लगानी योग्य पुँजीको अभाव समाधानमा अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय, के होला समाधानको उपाय ?
काठमाडौं । बैंकहरुमा लगानीयोग्य पुँजी संकट गहिरिँदै गएपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले समाधानको पहल थालेका छन् । लगानी गर्न पुँजी नभएको भन्दै बैंकहरुले धमाधम मुद्दती निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुर्याएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकले पहल थालेका हुन् । यस विषयमा सोमबार अर्थ र राष्ट्र बैंकबीच छलफल भएको छ । बैंकमा देखिएका लगानीयोग्य पुँजीको समस्या समधानका लागि केही काम भइरहेको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेल बताउछन् । यस विषयमा सोमबार अर्थ मन्त्रालयमा छलफल भएको बताउदै समस्या समधान गर्ने खाका आइनसकेको उनले जानकारी दिए । उनले विभिन्न कोणबाट समधानका लागि छलफल भइरहेको जानकारी दिए । बैंकमा लगानीयोग्य पुँजी कम भएको उनको भनाई छ । पछिल्लो समयमा बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७७ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकलाई हटाउदा झण्डै ८० प्रतिशत पुगेको छ । बजारमा ३२ अर्ब रुपैयाँ अधिक तरलता भएको पौडेलले जानकारी दिए । केही वाणिज्य बैंकमा समस्या देखिएको राष्ट्र बैंकले स्वीकार गरेको छ । खर्च कम भएपछि राज्यको ढुकुटीमा ३ खर्ब ३५ रुपैयाँ वचत पौडेलले जानकारी दिए । नेपाल बैंकर्स एसोसियसनले निक्षेपको बढ्दो ब्याजदरले कर्जामा समस्या पार्ने भन्दै तत्कालका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । यस्तै नेपाल इन्भेष्टर्स फोरमले पनि नेपाल बैंकर्स एसोसियसनका प्रतिनिधिलाई भेटी ब्याजदर स्थिर राख्न अनुरोध गरेको थियो । बैकिङ प्रणालीमा देखिएको समस्याको विषयमा छलफल भएको अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीले बताए । नियमित बैठक भएपनि अहिलेको समस्या समधान गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए । “हामीले आफनो तर्फबाट सुझाव दिएका छौ, राष्ट्र बैंकले कार्यन्वयन गर्ने छ” उनले भने । पुस १६ गतेसम्म सरकारले सरकारले साढे २८ प्रतिशत अर्थात ३ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ । यस्तै राजश्व संकलन ३६ प्रतिशत अर्थात २ खर्ब ६८ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारमा पठाउन लाग्दा बैंकबाट १९ अर्ब रुपैयाँको माग आएपछि बुधबार पुनः १० अर्ब बजारमा पठाउने तयारी गरेको छ । यता नेपाल टेलिकमले विभिन्न बैंकबाट ८ अर्ब २५ करोड रुपैयाँ निक्षेप निकाल्ने भएको छ । त्यस मध्ये ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । यो रकम बैंकिङ प्रणालीबाट राज्यको ढुकुटीमा गएर थुप्रिने छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदैछ । यस कम्पनीमा करिव ९६ प्रतिशत सेयर सरकारको भएकोले कम्पनीले नाफा वापतको ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । टेलिकम जस्तै, बैंक, वित्त, बीमा, जलविद्युतलगायत कम्पनीले यो महिनामा लाभांश वापत सरकारलाई अर्बौ रुपैयाँ कर तिर्दै छन् । पुसमा करको रुपमा अर्बौ रुपैयाँ राज्यको ढुकुटीमा जाने भएपछि बजारमा लगानीयोग्य पुँजीको अभाव हुने बैकरले बताएका छन् । सरकारले खर्च बढाउन नसके बैंकिङ प्रणालीमा ठुलो समस्या आउने संभावना रहेको माछापुच्छे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् ।
स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । सेयर बजार बढेसँगै लगानीकर्ताले आकर्षण दुई वाणिज्य बैंकमा देखिएको छ । सोमबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । स्ट्याण्डर्डको प्रतिकित्ता १ हजार ३३ रुपैयाँमा २ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको सोमबार २८ हजार ७११ कित्ता कारोबार भएको छ । आइतबार स्ट्याण्डर्डको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ९५० रुपैयाँ कायम भएकोमा सोमबार बढेर १ हजार ३३ रुपैयाँ पुगेको छ । एक दिनको अन्तरालमा स्ट्याडर्ड चार्टर्ड बैंकका लगानीकर्ताले प्रतिकित्ता ८३ रुपैयाँ फाइदा गरेका छन् । स्ट्याण्डर्ड चाटर्डको सेयर मूल्य अझै बढ्न सक्ने अनुमान लगानीकर्ताकाे छ । राम्रो बैंक र प्रतिफल पनि आर्कषक भएकाले लगानीकर्ताको आकर्षण स्ट्याण्डर्डमा बढेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौड्याल बताउछन् । गत वर्षको गरेको आम्दानीबाट सेयरधनीलाई सतप्रतिशत बोनस सेयर दिएपछि बिहीबार स्ट्याण्डर्डको २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । शत्प्रतिशत बोनस सेयर वितरण गरेर स्ट्याण्डर्डले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै प्रभु बैंकको बुक क्लोजको समय आएकाले सेयर किनबेच बढेको हो । सोमबार प्रभुको प्रतिकित्ता ३२५ मा ८२ हजार ८०२ कित्ता सेयर किनबेच भएको छ । प्रभुको २ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ । आइतबार प्रभुको प्रतिकित्ता १६० रुपैयाँमा ३ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको थियो ।
ब्याजदर नबढाउने बैंकको प्रतिवद्धताले सेयर बजारमा उछाल, एकैदिन ४४ अंकले बजार बढ्यो
काठमाडौं । बैंकहरुले ब्याजदर नबढाउन भनेपछि यसको सकरात्मक असर सेयर बजारमा परेको छ ।सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ । आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको छ । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ । बजार निरन्तर घटेर संकट आउने अवस्था आएपछि नेपाल इन्भेष्टर्स फोरमले आइतबार बैंकर्सलाई भेटी ब्याजदर नबढाउन आग्रह गरेको थियो । नेपाल बैकर्स एसोसियसनको बैठकमा निक्षेपको ब्याज बढाउँदा यसको गम्भीर असर कर्जा लगानीमा पर्ने भन्दै केही समयका लागि स्थिर ब्याजदर राख्न आन्तरिक सहमति भएको थियो । बैंकले ब्याजदर बढाउदैनन् भन्ने मनोवैज्ञानिक असर लगानीकर्तामा परेको छ । सोमबार बजार बढ्नुमा बैंकले स्थिर ब्याजदर नै मुख्य कारण भएको फोरमा अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउछन् । सोमबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्त सबैको सेयर मूल्य बढेको छ । बजार बढेपनि कारोबार रकम भने बढेको छैन् । सोमबार ४९ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । अाइतबारकाे तुलनामा नेप्से परिसूचकमा सुधार अाएतापनि सेयर काराेबार भने गिरावट भएकाे छ । अाइतबारकाे बजारमा ५८ कराेडकाे सेयर किनबेच भएकाे थियाे ।