काठमाडौं । चण्डिका डिस्टिलरी प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.४० प्रतिशत अर्थात् १४ करोड ९० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी २९ करोड २० लाख रुपैयाँ, आव २०७९/८० मा २० करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा १८ करोड १० लाख रुपैयाँ र आव २०७७/७८ मा ३३ करोड रुपैयाँ रहेको थियो ।
सन् १९९९ को डिसेम्बरमा स्थापना भएको चण्डिका डिस्टिलरी विभिन्न क्षमताका मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनी हो । कम्पनीले ४० युपी, ५० युपी र ७० युपी क्षमताका मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीका प्रमुख उत्पादनमा पासपोर्ट ह्विस्की, ब्ल्याक ज्याक ह्विस्की, पास पास भोड्का तथा पास पासअन्तर्गतका विभिन्न ब्रान्ड रहेका छन् ।
कम्पनीको संयुक्त बोतल भर्ने वार्षिक क्षमता करिब १ करोड ८४ लाख लिटर रहेको छ । यद्यपि, निर्माणाधीन नयाँ कारखाना सञ्चालनमा आएपछि कम्पनीको वार्षिक उत्पादन क्षमता बढेर २ करोड ७४ लाख लिटर पुग्ने अपेक्षा गरिएको छ । २०२६ को जुलाई मध्यसम्म चण्डिका डिस्टिलरीको स्वामित्व चार जनामा बाँडिएको छ । रवि केसीको करिब ४० प्रतिशत, अभिषेक श्रेष्ठको करिब २५ प्रतिशत, श्रद्धा केसीको करिब १९ प्रतिशत र अवन्तिका केसीको करिब १६ प्रतिशत हिस्सा रहेको छ । कम्पनीको अध्यक्षमा रवि केसी रहेका छन् ।
चण्डिका डिस्टिलरीका मुख्य प्रवर्द्धकहरू यती डिस्टिलरी प्रालि र याक ब्रुइङ कम्पनी प्रालिमा समेत संलग्न छन् । यती डिस्टिलरीसँगको सञ्चालनगत तथा रणनीतिक सम्बन्धले पनि चण्डिका डिस्टिलरीलाई सहयोग पुग्ने कम्पनीले जनाएको छ । पछिल्लो पाँच वर्षमा यती डिस्टिलरीबाट प्रवर्द्धकहरूले औसत वार्षिक करिब ६८ करोड ८० लाख रुपैयाँ लाभांश लिएका छन् । उक्त लाभांशलाई चण्डिका डिस्टिलरीको नयाँ परियोजना सञ्चालनमा आएपछिको प्रारम्भिक चरणमा तरलता व्यवस्थापनका लागि सम्भावित स्रोतका रूपमा समेत हेरिएको कम्पनीले जनाएको छ ।
६ वर्षका लागि सम्झौता
चण्डिका डिस्टिलरीले यती डिस्टिलरीलाई अतिरिक्त तटस्थ मदिरा आपूर्ति गर्ने गरी हालै ६ वर्षको सम्झौता गरेको छ । सम्झौताअनुसार निश्चित परिमाणमा अतिरिक्त तटस्थ मदिरा आपूर्ति गरिने भएकाले निर्माणाधीन नयाँ परियोजनाबाट हुने आम्दानीको सुनिश्चितता बढ्ने अपेक्षा कम्पनीको छ । कम्पनीका प्रवर्द्धकहरूले ब्याजरहित प्रवर्द्धक ऋणमार्फत समेत रकम उपलब्ध गराएका छन् ।
यसमध्ये सेयरका लागि अग्रिमस्वरूप करिब २६ करोड रुपैयाँ उपलब्ध गराइएको छ । चण्डिका डिस्टिलरीको सेयर स्वामित्वलाई यती डिस्टिलरीको स्वामित्व संरचनासँग पूर्ण रूपमा मिलाउने प्रस्तावसमेत रहेको जनाएको छ ।
चण्डिका डिस्टिलरीको उत्पादनमा तुलनात्मक रूपमा कम मूल्यका ७० युपी ब्ल्याक ज्याक तथा अन्नमा आधारित मदिराको हिस्सा बढी रहेको छ । यी दुई समूहका उत्पादनले कम्पनीको कुल आम्दानीमा करिब ५७ प्रतिशत योगदान गरेका छन् । कम मूल्यका उत्पादनमा बढी निर्भरता रहेकाले कम्पनीको सञ्चालन नाफामा दबाब परेको जनाएको छ ।
नयाँ कारखानामा १.५२ अर्ब लगानी
चण्डिका डिस्टिलरीले करिब १ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लागतमा नयाँ कारखाना निर्माण गरिरहेको जनाएको छ । नयाँ कारखाना सञ्चालनमा आएपछि कम्पनीको वार्षिक उत्पादन क्षमता करिब ४९ प्रतिशतले बढेर २ करोड ७४ लाख लिटर पुग्नेछ । उक्त क्षमता वर्षमा ३०० दिन कारखाना सञ्चालन हुने आधारमा गणना गरिएको हो ।
२०२६ को जुलाईसम्म परियोजनाको वित्तीय प्रगति करिब ७५ प्रतिशत पुगेको छ । तर, परियोजना प्रारम्भिक रूपमा तोकिएको २०२६ को जनवरी मध्यसम्ममा सम्पन्न हुन सकेन । अहिले यसको संशोधित सम्पन्न गर्ने लक्ष्य २०२७ को जनवरीसम्म राखिएको जनाएको छ ।
परियोजनाको कुल लागतको करिब ७० प्रतिशत हिस्सा ऋणबाट व्यवस्थापन गरिने भएकाले नयाँ कारखाना सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा उत्पादन स्थिरीकरणसम्बन्धी जोखिम रहने जनाएको छ । नयाँ उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्न समय लाग्न सक्ने भएकाले सुरुवाती अवधिमा नाफा तथा ऋण तिर्ने क्षमतामा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ । चण्डिका डिस्टिलरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब १ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब रुपैयाँ दीर्घकालीन र १ अर्ब १ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
नेपालमा मदिरा उद्योग उच्च कर लाग्ने तथा कडा नियमनमा रहेको क्षेत्र हो । मदिरामा लाग्ने कर तथा भन्सार महसुल वृद्धि भएमा उत्पादन लागत बढ्न सक्ने जनाएको छ । तर, बढेको लागत उपभोक्तासम्म मूल्य वृद्धिमार्फत सार्न कम्पनी कति सक्षम हुन्छ भन्ने निश्चित छैन । त्यस्तै, कुनै निश्चित क्षेत्र वा स्थानमा मदिरा बिक्रीमा थप प्रतिबन्ध लगाइएमा कम्पनीका उत्पादनको मागमा समेत असर पर्न सक्छ । कर, भन्सार, बिक्रीसम्बन्धी प्रतिबन्ध तथा अन्य नियामकीय व्यवस्थामा हुने प्रतिकूल परिवर्तनले कम्पनीको बिक्री तथा नाफामा दबाब पार्न सक्ने जनाएको छ ।
विदेशबाट आयात हुने तयारी मदिरामा उच्च भन्सार महसुल लाग्ने भएकाले स्वदेशी उत्पादकले आयातित उत्पादनको तुलनामा केही हदसम्म संरक्षण पाउँदै आएका छन् । चण्डिका डिस्टिलरीको प्रमुख आम्दानी क्षेत्रमध्ये रहेको ७० युपी तयारी मदिराको आयातमा प्रतिलिटर करिब २ हजार रुपैयाँ भन्सार महसुल लाग्ने व्यवस्था छ । त्यस्तै, मदिरा मिश्रणमा प्रयोग हुने विदेशबाट आयातित मदिरामा प्रतिलिटर करिब १ हजार ५ सय रुपैयाँ भन्सार महसुल लाग्छ । यसले स्वदेशी मदिरा उत्पादकलाई आयातित तयारी मदिरा तथा कच्चा पदार्थसँग प्रतिस्पर्धा गर्न केही हदसम्म सहज बनाएको कम्पनीले जनाएको छ ।
कम्पनीले युरोप तथा अन्य विदेशी आपूर्तिकर्ताबाट उपकरण र कच्चा पदार्थ आयात गर्दै आएको छ । यस्ता कारोबारको भुक्तानी मुख्यतः युरो र अमेरिकी डलरमा हुने गरेको छ । गत वर्ष कम्पनीले विदेशी विनिमय दरमा भएको परिवर्तनबाट करिब ८ प्रतिशत विदेशी विनिमय घाटा बेहोरेको दाबी गरेको छ ।