मोटरसाइकल वा कार किन्ने तयारीमा हुनुहुन्छ ? सरकारले बढाउँदैछ भन्सार

काठमाडौं । तपाई मोटरसाइकल वा कार किन्ने तयारीमा हुनुहुन्छ भने तत्काल किन्नुस् । किनकी आगामी बजेटले मोटरसाइकल र कारको भन्सार दर बढाउँदैछ । कार र माेटरसाइकल अझ महंगो हुदै छ । अर्थ मन्त्रालयले १२५ सीसी भन्दा माथीका मोटरसाइकल र १२०० सीसी भन्दा बढि क्षमताका कारहरुमा भन्सार बढाउने तयारी थालेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट मार्फत १२५ सीसी भन्दा माथीका मोटरसाइकल र १२०० सीसी भन्दा माथीका कारहरुलाई बिलासिताका वस्तुको सूचिमा राखेर भन्सार बढाउन लागेको हो । गाडी चढ्नेको क्षमता कहाँबाट बढ्यो ? हिसाव राखेको छु–अर्थमन्त्री युवराज खतिवडा अनावश्यक रुपमा सवारी साधनहरुको आयात भएको, त्यसले उत्पादनमा सहयोग नगरेको तथा राजश्व वृद्धिमा समेत सकारात्मक प्रभाव नपारेको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले भन्सार दर बढाउने तयारी थालेको हो । ‘सवारी साधनहरुको आयातलाई उत्पादनसँग जोड्ने र राजश्व संकलनमा पनि सकारात्मक प्रभाव पारोस भन्ने उदेश्यका साथ बिलासिताका सवारी साधनहरुको आयातमा भन्सार बढाउने तयारी गरेको देखिन्छ’, अर्थ मन्त्रालय स्रोतले भन्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको गाडी चढ्ने हैसियत कसरी निर्माण भएको भन्नेबारे आफु जानकार रहेको बताउँदै आएका छन् । गत चैत अन्तिम साता नाडाको बार्षिक साधारण सभामा अर्थमन्त्री डा. खतिवडाले भनेका थिए–‘म आटोमोबाइलको आयातलाई बढो ध्यानपूर्वक हेरिरहेकाे छु । कुन साल कति सवारी आयात भए, कुन सालदेखि कुन साल दोब्बर आयात भयो भनेर तथ्याङ्क राख्ने र केलाउने गरेको छु । अनि अटोमोबाइल किन्नेहरुको कसको क्षमता कहाँबाट बढ्यो ? त्यो पनि हिसाब राख्ने गर्छु । त्यस्तै अटोमोबाइल मोबिलिटीको लागि वा सोखको लागि हो भनेर पनि अर्थशास्त्रीय दृष्टिकोणको हेर्छु, विश्लेषण गर्छु । कति सीसीको, कति सिलिण्डरको, कति क्षमताको, कति ध्वनी निकाल्ने, कति ननिकाल्ने, कति प्रदुषण गर्ने, कति नगर्ने, सवारी साधान पनि प्रकार–प्रकारका हुने भए । खुला आयात नीतिको लाभ लिएर नचाहिने चिजहरु पनि हामी त्यही द्वारबाट प्रवेश गराउछौं ।’ अर्थमन्त्रीको यहि अभिव्यक्तिलाई हेर्दा पनि उनी बिलासिताको सूचिमा पर्ने सवारी साधनहरुको आयातलाई निरुत्साहित गर्न चाहान्छन भन्ने स्पष्ट हुन्छ । राजश्व संकलनमा एग्रेसिभ हुने संकेत देखाईरहेको अर्थमन्त्रालयले बिलासिताका सवारी साधनहरुको भन्सार बढाएर आफ्नो लक्ष्य प्राप्ति गर्ने प्रयास गरिरहेको हो । सडकमा सवारी साधनहरुको संख्या बढेको तर त्यसले नागरिकको उत्पादकत्व पनि नबढाएको र राज्यकोषमा पनि अपेक्षाकृत योगदान नगरेको भन्दै सरकारले भन्सार बढाउन लागेको हो ।    

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो सैद्धान्तिक सहमति, सञ्चालनका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले इस्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष डा. विमलप्रसाद कोइरालालाई आइतबार सैद्धान्तिकपत्र हस्तान्तरण गरेका हुन् । राष्ट्रको पुर्वाधार विकासका लागि लगानी जुटाउन सार्वजनिक-निजी साझेदारीको प्रारुपमा पुर्वाधार विकास बैंक स्थापना हुन लागेको हो । सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महिना भित्र बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गरी वित्तीय कारोबार थाल्न अनुमतिपत्र (लाइसेन्स) का लागि राष्ट्र बैंकमा निवेदन दर्ता गराउनु पर्नेछ । केन्द्रीय बैंकले लाइसेन्स दिएपछि कारोबार शुरु हुने बैंकले जनाएको छ । इन्फ्रास्ट्रक्चर बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ छ । जसमध्ये संस्थापक समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ सेयर पुँजी रहने छ । बैंकमा सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत सेयर रहेको छ । इन्फ्रास्ट्रक्चर बैंकमा सरकार लगायत विभिन्न वाणिज्य बैंक, बीमा कम्पनी तथा निजी क्षेत्रको लगानी रहने छ ।बैंकको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनको निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री, आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्र जारी गर्ने छ । यस्तै राष्ट्र बैंकको स्वीकृती लिई पूर्वाधार विकास सम्बन्धी परियोजनामा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोबार गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने छ ।

लगानीकर्तालाई डबल डिजीटमा लाभांश दिने छौं- अनुपमा खुञ्जेली

अनुपमा खुञ्जेली वाणिज्य बैंकमा पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएकी छिन् । नेपाली बैंकिङ क्षेत्रमा महिला पनि सीईओ हुन सक्छन् भनेर प्रमाणित गर्न उनी सफल भएकी छिन् । स्ट्याण्डर्ड चाटर्ड बैंक, नविल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत खुञ्जेलीले एक महिनाअघि मात्र सीईओको जिम्मेबार पाएकी हुन् । अवसर र चुनौती दुबै भएको बताउने उनले आगामी ५ वर्षमा बैंकलाई अझ सबल बनाउने प्रण गरेकी छिन् । बैंकको भावी योजनामा केन्द्रीत रहेर सीईओ खुञ्जेलीसंग विकास न्युजले गरेको कुराकानी : अनुपमा खुञ्जेली, सीईओ, मेगा बैंक महिला सीईओ बनाउन ब्रेक थ्रु मेगा बैंक र अनुपमा खुञ्जेली कसले गरेको हो ? सर्बप्रथम मेगा बैंकले गर्यो । हामीभन्दा ठुलो संस्था हो । हाम्रोभन्दा यसको आयु लामो हुन्छ । त्यसकारण संस्थाले नै ब्रेक थ्रु गरेको हो । महिलालाई नेतृत्व दिन अहिलेसम्म कुनै पनि बैंक बोर्डले निर्णय गर्न सकेको थिएन । यसमा मेगा बैंकले मलाई अवसर दिएको छ । तपाई भाग्यमानी हो कि मिहेनती ? मान्छेलाई बन्न भाग्य पनि चाहिन्छ । तर मिहेनत नगरी सफलता पाइन्दैन । मेरो लागि सफलताको शुत्र भनेको अवसरको साथै कडा परिश्रम हो । यहाँ भाग्यलाई पनि जोड्न सकिन्छ । पहिले अवसर र कडा मिहेनत नै हो । मौकामा मिहेनत गरेर देखाउन सक्नुपर्छ । मिहेनत निरन्तर हुनुपर्छ । नत्र सफलता हात लाग्दैन । बैंकमा सीईओ भएपछि यहाँले कस्तो अनुभव गर्नु भएको छ ? म धेरै खुसी भएको छु । मलाई अब अवसर र चुनौती दुबै छ । त्यसमा पनि जिम्मेवारीलाई सफल र उदाहरणीय बनाउन मलाई चुनौती छ । म बैंकिङ क्षेत्रमा काम गरेको २७ वर्ष भयो । करिब ३ दशकदेखिको अनुभव लिएर अघि बढेको कारण शुरुवातदेखि यस टिमलाई मैले नजिकदेखि हेर्ने मौका पाएको छु । म मेगा बैंकको लाइसेन्स प्रक्रियादेखि नै जोडिएको हुँ । त्यसैले मलाई यो टिमप्रति विश्वास छ । भोलिको दिनको मेरो सफलता भनेको मेगा बैंकको टिमको देन हो । अहिलेको टिम राम्रो छ । टिमको क्षमतालाई हामीले बुझेर अघि बढाउन सकियो भने सफलता हात पर्छ । ठुलो संस्थामा सिस्टम ड्राइभ गर्न अथवा बसाल्नका लागि बलियो खम्बा आवश्यक हुन्छ । आजको दिनमा मेगा बैंकको खम्बा कसलाई मान्नुभएको छ ? हाम्रो बैंकिङ क्षेत्रमा विभिन्न विभागहरु छन् । अहिलेको व्यवस्थापन सिद्धान्तले पनि आफ्नो डिपार्टमेन्टमा स्मुथ्ली रन गर्न सक्ने म्यानेजर्जहरु ल्याउनु पर्छ भन्छ । मेगा बैंकको बलियो खम्बा भनेको सिनियर म्यानेजमेन्ट नै हो । टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज भएको छ । त्यहाँबाट पनि दक्ष जनशक्ती आएका छन् । त्यसकारण पुरै म्यानेजमेन्ट टिमको दक्षतालाई नै बैंकको खम्बा मान्छु । विगतमा पनि त्यहि थियो, अहिले पनि छ । मेगा बैंकको खम्बा अनिलकेशरी शाह हुन् । बलियो मियोको रुपमा अनिलको भूमिका रह्यो र समकालिन बैंकहरुमा मेगा अगाडी नै रह्यो । यी तर्कहरुलाई कतिको मान्नुहुन्छ ? यो तर्कलाई पुर्ण विश्वास गर्छु । जतिखेर मेगा बैंक पुर्ण रुपमा स्थापना भइसकेको थिएन । त्यसबेला हामीलाई बलियो व्यक्तित्वको जरुरी थियोे । ती सम्पूर्ण भूमिकाको निर्बाह अनिल शाहजीले गरिदिनुभयो । उहाँले एउटा दह्रो फाउन्डेशन दिनु भएको छ । भोलिको दिनमा हामीले यो बलियो फाउन्डेशनमा घर बनाउदै जाने हो । त्यसलाई सफल पार्ने जिम्मा हाम्रो हो । उहाँले जुन धरोहर छोडेर जानु भएको छ । त्यसलाई सही दिशा र गतिमा दौडाउने जिम्मेवारी पनि हाम्रै हो । उहाँले एक समय हलोदेखि हाइड्रोसम्म भनेर चलाएको अभियानबाट मेगा बैंकलाई नचिन्ने कमै होलान् । मेगा बैंकलाई उहाँले त्यो फाउन्डेशन दिनु भएको छ । अनिल शाहजीको जतिको हाइट मलाई प्राप्त हुन्छ भनेर अहिले भन्न सक्दिन । मेरो आगामी चार वर्षको कार्यकालको समीक्षा तपाईहरुले नै गर्नु हुनेछ । किनभने हाम्रो फाउण्डर सीईओ शाहाजी व्यक्तित्व र बैंकिङ क्षेत्रमा उचाई भएको जगजाहेर नै छ । हामी त्यो आधार पाएर अघि बढ्न लागेको बैंक हो । आगामी दिनमा यसलाई राम्रो गर्दै जानेछौं । नयाँ उचाइमा लैजाने कुरामा कुनै दुविधा नै छैन । अनिलजीले स्ट्रोङ फाउन्डेशन बनाइसकेको बैंकमा सफल नेतृत्व गरे/गरिन भन्ने कुरा आउँदो चार वर्षको कार्यकालमा यहाँहरुले नै समीक्षा गर्नुहुनेछ । आगामी चार वर्षमा मेगा बैंक कुन स्तरमा पुग्छ ? हाम्रो बैंक अहिले ८ वर्ष पुगेको छ । समकालिन बैंकहरुले मर्ज गरिसकेका छन् । शुरुमा हामीले सानो मर्ज गरेका थियौं । अहिले टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज गरेका छौँ । अब शाखा नेटवर्किङ, ब्यालेन्स साइज अझ बढ्छ । अझ द्रुत गतिमा अगाडी बढ्छौं । आगामी दिनमा बलियो, सवल, समृद्ध हुँदै मेगा बैंक यहाँहरुको विश्वास जित्दै अघि बढ्नेछ । बैंकिङ व्यवसाय भनेको विश्वासको खेती हो । यसमा आफ्नो सबै स्टेकहोल्डर्सको विश्वास जित्नु पर्छ । मुख्य गरी प्रमोटर पब्लिक सेयर होल्डरहरुलाई प्रतिफल राम्रो दिनुपर्यो । कस्टमरहरुलाई सुविधा राम्रो दिनुपर्याे । कर्मचारीहरुलाई बेस्ट इम्प्लोइको आभाश दिनुसक्नु पर्याे । सोसाइटी एट लार्जबाटै हामीले नाफा कमाएका छौं । समाजलाई पनि सामाजिक उत्तरदायित्वको आधारमा केही दिन सक्नुपर्छ । अहिले स्थिर सरकार आएको छ । देशमा नयाँ राजनीतिको शुरुवात भएको छ । हाम्रो ५ वर्षको रणनीतिक योजना (स्ट्राटेजी प्लान) तयार भइसकेको छ । बोर्डले दिएको ५ वर्षको भिजनलाई अगाडी बढाउँदै लैजाने हो । ५ वर्षको रणनीतिक योजनाको गोल के हो ? म नाफाको कुरा मात्र गर्दिन । तैपनि अहिले हामी समकालिन बैंकहरुसँगको प्रतिस्पर्धामा सबैभन्दा अगाडी उभ्याउन चाहन्छौं । आगामी चार वर्षमा हाम्रो जस्ता बीचको बैंकहरुसँग प्रतिस्पर्धामा ती बैंकहरुको ‘क्याटोगोरी’मा एक नम्बरमा आउने प्रयास गर्नेछौं । हामीसँग भएको स्ट्राटेजीज प्लान अनुसार प्रत्येक वर्ष बैंकको ग्रोथ बढिरहेको छ । मार्केटमा धेरै उत्तारचढाव आउँछ । उत्तरचढावलाई हाम्रो स्ट्राटेजीज प्लानमा इनकर्पोरेट गरेर अगाडी लाने छौं । जनता, सिभिल, सेन्चुरी मेगासंगै आएका बैंक हुन् । यीमध्येमा हामी अगाडी छौं । सबै बैंकले आफुलाई अगाडी बढाउन लागि रहेका हुन्छन् । अब त्यस्ता बैंकहरुलाई उछिनेर अघि जानु छ । टुरिजमसंगको मर्जरसँगसँगै हाम्रो भोल्युम आधा खर्ब भएको छ । हामी चार वर्षको अन्तरालमा निक्षेप परिचालन १ खर्ब रुपैयाँ पुर्याउने छौँ । हामी १० अर्ब रुपैयाँ भन्दा बढीको क्यापिटलमा जान्छौं । त्यसपछि १ खर्ब भन्दाबढीको भोल्युम जेनेरेट गर्न सक्छौँ । यो हाम्रो लक्ष्य हो । त्यतिगर्दा सेयर होल्डरलाई डबल डीजीटमा रिटर्न दिने छौँ। हाम्रो शाखा १०२ वटा बन्छ । बैंक भनेको प्रोफिट ओरिन्टेड अर्गनाइजेशन पनि हो । शाखालाई विस्तारसँगै प्रोफिट पनि जेनेरेट गर्ने छौं । मेगाको नेतृत्व र नीतिमा अस्थिरता छ भन्ने आशंकाहरु आइरहेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ? पोलेसी लेखनमा म पहिलो दिनदेखि नै संलग्न हुनुका साथै सचेत पनि छु । सिस्टमको कुरा गर्ने हो भने हामीसँग स्ट्रोङ अप्रेशन छ । हामीसँग बलियो रिक्स युनिट छ । सरकारी इसुमा पनि वीथ कम अ लङ वे । राष्ट्र बैंकको अडिटरीमा पनि वीथ कम अ लङ वे । पहिलेभन्दा प्रगति भइरहेको छ । अडिटहरुमा पनि रिक्सको पोलिसी लगाएर अघि बढिरहेको अवस्था हो । अर्गनाइजेशनमा व्यक्तिले फरक पार्न हुँदैन भन्ने सोचबाट म अघि बढेको छु । यो अर्गनाइजेशन सिष्टम पोलीसी र प्रोसिडूयरले ड्रिभेन हुनुपर्छ । कुनै एउटा व्यक्ति परिवर्तन भएर अर्गनाइजेशन ह्याम्पर हुने, अर्गनाइजेशनमा ह्रास आउने किसिमको काम हुनुहुँदैन । त्यसैले म सिस्टमलाई विश्वास गर्छु । लिडरशिप रोलमा हामीले गर्नुपर्ने हाम्रो मुख्य दायित्व सिस्टम बलियो बनाउनु हो । सिस्टम अहिले पनि सवल छ । त्यसमा हाम्रो मिहेनत छ । त्यसको लागि हामी डे वानदेखि नै लागिपरेका छौं । मेगा बैंकका स्टेक होल्डरबाट, मुख्यगरी इन्भेस्टरहरुको तर्फबाट तीब्र आक्रोस आएको सुन्छौं । बैंकको परफरमेन्समा सन्तुष्टि छैन । बैंकले राम्रो गरेन भनेर सेयर बेच्न पाएको छैनन् । यहाँ के भन्नु हुन्छ ? म उहाँहरुको आक्रोशलाई बुझ्छु । किनभने हाम्रो शेयर ट्रेडिङ रोकेको वर्ष दिनभन्दा बढी भइसक्यो । त्यसैले पनि मेरो सबैभन्दा पहिलो दायित्व मर्जर गराउनु थियो । यो पुरा भएको छ । अब केही दिनमा सेयर कारोबार खुल्ने छ । त्यसमार्फत हाम्रो सेयरधनीको ठुलो आक्रोसलाई मत्थर गर्दै जान्छौं । कतिपय राम्रो बैंकहरुको पनि ५ सय पुगेको सेयर मूल्य घटेर ३ सय, साढे ३ सयमा कारोबार भइरहेको छ । त्यसैले पनि सेयर होल्डरहरु आत्तिएको हुन सक्छन् । तर मेगा बैंकले ८ वर्षमा दिएको रिटर्नलाई राम्रो मान्नु पर्दछ । कारोबार खुलेपछि मेगाको सेयर कति रुपैयाँमा किनबेच होला ? अहिलेको हिसाबले जाँदैन होला । किनभने सबैको सेयर मूल्य झरेको छ । देशको सेयर इन्डेक्स नै तल झरेको छ । यस्तो अवस्थामा मेगा बैंकको सेयर बढ्ने कुरा आउँदैन । आगामी दिनमा सेयर मार्केट पनि राम्रो हुँदै जाला र असारको रिजल्ट हेरेपछि विश्वास जगाउने अवस्था रहन्छ जस्तो लाग्छ । चैत मसान्तमा लोलेबल क्राइसीस र केही प्रोभिजिङले यो क्वाटरलाई मैले त्यस्तो राम्रो मानेको छैन । तर असारसम्ममा यो सबै कुरालाई पछाडि राख्दै अगाडी बढ्छौं । बैंकको जस अबजस मैले लिनुपर्छ । आगामी दिनमा पनि लिन्छु । यो परीक्षामा म खरो रुपमा उत्रिने छु । पछिल्लो अनटाइम मर्जर नहुनुमा हामी नै जिम्मेवार हौं । यसको डिलको जिम्मा पनि मैले लिनु पर्दछ । मर्जर दुई जनाबीचको विवाह जस्तो हो । जसमा फरक प्रकृतिमा आएका अर्गनाइजेशनको मान्छे मिलेर यसलाई मूर्त रुप दिने अवस्था हो । मर्जर टाइममै सक्न पाएको भए हाम्रो अर्गनाइजेशनलाई नै राम्रो हुन्थ्यो । मर्जरको दुखको दिन सबै पार गरेर हामी निस्कियौं । लगानीयोग्य पुँजीको अभाव भएपछि राष्ट्र बैंकले बाहिरबाट पैसा ल्याउन बाटो खुलाएको छ । मेगा बैंकले के गर्दै छ ? बाहिरबाट पैसा ल्याउन हामीले पनि तयारी थालेका छौ । परिवत्र्य विदेशी मुद्रामा ऋण लिएर हामीले दिने त नेपाली रुपयाँमा नै हो । त्यसको हेजीङ कस्ट पनि लाग्छ । अहिलेसम्म नेपालमा करिब ५ वर्षसम्म हेर्दा हेज गर्ने ठाँउ र संस्था पनि कमी छन् । हामीले त्यसलाई पनि विकास गर्नुपर्छ । हामी हेजमा जानुपर्छ । विदेशी मुद्रा विनिमय लिएर हिड्न सकिन्दैन । त्यसैले गर्दा हामीले पनि प्रयास गरिरहेका छौं । हेजीङ गर्ने कम्पनीहरुसँग पनि कुरा गरिरहेका छौं । बाहिरबाट परिवर्त्य विदेशी मुद्रामा ऋण लिन बाटा खुलेका छन् । यो धेरै राम्रो हो । मान्छेलाई मोटिभेशन हुनुको लागि धेरै फ्याक्टर मध्ये पैसा पनि हो । एक कमर्शल बैंकको सीईओ भइसकेपछि कति पैसा कमाइ हुन्छ ? सबै जना कमर्शियल बैंकको सीईओ हुन चाहन्छन् । राष्ट्र बैंकको मापण्डअनुसार अघि बढ्छौंं । त्यसलाई मिचेर हामी अगाडी बढ्दैनौं । बैंकका रेगुलेशन भित्रै बसेर निर्णय गरेका छौं । खाइपाई आएको घटाउन हुँदैन भन्ने वातावरणमा चल्यो । अब नयाँ सीईओ निर्धारण गर्दा तलब घट्छ । तलब निकै घट्नेछ । राष्ट्र बैंकको नियमअनुसार कति हुनुपर्छ मेगा बैंकको सीईओको तलब त्यसमै आधारित गरेर अबको तलब निर्धारण हुनेछ । एउटा बैंकको उच्चस्तरिय जिम्मेवारी लिँदै गर्दा महिलाप्रतिको तपाईको धारणा के छ ? हामी महिला पुरुषभन्दा कम छैनौं । देशमा महिलाले अवसर नपाएको हैन । अब महिलाको विकासमा महिलाकै हातमा छ । आफुले मिहेनत गर्नु सक्नुपर्यो । लगनशीलताकासाथ भिजन, मिशन र गोललाई पुरा गर्न सक्नु पर्छ । अहिले पनि हाम्रो समाजमा केही त फरक छ । जसरी घरबाट हामीले काम गर्न पठाउँदा छोरालाई सयम दिइरहेका हुन्छौं । त्यही अनुसार बुहारीलाई बिहानदेखि बेलुकासम्म घरको काम हेर्नु पर्दैन ? भनेर सोध्ने बच्चाको जिम्मेवारी वहनमा प्रश्न आउने गरिएको छ । त्यो वातावरण हुँदाहुँदै पनि अहिले अधिकांश परिवारले श्रीमान् र श्रीमती दुबैले काम गर्नुपर्छ । दुबै जना आफ्नो खुट्टामा उभिनु पर्छ । अर्थिक दृष्टिकोणले पनि परिवारलाई सहयोग हुन्छ भन्ने कुरा बुझ्दै आएको छ । अबको दिनमा महिला भएर म पछि परे भन्नुको सट्टा इक्वेल फिटीङमा आएर काम गरेर अगाडी बढ्नुपर्छ जस्तो लाग्छ । मेगा बैंकमा इक्वेल फिटीङ ट्रिटमेन्ट अहिले छ ? मेगा बैंक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषबाट शुरु गरिएको हो । अहिले अलिकति आँकडाहरु फरक भए होला । सिनियर म्यानेजमेन्टमा हेरे पनि रविना जी, प्रज्ञा पान्डे जी हुनुहुन्छ । त्यस्तै सिनियर म्यानेजमेन्टमा हेर्ने हो भने डेनी जी हुनुहुन्छ । जेनु जीले डीपोजिट हेरिरहनु भएको छ । आउँदा दिनहरुमा धेरै महिला आउँदैछन् । हाम्रोमा मात्रै होइन ग्लोवल र सनराइजमा पनि त्यस्तै छ ।