साउनयता ६७ कम्पनीले बाँडे २१ अर्ब ६३ करोडको बोनस सेयर

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता विभिन्न ६७ कम्पनीले लगानीकर्तालाई बोनस अर्बौ रुपैयाँ बराबरको सेयर वितरण गरेका छन् । गत आर्थिक वर्षमा गरेको नाफाबाट ती कम्पनीले आफ्ना सेयरधनीलाई २१ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका हुन् । कम्पनीले लगानीकर्तालाई २२ करोड ४१ लाख ९४ हजार ७३६ कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोनस सेयर वितरण गर्नेमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत र होटल रहेका छन् । बैंक तथा वित्तीय संस्थाले चुक्तापुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर वितरण गरेका हुन् । अधिकाँश बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई नगदको साटो बोनस सेयर वितरण गरेका छन् । सेयर बजार बढ्दै गएपछि लगानीकर्ताको चासो नगद लाभांश भन्दा पनि बोनस सेयरमा रहेको छ । यो वर्ष बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् । आगामी आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले नगद लाभांश वितरण नगर्ने संभावना छ । यस्तै होटल र जलविद्युत कम्पनीले पनि लगानीकर्तालाई नगदको सट्टा बोनस सेयर वितरण गरेका छन् । यो वर्ष सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई ११४ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ६५ र नागवेली लघुवित्त विकास बैंकले ४५.६ प्रतिशत बोनस सेयर वितरण गरेका छन् । धेरै बोनस सेयर दिने नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर उल्लेख गरिएको छैन् । सबैभन्दा कम बोनस सेयर दिनेमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड छ । उसले ६ प्रतिशत मात्र बोनस सेयर बाँडेको छ । बोनस सेयर दिने कम्पनीको संख्या बढ्ने छ । बोनस सेयर दिने कम्पनीको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस    

यातायात व्यवसायीको दादागिरी सकियो, सिन्डीकेट लगाउन खोजे ठाउँको ठाउँ कारवाही हुने

काठमाडौं । यातायात व्यवसायीले अघोषित रुपमा लगाउँदै आएको सिन्डिकेट आज आइतबारबाट अन्त्य भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गर्दै सिन्डिकेट तोडेको घोषणा गरेको हो । सिन्डिकेट तोडिएको जानकारी गराउँदै विभागका निर्देशक तल्सीराम अर्यालले अब सार्वजनिक सवारी व्यवस्थापन प्रभावकारी हुने बताए । सिन्डिकेटको अन्त्य हुदाँ प्रतिस्पर्धात्मक ढंगले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने, सडक दुर्घटना न्युनिकरण, वर्कशप, संगित रोयल्टी, ड्राइभिङ स्कुलहरुको नियमन प्रभावकारी हुने विभागले जनाएको छ । यस नियमलाई नमान्ने जुनसुकै यातायात व्यावसायी संघलाई तुरुन्त कारवाहि गर्न विभागले निर्देशन दिएको छ । मयुर यातायात कम्पनीको बस सेवालाई यातायात व्यवसायीले रोक्ने प्रयास गरेपछि विभागले कानून बमोजिम सिण्डिकेट खारेज गरेको जानकारी गराएको हो ।विभागले १० वटा निर्देशिका तथा मापदण्डहरु बनाएर लागू गरेको छ । यस्ता छन् विभागले जारी गरेको निर्देशिका तथा मापदण्डहरु १. यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन २०७४ २. सवारी प्रदुषण परीक्षण निर्देशिका, २०७४ ३. मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका,२०७४ ४. मझौला तथा साना सवारी परिक्षाण सम्बन्धी मापदण्ड,२०७४ ५. बाटो निर्धारण निर्देशिका,२०७४ ६. स्कुल बस निर्देशिका, २०७४ ७. बस बडी बिल्डिङ निर्देशिका, २०७४ ८. कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका, २०७४ ९. सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ १०. मझौला तथा साना सवारी निरीक्षण सम्बन्धी मापदण्ड, २०७४  

काठमाडौं महानगरपालिकाभित्र अब फ्रि वाइफाइ

काठमाडौं । तपाईले इन्टनेट सेवाका लागि पैसा खर्च गरिरहनु भएको छ ? तपाइले सेवा प्रयोग गर्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस काठमाडौं महानगरपालिकाले निशुल्क वाइफाइ सेवा दिने भएको छ । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्न लागेको हो छ । निशुल्क वाइफाइ सेवा उपलब्ध गराउन काठमाडौं महानगर र इन्टरनेट सेवा प्रदायक वल्र्ड लिकं कम्युनिकेसनबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । अब राजधानीको हनुमान ढोका, पशुपति, स्वयम्भु, बौद्ध, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन हुनेछ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार वल्र्ड लिकंले ६० दिन भित्रमा सम्पुर्ण काम सकी निशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याउनेछ । यसमा महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्ने छैन । आर्थिक तथा प्राविधिक पक्ष सबै वल्र्ड लिकंले व्यवस्था गर्ने समझदारीमा उल्लेख गरिएको छ । यी क्षेत्रका वासिन्दा प्रत्येकले दिनमा ३० मिनेट फ्रि वाइफाई चलाउन पाउनेछन् । वाइफाई मोबाइलमा अटोमेटिक कनेक्ट हुनेछ । वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् । अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् । प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंख पार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् । सेवामा सवैको पहुँच पुगोस् भन्ने दृष्टिले एक पटक वाइफाइ चलाउनेले ३० मिनेट सेवा लिइसकेपछि सिस्टमले उसलाई त्यसदिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाइन्टबाट सेवा लिन सक्नेछ ।