विश्वव्यापी ईभी बजारमा मन्दीको संकेत
काठमाडौं । विश्वव्यापी रूपमा विद्युतीय सवारी (ईभी) को दर्ता गत वर्ष २० प्रतिशतले बढेको भए पनि २०२६ मा यसको वृद्धिदर सुस्तिने सम्भावना देखिएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार चीनमा आएको मन्दी र विश्वभर विद्युतीकरण लक्ष्यहरू खुकुलो बनाइँदा डिसेम्बरमा बिक्री वृद्धिदर फेब्रुअरी २०२४ यताकै सबैभन्दा कम भएको हो । ब्याट्री–इलेक्ट्रिक र प्लग–इन हाइब्रिडसमेतका ईभीको मासिक दर्ता संख्या उत्तर अमेरिकामा अझै घटेको छ । अमेरिकामा ईभी कर छुट (ट्याक्स क्रेडिट) योजना अक्टोबरमा समाप्त भएपछि यस्तो गिरावट आएको परामर्शदाता संस्था बेन्चमार्क मिनरल इन्टेलिजेन्स (बीएमआई) ले जनाएको छ। बीएमआईका डेटा म्यानेजर चार्ल्स लेस्टरका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विद्युतीकरण नीतिमा यू–टर्न र युरोपेली संघमा उत्सर्जन मापदण्ड खुकुलो पारिनुजस्ता आमूल नीतिगत परिवर्तनले २०२५ मा विश्व ईभी बजारलाई ‘झण्डै पहिचानै नहुने’ अवस्थासम्म हल्लाइदिएको छ । युरोपमा बढ्दो प्रतिस्पर्धा र चीनमा चिसिँदो मागका कारण सीओटू उत्सर्जन घटाउन विद्युतीकरण आवश्यक ठान्ने पक्ष र छिटो रूपान्तरणले रोजगारी र नाफामा खतरा ल्याउँछ भन्ने कार निर्माता कम्पनीहरूबीचको बहस अझ चर्किने सम्भावना छ । बिक्रीको सूचक मानिने विश्वव्यापी ईभी दर्ता संख्या डिसेम्बरमा ६ प्रतिशतले बढेर झण्डै २१ लाख पुगेको छ । सन् २०२५ मा कुल २ करोड ७ लाख ईभी दर्ता भएका छन् । चीनमा दर्ता संख्या २ प्रतिशतले बढेर १३ लाखभन्दा बढी पुगेको छ, जुन फेब्रुअरी २०२४ यताकै सबैभन्दा कम वार्षिक वृद्धिदर हो । यसले २०२५ मा कुल १२.९ मिलियन एकाइ पुग्दै १७ प्रतिशत वृद्धि देखाएको छ । विश्वभर बिक्री भएका ईभीमध्ये ७१ प्रतिशत चीनमै उत्पादन भएका हुन् । उत्तर अमेरिकामा अमेरिकी कर छुट अन्त्यसँगै अक्टोबर र नोभेम्बरजस्तै डिसेम्बरमा पनि गिरावट देखिँदै दर्ता संख्या ३९ प्रतिशतले घटेर करिब १ लाखमा सीमित भएको छ । समग्र २०२५ मा यो क्षेत्र ४ प्रतिशतले घटेको छ । युरोपमा डिसेम्बरमा ३४ प्रतिशतले बढेर ४.५ लाखभन्दा बढी दर्ता भएको छ भने वर्षभर ३३ प्रतिशत वृद्धि भएको छ । विश्वका अन्य क्षेत्रहरूमा डिसेम्बरमा ४१ प्रतिशतले बढेर १.६ लाखभन्दा बढी र २०२५ मा ४८ प्रतिशत वृद्धि भएको छ । बीएमआईका अनुसार यस वर्ष विश्वभर २ करोड ३९ लाख ईभी बिक्री हुने अपेक्षा छ, जुन १५.७ प्रतिशत वृद्धि हो । चीनमा वृद्धिदर तीव्र भएर २१ प्रतिशत पुग्ने, तर युरोप र विश्वका अन्य क्षेत्रमा क्रमशः १५ र २६ प्रतिशतमा सुस्तिने अनुमान गरिएको छ । अमेरिकामा २९ प्रतिशतको ठूलो गिरावटका कारण उत्तर अमेरिकामा कुल बिक्री २३ प्रतिशतले घट्ने पूर्वानुमान गरिएको छ ।
यसरी भयाे एसबिआई बैंकको शाखामाथि लुटपाट
काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंकका कर्मचारी मंगलबार साँझ घर हिँडिसकेका थिए । बैंकमै बस्ने तीन जना कर्मचारी खाना खान हिँडेका थिए । बैंकका सुरक्षा गार्ड रुद्र कार्की बैंकको सुरक्षासँगै खाना पनि पकाउँदै थिए । साढे ६:३० बजेको समयमा ६ जनाको समूह बैंकमा प्रवेश गर्यो । त्यो समूहले सुरुमै सुरक्षा गार्ड रुद्र कार्कीलाई प्रहार गर्यो । उनको हातमा ठूलो चोट लाग्यो । उनी घाइते भए । त्यसपछि उनीहरूको टार्गेटमा कर्मचारीहरू परे । त्यो समूहले बैंकमा रहेका कर्मचारीको हात बाँधे । कर्मचारीहरू प्रतिवाद गर्न नसक्ने अवस्थामा पुगे । लुटेराहरूले धमाधम बैंकको नगद बोरामा राखे । बैंकका सुरक्षा गार्ड कार्कीले आफू भान्सामा खाना पकाइरहेको बेला आएर आक्रमण गरेको जानकारी दिए । उनका अनुसार उनी भान्सामा खाना पकाइरहेका थिए भने बैंकका तीन जना कर्मचारी खाना खान गएका थिए । ‘म भान्सामा खाना पकाइरहेको थिएँ । अचानक ६ जनाको समूह आयो, चार जनाले खुकुरी देखाए भने दुई जनाले पेस्तोल देखाए । मलाई खुकुरीले पनि प्रहार गरे, हात बानेर राखे । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी आएर ढोका खोलेपछि हामी बाहिर आएका हौं । मुखुण्डो लगाएर आएका थिए । मान्छे पहिचान नै गर्न सकेनौं,’ कार्कीले भने । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार सुरक्षा गार्ड र कर्मचारीमाथि कुटपिट गरेपछि लुटेराहरूले स्वतन्त्र रूपले बैंक लुट्न पाए । लुटेराहरूले बैंकमा भएको नगद बोरामा लगेर जंगलतर्फ लागेको उनले जानकारी दिए । सुवेदीका अनुसार लुटपाट लगत्तै इलाका प्रहरी कार्यालय, बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । मंगलबार राति नै प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी गर्दा एक करोड ८० लाख रुपैयाँ नगद फेला परेको उनले जानकारी दिए । अहिले चार जना लुटेरा पनि पक्राउ भइसकेको सुवेदीले जानकारी दिए । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको उनले बताए । घ्याङलेख काभ्रेपलाञ्चोकसँग सीमा जोडिएको दुर्गम स्थानीय तह हो । बैंकले भने ३ करोड बढी रुपैयाँ लुटपाट भएको जानकारी दिएको छ । १० वर्षअघि पनि रौतहटको चन्द्रनिगाहपुरस्थित मेनरोडमा रहेको नेपाल एसबीआई बैंकको शाखामा पनि लुटेराहरूले गोली चलाएर लुटपाट गरेका थिए ।
अधिकांश बैंकले माघमा पनि घटाए ब्याजदर, प्राइमले बढायो
काठमाडौं । वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर औसत ४.६८ प्रतिशतमा झरेको छ । जबकि पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत थियो । यस्तै, माघमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०६ प्रतिशत घटेर ३.३८ प्रतिशतमा झरेको छ । यसअघि पुसमा संस्थागततर्फ औसत ३.३७ प्रतिशत ब्याजदर थियो । माघ महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, प्राइम बैंकले भने माघमा ब्याजदर बढाएको छ । कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र सानिमा बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । यस्तै, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । प्राइम बैंकले माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । जबकि पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो । तर, बैंकले संस्थागततर्फ भने ब्याजदर स्थिर राखेको छ ।