मध्यभोटेकोसी जलविद्युत ४० प्रतिशत मात्र सम्पन्न, २ वर्षभित्र सक्न निर्देशन

काठमाडौं । सरकारले निर्माणधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम २ वर्षभित्र सक्न निर्देशन दिएको छ । ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनाको काम दुई वर्षभित्र सक्न निर्देशन दिएका हुन् । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तरुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिवार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर इन्टरनेसनल र ठेकेदार क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए । सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै सकिएको छ । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृत रुपमा काम गर्न नसक्दा लगायतका कारणबाट आयोजनाको काममा ढिलाई भएको हो । आयोजनाको निर्माण सन् २०१९को जुनमा सक्ने लक्ष्य राखिएको छ । निर्माण तालिकाले भने अझै अन्तिमरुप पाएको छैन । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको बताए । ‘कामलाई तिब्रता दिन जलशक्ति बढाउनु पर्ने देखिन्छ, ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिंदै आएका छौं’,उनले भने,‘सम्झौताअनुसार काम गरिनु पर्छ, कुनै पनि हालतमा आयोजना ढिला हुनुहुँदैन ।’ आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत गृह रहने ठाउँ खन्ने काम सकिएको छ । ७.१ किलोमिटर मुख्य सुरुङमध्ये करिव तीन किलोमिटर खनिएको छ । विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । ‘आयोजनाको चार वर्ष बितिसकेको छ, अब दुई वर्षभित्रमा जसरी पनि सक्नु पर्छ’,उनले भने,‘एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाढी बढाउनु होस्, अब आयोजना ढिलाई गर्नेलाई छुट दिन सकिंदैन ।’ दुई वर्षभित्र निर्माण सक्ने गरी कामदार थप गरी निर्माणलाई तिब्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामाग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले व्यहोरिहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिए । घिसिङ चिलिमे कम्पनीको प्रवन्ध सञ्चालक रहेकावेला आयोजना अगाडि बढाइएको थियो । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । १२ अर्ब २८ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण,सिन्धुपाल्चोका चार इन्भेष्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता,सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी रहने छ । आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । आयोजनाले विद्युत बिक्रीबाट वार्षिकरुपमा दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने छ ।

नयाँ जीवन बीमा कम्पनीहरु सकसमा, खर्च बढी, व्यापार कम

काठमाडौं । खर्च बढी, व्यापार कम हुँदा नयाँ जीवन बीमा कम्पनी सकस बेहोरिरहेका छन् ।  नयाँ ९ वटा जीवन बीमा कम्पनी थपिएपछि पुराना ९ वटा कम्पनीहरु आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । तर, पुराना कम्पनीको जस्तो बोनस दर घोषणा गर्न पनि नपाएका, मानिसहरुलाई आकर्षित गर्ने बीमा पोलिसी ल्याउन पनि नसकेका, भरर्खरै सञ्जाल विस्तार र प्रणालीगत विकासमा काम गर्दै गरेका नयाँ बीमा कम्पनीहरुले प्रतिस्पर्धा कठिन भएको महसुश गरेका छन् । ठूलो पुँजी, खर्चिला कर्मचारी, प्रतिष्पर्धात्मक बजारका बीच व्यवसाय बढाउँनै पर्ने बाध्यताका कारण नयाँ जीवन बीमा कम्पनीका सिइओहरु दबावमा परेका हुन् । धेरै बीमा कम्पनीहरुले खर्च कटौति गर्ने उपायको रुपमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नै गरेका छैनन् भने एक कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएका छन् । स्रोतका अनुसार आईएमई लाइफमा कामु प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका राकेश पोखरेलले कम्पनीको चुनौति थेग्न नसकेर पदबाट राजीनामा दिएका छन् । यसै आर्थिक वर्षमा सञ्चालनमा आएका आईएमई लाइफ, युनियन लाईफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल लाइफ, सिटिजन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापन समूह चर्को दवाममा रहेर काम गरिरहेको जानकारहरुले बताएका छन् । ‘नयाँ जीवन बीमा कम्पनीका सिइओहरु व्यवसाय वृद्धि र सञ्चालकहरुको महत्वकांक्षाका कारण चिन्तित देखिनुहुन्छ, उहाँहरुले साह्रै दबाव झेल्नु परेको कुरा हामीसँग गरिरहनु भएको छ’, बीमा समिति स्रोेतले भन्यो । नयाँ कम्पनीका एक जना सिइओका अनुसार कम्पनीलाई नाफा घाटा बराबर (ब्रेक इभन)मा लैजान ३० देखि ३५ हजार पोलिसी बेच्नु पर्छ । तर अहिले नै सो मात्रामा पोलिसी बेच्न सकिने अवस्था छैन् । अधिकांश नयाँ कम्पनीले पुराना कम्पनीबाट कर्मचारी तानेका छन् । त्यसरी ल्याईएका कर्मचारीलाई न्युनतम एक तह बढुवा पनि गरिएको छ र तलब पनि पुरानोमा भन्दा बढी दिइएको छ । तर उनीहरुले तलब र पद अनुसारको जिम्मेवारी पूरा गर्न नसकिरहेको ठम्याई बीमा समितिले गरेको छ । ‘पुराना कम्पनीका कर्मचारीलाई बढी तलब र माथिल्लो पद दिएर ल्याएका छन्, तर उनीहरुले सो अनुसार काम गर्न नसकिरहेको देखिन्छ, यसले पनि कम्पनी व्यवस्थापन तनावमा परेको छ’ स्रोतले भन्यो । निर्जीवन बीमा कम्पनीका काम गरि अनुभव हासिल गरेको र जीवन बीमा कम्पनी प्रवेश गरेका कर्मचारीहरुले पनि काम गर्न कठिन भएको महसुस गरेको छन् । नयाँ कम्पनीहरुको लागि पूर्वाधार निर्माण गर्न, शाखा, अभिकर्ताहरुको नेटवर्क निर्माण गर्न, प्रणालीगत विकास गर्न केही समय लाग्ने भएकोले तत्काल नयाँ कम्पनीले अधिक बीमा गराउन नसक्ने बताउँछन् यूनिय लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण । ‘बजार ठूलो छ, यो वर्ष मात्र बजार ५० प्रतिशतले विस्तार हुन सक्छ । नयाँ कम्पनीको लागि पनि बजार प्रशस्त छ’ उनले भने–‘बीमा गर्नको लागि आवश्यक सबै प्रकारको पूर्वाधार निर्माण गर्न पनि नयाँ कम्पनीहरुको लागि केही समय लाग्छ ।’ नयाँ कम्पनीहरुको लागि आकर्षक बीमा पोलिसीहरुको विकास गर्नु पनि ठूलो चुनौति रहेको जानकारहरु बताउँछन् । बजारमा भईरहेको र पुराना कम्पनीहरुले बेचिरहेका प्रकृतिको बीमा पोलिसी बिक्री गर्न नयाँ बीमा कम्पनीहरुको लागि कठिन छन् । फरक र आकर्षक बीमा पोलिसी बनाएर ल्याउन सकिरहेका छैनन् । नयाँ कम्पनीले सञ्चालनमा आएको एक वर्षपछि मात्र नाफाको आधारमा बोनस दर घोषणा गर्न पाउने छन् । पुराना कम्पनीले पोलिसीका विभिन्न विशेषताको साथै आकर्षक बोनस दर अपिल गरिरहेका हुन्छन् । नयाँ कम्पनीका लागि यो सम्भव भएको छैन । ‘सामाजिक सुरक्षा र बचतको नाराले मात्र बीमा गराउन सकिदैन, व्यवसायिक लाभको अपिल पनि गर्नैपर्छ’ एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले नाम नखोल्ने सर्तमा भने–नयाँ कम्पनीहरुले सामाजिक सुरक्षा र अनिवार्य बचतको प्रस्ताव गर्न सक्छन्, तर व्यवसायिक लाभको प्रस्ताव गर्न सक्दैनन् । नयाँ बीमा कम्पनीको लागि यो ठूलो चुनौति हो । नयाँ बीमा कम्पनीहरुको नाफा तत्कालका लागि बढ्नुको साटो घट्ने देखिएको छ । नयाँ जीवन बीमा कम्पनीहरुले २ अर्ब चुक्ता पुँजीमध्ये ७० प्रतिशत अर्थात एक अर्ब ४० करोड रुपैंयाँ बुझाउनुपर्ने थियो । सो रकममध्ये एक अर्ब २० करोड रुपैंयाँ बाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा राखेर बीमा समितिलाई एयरमार्क गर्नुपर्ने थियो । बाँकी रहेको २० करोड भने चालु खातामा राखेर कार्यालय सञ्चालनमा उपयोग गर्न पाइने व्यवस्था छ । मुद्दति खातामा राखेको पैसाले राम्रो व्याज पाएकाले शुरुका त्रैमासिक वित्तीय विवरणमा नयाँ कम्पनीले नाफा गरेको देखिए पनि यो नाफा क्रमशः घट्दै जाने देखिएको छ । कम्पनीका शाखा, कर्मचारी वृद्धिसँगै सञ्चालन खर्च बढेको तुलनामा व्यापार विस्तार गर्न नसक्ने कम्पनीहरु नोक्सानमा जाने जोखिम रहेको जानकारहरु बताउँछन् ।  

सानिमामाई हाइड्रोपावरले ११५ मेगावाटका ३ जलविद्युत आयोजनामा १ अर्ब ८ करोड लगानी गर्ने

काठमाडौं । गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको सनिमामाई हाइड्रोपावर लिमिटेडले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न छैठौ वार्षिक साधारणसभाले ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनामा ४८ करोड, २८ मेगावाटको लोअर लिखुमा ४५ करोड र १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पारित गरेको छ । मध्यतमोर र लोअर लिखुमा हकप्रद सेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर लगानी गर्ने भएको हो । गत आवमा कम्पनीले २८ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट सेयरधनीले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि वितरण नगरेको सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । गत आवमा गरेको नाफा नयाँ जलविद्युत आयोजना बनाउन पुनरलगानी गर्ने प्रस्ताव सभाले पारित गरेको हो । कम्पनीको पुँजी वृद्धिपछि लाभांश कम आउने भएको हो । सानिमामाईले जलविद्युत्मा थप लगानी जुटाउन भन्दै १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता हकप्रद सेयर बिक्री गरिसकेको छ । अहिले ५ प्रतिशत लाभांश भन्दा लगानीबाट दीर्धकालमा बढी प्रतिफल आउने उनको भनाई छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि चुक्तापुँजी बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जलविद्युत आयोजनामा लगानी गर्नका लागि सानिमामाईले सत्प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । यस्तै सानिमा माई र सुनकोसी आयोजनाको प्रवद्र्धक सानिमा हाइड्रोपावरलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई सहमति दिएको छ । दुई कम्पनी गाभिएपछि सानिमाको क्षमता अझ विस्तार हुने छ । सभाले साधारण सेयरधनीका तर्फबाट भारतकुमार पोखरेल र आशिषकुमार श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ । सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा सानिमामाईले बिजुली बिक्री, ब्याज र विविध शिर्षकबाट गरी ८० करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको छ । नयाँ आयोजनामा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।