अर्बपतिहरूको ‘अत्यधिक’ राजनीतिक प्रभावले उनीहरू पहिलेभन्दा झन् धनी, गरिबी भने उस्तै

काठमाडौं । विश्वव्यापी परोपकारी संस्था अक्सफामले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्बपतिहरूको कुल सम्पत्ति तीव्र रूपमा बढ्दै ऐतिहासिक उच्चस्तर १८.३ ट्रिलियन अमेरिकी डलर पुगेको छ । प्रतिवेदनले अति–धनीहरू आफ्नै स्वार्थका लागि शक्ति हासिल गर्न खोजिरहेको उल्लेख गरेको छ । गत वर्ष अर्बपतिहरूको संख्या ३ हजार नाघेको थियो । सोही अवधिमा उनीहरूको नेटवर्थ १६ प्रतिशत अर्थात् २.५ ट्रिलियन डलरले बढेको प्रतिवेदनमा उल्लेख छ । यससँगै सन् २०२० यता अर्बपतिहरूको सम्पत्ति ८१ प्रतिशतले वृद्धि भएको अक्सफामले जनाएको छ र यो समयलाई ‘अर्बपतिहरूका लागि राम्रो दशक’को संज्ञा दिएको छ । धनीहरू अझ धनी बन्दै जाँदा गरिबी न्यूनीकरणको गति भने सुस्त भएको छ । अक्सफामको प्रेस विज्ञप्तिअनुसार गरिबीको अवस्था ‘सामान्यतः सन् २०१९ कै स्तर वरिपरि’ रहेको छ । अक्सफामले अति–धनीहरूले राजनीतिक शक्ति सुनिश्चित गर्न र सञ्चारमाध्यमको स्वामित्व लिन आफ्ना सम्पत्ति प्रयोग गर्ने गरेको पनि जनाएको छ । यसका उदाहरणस्वरूप सन् २०२५ को सुरुवातमा अमेरिकी प्रशासनमा अर्बपति एलन मस्कको संलग्नता, जेफ बेजोसको द वासिङ्टन पोस्ट माथिको स्वामित्व तथा अर्बपति भिन्सेन्ट बोलोरेले फ्रान्सेली समाचारमाध्यम सी–न्युज खरिद गरेको उल्लेख गरिएको छ। अक्सफामका कार्यकारी निर्देशक अमिताभ बेहरले ‘धनीहरूको शासनविरुद्ध प्रतिरोधः अर्बपति शक्तिबाट स्वतन्त्रताको रक्षा’ शीर्षकको प्रतिवेदनमा भनेका छन्, ‘अति–धनीहरूले हाम्रा राजनीतिज्ञ, अर्थतन्त्र र सञ्चारमाध्यममाथि राख्ने अत्यधिक प्रभावले असमानता झन् गहिरो बनाएको छ र गरिबी उन्मूलनको प्रयासलाई गलत दिशातर्फ डोर्याएको छ ।’ अक्सफामले सन् २०१४ यता प्रत्येक वर्ष स्विट्जरल्याण्डको दाभोसमा हुने विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को वार्षिक बैठकसँगै असमानतासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । गत वर्ष अक्सफामले आगामी एक दशकभित्र कम्तीमा पाँच जना ‘ट्रिलियनियर’ देखिने भविष्यवाणी गरेको थियो र धनीहरूले आफ्नो न्यायोचित कर तिर्ने सुनिश्चित गर्न विश्वव्यापी कर नीतिको आह्वान गरेको थियो । यस वर्ष सोमबारदेखि सुरु हुने दाभोस सम्मेलनमा करिब ६५ राष्ट्रप्रमुख तथा सरकार प्रमुख र ८५० प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी हुनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘धनी र बाँकी जनताबीचको बढ्दो खाडलले अत्यन्त खतरनाक र दीर्घकालीन रूपमा अस्थिर राजनीतिक अभाव सिर्जना गरिरहेको छ,’ बेहरले भने । ‘सरकारहरूले अभिजात वर्गलाई खुसी पार्न र सम्पत्तिको रक्षा गर्न गलत निर्णय गरिरहेका छन्, जसले जनताको अधिकार र बढ्दो जीवनयापन खर्च असह्य बन्दै गएकोप्रति रहेको आक्रोशलाई दबाउने काम गरिरहेको छ,’ उनले थपे । सन् २०२५ मा ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ ले धनी वर्गका लागि विभिन्न कर छुटहरू ल्यायो, जसअन्तर्गत वार्षिक १० लाख डलरभन्दा बढी कमाउनेहरूको आम्दानी करिब ३ प्रतिशतले बढेको छ । यसैबीच, लुडविग इन्स्टिच्युट फर सेयर्ड इकोनोमिक प्रोस्पेरिटीले सन् २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार अधिकांश अमेरिकीहरू अब ‘न्यूनतम जीवनस्तर’ समेत धान्न नसक्ने अवस्थामा पुगेका छन् । अमेरिकी जनगणना ब्युरोले सेप्टेम्बरमा प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२४ मा करिब १० प्रतिशत अमेरिकी गरिबीमा बाँचिरहेका थिए । अक्सफामले सरकारहरूलाई राष्ट्रिय असमानता न्यूनीकरण योजना बनाउन, अति–धनीमाथि कर लगाएर उनीहरूको शक्ति घटाउन, राजनीति र सम्पत्तिबीच कडा ‘फायरवाल’ कायम गर्न तथा अभिव्यक्ति स्वतन्त्रताको बलियो संरक्षण सुनिश्चित गर्न आह्वान गरेको छ । यो प्रतिवेदन गत महिना लामो समयदेखि चलिरहेको आर्थिक संकटविरुद्ध सुरु भएका प्रदर्शनपछि हो । अक्सफामका अनुसार गत वर्ष ६८ देशमा १४० भन्दा बढी ‘महत्त्वपूर्ण’ सरकारविरोधी प्रदर्शन भएका थिए, जसलाई अधिकारीहरूले ‘प्रायः हिंसाका साथ’ सामना गरेका थिए । ‘आर्थिक रूपमा गरिब हुनु भनेको भोक सिर्जना हुनु हो । राजनीतिक रूपमा गरिब हुनु भनेको आक्रोश सिर्जना हुनु हो,’ बेहरले भने । अक्सफामको प्रतिवेदनले धनी राष्ट्रहरूले ‘पहिलेभन्दा अझ छिटो र अझ धेरै’ वैदेशिक सहायता कटौती गरिरहेको उल्लेख गरेको छ । यूएसएआईडी बन्दजस्ता कटौतीहरूले सन् २०३० सम्म थप १ करोड ४० लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी अक्सफामले दिएको छ ।

ऋणी बढे, ऋण बढेन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा ऋणीहरूको संख्या २० लाख नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङसिरसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ऋण खाता संख्या २० लाख १२ हजार ९९४ पुगेको हो । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४० प्रतिशत अर्थात् ८४ हजार ८८४ ले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को मङसिरसम्म ऋण खाता संख्या १९ लाख २८ हजार ११० रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंक र वित्त कम्पनीहरूमा ऋण खाता संख्या बढेको छ भने विकास बैंकहरूमा भने ऋण खाता घटेको देखिन्छ । वाणिज्य बैंकहरूमा ऋण खाता संख्या ४.०१ प्रतिशत अर्थात् ६४ हजार ४४१ ले बढेर १६ लाख ६९ हजार ८९४ पुगेको छ । गत वर्षको मङसिरमा वाणिज्य बैंकहरूमा १६ लाख ५ हजार ४५३ ऋण खाता सञ्चालनमा थिए । यस्तै, वित्त कम्पनीहरूमा ऋण खाता संख्या उल्लेखनीय रूपमा बढेको छ । चालु आवको मङसिरसम्म वित्त कम्पनीहरूमा ऋण खाता संख्या ७६.१४ प्रतिशत अर्थात् ३३ हजार ४१० ले बढेर ७७ हजार २८५ पुगेको छ । गत वर्षको सोही अवधिमा वित्त कम्पनीहरूमा ऋण खाता संख्या ४३ हजार ८७५ मात्रै थियो । तर, विकास बैंकहरूमा भने ऋण खाता संख्या घटेको छ । गत वर्षको मङसिरमा २ लाख ७८ हजार ७८२ ऋण खाता रहेकोमा चालु आवको मङसिरमा घटेर २ लाख ६५ हजार ८१५ मा झरेको छ । यो ४.६५ प्रतिशत अर्थात् १२ हजार ९६७ ले घटेको हो । समग्रमा ऋण खाता संख्या बढेको देखिए पनि कर्जा रकमको वृद्धि भने सुस्त देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको मङ्सिरसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत अर्थात् १ खर्ब २ अर्ब २४ करोड रुपैयाँ मात्रै बढेको छ । जबकि गत वर्षको सोही अवधिमा निजी क्षेत्रमा ३.५ प्रतिशत अर्थात् १ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । एभरेष्ट बैंकका नायब महाप्रबन्धक (डीजीएम) केशवराज पौडेलका अनुसार ऋणी संख्या बढ्नुको मुख्य कारण साना कर्जाको विस्तार हो । ‘घर, कार तथा साना कर्जाको माग बढेको छ । हाल ब्याजदर सस्तो भएकाले पनि रिटेल कर्जा बढेको देखिन्छ । तर ठूला उद्योगतर्फ ठूलो कर्जा गएको छैन,’ उनले भने । माछापुच्छ्रे बैंकका डीजीएम सुभाष जमरकट्टेलका अनुसार कर्जा प्रवाह अझै सुस्त रहेको छ । तर, एउटै ग्राहकले अन्य कुनै प्रयोजनका लागि कर्जा लिँदा नयाँ खाता खोल्नुपर्ने भएकाले ऋण खाता संख्या बढेको हुन सक्ने पौडेलको भनाइ छ ।   ‘नयाँ ठूला परियोजनाको माग छैन । रिटेल र एसएमई कर्जा सामान्य रूपमा गइरहेको छ । साथै एउटै ग्राहकले फरक प्रयोजनका लागि नयाँ लोन एकाउन्ट खोल्दा पनि ऋण खाता संख्या बढेको देखिन सक्छ,’ उनले भने । एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनिया बैंक तथा वित्तीय संस्थाहरूमा ऋण खाता संख्या बढ्दै गए पनि वास्तविक रूपमा नयाँ ऋणीको संख्या भने उल्लेखनीय रूपमा नबढेको बताउँछन् । उनका अनुसार एउटै व्यक्तिले फरक–फरक प्रयोजनका लागि धेरै लोन लिँदा ऋण खाता संख्या बढेको देखिन्छ, तर यसलाई नयाँ ऋणी थपिएको रूपमा बुझ्न नहुने स्पष्ट पारे ।  ‘एउटै व्यक्तिले पहिला दुई वटा लोन लिएको थियो भने अहिले अर्को एउटा थपिँदा तीनवटा लोन एकाउन्ट हुन्छन् । तर ऋणी त एउटै हो । त्यसैले लोन एकाउन्ट बढ्नु र ऋणी संख्या बढ्नु फरक कुरा हो,’ उनले भने ।  खनियाले हालको आर्थिक अवस्था र कर्जा मागको प्रवृत्तिले धेरै नयाँ ऋणी थपिएको संकेत नगर्ने बताए । उनका अनुसार कर्जा रकममा देखिएको केही वृद्धि पनि ब्याज क्यापिटलाइजेसनका कारण भएको हो । हाल करिब ५६ खर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमध्ये ठूलो अंश ब्याज पुँजीकरणमार्फत जोडिएको उनको भनाइ छ ।  ‘अर्थतन्त्रको अवस्था हेर्दा ऋणी धेरै बढेको जस्तो देखिँदैन । हाइड्रोपावर, ठूला पूर्वाधार आयोजना, ओभरड्राफ्ट सुविधा तथा पुनर्संरचना (रिस्ट्रक्चरिङ) गरिएका कर्जामा सञ्चालनमा नआउँदासम्म ब्याज क्यापिटलाइज हुने प्रचलन छ,’ उनले भने, ‘हाइड्रो आयोजनाले सञ्चालनमा नआउँदासम्म ब्याज तिर्दैनन्, त्यो ब्याज ऋणमै जोडिन्छ । ओभरड्राफ्ट र रिस्ट्रक्चरिङ कर्जामा पनि यही अभ्यास हुन्छ । यी सबै कारणले कर्जा रकम र लोन एकाउन्ट संख्या बढेजस्तो देखिए पनि वास्तविक रूपमा नयाँ कर्जा विस्तार र नयाँ ऋणीको संख्या भने सीमित नै रहेको देखिन्छ ।’ ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल ढकालका अनुसार विकास बैंकहरूले माइक्रोफाइनान्स कर्जा दिन बन्द गरी सेटलमेन्टतर्फ गएपछि साना ऋणीको संख्या घटेको हो । उनका अनुसार ऋणी संख्या घटेको भनिए पनि त्यसको प्रभाव ठूला ऋणीमा भने देखिएको छैन ।  ‘सानासाना माइक्रोफाइनान्स ऋणी घटेका हुन्, ठूला ऋणीमा भने खासै ठूलो मूभमेन्ट छैन,’ ढकालले भने । माइक्रोफाइनान्सका ग्राहकहरू सेटलमेन्टमा गएपछि ऋणी संख्या घटेको तथ्य स्पष्ट भएको उनले बताए । ढकालका अनुसार ऋणी संख्या घट्नुको कारणबारे डेभलपमेन्ट बैंकर्स एशोसिएसनमा समेत छलफल गरिएको थियो । उक्त छलफलबाट पनि ऋणी संख्या घट्नुको मुख्य कारण ठूला कर्जाग्राही नभई साना माइक्रोफाइनान्स ऋणी नै रहेको निष्कर्ष निकालिएको उनले जानकारी दिए । उनका अनुसार ऋणीको संख्या बढ्नुलाई आर्थिक गतिविधि विस्तार र अर्थतन्त्र चलायमान भएको संकेतका रूपमा लिने गरिन्छ । ऋण लिएर उद्यम र व्यवसाय सञ्चालन गर्नु सकारात्मक मानिए पनि हाल विकास बैंकहरूको तथ्याङ्कले साना ऋणी घटेको अवस्था देखाएको उनको भनाइ छ । 

जब ‘भगवान’ मानिएका डाक्टर नै भगवान पुकार्छन्

काठमाडौं । अस्पतालको मूल गेटअघि सानो मन्दिर हुन्छ । अस्पतालभित्र पस्नुअघि बिरामी त्यहीँ रोकिएर ढोग्छ । शरीर विज्ञानको जिम्मा लगाउनुअघि मन विश्वासको ढोकामा झुक्छ । शल्यक्रिया विज्ञानले गर्छ । तर, डर हटाउने काम विश्वासले गर्छ । यही विश्वास र विज्ञानको दोसाँधमा उभिएको छ एउटा नाम, एउटा जीवन र एउटा गम्भीर प्रश्न । डा. ज्ञानेन्द्रमान सिंह कार्कीको जीवनले अहिले यही प्रश्नलाई अझ गहिरो बनाइदिएको छ  । बिरामीका लागि चिकित्सक ठूलो कि भगवान ? डा. ज्ञानेन्द्रमान सिंह कार्की नेपाली स्वास्थ्य क्षेत्रका परिचित नाम हुन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा उनले दशकौं बिताए । थापाथली अस्पतालदेखि कोशी अस्पतालसम्म, सरकारीदेखि निजी अस्पतालसम्म उनले सेवा गरे । हजारौं शल्यक्रिया उनका लागि प्रक्रिया थिएनन्, ती जीवनसँगको साक्षात्कार थिए । धेरै महिलाका पाठेघर जोगिए, धेरै परिवारमा आमा सुरक्षित भइन्, धेरै घरमा खुसी फर्कियो । विदेशमा पढेपछि उतै बस्ने अवसर उनका लागि पनि खुला थियो । तर, उनले स्वदेश फर्कने निर्णय गरे । ‘नेपालीले नेपालमै गुणस्तरीय उपचार पाउनुपर्छ’ भन्ने सोच उनको जीवन दर्शन बन्यो । यही सोचले विराटनगरमा विराट नर्सिङ होम र विराट मेडिकल कलेज स्थापना गरे । करिब हजार बेड क्षमताको अस्पताल, आधुनिक उपकरण र दक्ष जनशक्तिसहितको संरचना केवल व्यवसाय होइन, एउटा सपना थियो उनको ।  तर, जीवन सधैं योजनाअनुसार चल्दैन । एकाएक उनको मुटुमा समस्या देखियो र भल्भ ब्लकेज भयो । जोखिमपूर्ण अवस्था आयो । समय कम थियो, निर्णय तुरुन्त लिनुपर्ने अवस्था बन्यो । काठमाडौंमै रहँदा समस्या देखिएपछि उनी भारतको दिल्लीस्थित मेदान्त अस्पताल पुगे । त्यहाँ उनको मुटुको जटिल वाइपास सर्जरी गरियो।  एकसाता अघि गरिएको शल्यक्रियापछि उनी अहिले आराम गरिरहेका छन् । अस्पतालका अनुसार डा. कार्कीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदैछ । उनी अहिले पनि भारतमै चिकित्सकीय निगरानीमा छन् । तर, उनको उपचारभन्दा पनि बढी चर्चा एउटा प्रश्नले पायो । आफ्नै हजार बेडको अस्पताल सञ्चालन गरिरहेका डाक्टर किन उपचारका लागि भारत जान बाध्य भए ? हजारौंको पुनर्जन्म दिएका उनी आफैले किन पुकारे भगवान ? बिरामी निको हुने काम चिकित्सकको कार्यशैली र क्षमताले हो भगवानको आर्शीवादले ?  बिरामीले चिकित्सकलाई भगवानको उपमा दिन्छन् । तर, तिनै चिकित्सकले आफूलाई बचाउनमा भगवानको भूमिका देखे ।  शल्यक्रियापछि सार्वजनिक भएको डा. कार्कीको भिडियो सन्देशमा उनले पटक–पटक भगवान स्मरण गरेका छन् । ‘अचानक मुटुमा समस्या भएपछि म अचानक दिल्ली आउनुपर्यो, अहिले मेरो जटिल शल्यक्रिया सफल भएको छ, भगवानको कृपाले मलाई राम्रो हुँदैछ ,आशा गरौं यहाँहरूको प्रार्थनाले, यहाँको आर्शीवादले सञ्चो भएपछि तपाईंहरूको सेवाका लागि आउनेछु ।’ ‘प्रभु ईश्वरभन्दा ठूलो कोही छैन, न जीवन हाम्रो हातमा छ न मृत्यु । सबै ईश्वरको हातमा छ,’ उनले थपेका छन् । बिरामीले चिकित्सकलाई भगवानको उपमा दिन्छन् । तर, तिनै चिकित्सकले आफूलाई बचाउनमा भगवानको भूमिका देखे ।  विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाका अनुसार डा. कार्कीलाई आवश्यक पर्ने सेवा विराट मेडिकल कलेजमा उपलब्ध छैन । उनी भन्छन्, ‘डाक्टर साबलाई जे समस्या देखियो त्यो सेवा हाम्रो आफ्नै अस्पताल पनि नभएको र नेपालका अन्य अस्पतालमा भए पनि भरपर्दो नहोला कि भनेर भारत जानु भएको हो ।’ देवकोटाका अनुसार काठमाडौंको गंगालालदेखि विभिन्न अस्पतालमा वाइपास सर्जरी हुने गरे पनि अझै अत्याधुनिक तरिकाले गरिने सर्जरी नेपालमा सीमित छ । ‘काठमाडौंको गंगालालदेखि विभिन्न अस्पतालमा वाइपास सर्जरी हुने भएपनि अझै एडभान्स तरिकाले गर्ने सर्जरी नभएको, र उहाँलाई गर्नुपर्ने सर्जरी निकै जटिल भएकाले कहाँ गर्ने भनेर पारिवारिक छलफल गर्दा बाहिर लिनुपर्ने अवस्था आएको हो,’ उनले भने ।  देवकोटाका अनुसार उपचार उपलब्ध हुनु र उपचार सुरक्षित हुनु फरक कुरा हो । ‘कतिपय उपचार नेपालमा हुँदैन, कतिपय भएकै सेवा मध्येबाट पनि सुरक्षित कहाँ हुन्छ भन्ने हिसाबले हेर्दा अझै सुरक्षित स्थान हेरिँदो रहेछ,’ देवकोटा भन्छन्, ‘शल्यक्रिया पनि निकै जटिल थियो, जुन डाक्टरलाई गरिएको सर्जरी छ, त्यो नेपालमा पनि नभएको होइन तर सफलता दर निकै कम छ, त्यसैले पनि बाहिर लिनु परेको हो ।’ भारतमा उपचार गराएका डा. कार्कीलाई २४ घण्टाभित्रै आईसीयूबाट क्याबिनमा सिफ्ट गरिएको थियो । यसले नेपालमा यस्ता जटिल शल्यक्रियाका लागि अझै पूर्ण रूपमा एडभान्स प्रविधि भित्रिन बाँकी रहेको संकेत गर्छ ।  तर मुटुरोग विशेषज्ञहरू नेपालमा सबै प्रकारका मुटुसम्बन्धी उपचार सम्भव रहेको दाबी गर्छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार नेपालमा वाइपास सर्जरी सुरु भएको करिब २२ वर्ष भइसकेको छ । ‘नेपालमा वाइपास सर्जरी हुन थालेको करिब २२ वर्ष जति भयो । अहिले पनि यस्ता सर्जरी नेपालमै भइरहेका छन्,’ उनी भन्छन् ।  डा. रेग्मीका अनुसार समस्या उपचार नहुनु होइन, विश्वासको मनोविज्ञान हो । ‘नेपालमा उपचारप्रति विश्वास नभएर होइन कि राम्रो ठाउँमा जाँदा अझ राम्रो र सहज हुन्छ भन्ने प्राय:लाई लाग्छ, यही आशामा अहिले पनि उपचार गर्न बाहिर जानेहरूको संख्या धेरै छ,’ उनी भन्छन् ।  रेग्मीको अनुभव अझ कडा छ । ‘अरूलाई पर्दा यहीँ भइहाल्छ भन्दै सल्लाह दिनु बेग्लै कुरा हो, जब चिकित्सक आफैलाई पर्छ त्यसपछि के हो, के हो भन्ने हुन्छ, आफ्नो जिन्दगीको कुरो जब आउँछ, त्यसपछि सकेसम्म राम्रै ठाउँमा जाउ भन्ने हुन्छ, यस्ता थुप्रै घटना छन्,’ उनले भने ।  जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी संघीयतापछि सबैभन्दा राम्रो प्रगति भएको क्षेत्र स्वास्थ्य भएको बताउँछन् । ‘एक समय हातले चिरेर अप्रेशन गर्नुपर्ने अवस्था थियो अहिले रोबटमार्फत शल्यक्रिया हुन्छ । प्रविधिको पहुँच बढेको छ, अस्पतालको संख्या बढेको छ, चिकित्सकरू पनि दक्ष हुनुहुन्छ । यही निरन्तरता जारी रहने हो भने नेपालमा स्वास्थ्य क्षेत्रको भविष्य अझ सुन्दर देखिन्छ ।’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की स्वास्थ्य क्षेत्रमा केही जटिलता भए पनि समग्र अवस्था सकारात्मक रहेको बताउँछन् । चिकित्सक र नर्सहरूको पीडा एकातिर भए पनि प्रविधिमैत्री स्वास्थ्य सेवाको विस्तार भइरहेको उनको भनाइ छ । उनी कुनै व्यक्ति विदेश उपचार गएको आधारमा नेपालमा उपचार असम्भव थियो भन्ने निष्कर्षमा पुग्न नहुने बताउँछन् ।  सर्वसाधारणले चिकित्सकलाई भगवान मान्छन् । अस्पताल पुग्दा जीवन नै चिकित्सकको हातमा सुम्पिन्छन् । तर, विज्ञान भगवान होइन । विज्ञान प्रमाण, परीक्षण र अवलोकनमा विश्वास गर्छ । चिकित्सक आफै पनि आफू भगवान नभई दक्ष जनशक्ति भएको दाबी गर्छन् ।