२५ अर्बले काम नगरेपछि राष्ट्र बैंकले आइतबार पुनः १० अर्ब बजारमा पठाउँदै
काठमाडौं । लगानीयोग्य पुँजीको संकट समधान गर्न नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ । राष्ट्र बैंकले सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत एक सातामा ३ पटक गरेर २५ अर्ब रुपैयाँ पठाउदा पनि पुँजीको समस्या समधान नभएपछि आइतबार पनि बैंकिङ प्रणालीमा पुनः १० अर्ब रुपैयाँ पठाउन लागेको हो । यो समेत गरी राष्ट्र बैंकले बजारमा पठाउने रकम ३५ अर्ब रुपैयाँ पुग्ने छ । बैंक तथा वित्तीय संस्थाले बिहीबार पनि बढी रकम मागेपछि नेपाल राष्ट्र बैंकल आउदो आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । बिहीबार १८ बैंक तथा वित्तीय संस्थाले १४ अर्ब १४ करोड ४४ लाख रुपैयाँ माग गरेकोमा १३ संस्थाले ७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ मात्र पाएका छन् । कुपन रेट र डिस्काउन्ट रेट जोडदा ब्याजदर करिडोर नीतिले तय गरेको ३ प्रतिशत तल गएपछि आज धेरै रकम बजारमा नगएको हो । लगानीयोग्य पुँजीको संकट टार्न राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा २३ बैंक तथा वित्तीय संस्थाले झण्डै २३ अर्ब रुपैयाँ मागेका थिए । बुधबार १३ बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १३ बैंक तथा वित्तीय संस्था मात्र योग्य भएपछि उनीहरुले पाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।अधिक रकम माग भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको प्रष्टै देखिएको छ । गत आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार थप रकम पठाएको हो । राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गरेको हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । यो वर्ष दुई पटक गरी १५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।
रसुवागढी हाइड्रोपावर र आरम्भ माइक्रोफाइनान्सलाई १ अर्ब ६७ करोडको आईपीओ निष्कासन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न बिहीबार अनुमति दिएको हो । रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ६४ करोड २१ लाख ४ रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस्तै आरम्भले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । दुबै संस्थालाई आईपीओ निष्कासनका लागि बाटो खुला भएको छ । आरम्भको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । यस्तै रसुवागढीमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड, सनराईज क्यापिटल लिमिटेड, सिदार्थ क्यापिटल लिमिटेड र एसनआईबीएल क्यापिटल लिमिटेड रहेका छन् । रसुवागढीले पहिलो चरणको सकिएपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै १ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँको आईपीओ निष्कासन गर्नेछ । कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । आरम्भको पनि ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत संस्थापक लगानी रहने छ । रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम ५५ प्रतिशत सकिएको छ । सुरुङ खन्ने, बाँध निर्माणलगायत अन्य पुर्वाधारको काम तिब्र गतिमा भइरहेको छ । कुल ४ हजार १८५ मिटर लामो सुरुङ मध्ये २ हजार ५ सय मिटर सकिएको छ । अब मुल सुरुङ खन्न १ हजार ६ सय मिटर मात्र बाँकी छ । आगामी भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन् २०१९ को डिसेम्बरमा सकने गरी कार्ययोजना तयार पारिएको छ ।आयोजनाको समयसीमा २ वर्ष मात्र बाँकी छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ । निर्माण अवधिको व्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।
सिभिल बैंकले वार्षिक नाफा ८२ प्रतिशत बढाउने, ३ वर्षमा खुदनाफा १ अर्ब १५ करोड पुग्ने
काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिक ८२.८२ प्रतिशतले खुद नाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा नाफा साढे २ गुणा बढाएर १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले गत आवमा ३३ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खराब कर्जा घटाउने र व्यवसाय विस्तार गरेर नाफा बढाउने लक्ष्य लिएको हो । बैंकको निष्क्रिय कर्जा ४.६५ प्रतिशत छ । यो वर्ष निष्क्रिय कर्जा आधा घटाउने योजना बैंकको छ । बैंकले हकप्रद निष्कासन गर्दा बाहिर ल्याएको विवरणअनुसार गत आवको तुलनामा खुदनाफा साढे २ गुणा बढ्ने प्रक्षेपण गरेको हो । बैंकले चालु आव ०७४/०७५ मा नाफा बढाए १ अर्ब ६ करोड ३२ लाख रुपैयाँ पुर्याउने भएको छ । यस्तै आगामी आव ०७५/०७६ मा १ अर्ब १० करोड ८८ लाख र आव ०७६/०७७ मा १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको हो । नाफा वृद्धिसंगै आउदो ३ वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) साढे २ गुणा बढाएर १४ रुपैयाँ ४६ पैसा पुर्याउने भएको छ । गत आवमा बैंकको ईपीएस ६ रुपैयाँ ५२ पैसा थियो । चालु आवमा दोब्बर बढाएर १३ रुपैयाँ २९ पैसा पुर्याउने छ । यस्तै आगामी आवमा १३ रुपैयाँ ८६ पैसा र आव ०७६/०७७ मा १४ रुपैयाँ ८६ पैसाँ पुर्याउने प्रक्षेपण गरेको हो । यस्तै आव ०७६/०७७ मा निक्षेप परिचालन बढाएर ५९ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुर्याउने भएको छ । गत आवमा बैंकको निक्षेप ३४ अर्ब ११ करोड थियो । चालु आवमा बढाएर ४२ अर्ब ६३ करोड ८४ लाख, आगामी आवमा ५० अर्ब ३१ करोड ३३ लाख रुपैयाँ निक्षेप परिचालन गर्ने योजना छ । ३ वर्षमा कर्जा लगानी बढाएर ५२ अर्ब १७ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गर्ने योजना बनाएको छ । गत आवमा बैंकको कर्जा लगानी २९ अर्ब ४९ करोड रुपैयाँ थियो । चालु आवमा बढाएर ३७ अर्ब १५ करोड १० लाख, आगामी आवमा ४४ अर्ब ३ करोड रुपैयाँ पुर्याउने छ । बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गरेपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै संचित कोषमा भएको रकम पनि बढेर १ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । चालु आवमा बैंकको संचित कोषको आकार बढेर १ अर्ब १ करोड २४ लाख रुपैयाँ पुग्ने छ ।