१४५ मेगावाट बिजुली लिन कुलमान घिसिङ आफै बुधबार भारत जाँदै
काठमाडौं । भारतले म्याद थपको जवाफ नपठाएपछि १४५ मेगावाट बिजुली आयातलाई निरन्तरता दिन नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारी बुधबार नयाँदिल्ली जाने भएका छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा उच्चस्तरित टोली भारतकोे नोडल एजेन्सी एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडका अधिकारीसंग बिजुली आयात निरन्तरता दिनका लागि सम्झौता गर्न दिल्ली जान लागेका हुुन् । एनभीभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा जवाफ नआएपछि कार्यकारी निर्देशक घिसिङ दिल्ली जान लागेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिदै छ । सम्झौता सकिने भएपछि भारतबाट १४५ मेगावाट बिजुली आपूर्ति बन्द हुने संभावना भएपछि पुनः सम्झौता गर्न घिसिङ भारत जान लागेका हुन । १४५ मेगावाट बिजुली आपूर्ति बन्द भएमा नेपालमा पुनः लोडसेडिङ हुने संभावना भएकाले घिसिङ भारत जान लागेको उनको भनाई छ । नेपाल र भारतको सचिव स्तरिय संयुक्त स्थायी समितिको बैठक स्थगत भएपछि विद्युत प्राधिकरणले गत मंगलबार बिजुली आयातको म्याद पुनः ३ महिना थप गर्न एमभीभीएनलाई अनुरोध सहितको पत्र पठाएको थियो । उसले सो पत्रको जवाफ नपठाएपछि सम्झौता गर्न प्राधिकरणको उच्चस्तरिय टोली दिल्ली जान लागेको हो । मंगलबार घिसिङले विशेष परिस्थितिका कारण नेपाल–भारत सचिवस्तरिय बैठक बस्न नसकेको भन्दै एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ३ महिना अर्थात आउँदो मार्चसम्म विद्युत आपूर्ति निरन्तरता दिनका लागि अनुरोध गरेका थिए । प्राधिकरणले पहिलाको दरमा बिजुली आयात नविकरण गर्न भनेको छ । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । एनभीभीएनले बिजुली नदिएमा नेपालमा पुनःलोडसेडिङ हुने संभावना रहन्छ । एनभीभीएनले सस्तो दरमा बिजुली दिएको भन्दै मूल्य बढाउन प्रस्ताव गरेको छ । उसले अहिले विद्युत प्राधिकरणलाई दिएको दर सस्तो हो । कटैयाँ–कुसाहलगायत अन्य नाकाबाट व्यापारिक मूल्यमा बिजुली आयात भइरहेको छ । बिहारको नर्दन पावर डिष्ट्रिव्युसन कम्पनी लिमिटेडबाट प्रतियुनिट ५ रुपैयाँ ५५ पैसा अर्थात ८ रुपैयाँ ८८ पैसामा बिजुली आयात भइरहेको छ । यो चुहावट बाहेकको रकम हो । यो वर्ष भारतबाट ४७० मेगावाट बिजुली ल्याएर लोडसेडिङ नगर्ने प्राधिकरणको तयारी छ । गत अक्टुबरमा म्याद थप भएपनि पुनः डिसेम्बरसम्मका लागि ३ महिना म्याद थप गरेको थियो । एनभीभीएनले बिजुलीको भाउ बढाउन प्रस्ताव गरिसकेको छ । विद्युत प्राधिकरणले भाउ बढाउन मानेको छैन । ढल्केबर–मुज्जफपुर प्रसारणलाइन बुक भएकाले सो लाइनबाट बिजुली नल्याए पनि प्रसारणलाइन शुल्कवापत दुइवटा कम्पनीलाई वार्षिक १ अर्ब १० करोड बुझाउनु पर्छ ।
टेकओभर गर्ने चेतावनीपछि यूनाईटेड इन्स्योरेन्सले साधारणसभा बोलायो, सेयरधनीको हात रित्तै
काठमाडाैं । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडलाई समस्याग्रस्त घोषणा गरी टेकओभर गर्ने चेतावनी दिएपछि सो कम्पनीले साधारणसभा बोलाएको छ । उक्त कम्पनीले पुस २६ गते कार्की बैङ्कटमा साधारणसभा डाकेको छ । उक्त साधारणसभा विशेष प्रस्ताव केही पनि छैन । साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गर्ने छ भने सञ्चालक समितिले मनोनित गरेका प्रवद्र्धक समूहका सञ्चालकहरु अनुमोदन गर्नेछ । अध्यक्ष श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत शेखर बराल लामो समय विदेश बस्दा साधारणसभा बोलाउन ढिला भएको प्रष्टीकरण दिएका थिए । बराल पुर्नबीमाको काम भन्दै निरन्तर विभिन्न देश भ्रमणमा जाने गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७२/७२ को वार्षिक प्रतिवेदन साधारणसभामा अनुमोदन गर्ने प्रस्ताव लैजादैछ । त्यसमा सेयरधनीलाई कुनै पनि प्रकारका लाभांश प्रस्ताव छैन । हकप्रद सेयर निकाशन सम्बन्धी प्रस्ताव पनि छैन । प्रभु इन्स्योरेन्स, अाइएमइ जनरल इन्स्याेरेन्स, शिखर इन्स्योरेन्स लगायत कम्पनीहरुले आर्थिक वर्ष २०७३/७४ को साधारणसभा सम्पन्न गरी सेयरधनीलाई लाभांश समेत वितरण गरिरहेको छन् । तर युनाईटेड इन्स्योरेन्स कम्पनीले भने दुई वर्ष पुरानो र घाटाको वार्षिक प्रतिवेदन पास गर्न पुस २६ गते साधारणसभा बोलाएको छ । यस कम्पनीले आर्थिक वर्ष २०७३/७४ को आयव्ययको सो कम्पनीले लेखापरिक्षण गर्न पनि भ्याएको छैन । कर्मचारीहरुले भटाभट छोड्दा कम्पनीको व्यापार मात्र प्रभावित भएको छैन, आन्तरिक प्रशासन र लेखाको काम पनि अस्तव्यस्त भएका छन् । उक्त कम्पनीले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदनसहित सो आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने र त्यसपछि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रताव बीमा समितिमा पठाएको थियो । तर यूनाईटेडले सिटी स्केपलाई गरेको भुक्तानी बापतको रकम पुर्नबीमा कम्पनीबाट नआएपछि बीमा समितिले करिव ३४ करोड रुपैयाँ प्रोभिजन गराएको थियो । ३४ करोड प्रोभिजन गर्नु परेपछि कम्पनीका प्रस्तावित बोनस सेयर रद्द भएको थियो । बोनस सेयर रद्द भए पनि हकप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभामा लैजान सक्थ्यो । तर कम्पनीले उक्त विकल्पलाई पछाडि धकेलेको छ । संचित नोक्सानमा भएको कम्पनीको हकप्रद सेयर खरिद गर्न सेयरधनीले पैसा नहाल्नो डरले कम्पनीले हकप्रद सेयर सम्बन्धी प्रस्ताव अहिले अघि नबढाएको हुने सक्ने अनुमान गरिएको छ । बीमा समितिले वार्षिक प्रतिवेदन स्वीकृतसँगै ६० दिन भित्र साधारणसभा गर्न निर्देशन दिएको थियो । उक्त समयअवधि भित्र साधारणसभा नगरेपछि बीमा समितिले फेरी सात दिनभित्र साधारणसभा बोलाउन निर्देशन दिएको थियो । ‘बीमा समितिले ७ दिनभित्र साधारणसभा बोलाउन लिखित निर्देशन दिएपछि मात्र कम्पनीले साधारसभा बोलाएको हो’ स्रोतले भन्यो–‘बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठलाई आफ्नो कार्यकक्षमा बोलाई तत्काल साधारणसभा नगरे युनाईटेड इन्स्योरेन्स कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने र बीमा समितिले कम्पनी टेकओभर गर्ने चेतावनी दिएका थिए ।’ अध्यक्ष श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत शेखर बराल लामो समय विदेश बस्दा साधारणसभा बोलाउन ढिला भएको प्रष्टीकरण दिएका थिए । बराल पुर्नबीमाको काम भन्दै निरन्तर विभिन्न देश भ्रमणमा जाने गरेका छन् । उच्च स्रोतका अनुसार लिखित निर्देशन अनुसार ७ दिन भित्र साधारणसभा नबोलाएको भए कम्पनीले सुशासन कायम नगरेका, वार्षिक साधारणसभा नगरेका, लाईसेन्स नविकरण नगरेको जनाउँदै कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने, सञ्चालक समिति भङ्क गर्ने, बीमा समितिले कम्पनी टेकओभर गर्ने र साधारणसभा गराई नयाँ सञ्चालक समितिलाई जिम्मेवारी सुम्पने बीमा समितिको तयारी थियो ।
रेमिट्यान्स आप्रवाह वृद्धि र शोधानान्तर वचत दुबै ऋणात्मक, अब के होला अर्थतन्त्र ?
काठमाडौं । मुलुकको अन्य आर्थिक परिसुचक सकरात्मक भएपनि भुक्तानी सन्तुलन र विप्रेषण अप्रवाह ऋणात्मक भएको छ । चालु आर्थिक वर्षको ४ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा १.४ प्रतिशतले कमी आई २ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएपछि रेमिट्यान्स वृद्धि ऋणात्मक भएको हो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आवको ४ महिनाको आर्थिक परिदृष्य सार्वजनिक गर्दै यस्तो अवस्था देखाएको हो । यस्तै चालू खाता एवम् शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा ऋणात्मक भएको छ । चालु आवको कात्तिकसम्म शोधानान्तर वचत २५ अर्ब ८१ करोड रुपैयाँ ऋणात्मक भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको ४ महिनामा शोधानान्तर १ अर्ब ८६ करोड रुपैयाँ बचतमा थियो । निर्यात भन्दा आयातमा उच्च वृद्धिको अलावा विप्रषेण आप्रवाहमा समेत कमी आएकोले चालू खाता घाटामा गएको हो । विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकोले मुलुकको वाह्य क्षेत्रको अवस्था मजबुत नै रहेको छ । हालसम्म उपलब्ध आर्थिक तथ्याङ्कबाट आर्थिक तथा वित्तीय परिदृष्य मिश्रित रहने देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । निर्माण कार्यले गति लिएको, व्यक्तिगत घर, होटल तथा जलविद्युत आयोजनाको निर्माण बढ्दो क्रममा रहेको छ । यस्तै सिमेन्ट, आल्मोनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एम.एस विलेट तथा रड जस्ता निर्माण सामग्रीको आयातमा भएको वृद्धिबाट निर्माण कार्यले तीव्रता लिएको केन्द्रीय बैंकको भनाई छ । सिमेन्ट, फलाम तथा स्टिल, जस्तापाता तथा तार जस्ता उद्योगहरुको उत्पादन उत्साहप्रद देखिएको छ । औद्योगिक कच्चापदार्थको आयात र उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तारले औद्योगिक क्षेत्रको परिदृष्य सकारात्मक रहेको देखिन्छ । पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । पर्यटक आगमनसँगै होटलहरुको अकुपेन्सीदरमा भएको वृद्धि एवम् होटल निर्माण कार्यले लिएको गतिले पर्यटन क्षेत्रको सकारात्मक परिदृष्य इङ्गित गर्दछ । पछिल्ला महिनाहरुमा न्यूनस्तरमा रहेको मुद्रास्फीति २०७४ कात्तिक महिनामा केही बढेको छ ।