एभरेष्टको सेयर खुल्ने वित्तिकै १० प्रतिशतले घट्यो, किन्ने कोहि छैनन्, बेच्नेहरु लाइनमा

काठमाडौं । बुधबार सेयर बजार खुल्ने वित्तिकै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सेयर कारोबार खुल्ने वित्तिकै एभरेष्टको सेयर बेच्नेहरुको ठुलो संख्या बढेपछि कम्पनीको मूल्य १० प्रतिशतले घटेर कारोबार बन्द भएको हो । ४ हजार ७ सय ५४ कित्ता सेयर बिक्रिमा राखिए पनि कुनै लगानी कर्ता खरिद गर्न निस्किएनन् । एभरेष्टको सेयर मूल्य २१९ रुपैंयाँले घटेर १९७१ रुपैंयाँमा आईपुगेको छ । मंगलबार पनि एभरेष्टको सेयर मूल्य २४३ रुपैंयाँले घटेको थियो । कम्पनीले पुर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नपाउने भएपछि लगानी कर्ता निरास बनेका छन् । हाल सबै साधारण सेयर मात्रै रहेको कम्पनीले अब संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउनै पर्ने भएको छ । सो सेयर संरचना कायम गराउँदा पुर्व घोषित ६ सय प्रतिशतको हकप्रद सेयर निष्काशन गर्न नपाउने भएको हो ।

पञ्चकन्या हाइड्रोपावरले माघ ५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ५ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९ गतेसम्मपछि हुने छ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ  ।  स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले इलाममा ६ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

अब पुनर्बीमामा पनि ब्रोकरः स्वदेशीलाई विदेशी खोजिदिने, विदेशीलाई नेपाली

काठमाडौं । अब पुनर्बीमामा पनि ब्रोकरको व्यवस्था हुने भएको छ । बीमा समितिले पुनर्बीमालाई थप व्यवस्थित र सुरक्षित गराउन ब्रोकर सेवा सम्बन्धी व्यवस्था गर्न लागेको हो । हालसम्म नेपाली बीमा कम्पनीहरुका लागि भारतको जेबी बोडा इन्स्योरेन्स ब्रोकरेजले प्रतिनिधी राखेर ब्रोकर सेवा दिँदै आएको छ । ‘नेपाली बीमा कम्पनीका लागि व्यवसायीक ब्रोकर मार्फत काम गराउने उदेश्यले ब्रोकर सम्बन्धी निर्देशिका तयार पार्दैछौं’, बीमा समितिका नियमन विभागका प्रमुख साम्भराज लामिछानेले विकासन्युजसँग भने । त्यस्ता ब्रोकरहरुले नेपाली बीमा कम्पनीका लागि संसारका राम्रा पुनर्बीमा कम्पनी खोजिदिनेछ भने नेपाल पुनर्बीमा कम्पनीका लागि पनि विदेशी व्यापार खोजिदिनेछ । ‘नेपाली कम्पनीका लागि राम्रा विदेशी पुनर्बीमा कम्पनी खोज्ने र नेपाली कम्पनीमा पनि विदेशी कम्पनीहरुबाट पुनर्बीमा गराउने कामका लागि पुनर्बीमा दलालको व्यवस्था गर्न लागेका हौं’, नियमन विभाग प्रमुख लामिछानेले भने । समितिले पुनर्बीमा दलाल निर्देशिका मार्फत त्यस्तो ब्रोकरहरुको व्यवस्था गर्न लागेको हो । समितिले हाल त्यस्ता रि इन्स्योरेन्स ब्रोकरको चुक्ता पुँजी, सेवा शुल्क, संख्या, कार्यक्षेत्र र नियमनका उपायबारे अध्ययन गरिरहेको छ । पुनर्बीमा ब्रोकरको चुक्ता पुँजी एक करोड राख्नेबारे सहमति नजिक पुगिएको श्रोतले बतायो । बीमालाई जोखिम हस्तान्तरणको व्यवसाय मानिन्छ । एउटा कम्पनीमा गरिएको बीमा वापतको प्रीमीयम दर्जनौं पुनर्बीमा कम्पनीमा बाढिएको हुन्छ र ती कम्पनीहरुले प्राप्त गरेको प्राप्त गरेको प्रीमीयमका आधारमा जोखिम वहन गरिरहेका हुन्छन् । नेपालमा भने हालसम्म एउटा मात्रै पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स मात्रै रहेको छ । पुनर्बीमा ब्रोकरले लाइसेन्स पाएर सेवा आरम्भ गरेपछि नेपाली बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनी पाउने समितिले दावी गरेको छ । हाल विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएका कम्पनीहरुले दावी भुक्तानी नपाएर हैरानी पाईरहेका छन् । युनाइेटड इन्स्योरेन्स कम्पनीले सिटी स्केपको दावी भुक्तानी लिन सकिरहेको छैन् । पुनर्बीमा ब्रोकर सेवा आरम्भ भएपछि त्यस्ता समस्याहरु नहुने बीमा समितिको दावी छ । आगामी डेढ महिना भित्र पुनर्बीमा ब्रोकरलाई लाइसेन्स दिने गरि बोर्डले काम अघि बढाईरहेको बताएको छ ।