काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अकस्मात बाढीका कारण एक हजारभन्दा बढी पर्यटक प्रभावित भए, जसमध्ये ६ सयभन्दा बढी पर्यटक अझै सम्पर्कविहीन छन् ।
त्यस्तै, असोज ११ गते हिमाल आरोहण दल र सहयोगी कर्मचारीहरू मनाङको हिमलुङ हिमाल पुगे । हिमलुङ हिमाल चढ्न र त्यसको तयारीको लागि त्यहाँ पुगेका १६ जना त्यतै विलिन हुन पुगे । यो त पछिल्लो प्रतिनिधि घटनामात्र हो ।
हिमाल आरोहण, पदयात्रा, हवाई दुर्घटना तथा प्राकृतिक विपद्जस्ता विभिन्न कारणले बेलाबेला नेपालीसहित विदेशी पर्यटकहरूले ज्यान गुमाउनुपरेको छ ।
एकातिर सरकारी तथा निजी क्षेत्रहरू नेपाल पर्यटकका लागि पूर्णतः सुरक्षित छ भनेर विश्वभर सन्देश दिन प्रयासरत छन्, अर्कोतिर हरेक वर्ष घट्ने यस्ता अप्रत्यासित घटनाका कारण पर्यटकहरूले सुरक्षाप्रति आशंका र असुरक्षा महसुस गर्नुपर्ने बाध्यता कायमै छ ।
नेपालको प्राकृतिक सुन्दरता, हिमाली दृश्य र आतिथ्य सत्कारले बर्सेनि लाखौं विदेशी पर्यटकलाई लोभ्याउँछ । तर, यो सुन्दर दृश्यपछाडि एउटा दुःखद यथार्थ पनि लुकेको छ । हरेक वर्ष नेपाल आएका दर्जनौं स्वदेशी तथा विदेशी पर्यटकहरूले यहाँ ज्यान गुमाइरहेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण पदयात्रा क्षेत्रमा मात्रै लेक लागेर (एल्टीच्युड सिकनेस) २५ जना पर्यटकले ज्यान गुमाएका थिए । जसमा १२ नेपाली थिए । बाँकी भारतीय, जापान, मेक्सिको, स्पेन र सिंगापुरका नागरिक थिए ।
उक्त आवमा मुस्ताङमा १५, मनाङमा ८, अन्नपूर्ण आधार शिविरमा एक र मर्दी हिमाल पदयात्रा क्षेत्रमा एक जनाको लेक लागेर ज्यान गएको थियो ।
सोही अवधिमा दुर्घटनामा परी थप पाँचजना पर्यटकको मृत्यु भएको थियो भने मनाङमा भारी हिमपातका क्रममा एक भारतीय र हिमलुङ हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियाली आरोहीले ज्यान गुमाएका थिए ।
उच्च हिमाली क्षेत्रका मुस्ताङ र मनाङमा लेक लाग्ने समस्या बढी देखिने गरेको छ । मनाङको तिलिचो ताल जाने क्रममा समेत लेक लागेर पर्यटकको मृत्यु हुने गरेको छ ।

हिमाल आरोहणको क्रममा
स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने नेपालको प्रमुख पर्यटकीय आधारमध्ये एक हिमाल पनि हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, कञ्चनजंघा, मकालुलगायत हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आउने गरेका छन् ।
तर, हिमाल आरोहण जोखिमरहित भने छैन । हिमपहिरो, उचाइजन्य समस्या, अक्सिजनको अभाव, प्रतिकूल मौसम तथा बाटोमा खस्नेजस्ता कारणले आरोहणका क्रममा पर्यटक तथा पदप्रदर्शकले ज्यान गुमाउने गरेका छन् । सन् २०२६ मा मात्रै सगरमाथा र मकालु क्षेत्रमा पाँच जना आरोही तथा पदप्रदर्शकको मृत्यु भइसकेको छ ।
द हिमालयन डाटाबेस र पर्यटन विभागको तथ्यांकअनुसार सन् १९२१ यता नेपालका हिमाल आरोहणका क्रममा ३४० भन्दा बढी आरोही तथा पदप्रदर्शकले ज्यान गुमाइसकेका छन् । पछिल्लो एक दशकमा मात्रै १६७ जनाको मृत्यु भएको तथ्यांकले देखाउँछ ।

हवाई दुर्घटना
नेपालमा पर्यटकको मृत्यु हुने अर्को प्रमुख कारण हवाई दुर्घटना पनि हो । दुर्गम तथा हिमाली क्षेत्रमा उडान गर्ने क्रममा भएका विमान तथा हेलिकप्टर दुर्घटनामा विदेशी पर्यटकसमेत ज्यान गुमाउने गरेका छन् । सन् १९९२ मा नेपालमा भएका दुई ठूला अन्तर्राष्ट्रिय विमान दुर्घटनामा मात्रै २८० जनाको मृत्यु भएको थियो ।
त्यसयता पनि दुर्गम पहाडी विमानस्थलमा हुने आन्तरिक उडान तथा हिमाली क्षेत्रमा हुने हेलिकोप्टर उडान दुर्घटनामा विदेशी पर्यटकले ज्यान गुमाएका घटना दोहोरिँदै आएका छन् । विशेषगरी पदयात्रा तथा हिमाल आरोहणका लागि दुर्गम क्षेत्रमा जाने पर्यटकको आवतजावतमा हवाई उडान महत्वपूर्ण माध्यम भएकाले यस्ता दुर्घटनाले पर्यटक सुरक्षामाथि प्रश्न उठाउने गरेको छ ।
सन् २०२३ मा यति एयलाइन्स दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाएका थिए । त्यस्तै, सन २०२२ मा तारा एयरलाइन्स दुर्घटना हुँदा विदेशी र नेपालीसहित २२ जनाको मृत्यु भएको थियो ।

ठूला प्राकृतिक विपदमा मृत्यु
प्राकृतिक विपद्का कारण पनि नेपालमा पर्यटकले ज्यान गुमाउने गरेका छन् । सन् २०१४ मा अन्नपूर्ण चक्रपथअन्तर्गत थोरङला पास क्षेत्रमा आएको भयानक हिमपात र आँधीमा परी ४३ जनाभन्दा बढी पदयात्री तथा स्थानीय गाइडको मृत्यु भएको थियो । उक्त घटनालाई नेपालको पदयात्रा इतिहासकै ठूलो प्राकृतिक विपदमध्ये एक मानिन्छ ।
सन् २०१५ मा नेपालमा शक्तिशाली भूकम्प गयो । उक्त भूकम्पमा नेपालमा ९ हजार भन्दा बढीले ज्यान गुमाएका थिए । लाङटाङ र सगरमाथा आधार शिविरमा भूकम्पका कारण आएको हिमपहिरोमा परेर दर्जनौं विदेशी पर्यटकहरूले ज्यान गुमाएका थिए ।
राजनीतिक अस्थिरता, हुलदंगा र बन्द–हड्ताल
आकस्मिक राजनीतिक प्रदर्शन, चक्काजाम तथा हुलदंगाका घटनाले पनि पर्यटकको यात्रालाई प्रभावित पार्ने गरेका छन् । यस्ता घटनाका कारण सडक यातायात अवरुद्ध हुँदा पर्यटक बीच बाटोमै रोकिने तथा विमानस्थलमा अलपत्र पर्ने अवस्था सिर्जना हुने गरेको छ । गन्तव्यसम्म पुग्न नसक्दा र आवतजावतमा अनिश्चितता बढ्दा पर्यटकले आफूलाई असुरक्षित महसुस गर्ने गरेका छन् ।
के भन्छन् सरोकारवालाहरू ?
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा प्राकृतिक विपद्, हवाई दुर्घटना, सचेतनाको कमी तथा बारम्बार हुने आन्दोलनलगायत कारणले नेपालको पर्यटन क्षेत्रले अपेक्षित गतिमा विकास गर्न नसकेको बताउँछन् ।
बारम्बार हुने राजनीतिक आन्दोलन, द्वन्द्व तथा अशान्तिका कारण पर्यटक विमानस्थलदेखि नै अलपत्र पर्ने र दुःख पाउने अवस्था पर्यटन क्षेत्रका लागि दुःखद पक्ष रहेको उनले बताए ।
पर्यटक मनोरञ्जन र आरामका लागि आउने भएकाले अशान्ति तथा हिंसाका घटनाले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन क्षेत्रप्रति नकारात्मक र दीर्घकालीन असर पार्न सक्ने उनको भनाइ छ ।
अध्यक्ष शेर्पा प्राकृतिक विपत्ति तथा दुर्घटनाजस्ता घटना पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसबाट हुने क्षति न्यूनीकरणका उपाय भने अपनाउन सकिने बताउँछन् ।
उनका अनुसार उच्च हिमाली क्षेत्रमा पुग्दा पर्यटकले हतारिएर छोटो समयमै धेरै उचाइ पार गर्न खोज्दा अक्सिजनको कमी भई मुटु र मस्तिष्कमा असर पर्न सक्छ । यसबाट लेक लाग्ने, बिरामी हुने र ज्यानसमेत जाने जोखिम हुन्छ । यस्तो अवस्थामा ट्राभल एजेन्सी र स्वयं पर्यटक दुवैको कमजोरी रहने गरेको उनले बताए ।
हिमाली यात्रा गर्दा सामान्यतया एक दिनमा ३ सय देखि ४ सय मिटरभन्दा बढी उचाइ नलिई बिस्तारै उचाइ अनुकूलन गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ ।
ट्राभल तथा ट्रेकिङ कम्पनीहरूले पर्यटकलाई उच्च उचाइमा हुने जोखिमबारे सही जानकारी दिई सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउन सचेत गराउनुपर्ने उनले बताए ।
उच्च हिमाली क्षेत्रको जलवायु, हिमनदी र हिमतालको अध्ययन काठमाडौं वा सहरमा सीमित नभई हिमाली क्षेत्रमै टोली बसेर वास्तविक अवस्थाको अध्ययन गर्नुपर्ने बताएका छन् ।
यस्तो ठोस अनुसन्धान र अध्ययनले सम्भावित जोखिमबारे पूर्वसूचना प्राप्त गर्न तथा हिमताल फुट्ने जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार नेपालमा पर्यटकलाई लक्षित गरी हुने आपराधिक घटना भने धेरै छैनन् ।
‘यस्ता घटना हुँदै नहुने भने होइन, तर संख्या न्यून रहेको छ,’ उनले भने ।
उनले पर्यटकमाथि ह्यारेसमेन्ट, लुटपाट तथा ठगीका केही घटना हुने गरेको जानकारी दिए । चालु आर्थिक वर्षमा मात्रै यस्ता तीन–चारवटा घटना भएको उनले उल्लेख गरे ।
तर पर्यटकमाथि गम्भीर प्रकृतिका अपराध, जस्तै हत्या वा ज्यानै जाने गरी आक्रमणका घटना भने नभएको अधिकारीले बताए ।
विदेशी नागरिक र नेपालीबीच हुने झगडाका केही घटना पनि हुने गरेको उनी बताउँछन् । उनका अनुसार विशेषगरी नेपालमा वर्किङ भिसामा बसेका विदेशी नागरिकसँग सम्बन्धित एक–दुईवटा घटना रहेका छन् ।
पर्यटक र स्थानीयबीच भनाभान तथा विवादका घटना पनि बेलाबेलामा हुने गरेको अधिकारीले बताए । कतिपय अवस्थामा आपसी गलत बुझाइका कारण विवाद हुने गरेको उनको भनाइ छ ।
विशेषगरी रातको समयमा बजार क्षेत्रभन्दा बाहिरका सुनसान स्थानमा सामान्य आपराधिक घटना हुने गरेको सुनिने भए पनि पर्यटकको हत्या भएको घटना भने नरहेको अधिकारीले बताए । यस्ता घटनाका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटनबारे नकारात्मक सन्देश जाने अवस्था नरहेको उनको भनाइ छ ।
वायु सञ्चालक संघ नेपालका अध्यक्ष प्रतापजंग पाण्डे हवाई दुर्घटना नेपालमा मात्रै नभई विश्वका विभिन्न मुलुकमा हुने भएकाले यसलाई भवितव्य घटनाका रूपमा लिनुपर्ने बताउँछन् । हवाई दुर्घटनाका कारण पर्यटकले नेपाललाई असुरक्षित गन्तव्यका रूपमा लिई आउनै नचाहने अवस्था नरहेको उनको भनाइ छ ।
विगतको तुलनामा नेपालमा हवाई दुर्घटनाका घटना घट्दै गएको र हवाई सुरक्षाको संस्कृतिसमेत विस्तारै विकास हुँदै गएको पाण्डेले बताए । हवाई सुरक्षाका क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट निरन्तर प्रयास भइरहेको उनको भनाइ छ ।
होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपालको वास्तविक अवस्थाबारे पर्यटकलाई वस्तुपरक र स्पष्ट सूचना दिनुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार नेपालको पर्यटन प्रवद्र्धन गर्ने क्रममा समस्या लुकाएर सबै कुरा राम्रो रहेको सन्देश दिनुभन्दा जहाँ समस्या छ, त्यहाँको अवस्थाबारे पनि पर्यटकलाई स्पष्ट जानकारी गराउनु आवश्यक छ ।
‘हाम्रो जिम्मेवारी नै सही सूचना दिनु हो, कुनै कुरा लुकाउनु हुँदैन,’ उनले भने ।
नेपाल पूर्ण रूपमा असुरक्षित रहेको सन्देश दिन नहुने भन्दै उनले कुन क्षेत्रमा अवस्था कस्तो छ र कहाँ सुरक्षित तथा कहाँ जोखिम छ भन्नेबारे पर्यटकलाई यथार्थ जानकारी दिनुपर्ने शाहले बताए ।
‘यहाँ सबै कुरा राम्रो छ भनेर भन्यौं, तर पर्यटक आएर वास्तविकता खोज्दा समस्या देखिएमा हामीले झुटो बोलेको ठहरिन्छ,’ उनले भने ।
नेपाल पूरै असुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुभन्दा वास्तविक अवस्थालाई स्पष्ट रूपमा प्रस्तुत गर्दा पर्यटकले पनि आफ्नो यात्रा र गन्तव्यबारे उचित निर्णय लिन सक्ने उनको भनाइ छ ।