२ लाखमा किनेको कार यसरी बेचिन्छ १४ लाख रुपैयाँमा, ७ लाख सरकारको ढुकुटीमा र ५ लाख व्यापारीको खल्तीमा
काठमाडौं । भारतबाट दुई लाख ७५ हजार नेपाली रुपैयाँमा किनेको कार नेपालमा कति रुपैयाँमा बिक्री होला ? महँगो मूल्य अनुमान गर्नुहोस् । फरक फरक मान्छेको फरक फरक अनुमान हुनसक्छ । नेपाल सरकारले सवारी साधानमा उच्च दरको कर लगाउँछ भन्ने जानकारी भएका मानिसले दुई लाख ७५ हजार रुपैयाँमा किनेको गाडी व्यापारीले कम्तिमा ८ लाख रुपैयाँमा बिक्री गर्ने अनुमान गर्न सक्छन् । यो क्षेत्रको व्यापारलाई राम्ररी बुझेका मानिसले दुई लाख ७५ हजार रुपैयाँमा किनेको गाडी करिव १० लाखमा बिक्री गर्ने अनुमान गर्लान् । तर ती सबै अनुमान सहि हुँदैनन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागका अनुसार दुई लाख ७५ हजार रुपैयाँमा किनेको कार १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री हुने गरेको छ । विभागका अनुसार नेपालको लागि मारुती गाडीको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले दुई लाख ७५ हजार रुपैयाँमा किनेको कारमा २० थरी शिर्षकमा थप रकम जोडेर कम्पनीले १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री गरेको छ । ८ सय सिसिको इञ्जिन भएको मारुतिकोे अल्टो ‘एसटीडी’ नेपालमा २ लाख ७५ हजार ५८० नेपाली रुपैयाँमा भित्रिने गरेको छ । उक्त कार उपभोक्ताले खरिद गर्दा १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री गरेको छ । त्यसमा सरकारले विभिन्न शिर्षकको कर र शुल्कको नाममा ७ लाख २६ हजार ३३९ रुपैयाँ लिने गरेको छ भने व्यापारीको खल्तीमा ४ लाख ३१ हजार ७८८ रुपैयाँ जाने गरेको छ । एक जना उपभोक्तालाई सवा ७ लाख कर विभिन्न शिर्षकका कर र शुल्कको नाम सरकारले एउटा अल्टो कारको उपभोक्तासँग ७ लाख २६ हजार ३३९ रुपैयाँ असुल गर्दै आएको छ । कार आयातमा लाग्ने ७७ दशमलव ६० प्रतिशत भन्सार कर वापत २ लाख २५ हजार १२३ रुपैयाँ, ६० प्रतिशत अन्तशुल्क वापत ३ लाख ९ हजार १३८ रुपैयाँ, १३ प्रतिशत मूल्य अभिवृद्ध कर वापत १ लाख ७ हजार १६८ रुपैया सहित सरकारले ६ लाख ४१ लाख ६१ हजार रुपैयाँ राजश्व लिएको देखिन्छ । त्यसबाहेक सडक शुल्क ६५ हजार २२१ रुपैयाँ, दर्ता तथा प्रदुशण शुल्क ५०० रुपैयाँ, एक वर्षको सवारी धनी कर १९ हजार रुपैयाँ सरकारले लिएको छ । व्यापारीको खल्तीमा सवा ४ लाख नेपालको बजारमा बिक्री हुने कारहरु मध्ये सबैभन्दा सस्तो कार ८०० सीसी क्षमताको मारुती अल्टो हो । सबैभन्दा सस्तो कार बेच्दा पनि प्रति कार व्यापारीको खातामा ४ लाख ३१ हजार ७८८ रुपैयाँ जाने गरेको छ । नेपालको लागि मारुती गाडीको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स हो । यसको मालिक हुन् अरुण चौधरी र उनको छोरा करण चौधरी । उनीहरुको व्यापार कला गज्जबको छ । उनले उपभोक्तासँग विभिन्न १२ वटा शिर्षकमा २ लाख ७८ हजार ५५४ रुपैयाँ अुसल गरेका छन् । त्यसबाहेक आफूलाई नाफा भनेर १ लाख ५३ हजार २४३ रुपैयाँ लिने गरेको विभागले जनाएको छ । (स्कान कपी हेर्नुहोस् ।) उक्त कम्पनीले एउटा कारको ढुवानी खर्च १४ हजार १२० रुपैयाँ, बीमा ४०७ रुपैयाँ, ‘पीपी’ फर्म भरेको १८८ रुपैयाँ, विज्ञापन र मार्केटीङ शुल्क ९६ हजार राखेको छ । सामान्यतय कुनै पनि गाडी उत्पादक कम्पनीले विज्ञापन तथा अन्य बजारीकरणमा लाग्ने खर्च डिलरलाई नगद भुक्तानी दिने गरेको पाइन्छ । तर यस कम्पनीले विज्ञापन तथा मार्केटिङ शुल्क भनेर उपभोक्तासँग अतिरिक्त रकम लिदै आएको भेटिएको छ । कम्पनीले प्रशासनिक र तलब शुल्क ३६ हजार राखेको छ । त्यस्तै बीमा शुल्क ३६ हजार, ब्याज २७ हजार, गाडी राखेको भाडा २० हजार जोडेको छ । गाडी ओसार पसार बीमा, पेट्रोल, मोबिल खर्च, सामुन्द्रिक विमा, हिटर जडान, गाडी चम्काउने पुस्ने लगायतका खर्चहरु जोडेर खरिदबाहेक २ लाख ७८ हजार रुपैयाँ खर्च भएको देखाएको छ । ती सबै खर्च कटाएर कम्पनीले नाफा बापत १ लाख ५३ हजार २४३ रुपैयाँ लिने गरेको छ । गाडी बिक्रेताले चरम ठगी गरेको ग्राहकहरुको उजुरीको आधारमा आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही हप्ताअघि गरेको अनुगमन गर्दा यस्तो तथ्य खुल्न आएको हो । विभागको अनुसन्धानबाट उपभोक्ता ठगिमा परेको पाइएको छ । अरुण इन्टरकन्टिनेन्टलसहित केही गाडी बिक्रेताको फाइल अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । छिमेकी देश भारतमा १ लाख ७० हजार भारतीय रुपैयाँ पर्ने मोटरलाई नेपालीले करिव १५ लाख रुपैयाँ तिनुपर्दा उपभोक्ताहरुले आक्रोस पोख्दै आएका छन् । तर उपभोक्ताको मर्का व्यापारीले मात्र होइन, सरकारले पनि सुनेको छैन ।
याङजी नदीमाथि चीनको नयाँ चमत्कारः विश्व इतिहास रच्ने रेलवे पुल(भिडियोसहित)
काठमाडौं । विकास र पुर्वाधारमा विश्वलाई चकित पार्दै आएको चीनले नदिमाथी संसारकै लामे रेलवे पुल निर्माण गरेको छ । चीनले याङजी नदिमा संसारकै लामो रेलवे पुल निर्माण गरेको हो । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्) पुलमा संसारका तीन वटा रेकर्डहरु गाँसिएका छन् । यो संसारकै पहिलो डबल बार लगाइएको सुरक्षित रेलवे पुल हो । ६ वटा रेल वे ट्रयाक भएको संसारकै पहिलो पुल पनि हो यो । यसमा जोडिएको तेश्रो रेकर्ड भनेको यो संसारमै धेरै भार वहन क्षमता भएको रेल वे पुल पनि हो । यो पुलले दक्षिण पश्चिम चीनका दुई शहर कन्क्वीङ र गुयाङलाई जोड्छन् । पुलको निर्माणले यी दुई शहरबिचको यात्रा अवधीलाई १० घण्टाबाट घटाएर २ घण्टामा सिमित गरिदिएको छ । यो पुल २०१८ को जनवरी ९ तारिखका दिन निर्माण सम्पन्न भएको हो । पुलमा यात्रु बोक्ने रेलका लागि चार वटा ट्रयाक रहेका छन भने कार्गाेका लागि २ वटा ट्रयाक रहेका छन् । यात्रु बोक्ने रेल प्रति घण्टा २ सय किलोमिटर दौडन्छ भने कार्गाे बोक्ने रेल १२० किलोमिटर दौडन्छ । यो पुलको कुल लम्बाई ५.३२ किलोमिटर रहेको छ । जसमा मुख्य पुलको लम्बाई ९२० मिटर छ । यो पुल केहि समयभित्रै परिक्षणका रुपमा सञ्चालन गरिने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
मूल्य बढ्दा पनि सिमेन्ट र डण्डीको अभाव कायमै, उद्योगीले किन रोके आपूर्ति ?
काठमाडौं । अहिले बजारमा सिमेन्ट र डण्डीको भाउ अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्य बढेको भन्दै निर्माण सामाग्री उद्योगी तथा व्यवसायीहरुले सिमेन्ट, डण्डी लगायतको भाउ ह्वात्तै बढाएको हो । मूल्य बढाउँदा पनि सिमेन्ट र रड लगायत निर्माण सामाग्रीको चरम अभाव रहेको निर्माण व्यवसायीहरुले बताएका छन् । कति बढ्यो भाउ ? निर्माण व्यवसायीहरुका अनुसार अहिले २ सय रुपैयाँसम्म प्रतिबोरा सिमेन्टको मुल्य बढेकोे छ । त्यस्तै प्रतिकिलो १५ देखि ३० रुपैयाँसम्म डण्डीको भाउ बढेको छ । बजारमा सिमेन्ट र डण्डीको भाउ बढेतापनि अहिलेको जस्तो निर्माण कार्यको महत्वपूर्ण सिजनमा निर्माण सामाग्रीको अभावको मार खाइरहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । किन रोकियो आपूर्ति ? महासंघका अध्यक्ष विष्णु भाई श्रेष्ठले पछिल्लो समय पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढेको मौका छोपेर सिमेन्ट उद्योगी तथा डण्डी व्यवसयीहरुले सिमेन्ट/डन्डी लगायत निर्माण सामाग्रीहरुको भाउ बढाएको आरोप लगाएका छन् । ‘अन्तर्राष्ट्रि बजारमा सिमेन्ट लगायतको कच्चा पदार्थको मूल्य बढेको छैन,’ उनले भने ‘भारतमा थोरै पेट्रोल र डिजेलको मूल्य बढेको छ । त्यसले खासै असर गर्दैन ।’ किनभने नेपालमै सिमेन्टको कच्चा पदार्थ करिब ७५ प्रतिशत उत्पादन हुनेगरेको उनको भनाइ छ । उनका अनुसार अहिले सिमेन्टमा ११५ रुपैयाँ भने डण्डीमा प्रतिकिलो १५ देखि ३० रुपैयाँसम्म बढेको छ । ‘साथै अहिले बजारमा ती सामाग्रीहरुको चरम अभाव छ,’ उनले थपे ‘निर्माण कार्यको लागि आवश्यक पर्ने ३० प्रतिशत मात्र सिमेन्ट र रड उपलब्ध छ ।’ ७० प्रतिशत अभाव रहेको उनले बताए । अहिले निर्माण कार्यको पिक आवरमा मौका छोपी उद्योगीहरुले कृतिम अभाव सिर्जना गरी कालोबजारी गरेको महासंघका अध्यक्ष श्रेष्ठले आरोप लगाए । बढेको मूल्य कायम रहने र यस्तै अभाव हुने हो भने समयमा निर्माण कार्यसम्पन्न नहुने उनको चेतावनी छ । त्यस्तै विकोइ विल्डर्स प्रालीका प्रबन्धक निर्देशक हुमनाथ कोइरालाले बजारमा मूल्य वृद्धि भएपनि सिमेन्ट, दण्डी जस्ता अत्यावश्यक निर्माण सामाग्री पाउन नसकेको दुखेसो गरे । ‘सिमेन्ट पूसयता मात्रै बोराको २ सय रुपैयाँसम्म बढेको छ । ढुवानीमा समेत बोरामा(हेटौंडा-काठमाडौं) ५० रुपैयाँ बढेको छ,’ उनले भने ‘त्यतिका मूल्य बढ्दा समेत सामान पाइएको छैन ।’ उनले मूल्य बढेसँगै निर्माण कार्यको लागत पनि करिब १५ प्रतिशत बढ्ने जनाए । काठमाडौं भ्यु टावर निर्माण गरिहेका सञ्चालक भैरव भेटवालले पनि केही हप्ता अघिसम्म दैनिक ५ गाडी सिमेन्ट आउने गरेकोमा अहिले मुस्किलले २ गाडी ल्याइएको बताए । सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थ बढेकोले सिमेन्टको भाउ बढाउन परेको बताए । ‘पहिले ७५ डलर पर्ने कच्चा पदार्थ अहिले ११५ डलर पुगेको छ,’ उनले भने ‘साथै ढुवानी भाडा पनि बढेको छ ।’ त्यस्तै उनले अघोषित रुपमा घन्टौै लोडसेडीङ हुने गरेको उद्योगहरुमा घोषित रुपमा ६ घन्टा लोडसेडिङ भइरहेकोले उद्योगहरुको लागत बढेकोले सिमेन्टको मूल्यमा असर परेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष वर्खा र हिउदमा सिमेन्टको मूल्य १०० रुपयाँ घटबढ हुने गर्छ । वर्खामा करिब सय रुपैयाँ कम हुन्छ भने हिउँदा सय रुपैयाँ मूल्य बढ्ने गरेको छ । सरकारी स्वामित्वका उद्योगहरुले समेत सिमेन्टको भाउ बढाएको छ । ‘दुई हप्ता अघिदेखि विरगन्जमा क्लिङकर आउन बन्द भएको छ,’ उनले भने ‘ क्लिङकर नआउने हो भने विरगन्ज क्षेत्रका सबै सिमेन्ट उद्योगहरु बन्द हुनेछ ।’