राधी विद्युत कम्पनीले संचित कोषकाे नाफा जलविद्युतमा लगानी गर्ने

काठमाडौं । निजी क्षेत्रकाे राधी विद्युत कम्पनी लिमिटेडले संचित कोषमा जम्मा भएको नाफा जलविद्युतमा लगानी गर्ने भएको छ । गत आर्थिक वर्षसम्म कम्पनीको कुल संचित नाफा ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । चालु आवमा संचित नाफा बढेर १४ करोड ९० लाख रुपैयाँ पुग्ने छ । आगामी आव ०७६/०७७ मा कम्पनीको संचित कोष बढेर २९ करोड ८४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ । संचित कोषमा रहेको नाफा सेयरधनीलाई वितरण नगरी नयाँ आयोजनामा सेयरको रुपमा लगानी गर्ने कम्पनीका अध्यक्ष विनय भण्डारीले बताए । उनका अनुसार राधिले संचित रकम ११ मेगावाटको दोर्दीखोला, ११ मेगावाटको तल्लोखारे, ४२ मेगावाटको कसुवाखोला र ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनामा सेयरको रुपमा लगानी गर्ने छ । कम्पनीको वर्षेनी नाफा बढ्दै जाने देखिएको छ । राधीले सोमबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो । ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ । गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।  

नेपाली लगानीमा बुढिगण्डकीः भारतसँग तल्लो तटिय लाभको हिस्सा मागिने

काठमाडौं । राष्ट्रिय योजना आयोगले १२०० मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण आफ्नै लगानीमा गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठन भएको समितिले कम्पनी मोडलमा आयोजना निर्माण गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । (प्रतिवेदनकोे पूर्ण पाठ) नेपाल विद्युत प्राधिकरणको मातहतमा सहायक कम्पनीका रुपमा बिशिष्टकृत आयोजना कार्यान्वयन इकाई खडा गरेर नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा संस्थान, बीमा कम्पनीहरु, नेपाल टेलिकम, अपर तामाकोशी, चिलिमे, नेपाल प्रहरीको कल्याण्कारी कोष, सेनाको कल्याणकारी कोष र सर्वसाधारबाट लगानी जुटाउन सकिने उल्लेख गरिएको छ । प्रतिवेदनमा तल्लो तटिय लाभ तथा हानीको मूल्यांकन गरेर अन्तराष्ट्रिय मूल्य मान्यताका आधारमा छिमेकी देशहरुसँग छलफल गर्ने पनि उल्लेख गरिएको छ ।  

सबै ब्रोकरसँग भ्याट असुल्ने तयारी, चित्त नबुझे पुनरावलोकन

काठमाडौं । आन्तरिक राजश्व विभागले सबै ब्रोकर कम्पनीहरुसँग भ्याट असुल्ने स्पष्ट पारेको छ । विभागका प्रवक्ता प्रवक्ता यज्ञ प्रसाद ढुंगेलले सबै ब्रोकरहरुले भ्याट तिर्नुपर्ने दावी गरे । ‘अहिले तीन वटा कम्पनीको कर निर्धारण गरेर पत्र काटेका छौं, बाँकी ब्रोकर कम्पनीहरुको कर निर्धारण भैरहेको छ, उनीहरुले पनि भ्याट तिर्नु पर्छ’, विभागका प्रवक्ता ढुंगेलले विकासन्युजसँग भने । उनले विद्यमान कानुन अनुसार सबै ब्रोकरसँग कर असुल उपर हुने र नयाँ नीतिगत व्यवस्था आएपछि भने सोही बमोजिम हुने पनि स्पष्ट पारे । ‘अहिलेको कानुनी व्यवस्था अनुसार सबै ब्रोकरसँग भ्याट असुल्छौं, नयाँ नीतिगत निर्णय भएपछि सोही बमोजिम हुन्छ, चित्त नबुझ्नेहरु पुनरावलोकनमा जान सक्छन्’ प्रवक्ता ढुंगेलले भने । विभागले सुन्धारा सेक्युरीटिज, सेवा सेक्युरिटिज र इन्भेष्टमेन्ट मेनेजमेन्टलाई आव २०६९।७० देखि गत आवसम्मको भ्याट बुझाउन पत्र काटिसकेको छ । विभागले केहि दिन अघि मात्रै पत्र काटेर आगामी १५ दिनभित्र भ्याट र जरिवाना दस्तुर समेत बुझाउन भनेको हो । तीन वटा ब्रोकर कम्पनीले २ करोड ९० लाख रुपैंयाँ भ्याट, जरिवाना र ब्याज बुझाउनुपर्छ । कर कार्यालयले ब्रोकर कमिसनमा भ्याट लगाएपछि ब्रोकर एसोसियसनले कर हटाउन दबाब दिँदै आएको छ । ब्रोकर एसोसियसनले अर्थ मन्त्रालयसँग पटक पटक छलफल गरिसकेको छ ।