राष्ट्र बैंकले भन्यो : निक्षेप भन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन
काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको १५.३ प्रतिशत मात्र रहेको छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचलानको तुलनमा ९५ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालन २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ मात्र गरेका छन् । यस्तै ३ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । हालसम्म बैंकले २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७, ३५.८ र ४४.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत छ । निजी क्षेत्रतर्पm प्रवाहित मध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १६.२, विकास बैंकको २४.७ र वित्त कम्पनीको १० प्रतिशत बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको मध्ये ६१.४ कर्जा घर जग्गाको धितोमा र १४.८ चालू धितोमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत अर्थात ४५ अर्ब ७५ करोड रुपैयाँ वृद्धि भई १ खर्ब १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज १० र ओभरड्राफ्ट कर्जा १४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत चैत मसान्तमा १५ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न शून्य ब्याजमा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत चैतमा १ अर्ब ५० करोड रुपैयाँ पुनरकर्जा उपयोगमा रहेको छ । सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ९५६ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ७ अर्ब ८४ करोड रुपैयाँ कर्जा बक्यौता छ । ४१ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल बैंकको एफपीओ ३१० मा किन्न सीबीआईएल क्यापिटलको प्रस्ताव
काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव परेको छ । बैंकले एफपीओ निष्कासनअघि प्रत्याभूति (अण्डरराइटिङ) का लागि मर्चेन्ट बैंकर्ससंग प्रस्ताव आब्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता ३१० मा लिने प्रतिवद्धता जनाएको हो । बैंकले बुधबार प्रस्ताव खोल्दा सीबीआईएलको मात्र प्रस्ताव परेको थियो । अन्य मर्चेन्ट बैंकरले प्रस्ताव पेश गरेनन् । सीबीआइएलले प्रस्ताव गरेपछि एफपीओको मूल्य घटाउन सिद्धार्थ क्यापिटल लिमिटेडको अगुवाइमा केही मर्चेन्ट बैंकरले समूह बनाएर कार्टेलिङ गर्न थालेका छन् । उनीहरुले ०.५ प्रतिशत कमिसनमा प्रतिकित्ता २८० रुपैयाँमा बैंकका एफपीओ लिनका लागि तीब्र लविङ थालेको नेपाल बैंक स्रोतले बतायो ।सीबीआईएलको भन्दा कम मूल्यमा एफपीओको प्रत्याभूति गर्न नपाइने बैंक स्रोतको भनाई छ । “बजारमा जति कार्टेलिङ गरेपनि एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँबाट तल घट्न मिल्दैन् ।” स्रोतले भन्यो । यता सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीमरप्रसाद दाहाललाई सम्पर्क गर्दा अहिले बोल्न नमिल्ने भन्दै पन्छिएका छन् । बैंकस्रोतका अनुसार सीबीआईएलले ४ प्रतिशत कमिशनमा प्रतिकित्ता ३१० रुपैयाँमा सकार्ने भनेको छ । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बैशाख २५ गतेसम्म आफुले सकार्ने सेयर हिस्सा, दर र कमिशन दर समेत खुलाई शिलबन्दी दरभाउ पेश गर्न मर्चेन्ट बैंकरलाई भनेको थियो । बैंकले धितोपत्र बोर्डकाे स्वीकृतिमा जानुअघि रेटिङको काम थालेको छ । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको ग्राहक, सम्पत्ति, आम्दानी र प्रतिफल राम्रो देखिएको छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य उकालो लाग्दै, आयल निगम भन्छ : नेपालमा अझै भाउ बढ्छ
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपाल आयल निगम लिमिटेडले पछिल्लो २ महिनामा ४ पटक पेट्रोलियमको मूल्य बढाएको छ । बुधबार मात्रै निगमले पेट्रोलियमको भाउ बढाएको हो । केपी शर्मा ओली प्रधानमन्त्री भएयता ४ पटक पेट्रोलियमको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्नु र अमेरिकी डलरको थप मजवुत भएपछि यसको असर नेपाल र भारतलगायत अन्य मुलुकमा परेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी) ले दुई हप्ताअघि तय गरेको मुल्यभन्दा अहिले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको नेपाल आयल निगमले बताएको छ । निगमको अनुसार दुई हप्तामा मात्रै प्रति व्यारेल कच्चा तेलको मूल्य ५ डलर बढेको छ । यसअघि १ मेमा कच्चा तेलको भाउ प्रतिव्यारेल ७३ डलर रहेकोमा अहिले मूल्य बढेर ७८ डलर पुगेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर उकालो लाग्दा यसको असर नेपालमा पनि परेको हो । त्यस्तै १५ दिनको अवधिमा डलरको सटही दर थप ३ रुपैयाँले बढेको छ । त्यसबेला १ अमेरिकी डलरको सटही करिब दर १०६ रहेकोमा अहिले बढरे करिब १०९ रुपैयाँ पुगेको छ । निगमको नाफा शून्य निगमले सञ्चलक समितिले बुधबार रातीदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको छ । मूल्य समायोजन पछि पनि निगमको नाफा शून्यमा झर्ने भएको छ । गएको पाक्षिक (१५ दिनमा) निगमलाई १० करोड ५५ लाख रुपैयाँ नाफा भएको थियो । निगमका प्रवक्ता वीरेन्द्र गोईतले निगमको सम्भावित पेट्रोलियम पदार्थको भैपरिआउने समस्या समाधानका साथै निगमलाई चलायमान राख्न करिब ५० करोड रुपैयाँ मासिक नाफा हनु पर्ने बताए । ‘तर निगमको सप्लाइ नियमित राख्न पनि हामीले नाफा गुमाएर बुधबार पेट्रोलियम पदार्थको समायोजन गरेका छौं,’ उनले भने ‘पछिल्लो केही महिनालाई हेर्दा अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ ।’ उक्त सिनारियाेलार्इ हेर्दा अझै पनि इन्धनको भाउ बढ्ने देखिन्छ । ‘यद्यपि मुल्य घटे तुरुन्तै स्वचालित मुल्य विधि अनुसार निगमले मुल्य घटाउने छ,’ उनले थपे । दुई महिना मै चार पटक बढ्यो गएको दुई महिनामा मात्रै पेट्रोलियम पदार्थको मूल्य ४ पटक बढेको छ । चैतयता निरन्तर पाक्षिक रुपमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो । चैतमा प्रतिलिटर पेट्रोलको मुल्य १०३, डिजेल र मट्टीतेलको मूल्य ८३ र ८३ रुपैयाँ रहेकोमा अहिले (बिहीबारदेखि) बढेर क्रमशः प्रतिलिटर ११० र ९३ र ९३ रुपैयाँ पुगेको छ । दुई महिनाको अबधिमा प्रतिलिटर पेट्रोलमा ७, डिजेल र मट्टीतेलमा १० र १० रुपैयाँ बढेको छ ।