएको छ । समितिले भर्खरै मात्रै ९ वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएर पनि कारोबार आरम्भ गरिसकेका छन् । त्यस्तै, निर्जीवन तर्फ मनकामना इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा इन्स्योरेन्सले लाइसेन्स कुरिरहेका छन् । तीमध्ये पनि सानिमा, अजोड र नेपाल जनरलले आसय पत्र पाईसकेका छन् । बीमा समितिले निर्जीवन तर्फका चार कम्पनीले लाइसेन्स पाएपछि नयाँ कम्पनीलाई लाइसेन्स नदिने स्पष्ट पारेको हो । १० वटा जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिन अर्थमन्त्रालयले सैद्धान्तिक सहमति दिँदा नै थप बीमा कम्पनीलाई लाइसेन्स नदिनुभन्ने निर्देशन भएको थियो । ‘नयाँ बीमा कम्पनीको लाईसेन्स बन्द गर्ने र भएका कम्पनीहरुलाई मर्जरका लागि प्रोत्साहन गर्ने लगायतका निर्देशन त्यतिबेलै अर्थमन्त्रालयबाट भएको थियो, हामी त्यसकै मर्मका आधारमा काम गर्छाै’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने । निर्जीवनतर्फ प्रक्रिया पुरा गरेर आए भने अब तीनवटा निर्जीवन बीमा कम्पनी थपिनेछन् । जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन सैद्धान्तिक सहमति दिँदा नै अर्थमन्त्रायले समितिलाई केहि बुँदे मार्गदर्शन दिएको थियो । त्यसमा नयाँ लाईसेन्स बन्द गर्ने र भएका कम्पनीहरुलाई मर्ज तथा एक्विजिशन गर्न प्रोत्साहित गर्ने नीति लिने भन्ने थियो । ‘अर्थमन्त्रालयको मार्गर्दशन अनुसार नयाँ लाइसेन्स बन्द गर्ने र भएका बीमा कम्पनीहरुलाई मर्जर तथा एक्विजिशनका लागि प्रोत्साहन गर्न हामी केन्द्रित हुनेछौं’, अध्यक्ष चापागाईँले भने । उनले पुर्नबीमा कम्पनीलाई बलियो बनाउने, कम्पनीहरुको क्षमता विकासमा जोड दिने, बाली तथा पशुबीमाको लागि छुट्टै संरचना बनाउने, सम्पत्ति बीमा र स्वास्थ्य बीमालाई प्रोत्साहन गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको पनि स्पष्ट पारे । हाल नयाँ पुरानासहित १७ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । १७ वटै निर्जीवन बीमा कम्पनी पनि सञ्चालनमै रहेका छन् । थप ३ वटा निर्जीवन बीमा कम्पनीले लाइसेन्सका लागि आसय पत्र पाएका छन् ।
एनआरएनले भने-सेयर बजारमा १० अर्ब लगानी गर्छाै
काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएन) का पदाधिकारीहरुले सेयर बजारमा लगानी गर्ने व्यवस्था भएमा सुरुमै १० अर्ब लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग सेयर बजारमा एनआरएनको लगानीका बारेमा छलफल गर्न पुगेका पदाधिकारीहरुले सुरुमै १० अर्बको लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । भेटमा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरु नेपालको पुँजी बजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको र सुरुमै १० अर्ब लगानी गर्ने मनसाय तयार पारेको बताएका हुन् । भेटमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पुँजी बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि लगायतका सुधारका काम सम्पन्न गरेको बताएका थिए । उनले एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मकरुपमा लिदै नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि बढाईसकेको जानकारी पनि दिएका थिए । डा.कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको जानकारी पनि दिएका थिए ।